- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकोरोना परिक्षणको गति कस्तो ?

कोरोना परिक्षणको गति कस्तो ?

- Advertisement -spot_img

कोरोना परिक्षणमा ढिलाइ भइरहेको छ । दाङमा करिब दुई साताअघि संकलन गरेको स्वावको रिपोर्ट आउन सकेको छैन् । रिपोर्ट ढिलो आउँदा क्वारेन्टाइनमा बसेकाहरु भाग्न थालिसकेको अवस्था छ ।
उनीहरुले रिपोर्ट कहिले आउँछ भनेर सम्बन्धित पालिकाका व्यक्तिलाई सोधिरहने गरेका छन् । संक्रमित बढ्दै गएको अवस्थामा उनीहरुको सम्पर्कमा आएकाको समेत स्वाव संकलन हुन थालेको छ ।
झनपछि झन् स्वाव संकलनको दर बढ्दै गएपनि परिक्षण गर्ने दायरा फराकिलो बन्न नसक्दा समस्या बढिरहेको छ । परिक्षणको दायरा बढाउन भएका प्रयास, चुनौती र विकल्प के हुन सक्छन् ? भनेर स्वास्थ्य सरोकारवालालाई आजको टुडे राउण्ड टेवलमा ल्याएका छौं । 
प्रस्तुतिः जीतसागर जी.एम.


स्रोत साधन पूर्णरुपमा प्रयोग


हो, प्रतिष्ठानमा करिब दुई सातादेखिको स्वाव परिक्षण हुन बाँकी छ । स्वावको रिपोर्ट जतिसक्दो छिटो दिने प्रयास गरिरहेका छौँ । त्यसकै लागि हामीले संघ सरकारको सहयोगमा फेरि अर्को मेसिन थपेका छौँ । मेसिन थप गरेपछि परिक्षणको दायरा बढेको छ ।
अब धेरै स्वावले परिक्षणको पालो कुर्न पर्दैन कि भन्नेमा छौँ । कोरोना समुदायस्तरमा फैलिएन भने प्रतिष्ठानमा अहिले जाँच भइरहेको गति ठिकै होला जस्तो लाग्छ । एउटा मेसिनमात्र हुँदा हामीले दैनिक दुईदेखि ३ सयसम्म परिक्षण गरिरहेका थियौँ ।
अहिले दुईवटा मेसिन भएपछि चारदेखि ७ सयसम्म स्वाव दैनिक परिक्षण गर्न सक्ने क्षमताको भएका छौँ । प्रतिष्ठानमा दाङको मात्रै ३ हजार बढी स्वाव परिक्षण हुन बाँकी छ भने अन्य जिल्लाको स्वाव पनि प्रतिष्ठानमा आउने गरेका कारण पनि धेरै स्वावले दुई हप्तादेखि पालो कुरिरहेको छ ।
