- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsतुलसीपुरको नीति तथा कार्यक्रम, अब दूर शिक्षा नीति

तुलसीपुरको नीति तथा कार्यक्रम, अब दूर शिक्षा नीति

- Advertisement -spot_img

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे ।


उमा भण्डारी
तुलसीपुर, ६ असार । तुलसीपुर उपमहानगरपालिकाले कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा पुगेको असरलाई मध्यनजर गर्दै दूर शिक्षा नीति अघि सारेको छ । उपमहानगरको आउँदो वर्षको नीति तथा कार्यमा यस्तो नीति लिइएको हो ।
कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा तत्काल सामान्य अवस्थामा फर्किन सक्ने अवस्था नरहेको भन्दै बैकल्पिक विधिवाट विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिने नीति ल्याएको नगर प्रमुख घनश्याम पाण्डेले बताए । सूचना प्रविधिमा पहुँचको सर्वेक्षण गरी इन्टरनेट, टेलिभजिन, रेडियोका माध्यमबाट दूर शिक्षा प्रदान गर्ने नीति लिइएको छ ।
पाण्डेले प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीहरूका लागि कार्यपुस्तकको व्यवस्था गरी सिकाइलाई निरन्तरता दिइने बताए । उनले विद्यार्थी र शिक्षकहरूलाई जोड्नका लागि टोल फ्रि फोनको व्यवस्था गरिने जानकारी दिए ।
‘कोरोना महामारीका कारण विद्यार्थीहरूको पठनपाठनमा ठूलो क्षति पुगेको छ’ उनले भने– ‘यसर्थ सिकाइलाई निरन्तरता दिनका लागि बैकल्पिक उपाय दूर शिक्षा र टोलफ्रिलाई ल्याउने भएका छौँ ।’
दूर शिक्षामार्फत विद्यार्थीले घरमै बसी प्रविधिको प्रयोग गरी पढ्न पाउने छन् भने टोलफ्रिमार्फत निःशुल्क रूपमा टेलिफोनमार्फत शिक्षकहरूसँग छलफल एवं नयाँ कुरा सिक्न पाउने छन् ।
शैक्षिक गुणस्तरलाई ध्यानमा राख्दै नगरक्षेत्रभित्र १० वटा नमुना बालविकास केन्द्र, विद्यालय मर्जर प्रक्रियालाई निरन्तरता दिदै ३० वटा नमुनायोग्य विद्यालय मात्र निर्माण गर्ने भएको छ । तर दुर्गम क्षेत्रका विद्यालयहरूलाई भने यथावत राख्दै शैक्षिक स्तरबृद्धिमा जोड दिने भएको छ ।
विद्यार्थीहरूमा असल आचरणको विकासका लागि गुरूकुलम र आचार्य कुलम पद्धतिलाई शिक्षामा जोड्दै नैतिक शिक्षा र आधुनिक प्राविधिक शिक्षाको विकास गर्ने भएको छ । स्थानीयस्तरको पाठ्यक्रम निर्माण गर्ने नीति अघि सारिएको छ । शिक्षक पूर्ण विद्यालय बनाउने बताइएको छ । विद्यालय तथा संघसंस्थाको सहकार्यमा तुलसीपुरमा जनशक्ति विकास तालिम केन्द्र स्थापना गर्ने भएको छ ।
निजी तथा सामुदायिक विद्यालयबीचको खाडल पुरी समान बनाउने, शिक्षक, अभिभावक, विद्यार्थी र संघसंस्थाको समन्वयमा शैक्षिक गुणस्तर विकास गर्ने, संस्थागत विद्यालयहरूलाई आवश्यकतानुसार विशिष्ट शिक्षाको केन्द्र बनाउने भइएको छ । यदि निजी र सामुदायिक विद्यालयहरू मर्ज हुन चाहेमा उपमहानगरले आवश्यक सहयोग गर्ने भएको छ  ।

