- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरघुमफिरको लागि भर्जिन मैकोट

घुमफिरको लागि भर्जिन मैकोट

- Advertisement -spot_img

भौगोलिक दृष्टिले रूकुमको उत्तरपूर्वी भूगोलमा रहेको मैकोट रमणीय मात्र होइन प्रकृतिसँग रमाउने पर्यटक पुग्नैपर्ने हुन्छ । प्रकृति र खाम मगर संस्कृति मात्र होइन मैकोट पर्यापर्यटनको लागि पनि भर्जिन गन्तब्य मानिन्छ ।
डोल्पा ट्रेकिङ रूटको द्वारसमेत भएकाले मैकोट गाउँ पर्यटकलाई केहीदिन थकान मेट्नको लागि पनि रमणीय र सुरक्षित स्थल मानिन्छ ।
प्रदेश नम्वर ५ को पूर्वी रूकुमको मैकोट गाउँ ऐतिहासिक स्थल हो । खाम मगर जातिको बसोबासस्थल मैकोट पुन थरका मगरको उद्गमथलो पनि हो । खाम मगर भाषामा मईको अर्थ ‘पहलमान’ भन्ने बुझाउँछ भने कोइ शब्दले ‘हातहतियारले सुसज्जित’ भन्ने जनाउँछ ।
बोल्ने क्रममा मइकोइ अपभ्रंश भई मैकोट भएको हो । अर्को अर्थमा मैकोटलाई पहलमानहरूको किल्ला भन्ने पनि गरिन्छ । तकसेरा, कोल, राङसी, हुकाम, रन्मा मैकोट, जाङ, सिस्ने, प्वाङ, काँडा, मोराबाङ, काक्री यी गाउँलाई सातगाउँ खोला अर्थात् पर्वत क्षेत्र भनेर पनि चिनिन्छ ।
भौगोलिक दृष्टिले यी सबै गाउँ अति विकट र दुर्गममा पर्दछन् । खाम मगर जातिको साझा क्लस्टर रहेको मैकोट मगर जातिको ऐतिहासिक पहिचान पनि हो ।
मैकोट पुगेपछि झारलुङ, पेल्माखार, योमाखार, पुछर, दुले, इम, तिज्याङ गाउँ पनि पर्यटकहरूलाई घुमफिर गर्न रमणीय छन् । मैकोट पुग्ने पर्यटकहरूले खाम मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, भेषभूषा, भाषाको समेत अध्ययन गर्न सक्दछन् । मैकोट गाउँका लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकहरूका लागि अर्को आकर्षण बन्दछ ।
पूर्वी रूकुमका अग्ला हिमालमध्ये चारवटा हिमाल मैकोट वरपर पर्दछ । चुरेन, पुथा हिउँचुली, दोगारी र साम्जाङ हिमालको सौन्दर्यको समेत अवलोकन मैकोटबाट गर्न सकिन्छ ।
हिमालको फेदीमा रहेका सुनदह, राक्षसदह, पार्वीवार्मी लगायतका दह अवलोकन र पेल्मा नजिकैको तातोपानी कुण्डमा प्राकृतिक तातोपानीले नुहाउन पाउँदा मैकोट पुग्ने पर्यटक दंग पर्दछन् । मैकोटमा शहर बजारमा जस्ता ठूला होटल र लज त छैन तर पनि पर्यटकहरूलाई बास दिन र खानपिनको व्यवस्था गाउँलेहरूले गर्दछन् ।
गाउँमा होमस्टे शैलीका होटेल खुल्न थालेका छन् । मैकोट गाउँमा पर्यटकहरूले स्थानीय कोदो, जहुँ, मकै, आलु आदिका परिकार खान पाउँछन् ।
गाउँ वरपरका जडिबुटी र स्याउखेतीले पर्यटकलाई लोभ्याउन पनि सक्दछ । मैकोटको खाम मगर भाषा अरूभन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीको लागि थप अध्ययन गर्न सकिन्छ । रन्मा गाउँमा मगर भाषामा साहित्यिक व्यङ्ग्यको उर्वरता भेटिन्छ ।
मैकोटका धेरैजसो बस्ती ढोरपाटन सिकार आरक्षको प्रस्तावित मध्यवर्ती क्षेत्रभित्र पर्छन् । आरक्षले सिकार खेल्न छुट्याएको सात ब्लकमध्ये चारवटा त मैकोटअन्तर्गत पर्छन् । जैवीक विविधताका दृष्टिले मैकोट धनी ठाउँ हो ।
यार्सा सिजनमा लाग्ने मेलामा हजारौंको भीड लाग्छ । जेठ र असारमा यार्सा किनबेचको चहलपहलपछि क्रमशः वन लसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, विख्माजस्ता जडिबुटी आयआर्जनका स्रोत हुन्छन् । भेडा र घोडाका लागि मैकोटको पाटनमा हुने बाक्लो र मसिनो बुकी घाँस पर्यटकहरूका लागि थप विशेषता बन्दछ ।