तर हामीले हाम्रो स्रोत र साधनले सकेजति परिक्षण गरिरहेका छौँ । प्रतिष्ठानमा बैशाखको पहिलो सातामा मेसिन जडान भएपछि हामीले निरन्तर रूपमा कोरोना परिक्षण गरिरहेका छौँ । स्वाव हामीले थन्क्याएर राख्ने भन्ने कुरा हुँदैन् तर भ्याइदैन् सीमित स्रोत साधनले ।
धेरै स्वाव थुप्रिन थालेपछि अर्को मेसिन थप गरेका छौँ । अब आवश्यकताको आधारमा फेरि अर्को मेसिन पनि थप्ने प्रयासमा छौँ । तर मेसिन मात्र थप्ने भन्ने कुरा हुँदैन् ।
जनशक्ति पनि त्यत्तिकै आवश्यकता छ । हामीसँग भएको जनशक्तिले अहिलेका दुईवटा मेसिन सञ्चालनमा ठिक्क छ, थप मेसिन ल्याएपछि जनशक्ति पनि थप्नुपर्ने देखिन्छ । त्यो किसिमको भौतिक संरचना पनि निर्माण गर्न त्यत्तिकै आवश्यक छ । फेरी यो भन्दैमा हामीले मेसिन थप्नै हुँदैन्, हामीसँग केही छैन् भन्न खोजेको होइन् ।
प्रतिष्ठानमा अहिले दाङसहित रूकुम पूर्व, रोल्पा, प्यूठान, बाँके, पश्चिम नवलपरासी, कपिलवस्तु, कर्णाली प्रदेशको सल्यानलगायतका जिल्लाबाट स्वाव परिक्षणका लागि आउने गरेको छ । स्वाव संकलन कार्य तीब्र भयो तर परिक्षण गर्ने मेसिन सीमित हुँदा धेरै स्वावले परिक्षणको पालो कुरिरहेका छन् ।
अब त्यो अवस्था धेरै समय नरहला भन्ने आशा गर्न सक्छौँ । पछिल्लो १/२ दिन यता परिक्षणको गति बढेको छ । अहिलेको तत्कालको अवस्थामा पालो कुरिरहेका स्वाव एकसातामै सकिन्छ होला । मेसिन स्थापनामा संघ सरकार, प्रदेश सरकारको पनि राम्रो सहयोग रहेको छ ।
कोरोना जाँचका लागि सरकारी प्रयासबाट भएका प्रयास राम्रा छन् । प्रतिष्ठानले पनि आफ्नो तवरबाट गरिरहेका प्रयासले अब परिक्षणको गति लिने आशा गर्न सकिन्छ ।
हामीले स्रोत साधनले सकेजति जाँचलाई तिब्रता दिएका छौँ । परिक्षणमा ढिलाई हुँदा समस्या छन् तर जाँच गर्ने मेसिन नहुँदा हामीले गर्न सक्ने केही थिएन्, अहिले दुईवटा मेसिनबाट जाँच हुन थालेपछि केही सहज भएको छ ।


