- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरतुलसीपुर उपमहानगरपालिको आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम

तुलसीपुर उपमहानगरपालिको आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम

- Advertisement -spot_img

नगरसभाका सदस्यज्यूहरू,

१. तुलसीपुर उपमहानगर–पालिकाको सम्मानित नगरसभा समक्ष नगरप्रमुखको हैसियतले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मैले अपार हर्ष र गौरवको अनुभूति गरिरहेको छु ।
तुलसीपुर उपमहानगर–पालिकालाई आत्मनिर्भर, समाजवादउन्मुख, सुन्दर, समृद्ध, सुरक्षित र नमुना नगर बनाउने नगरबासीको आकांक्षाअनुसार यो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिरहेको छु ।
२. तुलसीपुर उपमहा–नगरपालिकाको सातौ नगरसभाको यस महत्वपूर्ण अवसरमा म सर्वप्रथम मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा विगतमा भएका सामाजिक न्याय तथा जनताको अधिकार प्राप्तिका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान दिने अमर शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
यसका साथै घाइते, अपाङ्ग लगायतका आन्दोलनमा होमिने सबैप्रति उच्च सम्मान प्रकट गर्दछु । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमयुक्त अवस्थामा पनि आम नगरबासीलाई सुरक्षित राख्नका लागि पहिलो पंक्तिमा रहेर अहोरात्र खट्नुहुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,
कर्मचारी, स्वयम्सेवक, राजनीतिक तथा सामाजिक संघसंस्थाहरू लगायत कोरोना विपद् कोषमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
साथै कोरोना संक्रमणबाट ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस रोगबाट संक्रमित हुनु भएका सबैमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
३. आज सारा विश्व नै कोभिड–१९ को संक्रमणका कारण कठिन अवस्थाबाट गुज्रिरहेको छ । सबैको सहयोग र सहकार्यबाट मात्रै हामी यो विश्वव्यापी महासंकटबाट जोगिन सक्छौं । जस्तोसुकै कठिन अवस्थाबाट भएपनि सबै एकजुट भएर कोभिड–१९ विरूद्धको लडाइमा अगाडि बढ्नुपर्ने अहिलेको प्राथमिकता हो ।
४. जनताको विकास पाउने अधिकार तथा समावेशी सहभागिता र समुन्नत जीवनयापनको आकांक्षा सम्बोधन गर्नसक्ने ठानी हामीलाई अमूल्य मत दिएर विजयी बनाउनु हुने तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण जनसमुदायप्रति यस अवसरमा म पुनः उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
जनताले दिएको अभिमत तथा हामीले जनतासमक्ष गरेको प्रतिवद्धता तथा जनताका आवश्यकतालाई मुल एजेण्डा बनाएर हामीले काम गर्न थालेको पनि तीन वर्ष पूरा भएको छ । यो सातौ नगरसभासम्म आइपुग्दा जनताका अपेक्षा र हाम्रो प्रतिवद्धतालाई सम्बोधन गर्ने दिशामा हामी सफलताका साथ अगाडि बढिरहेकोमा मलाई गर्वको महसुस भएको छ ।
संघीयता कार्यान्वयनभन्दा पहिले सामान्य विकासे अड्डाका रूपमा मात्रै रहेको तुलसीपुर उपमहानगर–पालिकालाई घरदैलोको सरकारको रूपमा विकास गरेर जनतालाई सरकारको अनुभूति दिलाउन सफल भएका छौं ।