स्वास्थ्यको सुदृढीकरण

स्वास्थ्य क्षेत्र सुदृढीकरणलाई महत्वपूर्ण कार्यक्रमका रूपमा अगाडी सारेको छ । कोभिड–१९ सिकलसेल, डेंगुलगायतका महामारी तथा संंक्रमण न्यूनीकरणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी, महामारी रोकथाम, नियन्त्रण, पूर्वतयारी र प्रतिक्रियाको व्यवस्थापन गर्ने नीति निर्माण गरेको छ ।
आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउनका लागि औषधीजन्य तथा सुरक्षा सामग्रीको सहज आपूर्ति वा भण्डारको व्यवस्था गर्ने बताए । स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीलाई वैज्ञानिक बनाउन समयानुकूल प्रविधिको प्रयोग गर्ने कार्ययोजना अगाडी सारेको छ ।
यस्तै डिजिटल प्रणालीमा आधारित रिपोर्टिङ प्रणाली लागू गर्ने, दूरचिकित्सा प्रणाली, विद्युतीय स्वास्थ्य प्रविधि एमहेल्थ, ई–हेल्थ र अन्य आधुनिक प्रविधिलाई अवलम्बन गरी स्वास्थ्य सेवालाई सुदृढ बनाइने नीति ल्याएको छ ।
यस्तै विभिन्न संघसंस्थाको समन्वयमा तुलसीपुर ट्रमा तथा सामुदायिक अस्पताल स्थापना, आयुर्वेद चिकित्मक पद्धतिको विकास, योग तथा जडिबुटी चिकित्सा हवको स्थापना, वैकल्पिक चिकित्सा प्रणालीको विकास गरिनेछ । मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि तीनवटा स्वास्थ्य संस्थामा मनोपरामर्श इकाईको व्यवस्था गर्ने नीति ल्याएको नगरप्रमुख पाण्डेले बताए ।
प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताललाई प्रदेशस्तरकै सरूवा रोग नियन्त्रण अस्पतालका रूपमा स्थापित गर्ने नीति अघि सारिएको छ ।