प्रयोगशाला र मेसिन थप हुन्छ


प्रदेश नम्बर ५ मा अहिले विषेशगरी स्वाव धेरै थुप्रिएको भनेको दाङको प्रयोगशालामै हो । प्रदेशका तीन ठाउँ भेरी अस्पताल बाँके, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव जाँच भइरहेको छ ।
तिमध्ये दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलि धेरैै स्वाव जाँच गर्न बाँकी रहेको कुरा आएको छ । प्रदेशमा अहिले स्वाव संकलन गर्ने भिटिएम पर्याप्त भएपछि स्वाव संकलन धेरै भयो । तर जाँच गर्ने मेसिन सीमित हुँदा स्वाव धेरै जाँच गर्न बाँकी रहेका छन् । रिपोर्ट आउन दुईसाता नै लाग्ने गरेका खबरहरू आउने गरेका छन् ।
दाङमा विशेषगरी दाङसहित रोल्पा, रूकुमलगायतका जिल्लासम्मको स्वाव आउने भएका कारण पनि धेरै स्वाव जाँच गर्न बाँकी रहेको छ । अहिलेको अवस्थामा समग्र प्रदेशमा अहिले ८÷९ हजार स्वाव जाँच गर्न बाँकी रहेको छ । स्वाव संकलनको काम पनि भइरहेको छ ।
प्रतिष्ठानमै ४ हजार स्वाव जाँच गर्न बाँकी छ । तर केहीदिन अघि प्रतिष्ठानमा पनि एउटा मेसिन थप भएको छ । परिक्षण गर्न पनि विभिन्न समस्याहरू छन् । किट अभावको कारण पनि कहिलेकाहिँ परिक्षण रोकिने गरेको छ । जनशक्ति अभावको कारण पनि जाँच हुन सकिरहेको हुँदैन् । यी यस्ता समस्याहरू छन् ।
पछिल्लो समय के भइदियो ? आरडिटी परिक्षणप्रति विश्वास नभएपछि धमाधम स्वाव संकलन भयो । तर पिसिआर परिक्षण गर्ने दायरा सीमित रह्यो । त्यसकारण पनि संकलन भएको स्वावको रिपोर्ट आउन पालो कुर्नुपर्ने भएको छ । क्वारेन्टाइनमा बसेका सबैको स्वाव परिक्षण अर्थात् आरडीटी पिसिआर विधिबाट मात्रै कोरोना जाँच हुनुपर्छ भन्ने मानसिकता भयो ।
आरडिटीप्रति नागरिकको विश्वास कम भयो । त्यसपछि अनि स्थानीयतह आफैले धमाधम स्वाव संकलन गर्ने भिटीएम खरिद गरेर स्वाव संकलन गरेका छन् । अनि जाँच गर्ने क्षमता बढ्न नसक्दा समस्या देखिने गरेको छ ।
भैरहवाकै प्रयोगशालामा दैनिक २ सय जनाको स्वाव जाँच हुने समयमा दैनिक ५ सयभन्दा बढी स्वाब संकलन हुने गरेको थियो । अहिले दैनिक ४ सय स्वाव परिक्षण हुन्छ । तर स्वाव ६/७ सयको हाराहारीमा संकलन हुने गरेको छ । केही समय त अन्य प्रदेशका प्रयोगशालामा पनि पठायौँ । तर अहिले ति प्रदेशमा पनि विदेशबाट नागरिक धमाधम फर्किन थालेपछि समस्या देखिएको हो ।
प्रदेश ५ मा पछिल्लो समय हामीले स्वाव परिक्षणको दायरा बढाएका छौँ, अझै बढाउने प्रक्रियामै छौँ ।
सम्भवतः केही दिनमै लुम्बिनी प्रादेशिक अस्पतालमा पनि स्वाव परिक्षण गर्ने मेसिन जडान हुँदैछ । कतिको क्षमता हुन्छ अहिले एकीन त छैन् । तर त्यसले पनि परिक्षणको दायरालाई केही भएपनि फराकिलो बनाउनेछ । प्रदेशमा चार स्थानबाट जाँच हुनेछ ।
अहिले पनि प्रदेश बाहिर दिएर भएपनि जतिसक्दो छिटो रिपोर्टको नतिजा दिने गरेका छौं । त्यस्तै संघ तथा प्रदेश सरकारको सहयोगमा केही दिनमै आरएनए एस्ट्रयाक्सन मेसिन पनि आउँदैछ । यसले पनि थप परिक्षणको दायरा बढाउने छ ।
हामीले प्रदेश ५ मा सबैभन्दा पहिला जाँच गर्न शुरू गरेका हौँ । प्रदेश र संघ सरकारको सहयोग राम्रो भएको छ । पछिल्लो पटक दायरा बढाएसँगै क्वारेन्टाइनमा बसेकाहरूको स्वाव परिक्षण छिटो हुन्छ भन्ने आशा गर्न सकिन्छ । अहिले प्रदेशमा २२ हजारको हारहारीमा क्वारेन्टाइनमा बसेकाहरूको स्वाव परिक्षण हुन करिब दुईसाता लाग्ने देखिन्छ ।
तर सरकारले पछिल्लो समय लकडाउन खुकुलो बनाएसँगै फेरि समुदायस्तरमा कोरोना फैलिने हो कि भन्ने अर्को त्रास नागरिकमा छ । यदि समुदायस्तरमा संक्रमण देखिन थाल्यो भने त अहिलेको परिक्षणको गतिले हुँदैन् । आएनए एस्ट्रयाक्सन मेसिन ल्याउने टेण्डर प्रक्रिया अघि बढेको छ । त्यसले केही सहजता ल्याउला कि भन्ने हो ?