माओवादी द्वन्द्वकालमा प्रयोग भएको गुरिल्ला ट्रेलका बारेमा पनि मैकोट पुग्ने पर्यटकहरूले अध्ययन गर्न सक्दछन् । मैकोटको जंगल र खर्कहरूमा माओवादी द्वन्द्वकालमा छापामारहरू बस्ने गरेका आश्रयस्थल पनि पर्यटकहरूले देख्न सक्दछन् ।
म्याग्दीको सदरमुकाम बेनी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र डोल्पाको सदरमुकाम दुनै आक्रमणका घाइते छापामारलाई राखिएका गोठ, ओडार र जंगल अध्ययन गर्ने पर्यटकका लागि थप महत्वको विषय हुनसक्छ ।
सदरमुकाम कब्जापश्चात् अपहरणमा परेका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षित साथ बसाइएका घर अहिले पनि देख्न सकिन्छ । मैकोटमा माओवादी जनमिलिसिया र स्क्वायडहरूलाई छनौट गरी प्लाटुनस्तरमा युद्ध प्रशिक्षण दिइएको ¥याल्बी खर्कको पनि पर्यटकहरूले अवलोकन गर्न सक्दछन् ।
द्वन्द्वकालताका गाउँघरमा सामाजिक अपराधस्वरूप माओवादीको कारबाहीमा परेका र राजनीतिक रूपले माओवादीभन्दा फरक धारका मानिसहरूलाई जनकारबाहीका नाममा खेतीपातीको श्रम शिविरमा खटाएर स्थानीय उत्पादनमा सघाउ पु¥याएका घटना सत्यकथाको रूपमा गाउँलेबाट सुन्न सकिन्छ ।
मैकोटमा तत्कालीन राज्यस्तरबाट सञ्चालित किलो सेरा टु, कर्डन एन्ड सर्चजस्ता माओवादीलाई लक्षित गरी प्रहरी र सेनाको अप्रेसनमा गाउँका रित्तो पारेर ज्यान बचाउन आश्रय लिएका जंगल र ओडार आजभोलि पर्यटकहरूका लागि अनौठो लाग्ने भएको छ । मैकोट गाउँका मानिसका जनयुद्धका कुरा सुन्दा पर्यटकहरू अनौठो मान्दछन् ।
मैकोट युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङका कारण पनि आजभोलि धेरै पर्यटक पुग्ने गरेका छन् । माओवादीले द्वन्द्वकालमा बनाएका आधार ईलाका र द्वन्द्वका अवशेष अब पर्यटकीयस्थल बनेका छन् । गाउँमा अब होमस्टे सुरू हुन थालेको छ
गुरिल्ला पदमार्ग मगर खाम जातिको संस्कृति अध्ययनका लागि समेत पर्यटक पुग्ने गर्दछन् । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेषसमेत पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् । गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी, खोला, मन्दिर र झरनाको दृश्यावलोकन गर्न सकिन्छ ।
मैकोटको संस्कृति अन्यत्रको भन्दा भिन्न छ । मैकोटका खाम मगर प्रकृतिका पुजारी हुन । दसैं मान्दछन्, तिहार मनाउँदैनन् । तिहारको सट्टा मंसिरे संक्रान्ति भव्यरूपले मनाउँछन् । दसैंको मष्टापूजा र मंसिरे पूर्णिमाका अवसरमा गरिने पितृपूजामा पूजा गर्नेलाई आफ्ना भाञ्जाहरूले ढाडमा बोकेर घरसम्म पु¥याउने चलन छ ।
मंसिरे संक्रान्तिमा दिदीबहिनी र दाजुभाइबीच टीका लगाउने चलन छैन । तर माघे संक्रान्तिमा चेलीबेटीलाई रोटी, मासु, तरूल, फलफूल, लगाउने कपडा दिएर टिका लगाउने गरिन्छ । मैकोट गाउँमा केही घर गुरूङ जातिको पनि बसोवास छ । तर उनीहरूको सबै संस्कार मगरसँग मिल्दछ ।
पूर्वी रूकुमलाई आदिम साँस्कृतिकथलोका रूपमा चिनिन्छ । यहाँको मुख्य भाषा मगर खाम हो । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । पूर्वी रूकुममा पर्यटक रमाउने भनेकै मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया र वन्यजन्तुहरू हुन् । मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् ।