५. संघात्मक शासन प्रणाली हाम्रो मुलुकका लागि नयाँ अभ्यास हो । यस प्रणालीमा हामीले सिक्दै, सिकेका कुरा प्रयोग गर्दै सफलताहरूलाई अनुकरण गर्दै कमजोरीहरू सुधार गर्दै अगाडी बढिरहेका छौं ।
संविधानले निर्दिष्ट गरेका अधिकारहरू तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थालाई पालना गर्दै तुलसीपुर उपमहानगरपालिकाले जनमुखी सेवा प्रवाह गरिरहेको कुरा सर्वविदितै छ ।
६. जनतालाई छिटो छरितो, सर्वसुलभ र गुणस्तरिय सेवा दिने, जनताले चाहेको विकास प्रक्रियालाई शिरमा राख्दै, जनभावनालाई उच्च सम्मान गर्दै सुरक्षित जीवनयापनको अनभूति गराउने मुलध्येय बाहेक हाम्रो अर्को कुनै शर्त छैन यसका लागि दैनिक प्रशासन सञ्चालन, कानुन, नीति निर्माण तथा योजना तर्जुमा र कार्यान्वयनलाई उच्च प्राथमिकताका साथ सम्पादन गरिरहेका छौ ।
७. जनताको विश्वास र आकांक्षालाई सफलिभूत पार्न इमान्दारीपूर्वक जिम्मेवारीवोध गर्दै हामीले हाम्रो उपमहानगरपालिकालाई ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’को रूपमा चिनाउन र स्थापित गर्न मन, वचन र कर्मले लाग्ने संकल्प गरेका छौं । यसलाई सार्थक बनाउन मुस्कानले स्वागत र व्यवहारले सहयोग गर्ने कार्यशैली बनाएका छौं ।
८. तुलसीपुर उपमहानगरपालिकाले विकास निर्माण, नीति निर्माण, विकास निर्माणको कार्य सञ्चालन, आन्तरिक तथा बाह्य स्रोत परिचालन, सार्वजनिक तथा निजी साझेदारीका कार्यक्रमहरू सञ्चालनलगायत समग्र विषयका आधारमा नगरविकास कोषबाट यसै आर्थिक वर्षमा मुलुककै उत्कृष्ट नगरपालिकाका रूपमा घोषित भएको खुसी म यो महत्वपूर्ण अवसरमा यहाँहरू समक्ष बाँड्न चाहन्छु ।

आदरणीय नगरसभाका सदस्यज्यूहरू,

९. पहिलो वर्ष हाम्रा लागि सिकाइ, कानुन, योजना तथा निर्माणको वर्ष थियो । दोस्रो वर्षमा हामीले तुलसीपुरको समृद्धिको आधार खडा ग¥यौं । तेस्रो वर्षलाई हामीले सडक वर्षका रूपमा १९ वटै वडामा गुणस्तरिय सडक पु¥याउँदै थियौं तर कोरोनाको संकटले ती सडकको स्तरोन्नती मात्र सम्भव भएको छ ।
चौथो वर्षमा कोरोना संक्रमणको विषम परिस्थितिलाई सम्बोधन गर्न स्वास्थ्य, कृषि, रोजगारी, शिक्षा र सडक तथा अन्य पूर्वाधार विकासतर्फ हामीले मुख्य ध्यान दिने कुरा जानकारी गराउन चाहन्छु ।
१०. आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम तर्जुमाको आधार हामीले गरेका कार्यहरूको सिंहावलोकनको आधार हुन् ।
हामीले हिडेको बाटोलाई संघीय र प्रदेश सरकारले समेत पछ्याएको देख्दा हामीलाई गर्वको अनुभूति हुन्छ । अब म यहाँ विगतका महत्वपूर्ण र नमुनायोग्य नीति तथा कार्यक्रमलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
११. एकाएक र हठात हामीले सामना गर्नुपरेको कोभिड–१९ को महामारीलाई सीमित स्रोत र साधनका बाबजुद पनि आइसोलेसन, क्वारेन्टाइन निर्माण, अलपत्र अवस्थामा देश तथा विदेशका र तुलसीपुरका मात्रै होइन नेपालभरकै नागरिकलाई पनि मानवीय सेवा र व्यवस्थापन गरेका छांै ।
१२. संकटको बीचमा पनि अनेक सम्भावना र अवसर हुन सक्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै श्रम बैंकमार्फत रोजगारको सिर्जना गरियो । यसले बेरोजगारलाई रोजगार मात्रै दिएन की रोजगारदाताहरूलाई आवश्यक श्रमिक शक्ति उपलब्ध गराउने आधार स्थापित ग¥यो ।
