- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsसरकारी कार्यालयमा छैन स्वास्थ्य सुरक्षा

सरकारी कार्यालयमा छैन स्वास्थ्य सुरक्षा

- Advertisement -spot_img

दाङको एक सरकारी कार्यालयमा देखिएको सेवाग्राहीहरुको भिडभाड । तस्विरः रमेश रेग्मी


 

जीतसागर जी.एम.
दाङ, १० असार । कोभिड–१९को महामारीका कारण लामो समयदेखि बन्द रहेका सरकारी कार्यालय असार १ गतेदेखि खुलेका छन् । खुलेका सरकारी कार्यालयहरू कमैले मात्र सुरक्षा सामग्रीको प्रयोग गरेका छन् भने धेरैमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग भएका छैनन् ।

कार्यालय खुलेसँगै कतिपय सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको छ भने कतिपय सरकारी कार्यालयमा सेवाग्राहीको चाप न्यून देखिएको छ । मालपोत, विद्युतलगायतका कार्यालयमा सेवाग्राहीको भिडभाड बढी देखिएको छ ।

सेवाग्राहीको भिडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको छ । सेवाग्राहीको भिडभाड हुने सम्बन्धित कार्यालयमा पर्याप्त सुरक्षा सामग्री नहुँदा संक्रमणको त्रासमा काम गर्नुपरेको कर्मचारीहरूले बताउँदै आएका छन् ।

सरकारले कोरोनाको जोखिम कम भएका जिल्लामा लकडाउनलाई खुकुलो बनाउने र सरकारी कार्यालयबाट पनि सेवा प्रवाह गर्ने भनेपछि सरकारी कार्यालयले सेवा दिन शुरू गरेपनि स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त नहुँदा संक्रमणको जोखिममा काम गरिरहेको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेशकुमार खड्काले बताए ।

‘मास्क र स्यानिटाइजरको भरमा काम गरेका छौँ, सेवाग्राहीले पनि भौतिक दूरी पनि कायम गर्न सक्नुहुन्न् ?’ उनले भने– ‘जसका कारण संक्रमणको जोखिममा छौँ हामीहरू ।’

सुरक्षा मापदण्डमा पिपिई लगाउने, मास्क, स्यानीटाइजर प्रयोग गर्ने, सेवाग्राहीलाई कार्यालय प्रवेश गर्दा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था भएपनि आफुुहरूले ती सामग्रीको अभावमा मापदण्ड पूरा नगरेरै सेवा प्रदान गरिरहेको उनले बताए । ‘न पिपिई छ, न स्वास्थ्य जाँच गर्ने थर्मल गर्न नै छ,

सेवाग्राहीलाई अहिले मास्क अनिवार्य लगाउनुस् भनेका छौँ, अरू स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न सकेका छैनौँ’ उनले भने– ‘सेवाग्राहीको भिडभाड त्यति नहोला भनेको त भिडभाड निकै बढी छ ।

मालपोत कार्यालय तुलसीपुरले कार्यालयमा सेवाग्राहीको भिडभाड बढी हुन थालेपछि अहिले फरक–फरक बारमा साविकको गाविस अनुसार सेवा दिन थालेको छ । कार्यालयले सेवाग्राहीको भिडभाड कम गर्नका लागि साविकका गाविस अनुसार छुट्टाछुट्टै बारमा सेवा प्रदान गरेको हो ।

कार्यालयले तुलसीपुर, बिजौरी, हलवार, सिमलतारा, बाघमारे आइतबार र सोमबार, लाहुरेचौर, टरिगाउँ, उरहरी, हेकुली र फुलबारी मंगलबार र बुधबार सेवा दिने गरेको प्रमुख खड्काले बताए ।

कार्यालयले बिहीबार र शुक्रबार तुलसीपुर डुरूवा, मानपुर र धनौरीकालाई सेवा दिने गरेको छ । साविकका गाविस अनुसार छुट्टाछुट्टै बारमा सेवा प्रदान गरेपछि भिडभाड केही कम गर्न सकिएको उनले बताए ।

विद्युत कार्यालयमा पनि सेवाग्राहीको चाप दैनिक रूपमा बढिरहेको छ । विद्युत महशुल अनलाईन प्रणालीबाटै बुझाउन सकिने भएपनि सेवाग्राहीको चाप कम हुन नसकेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका इन्जिनियर नारायणप्रसाद कर्णले बताए ।

‘कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा कार्यालयमा आउने सेवाग्राहीको चाप पनि बढिरहेको छ, तर हामीले सुरक्षा सावधानी अपनाएका छौँ’ उनले भने– ‘कार्यालयमा प्रवेश गर्नुअघि सेवाग्राहीलाई अनिवार्य साबुन पानीले हात धुन लगाउछौँ,

मास्क अनिवार्य रूपमा लगाउन भनेका छौँ, स्वास्थ्य जाँच गरिरहेका छौँ ।’ विद्युत कार्यालयमा सेवाग्राहीको भिडभाडलाई नियन्त्रण गर्न स्वयंसेवक नै खटाएको उनले बताए ।

‘सेवाग्राहीको भिडभाड बढ्दा जोखिम झनै बढ्ने तर सेवाग्राहीले भौतिक दूरी कायम नगर्दा हामीले स्वयंसेवक नै खटाएका छौँ’ उनले भने– ‘स्वयंसेवक खटाउन शुरू गरेपछि केही सहज भएको छ, कर्मचारीले पनि पर्याप्त नभएपनि आधारभूत सुरक्षा सावधानी अपनाएका छौँ ।’

लकडाउन खुकुलोसँगै सरकारी कार्यालय खुलेपछि केही कार्यालयमा भने सेवाग्राहीको चाप ज्यादै न्यून देखिएको छ । कार्यालयले सेवा प्रदान गरेपनि नागरिकको उपस्थिति कम रहेको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले बताए ।

‘प्रशासन कार्यालयमा सेवाग्राहीको चाप ९० प्रतिशत कम छ, अहिले करिब १० प्रतिशतलाई सेवा प्रदान गरिरहेका छौँ’ उनले भने– ‘कार्यालयले अन्य सामान्य अवस्थामा दैनिक एक सयजनालाई सेवा प्रदान गर्दै आएकोमा अहिले दैनिक १०÷१२ जनालाई सेवा प्रदान गरिरहेका छौँ ।’

कार्यालयले पनि स्वास्थ्य सुरक्षा सावधानीका आधारभूत मापदण्ड लागू गरेको उनले बताए । ‘कार्यालय प्रवेश गर्नुभन्दा अघि साबुन पानीले हातधुने, मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने लगायतका कुराहरू पालना गरिरहेका छौ’ उनले भने– ‘सेवाग्राहीको चाप कम हुँदा सुरक्षित नै महशुस गरिरहेका छौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here