सामाजिक एकताबिना उनीहरू आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ । मगर खामहरूको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन् । गाउँमा खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ । यो नै पूर्वी रूकुमको सामाजिक विशेषता हो ।
पूर्वी रूकुमको साँस्कृतिक नृत्यहरू सबै सामूहिक हुन्छन् । लहरै पैसेरी, भुम्या, डिग्रे, झोल्हा नाच मगर खाम बस्तीका परम्परागत सामूहिक नाच हुन् । भुम्या नाचमा पुरूषको गोलबद्ध लहरलाई महिलाले घेरेका हुन्छन् भने पुरूषहरू खुकुरी भिरेर नाच्छन् ।
अगुवालाई पछ्याएर गोलबन्द भई नाच्नु भुम्या नाचको विशेषता हो । पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा युवायुवतीहरू पनि सामेल हुन्छन् ।
भुम्या नाचले मुख्यगरी एकता, भातृत्व र सामूहिकताको भावना प्रवद्र्धनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने सन्देश प्रवाह गर्छ । सिंगारू नाच यहाँको एउटा साँस्कृतिक गहना हो । पुरूषलाई एउटा निश्चित परम्परागत पहिरनले रूपवती महिलाको भेषमा शृङ्गारपटार गराई मादल, दुँदी र झ्याली बजाएर काव्यात्मक शैलीको गीतिकथा गाएर सिंगारू नचाइन्छ ।
मैकोट र रन्मामैकोट घुमफिरको लागि जाने पर्यटकहरूका लागि अर्को गन्तब्य हो यार्चा पाइने बुकीपाटन । यो पाटन मेकोट र रन्मामैकोट क्षेत्रमा पर्ने पुपाल, पुर्वाङ, फूलबारी, पानीढाल, माजेला, नाउरे, नयाँ वनलगायत ठाउँमा यार्सा पाइन्छ ।
हिमाली भेगमा बैशाखतिर हिउँ पग्लन्छ र बिरूवाहरू उम्रिएर फूल फूल्न शुरू गर्दछ । त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन् । सोहि पुतलीको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीनमुनि पुग्छ र झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ ।
यो ढुसी जमीनमाथिको खैरो रंगको र जमीनमुनिको भाग पहेंलो रंगको हुन्छ । यार्सागुम्बा एकप्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एकप्रकारको बहुमूल्य जडीबुटी हो ।
मैकोट जाने पर्यटकहरू ढोरपाटान पुगेकै हुन्छन् । पोखरा–बाग्लुङ भएर मैकोट जाने पर्यटकले पहिला ढोरपाटन घुमफिर गर्दछन् र पद मार्गबाट मैकोट पुग्दछन् । मैकोटसम्म मोटर मार्ग पुगेको छैन ।
अहिले मैकोट पुग्नको लागि पूर्वी रूकुमको सदरमुकाम रूकुमकोटदेखि ४५ किलोमीटर सवारी साधनबाट पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तक गाउँमा पुगिन्छ । अर्थात् बाग्लुङतिरबाट आउँदा बुर्तिवाङ निसीभुजी भएर तक गाउँसम्म आउदा ९० किमीको सडक यात्रा गर्नुपर्दछ । तक गाउँबाट मैकोटसम्म पुग्नको लागि मोटरमार्ग निर्माणाधिन अवस्थामा छ । अहिले तकबाट दुईदिनको पैदल यात्रा गर्न पर्दछ ।
ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको छ । ढोरपाटनको अर्थ फराकिलो ठाउँ हो । ढोरपाटनको अर्को नाम हो ‘बादलपारीको गाउँ’ । वरीपरी हिमाली दृष्य हिमालको काखमा राताडाँडा त्यसमुनि हरियो जंगल, जंगलमुनी मैदानी भाग अनि बस्ती र कञ्चन पानीका स्वच्छ नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन ।