यो अभ्यासलाई सामान्य अवस्थामा पनि उपयोग गर्न सकिने आधार तय भएको छ । यो तीनै तहका सरकारका लागि सिकाइ र अनुकरणको विषय बन्नुका साथै अनुसन्धानकर्ताका लागि अध्ययनको प्रवर्तनात्मक विषय बनेको छ ।
१३. जनतासँग तुलसीपुर भन्ने अवधारणाका आधारमा हामीले तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास पूर्वाधारलाई अगाडी बढायौं । चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिइएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार बनाएको छ ।
आगामी वर्ष यसले सडक पूर्वाधारबाहेक अन्य क्षेत्रमा पनि द्रूतगतिमा विकास गर्नेछ । प्राधिकरणले सीमित स्रोत र साधनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सोचलाई मूर्तता दिएको छ ।
१४. ‘जहाँ विद्यार्थी त्यही शिक्षक र भौतिक संरचना’ भन्ने नीतिअनुसार हामीले न्यून विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयहरूलाई दुर्गम तथा पहाडी क्षेत्रमा बाहेका मर्जर गर्ने नीतिलाई अगाडि बढाएका छौं । यसलाई निरन्तरता दिदै संघ सरकारले पनि यो प्रक्रियालाई देशव्यापीरूपमा विस्तार गर्दै अनुदान दिई मर्जरलाई प्रोत्साहन गर्ने नीति अगाडी सारेको छ ।
१५. सक्षम जनशक्ति–घरदैलोमा सेवा भन्ने नीति अनुसार तुलसीपुर उपमहानगरपालिकालाई दक्ष जनशक्तिले सुसम्पन्न बनाएर तिव्र र गुणस्तरिय सेवा प्रदान गर्नका लागि हरेक वडामा अधिकृतस्तरको वडा प्रमुख, इन्जिनियर, सवइन्जिनियर र अमिनलगायतका आवश्यक कर्मचारीको व्यवस्था गरिएको छ ।
नगर कार्यालयमा पर्याप्त जनशक्तिको व्यवस्था गरिएको छ । यसले जनताको काम छिटो, छरितो, गुणस्तरिय र सरल ढंगले अगाडि बढिरहेकोे छ ।
१६. तुलसीपुर नगरबासीले गौरव अनुभूति गर्ने खालका हामीले नगरका गौरवपूर्ण आयोजनाहरू जस्तैः तुलसीपुर कृषि उपज, तरकारी तथा फलफुल बजार, तुलसीपुर आधुनिक बसपार्क, तुलसीपुर मेट्रो कलेज (बहुप्राविधिक शिक्षालय),
तुलसीपुर अटो भिलेज लगायतका आयोजनाहरूलाई सम्पन्न गरिसकेका छौं भने तुलसी ट्रेड टावरको डिपिआर तयार गर्नुका साथै ऐतिहासिक तथा धार्मिकस्थल छिल्लीकोटोको केबुलकार सम्भावना अध्ययनको कार्य अन्तिम चरणमा रहेको छ  । यस्तै प्रकृतिका अन्य गौरबका योजनाहरू निर्माण गर्ने प्रक्रियामा छौं ।
१७. स्वास्थ्य सेवामा सुदृढीकरण र मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई प्रोत्साहन भत्ता वितरण गरेका कारण सुत्केरी आमाको मृत्युदरलाई २ वर्षमै शुन्यमा झार्न हामी सफल भएका छौं । जसले गर्दा तुलसीपुर शुन्य मातृ मृत्युदर हुने नेपालकै अग्रणी स्थानीय तह बनेको छ । यसका साथै संस्थागत सुत्केरी दरलाई शतप्रतिशत पु¥याएका छौं ।
१८. ‘कृषक पहिचान, कृषिमा स्वाभिमान’ भन्ने नीति अनुरूप करिब २ सय कृषकलाई कृषक परिचय पत्र वितरण र उत्कृष्ट कृषक सम्मानको प्रक्रिया थालनी ग¥यौं । साथै आगामी वर्षमा ब्यावसायिक कृषकहरूलाई विशेष अनुदान प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