स्वास्थ्य, कृषि र रोजगार प्राथमिकता

जीतसागर जी.एम.
तुलसीपुर, ६ असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरले कोभिड–१९ को महामारीका बीचमा कोरोना संक्रमण रोकथाम नियन्त्रणमा केन्द्रित रहेर स्वास्थ्य, कृषि, रोजगार, शिक्षालगायतलाई प्राथमिकतामा पारेको छ ।
उपमहानगरपालिकाले चालु वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षमा कोरोनाभाइरसले पारेको प्रभाव, यसको रोकथाम र कोरोनाको कहरले विदेशबाट फर्किएका युवालाई मध्यनजर गरी कृषि तथा रोजगारीका योजना अघि सारेको छ ।
शुक्रबार नगरप्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी कोभिड–१९ अर्थात् कोरोना रोकथाम नियन्त्रणका लागि पालिकाभित्र औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको सहज आपूर्ति र भण्डार गर्ने व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई थप सुदृढ बनाउन विद्युतीय स्वास्थ्य प्रविधि एम–हेल्थ र आधुनिक प्रविधिलाई अवलम्बन गर्ने, भिमसेन नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५बेडको तुलसीपुर मेट्रो अस्पतालको रूपमा विकास गर्ने कार्यक्रम समेटिएको छ ।
त्यसैगरी एम्बुलेन्स सेवामा औषधि, अक्सिजन, र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, जेष्ठ नागरिक र सुत्केरीलाई प्रदान गर्दै आएको सहुलियतलाई निरन्तरता दिने लगायतका कार्यक्रम समेटिएको छ ।
त्यसैगरी तुलसीपुरमा एउटा मेडिकल तथा मल्टिप्रपोजक आधुनिक ल्यावको स्थापना गर्ने, विपन्न, एकल महिला, जेष्ठ नागरिक, अपांगता भएका नागरिकको लागि विषेश सेवा सञ्चालन गर्ने, प्रसूति सेवालाई २४सैँ घण्टा थप प्रभावकारी बनाउने समेटेको छ ।
त्यसैगरी बेलझुण्डीको कोरोना विषेश अस्पताललाई संघ र प्रदेश सरकारसँग सहकार्य गरी प्रदेशस्तरकै सरूवारोग नियन्त्रण अस्पतालका रूपमा विकास गरिने, महिला स्वास्थ्य स्वयम्सेविका सेवालाई थप प्रभाकारी बनाउन थप प्रोत्साहन भत्ता उपलब्ध गराउने लगायतका कार्यक्रम समेटिएको छ ।
तुलसीपुर उपमहानगर–पालिकाले कोभिड–१९को महामारीका कारण गाउँ फर्किएका युवालाई रोजगारीको व्यवस्था गर्नका लागि बाँझो जग्गा नराख्ने नीतिलाई पुनः अघि सारेको छ ।
उपमहानगर–पालिकाभित्रका जग्गालाई कृषि प्रयोजनमा उपयोग गरी पर्याप्त रोजगारीको व्यवस्था गर्ने उल्लेख गरेको छ । उपमहानगरको आगामी वर्षको नीति तथा कार्यक्रम अधिकांश चालु वर्षकै कार्यक्रमलाई निरन्तर दिएको छ ।
कार्यक्रममा कृषक परिचयपत्र, कृषकलाई सम्मान, कृषि उत्पादनको भण्डारणका लागि कोल्ड स्टोर, गोदाम घर स्थापना गर्ने, लोप हुने अवस्थामा पुगेका बाली संरक्षणका लागि नगरमा बीउ बैंक स्थापना गर्ने, पशुपंक्षीको नश्ल सुधारका लागि कृत्रिम गर्भाधारण निशुल्क रूपमा उपलब्ध गराउने लगायतका कार्यक्रम समेटिएको छ ।
त्यसैगरी पशु उपचारका लागि प्रयोगशाला र पशु एम्बुलेन्स सेवा, मापदण्ड पूरा गरे व्यवसायीक रूपमा पशुपालन गर्ने किसानलाई अनुदानमा दाना मेसिन, चारा उपलब्ध गराउने नीति लिएको छ । शित भण्डार, कृषि उपज बजार, कोल्ड स्टोर, मलखाद, गोदाम, एग्रो मिट मार्ट निर्माणका लागि संघ तथा प्रदेश सरकार, सहकारी र नीजि क्षेत्रसँग समन्वय गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै किसानलाई बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउनका लागि सिंचाई मिटर जडान गरेका किसानलाई फागुनदेखि जेठसम्म चार महिनाको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने, संघ तथा प्रदेश सरकारको समन्वयमा पातुखोला र ग्वारखोलामा हाइड्याम निर्माण गर्ने, आकासेपानी संकलनका लागि पोखरी निर्माण र परम्परागत पोखरीहरूको संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिने र जतिसक्दो धेरै श्रमिकबाटै काम गराउने नीति अघि सारिएको छ । त्यसैगरी एक घर एक रोजगारको अभियानलाई निरन्तरता दिने, खाद्य उत्पादन वृद्धि गरी सुरक्षित भण्डारण मार्फत शून्य भोकमारी अभियानलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
बेरोजगार युवाहरूलाई रोजगारी दिनका लागि श्रम बैंकको स्थापना गर्ने कार्यक्रम पनि आगामी वर्षमा प्राथमिकतामा राखिएको छ ।
स्वारोजगार कार्यक्रमलाई निरन्तरता दिनका लागि धितो राखी बिना ब्याज कर्जा उपलब्ध गराउने, स्वरोजगार युवा पहिचान गरी प्रत्येक वडामा स्वारोजगारी कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना अघि सारिएको छ ।
महिला सहकारी संस्थामा आवद्ध महिलालाई व्यवसायीक सिप विकास तालिम प्रदान गरी उद्यमशीलताको विकास गर्ने, किसान तथा साना व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिदिने, सहकारी संस्थामार्फत गर्ने कारोबारलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
नगरभित्र एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल शिक्षकको नीति अघि सारिएको छ । तुलसीपुरलाई स्पोर्ट सिटीको रूपमा विकास गर्ने योजना अघि सारिएको नीति तथा कार्यक्रममा वडा नम्बर १ को मदन भण्डारी रंगशालाको निर्माणको कामलाई पूर्णता दिने, अरनिको खेल मैदानलाई अरनिको रंगशालाका रूपमा विकास गरिने उल्लेख गरिएको छ ।

सुकुमबासीलाई लालपूर्जा

भूमिहिन सुकुमबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने नीति अघि सारेको छ । शुक्रबार नगरप्रमुख पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरभित्रका वास्तविक सुकुमबासीलाई दीर्घकालिन व्यवस्थापनका लागि सुकुमबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने नीति अघि सारिएको बताए ।
त्यस्तै गैरसुकुमबासीबाट अतिक्रमित जग्गा व्यवस्थापन गरिने, सार्वजनिक जग्गाको संरक्षणका लागि डिजिटल अभिलेख राखिने, साविकको नगरपालिकाले वितरण गरेका जग्गाको समस्या समाधान गरिने नीतिमा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here