ढोरपाटनको दक्षिणपट्टी रहेको रूद्र तालको पानि बडिगाढ खोलाको नामले कालीगण्डकीमा मिसिन्छ । ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानिबाट उत्तर गंगा अर्थात् सानो भेरी नामबाट रूकुम जिल्ला प्रवेश गरी टकसेरा, कोल, नाथिगार, माछिमी, सिम्ले हुँदै भेरी नदीमा मिल्दछ ।
ढोरपाटन म्याग्दी, बाग्लुङ, डोल्पा र रूकुम गरी चार जिल्लामा फैलिएको छ । भौगोलिक हिसाबले आरक्षको पूर्वपट्टी दारेखानी, झाल्के र लामाभञ्ज्याङसम्मका धुरी पर्दछन् । पश्चिमतर्फ चाहि खरिवाङखोला, कुल्टाभञ्ज्याङ र ज्याङलाभञ्ज्याङ रहेको छ ।
ढोरपाटनको दक्षिणपट्टि सुर्तिबाङ र उत्तरगंगा पर्दछ भने उत्तरमा पुथा, चरेन र गुर्जा हिमाल पर्दछ । ढोरपाटनको उत्तरपट्टी सदा मुस्कुराई रहेको देखिने हिमशृङ्खलाहरूले पर्यटकहरूको मनै प्रफुल्ल पार्छन् । ढोरपाटनको उत्तरतर्फको गर्पा डाँडाबाट कास्क,ी म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, रूकुम आदि जिल्लाका धेरै भूभाग देख्न सकिन्छ ।
त्यसैगरी उत्तरतर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे«, निलगिरी, अन्नपूर्ण हिमाल एकै ठाउँबाट देख्न सकिन्छ । यी सबै प्राकृतिक सम्पदाले पर्यटकहरूलाई लोभ्याएको हुन्छ । प्राकृतिक आनन्द लिन र हिमालको दृश्यावलोकन गर्न चाहने पर्यटकका लागि ढोरपाटन भर्जिन मानिन्छ ।
ढोरपाटनको धेरै भू–भाग घाँसे मैदानले भरिएको छ । ढोरपाटनमा मगर, थकाली, गुरूङ एवं दलित समुदायको बसोबास छ । वर्षातको समय अर्थात् जेठदेखि भदौसम्म ढोरपाटनमा लगातार पानी परिरहन्छ । कार्तिकदेखि बाक्लो तुषारो जम्न हुन्छ र माघ महिनादेखि भने यहाँ लगातार हिउँ पर्छ । ढोरपाटनमा आरक्षको ठूलो क्षेत्रफल खोटो सल्ला,
गोबे्र सल्ला, धुपी, भोजपत्र, खर्सुं र गुराँसजस्ता वनस्पतिले ढकमक्क देखिन्छ । अनेक दुर्लभ वनस्पति र जडिबुटी यार्सागुम्बा, पाचऔंले, जटामसी, निरमसी, बोझो, चिराइतोलगायतका मूल्यवान् एवं दुर्लभ जडिबुटीका लागि पनि ढोरपाटन प्रसिद्ध मानिन्छ ।
अर्कोतर्फ दुर्लभ एवं संरक्षित पंक्षी डाँफे, मुनाल, हिउँकुखुरा, कोकलास, चिरलगायतका संरक्षित चरा यहाँ पाइन्छन् । त्यस्तै नाउर, घोरल, झारल, रेडपान्डा, हिमाली कालो भालु, हरिणलगायतका संरक्षित एवं दुर्लभ जनावर अवलोकनका लागि पनि पर्यटक ढोरपाटन पुग्ने गर्दछन् ।
प्राकृतिक महत्वका सम्पदाका कारण अहिले पूर्वी रूकुममा मैकोट र रन्मामैकोट मात्र होइन् पर्यटकहरू घुमघामको लागि अरू गाउँमा पनि पुग्दछन् । पूर्वी रूकुममा युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङको कारणले पनि आजभोलि धेरै पर्यटकहरू पुग्ने गरेका छन् ।
माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेषहरू अब पर्यटकीयस्थल बनेका छन् । गाउँमा अब होमस्टेको व्यवस्था हुन थालेको छ । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेषसमेत पर्यटकहरूको लागि आकर्षणका केन्द्र बनेका छन् ।
गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ ।
गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको बेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुने गर्दछ ।
(के.सी. स्थानीय शासन तथा गरिबी निवारण विज्ञ हुन् ।)
nahakulkc@gmail.com

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here