१९. कृषि उत्पादन वृद्धि गर्न र युवाहरूलाई समेत कृषि पेशातर्फ आकर्षित गर्नका लागि धान, मकैजस्ता खाद्यबालीमा अनुदान दिनुका साथै करार खेती गर्नेको जग्गा भाडा दिने प्रक्रिया सुरूवात गरिएको, प्लाष्टिक टनेल वितरण र बन्द अवस्थामा रहेका डिप बोरिङहरूको सञ्चालन ग¥यौं ।
२०. दाङको गौरबका रूपमा रहेको ऐतिहासिक टरिगाउँ विमानस्थल नियमित सञ्चालनमा आएर दैनिक दुईवटा उडान भर्नका लागि सक्षम भएको छ ।
यसका अतिरिक्त विमानस्थलका पूर्वाधारहरू टर्मिनल भवनलगायतका निर्माण भइरहेका छन् । यस विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको पाइलट कोर्षको अध्ययनको लागि सम्भावना अध्ययनको कार्य सम्पन्न भएको छ ।
२१. तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रूपमा विकास गर्न तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) स्थापना गरेर यसै वर्षबाट वन विज्ञानको कक्षा सञ्चालन भइरहेको छ भने यस क्षेत्रका आठवटा सामुदायिक विद्यालयहरूलाई प्राविधिक शिक्षा सञ्चालनका लागि अनुदान दिएर विभिन्न प्राविधिक विषयहरूको अध्यापन भइरहेको छ ।
यसै वर्षबाट प्रदेश सरकारको सहयोगमा तुलसीपुर बहुप्राविधिक शिक्षालयका लागि बजेट विनियोजन भएको कुरासमेत जानकारी गराउँन चाहन्छु ।
२२. ‘स्वस्थ जनता, सुखी नगरबासी’ भन्ने मूलमन्त्रका साथ जनताको आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न विशेषज्ञ चिकित्सकसहितको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र, ११ वटा नगर स्वास्थ्य केन्द्र तथा ६ वटा चौविस घण्टे प्रसूति सेवा केन्द्र, ८ वटा प्रयोगशाला सहित १९ वटै वडामा गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच वृद्धि गरेका छौं ।
यसका अतिरिक्त ज्येष्ठ नागरिक, गर्भवती महिलालाई पचास प्रतिशत छुटसहित ३ वटा एम्बुलेन्स विकट वडाबाट सञ्चालन गरिरहेका छौं ।
२३. भ्रमण वर्ष २०२० को अवसरमा हामीले ‘घुम्न जाउँ तुलसीपुर’ अभियान सुरूवात गरी विभिन्न पर्यटकीय क्षेत्रको गुरूयोजनासहित पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न विभिन्न होमस्टेहरू सञ्चालनमा ल्याएका छौं ।
२४. सूचना प्रविधिमैत्री सरकारको अवधारणा अनुरूप उपमहानगरपालिकालाई डिजिटल प्रविधियुक्त बनाउने काम भएको छ । जस अनुसार उपमहानगरपालिकाको कार्यालयभित्र सिसीटिभी जडान, विद्युतीय हाजिरी,
विद्युतीय पालो प्रणालीअनुसार सेवाग्राहीलाई सेवा प्रवाह, डिजिटल नागरिक वडापत्र, गर्भवती तथा सुत्केरी आमाहरूको डिजिटल रेकर्ड, वडा कार्यालयबाट अनलाईन घटना दर्ता, हेल्लो मेयर टोल फ्रि नम्वर, हेल्लो मेयर इमेल, फेसवुक,
ट्विटर, तुलसीपुर एप्स तथा वेवसाईट आदि कार्यान्वयनमा आइसकेका छन् । अनलाईनमार्फत वडा वडाबाट सम्पत्ति कर बुझ्ने र घटना दर्तासम्बन्धी कार्य वडा कार्यालयबाटै सञ्चालन गरिने व्यवस्था कार्यान्वयन गरिसकिएको छ ।
२५. तुलसीपुर उपमहानगर–पालिकामा असल तथा जनमुखी शासन स्थापना गर्न र नगरबासीलाई गुणस्तरीय सेवा प्रवाहमा सहजता ल्याउन १७ वटा ऐन र ६० वटा नियमावली, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरू निर्माण गरी कार्यान्वयन गरिएको छ ।