दायरा बढेको छ, अब सहज हुन्छ


स्वाव थुप्रिदै गएको अवस्थामा जिल्लामा पछिल्लो समय फेरि अर्को मेसिन थप गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संघ सरकारको सहयोगमा मेसिन थप गरेसँगै परिक्षणको दायरा बढेको छ । जिल्लामा अहिले पनि करिब ४ हजारको हाराहारीमा स्वाव परिक्षण गर्न बाँकी रहेको अवस्था हो तर प्रतिष्ठानले परिक्षणको दायरा बढाएपछि अब केही छिटो रिपोर्ट पाउने आशा गर्न सकिन्छ ।
विश्व समुदायलाई आक्रान्त बनाएको कोरोनाले नेपालमा पनि देखिसकेपछि सरकारले जसोतसो भएपनि परिक्षणको दायरा बढाइरहेको छ । समस्या छन् सरकारका पनि ।
कोरोना परिक्षणको रिपोर्ट छिटो दिने सरकारको चाहना नभएको होइन होला जस्तो लाग्छ । भारतलगायत तेस्रो मुलुकबाट नागरिकहरू धमाधम घर फर्कन थालेपछि केही थप समस्या देखिएको हो तर सकेसम्म विकराल अवस्था आउँदैन भन्ने आशामा छौँ ।
दाङमा प्रतिष्ठानले गरेको योगदानको चर्चा गरी साध्य छैन् । जसोतसो भएपनि प्रतिष्ठानले कोरोना परिक्षणको गति बढाउने प्रयास गरिरहेको छ । यसर्थमा पनि हामीले प्रतिष्ठानका स्वास्थ्यकर्मी, उपकुलपति सबैमा धन्यवाद भन्नै पर्छ । समस्या छन्, समयमा किट आउँदैन् कहिलेकाहिँ । यसभन्दा अघि स्वाव संकलन गर्ने भिटिएमको पनि समस्या थियो ।
विस्तारै भिटिएमको समस्या समाधान भयो । अहिले परिक्षण गर्न केही ढिलाइ भएको छ । प्रतिष्ठानको ल्यावमा दिनरात परिक्षण भइरहेको छ । पहिले दैनिक २ सय परिक्षण गरिरहेको प्रतिष्ठानले पछिल्लो समय थप एउट मेसिन जडान भएपछि ४ सय बढी स्वाव परिक्षण गरिरहेको छ । अब समुदायस्तरमा संक्रमण फैलिएन भने दाङको स्वाव एकहप्तामै परिक्षण भइसक्छ भन्ने आशा गरौँ ।
प्रतिष्ठानमा अन्य जिल्लाको स्वाव पनि परिक्षण हुँदा दाङको स्वावले पनि पालो कुरिरहेको थियो । अब दायरा बढिसकेपछि यसको समस्या अन्त्य होला भन्ने आशा गर्न सकिन्छ । भारतबाट आउने नागरिकको संख्या ह्वात्तै बढेपछि स्वाव संकलन पनि बढ्यो तर परिक्षण गर्ने स्रोत,
साधन सीमित हुँदा यस्तो अवस्था आएको हो । मेसिन ल्याएरमात्रै भएन मेसिन चलाउन जनशक्ति पनि चाहियो, अब अहिले प्रतिष्ठानमा पनि सीमित जनशक्तिले स्वाव परिक्षण गरिरहेको छ । फेरि अर्को मेसिन थप्ने भन्ने अहिले ठ्याक्कै योजना नभएपनि अवस्था हेरेर फेरि पनि मेसिन थप गरी परिक्षणको दायरालाई थप फराकिलो बनाउन सकिन्छ ।
भोलि के हुन्छ अहिले नै केही भन्न सक्ने अवस्था छैन् । संक्रमण दर बढिरहेको अवस्थामा जिल्लामा स्वास्थ्यकर्मी पनि संक्रमित हुने अवस्था छ । प्रतिष्ठानमा ठूलो संख्यामा क्वारेन्टाइनमा रहेर स्वास्थ्यकर्मीले आफ्नो काम गरिरहनुभएको छ ।
हामीले उहाँहरूले गरेको कामलाई एकचोटी सलाम गर्नैपर्छ । आफूहरू जोखिम अवस्थामा रहँदा रहँदै पनि अरूलाई बचाउने काम गरिरहनुभएको छ । अहिले स्वास्थ्यकर्मी पनि संक्रमित बन्दै गएको अवस्थामा झन् जटिल परिस्थिति आउँछ कि भन्ने चिन्ता थपिएको छ । प्रतिष्ठानको ल्यावमा काम गर्ने स्वास्थ्यकर्मी संक्रमित भए झनै जोखिम स्थिति आउन सक्छ ।
जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूको तथ्यांकलाई मध्यनजर गर्ने हो भने अब विस्तारै पालो कुरिरहेका स्वाव घट्दै जान्छ कि भन्ने आशा गर्न सकिन्छ । हामीले सकेसम्म परिक्षणको गतिलाई बढाउने, संक्रमितको सम्पर्कमा आएकाको कन्ट्रयाक ट्रेसिङ गर्ने कामलाई तिब्रता नै दिएका छौँ । संक्रमण समुदायस्तरमा नफैलियोस् जसले गर्दा भोलिका दिनमा स्वावको चाप घट्दै जाने आशा गरौँ ।
तर सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै लगेको अवस्थामा फेरि परिस्थिति झन जटिल बन्छ कि भन्ने चिन्ता थपेको छ । परिक्षणको दायरा बढाउने प्रयास गरिरहेका छौँ । प्रदेश सरकारले पनि सहयोग गर्ने अपेक्षा गरेका छौँ । अहिले पनि भइरहेको छ तर अहिले तत्कालको लागि दुईवटा मेसिनबाटै परिक्षण भइरहेको छ ।