२६. तुलसीपुर उपमहानगर–पालिकाको स्थानीय अदालतको रूपमा रहेको न्यायीक समितिमा परेका उजुरीहरूलाई समयमै फछ्र्यौट गर्ने परिपाटीको विकास गरेका छौं ।
२७. उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न नियमित बजार अनुगमन तथा नियमन प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छौं ।
२८. तुलसीपुर उपमहानगरपालिकाले सुरूवात गरेको श्रम बैंक, विद्यालय समायोजन, स्यानीटरी प्याड वितरण, सुरक्षित आवास (खरको छानो विस्थापन गरेर जस्ता पाता लगाउनको कार्य), पूर्वाधार विकास प्राधिकरणजस्ता असल अभ्यास र नीतिहरू संघ, प्रदेश र अन्य स्थानीय तहले समेत अनुशरण गरेका छन् ।

नगरसभाका सदस्य ज्यूहरू,

अब म आगामी आर्थिक वर्षका प्राथमिकता प्राप्त नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु ।
१. जनस्वास्थ्य तथा पोषण र कोभिड–१९ बाट जनताको
सुरक्षा

– कोभिड १९ को विश्वव्यापी महासंकट अहिले पनि विद्यामान छ । यतिबेला जीवन रहे भविष्यमा विकास र समृद्धि देख्न पाइन्छ । त्यसैले यतिबेला संघ, प्रदेश र स्थानीय सरकार सबैको ध्यान जनताको जीवन रक्षा नै रहेको छ ।
जीवन जोगाउने कुरा यतिबेला सबैभन्दा महत्वको विषय हो । यसैका आधारमा स्वास्थ्य क्षेत्र सुदृढीकरणलाई यस आर्थिक वर्षको सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रूपमा प्रस्ताव गरिएको छ ।
– कोभिड–१९ लगायतका महामारी तथा अन्य संक्रामक रोग न्यूनीकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिई यसको रोकथाम, नियन्त्रण, पूर्वतयारी र प्रतिकार्यको व्यवस्था गर्दै पालिकाभित्र जीवन बचाउने औषधी, औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको सहज आपूर्ति वा भण्डारणको व्यवस्था गरी जनतालाई सुरक्षित राखिनेछ ।
– संविधानले निर्देश गरेअनुरूप मौलिक हकको रूपमा रहेको आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच पु¥याइनेछ र स्वास्थ्य बिमा प्रणाली लागू गरिनेछ  ।
– मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, पाँच वर्ष मुनिका बच्चाहरूको मृत्युदर र औषत आयुजस्ता स्वास्थ्य र विकासका महत्वपूर्ण सूचनाहरूमा आधारित प्रगतिका लक्ष्यहरू किटान गरी लागू गरिनेछ ।
– स्वास्थ्य सूचना ब्यवस्थापन प्रणालीलाई वैज्ञानिक बनाउन समयानुसार विश्वसनीय तथा डिजिटल प्रणालीमा आधारित रिपोर्टिङ प्रणाली लागू गरिनेछ । दूरचिकित्सा प्रणाली, विद्युतीय स्वास्थ्य प्रविीि एम्–हेल्थ, ई–हेल्थ र अन्य आधुनिक प्रविधिलाई अवलम्बन गरि स्वास्थ्य सेवालाई सुदृढ बनाइनेछ ।
– भिमसेन नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रूपमा विकास गरिनेछ । अन्य संघ संस्थासँग मिलेर तुलसीपुर ट्रमा तथा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न आवश्यक कार्य गरिनेछ ।
– आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिदै आएको मातृशिशु सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– एम्बुलेन्स सेवालाई अत्यावश्यक औषधी, अक्सिजन र दक्ष स्वास्थ्यकर्मी सहितको सेवामार्फत थप ब्यवस्थापन गरिनेछ । साथै ज्येष्ठ नागरिक र सुत्केरीलाई प्रदान गरिदै आएको सहुलियतलाई निरन्तरता दिइनेछ ।
– परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत यौन तथा प्रजनन स्वास्थ्यलाई एकीकृत सेवाको रूपमा कार्यान्वयन गर्न नगरमा स्मार्ट स्वास्थ्य सेवा प्रणाली संचालन गरिनेछ । किशोर किशोरीमैत्री स्वास्थ्य सेवा विस्तार गरिदै लगिनेछ ।
– देशको मौलिक चिकित्सा पद्धतिको रूपमा आयुर्वेदको विकासमा जोड दिइनेछ र नेपाल संस्कृत विश्वविद्यालयसँग हातेमालो गर्दै तुलसीपुर उपमहानगरपालिकालाई आयुर्वेद, योग तथा जडिबुटी चिकित्साको हवको रूपमा स्थापित गरिनेछ । अन्य वैकल्पिक चिकित्सा प्रणालीहरूको पनि विकास गर्दै लगिनेछ ।
– नसर्ने रोगहरूको उपचार तथा सचेतना समुदाय तथा विद्यालय स्तरदेखि लागू गरिनेछ ।
– २ वर्षभित्र उपमहानगरलाई मोतिविन्दुमुक्त नगरको रूपमा रूपान्तरण गरी उज्यालो संसार दृष्टि नगरका रूपमा विकास गरिनेछ ।
– मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि उपमहानगरपालिकाको ३ वटा स्वास्थ्य संस्थामा मनोपरामर्श इकाईको ब्यवस्थापन गरिनेछ ।
– सबै नागरिकलाई वर्षमा कम्तीमा २ पटक स्वास्थ्य जाँच गर्न अभिप्रेरित गर्ने र जाँच गरी सकेकालाई स्मार्ट हेल्थ कार्ड वितरण गरिनेछ ।
– सिकलसेल एनिमिया अनुवांशिक रोगको रोकथाम तथा सामाजिक व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
– तुलसीपुरमा मेडिकल कलेज तथा मल्टीप्रपोज आधुनिक ल्यावको स्थापना गरी सेवा प्रवाह गर्नका लागि संघ, प्रदेश, निजी क्षेत्र र सहकारीसँग सहकार्य गरिनेछ ।
– स्वास्थ्यकर्मीको क्षमता विकास, अध्ययन सुविधा तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
– विपन्न एकल महिला, ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकका लागि स्वास्थ्य सुरक्षा विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
– निजी अस्पताल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, औषधि पसल तथा एम्बुलेन्स सञ्चालनको नीतिगत नियमन तथा सहकार्यको कार्यक्रम लागू गरिनेछ ।
– तुलसीपुरलाई स्वास्थ्य उपचारको हबका रूपमा विकास गरिनेछ । सबै स्वास्थ्य संस्थाहरूमा ल्याव सेवा सञ्चालन गरिनेछ । राप्ती प्रादेशिक अस्पताललाई प्रदेश सरकारको समन्वयमा विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गरिनेछ ।
राप्ती आँखा अस्पताल, विजौरी प्रादेशिक आयुर्वेद अस्पताल, राप्ती आयुर्वेद अस्पताललाई संघ तथा प्रदेश सरकारको समन्वयमा पूर्वाधार विकास तथा पूर्णस्तरीय सेवाका निम्ती सहकार्य गरी आवश्यक कार्य गरिनेछ ।
– संगठित तथा असंगठित क्षेत्रका मजदुरलाई लक्षित गरी आधारभूत स्वास्थ्य जाँचको व्यवस्था गरिनेछ ।
– तुलसीपुरका विकट बस्तीमा विशेषज्ञ स्वास्थ्य शिविर तथा स्क्रिनिङ क्याम्प सञ्चालन गर्नुका साथै २४ घण्टे प्रसूति सेवालाई थप प्रभावकारी बनाइनेछ  ।
– एच.आई.भी. एड्स रोगको प्रकोप दर घटाउन सम्बन्धित संस्था तथा जोखिम समूहसँग साझेदारीको कार्यक्रम सञ्चालन गरिनेछ । एचआइभी प्रभावित भए समाजमा खुलेर यस सम्बन्धी सचेतना जगाउने व्यक्तिको परिवारलाई विशेष सहयोगको व्यवस्था गरिनेछ ।