रिपोर्ट पर्खाइमा


घोराही उपमहानगरपालिकाको करिब १ हजार ३ सय स्वाव पिसिआर परिक्षणको पखाईमा छ । उपमहानगरपालिकामा करिब दुईसाता अघि संकलन गरेको स्वावको रिपोर्ट आउन सकेको छैन् । स्वावले दुईसातासम्म पालो कुरिरहेको छ अर्थात् जाँच हुन सकेको छैन् । स्वाव परिक्षण गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ २४ गतेपछिको स्वाव परिक्षण हुन सकिरहेको छैन् ।
स्वाव संकलनको काम तिब्र भइरहेपनि स्वाव परिक्षणमा ढिलाइ हुँदा समस्या देखिएको छ । क्वारेन्टाइनमा बसेर रिपोर्टको पर्खाइमा रहेकाहरू भागेर घर जान्छौँ भन्न थालिसके । हामीहरूले उनीहरूलाई रिपोर्ट आज आउँछ, भोलि आउँछ भन्दाभन्दै अब त के भन्ने भइसक्यो ?
हामीलाई पनि जवाफ दिन समस्या छ । आज त रिपोर्ट आउँछ भनेर भन्यो तर आउँदैन् । भोलि त रिपोर्ट आउँछ भन्यो आउँदैन् । हामीले स्वाव संकलनको कामलाई रोकेका पनि छैनन् ।
रिपोर्ट आउन ढिला हुन्छ भनेर स्वाव संकलन रोक्नु पनि भएन् । हामीले आफूहरूले गर्ने काम गरिरहेका छौँ । तर परिक्षणको गति स्वाव संकलन अनुसार सुस्त छ । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको स्वाव पनि संकलन गरिरहेका छौँ ।
यस्तो अवस्थामा स्वाव संकलन हुने तर परिक्षणको गति सुस्त हुँदा समस्या देखिएको छ । परिक्षणको गति सुस्त हुनुमा प्रतिष्ठानको दोष छैन् । प्रतिष्ठानले त्यति भएपनि परिक्षण गरिरहेको छ । तर दाङमा एक ठाउँमा मात्र परिक्षण हुँदा समस्या देखिएको हो । प्रतिष्ठानले पछिल्लो समय दुईवटा मेसिन थप गरेपछि परिक्षणको दायरा केही बढेको छ । अब रिपोर्ट अलिकति छिटो आउँछ कि भन्ने आशा लागेको छ ।
घोराही उपमहानगरपालिकामा भारतबाट आउनेक्रम पछिल्लो क्रम घटेपनि तेस्रो मुलुकबाट आउनेको संख्या बढिरहेको छ । दैनिक ५/६ जना तेस्रो मुलुकबाट आइरहेका छन् । रिपोर्ट ढिलो आउँदा उपमहानगरको व्ययभार पनि त्यत्तिकै बढेको छ । रिपोर्ट छिटो आयो भने कन्ट्रयाक ट्रेसिङ गर्न पनि सहज हुने थियो । कन्ट्रयाक ट्रेसिङको काममा ढिलाइ हुँदा समस्या देखिएको छ ।
दिनप्रतिदिन संक्रमित बढिरहेका छन् । यस्तो अवस्थामा क्वारेन्टाइनमा बसेकाहरू अर्थात् स्वाव दिएका व्यक्तिहरू पनि आफ्नो रिपोर्ट के आउँछ ? भनेर मानसिक तनावमा जान थालेका छन् । लामो समय रिपोर्ट नआउँदा उनीहरूलाई आफ्नो रिपोर्ट के आउँछ भनेर मानसिक तनाब बढेको छ ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here