– योग, ध्यान, आयुर्वेद र प्राकृतिक चिकित्सालाई स्वस्थ जीवनको आधार बनाउन आवश्यक कार्य गरिनेछ ।
– स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापनलाई थप सुदृढीकरण गरिनेछ । स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी स्वास्थ्यकर्मीको मनोबल बढाउने र स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
– महिला स्वास्थ्य स्वयम्सेविकाको सेवालाई थप प्रभावकारी बनाउन प्रोत्साहन स्वरूप मासिक सञ्चार खर्चको ब्यवस्था तथा अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ ।
– तुलसीपुरमा सञ्चालित स्वास्थ्य संस्थाबाट प्रदान गरिदै आएका स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउन र औषधि उपकरणको अभाव हुन नदिन आवश्यक बजेट विनियोजन गरिनेछ । साथै तुलसीपुरमा बसोबास गर्ने गरिब, सीमान्तकृत तथा पछाडि परेका समुदाय भएका क्षेत्रहरूमा आवश्यकताका आधारमा थप स्वास्थ्य सेवाको विस्तार गर्दै लगिने छ ।
– तुलसीपुरमा बहुक्षेत्रीय पोषण तथा आपतकालीन पोषण कार्यक्रम सञ्चालन र पोषण पुनस्र्थापना केन्द्र तथा उपचार केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाइने छ । प्रत्येक बर्ष उपमहानगरको एउटा वडा पूर्ण पोषणयुक्त घोषणा गरिनेछ ।
– सुनौला हजार दिनका आमाहरूलाई पोषण प्रवद्र्धनमा सचेतना र सहयोगका कार्यक्रम सञ्चालन गरिनेछ ।
– धुम्रपान तथा मध्यपानमुक्त टोल घोषणालाई अगाडी बढाइने छ ।
– हलवार, मानपुर, कोठरी र फुलबारी स्वास्थ्य चौकीहरूमा ल्याव सेवा, वर्थिङ्ग सेन्टर सेवासहित नगर स्तरीय स्वास्थ्य प्रवद्र्धन केन्द्र (आधारभूत तह अस्पताल) का रूपमा विकास गरी सञ्चालन गरिनेछ ।
– प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा स्थापित बेलभुण्डी कोरोना विशेष अस्पताललाई प्रदेशस्तरकै सरूवा रोग नियन्त्रण अस्पतालका रूपमा विकास गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।
– संघ, प्रदेश र अन्य संघसंस्थाहरूको सहयोगमा क्वारेन्टाइनहरूलाई थप व्यवस्थापन गरिनेछ । आवश्यकता अनुसार आइसोलेसन सेन्टरलाई विस्तार गरी सञ्चालनमा ल्याइनेछ ।

२. कृषि, पशुपन्छी, माछा विकास र लक्षित वर्ग आर्थिक सशक्तिकरण सम्बन्धी नीति तथा कार्यक्रम

– कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण तथा ब्यवसायीकरण गरी कृषि उत्पादनमा बृद्धि गरिनेछ
– भू–उपयोगको नीति निर्माण गरी जग्गाको वर्गीकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिइनेछ  ।
– उन्नत बीउको प्रयोगलाई बृद्धि गर्न बीउ उत्पादन क्षमतालाई बढाइ बीउको आयातमा कमी गर्दै लगिने छ । यसका साथै किसानलाई उन्नत बीउको सहज उपलब्धता र हाइव्रिड बीउ प्रतिस्थापन दरमा बृद्धि गरिनेछ । बीउबिजन बैंकको स्थापना गरिनेछ ।
– कोभिड–१९ को महामारीका कारण घर गाउँमा फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा गाउँघरमै रोजगार दिइने व्यवस्थाका साथै परामर्शको व्यवस्था मिलाइने छ ।
उत्कृष्ट कृषकहरूलाई प्रोत्साहनका लागि व्यावसायीक कृषक परिचयपत्र वितरण र सम्मानलाई निरन्तरता दिइनेछ
– जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिदै बाझो जग्गाहरूमा खेती प्रणाली विस्तार गरी रोजगार सिर्जना गरिनेछ । जग्गा बाँझो राख्नेलाई दण्ड जरिवाना गरिनेछ ।
– नगर क्षेत्रमा माटो परिक्षण प्रयोगशाला स्थापना गरी माटो सुहाउँदो खेती प्रणालीलाई विकास गरिनेछ ।
– माटो व्यवस्थापन गर्दै दिगो कृषि उत्पादनमा बृद्धि गरी प्रांगारिक कृषि प्रविधिहरूको प्रयोगमार्फत कृषि उत्पादन बृद्धि गर्न प्रांगारिक कृषि उत्पादनलाई प्रवद्र्धन गरिनेछ ।
– कृषिको व्यवसायीकरणका लागि ग्रामीण क्षेत्रमा ‘एक गाउँ/टोल एक कृषि फर्म’ र शहरी क्षेत्रमा एक घर एक कौशी खेती कार्यक्रमलाई अगाडि बढाइनेछ ।
– जग्गा चक्लाबन्दी गरी सामूहिक तथा व्यावसायिक खेती प्रणालीको विकास गर्नुका साथै कृषि उत्पादनको बजारीकरणका लागि वडास्तरका कृषि उत्पादनहरूलाई नगरको कृषि उपज बजार केन्द्रसँग जोडिनेछ ।
– कृषि उत्पादनको उचित भण्डारणको व्यवस्थापन गर्नका लागि कोल्ड स्टोर, गोदाम घर स्थापना गरी कृषि उत्पादनको क्षति र अभाव हुनबाट संरक्षण गरिनेछ ।
– कृषि क्षेत्रमा लगानी बृद्धि गर्न तथा साना कृषकहरू, कृषि व्यवसायीहरूलाई सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउन वित्तीय संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गरिनेछ ।
– कृषि व्यवसायीकरण तथा कृषकको बाली सुरक्षा गर्न कृषि बिमा कम्पनीहरूसँग समन्वय गरी कृषि विमालाई प्रोत्साहन गरिनेछ ।
– कृषिमा देखापर्ने रोग, किराको प्रकोप तथा महामारीको नियन्त्रण तथा व्यवस्थापन गर्न आकस्मिक बाली संरक्षण सेवा सञ्चालन गरिनेछ । रासायनिक विषादी न्यूनीकरण गर्न जैविक तथा वानस्पतिक विषादी तथा घरेलु विषादीको प्रयोगमा वृद्धि गरिनेछ ।
– नगरभित्र व्यवसायीक पुष्प खेती विस्तार गरी पुष्प आयातलाई न्यूनीकरण गरिनेछ ।
– आवश्यकता अनुसार हरेक वडा कार्यालयमा कृषि तथा पशु सेवा इकाई स्थापना गरिनेछ । एक वडा, एक–एक कृषि र पशु प्राविधिकको व्यवस्था गरी किसानहरूलाई खेतबारी र घर गोठमै प्राविधिक सेवा उपलब्ध गराइने छ ।
– रैथाने बालीको संरक्षण,उत्पादन तथा प्रवद्र्धन गर्न नगरभित्र बीउ बैंकमार्फत कार्य गरिनेछ ।
– संघ र प्रदेश सरकारको समन्वयमा व्यवसायी कृषि प्रवद्र्धन, किसानको उत्पादन खरिद र बजारीकरणका लागि आवश्यक कार्य गरिनेछ ।
– ‘पशुपंक्षीको नश्ल सुधार, आम्दानी र रोजगारीको आधार’ भन्ने नीतिलाई कार्यान्वयन गर्न पशु नश्ल सुधार र कृत्रिम गर्भाधान कार्यक्रमलाई साना ठूला व्यावसायीक किसानसम्म निःशुल्क पु¥याउने नीति अबलम्बन गरिनेछ ।
– पशु स्वास्थ्य सेवालाई सहज बनाउन रोग निदान तथा उपचारका साथै प्रयोगशाला र कृषि तथा पशु एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ ।
– पशुपालन पकेट क्षेत्र छनौट र उत्पादन बृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै घाँसखेतीमा आधारित पशुपालनमा जोड दिन कृषकहरूलाई प्रोत्साहन गरिनेछ । पकेट प्याकेज फ्लोअप कार्यक्रम निरन्तर सञ्चालनमा गर्ने नीति अबलम्बन गरिनेछ ।
– यस नगरका दुर्गम क्षेत्रहरूमा पशु स्वास्थ्य शिविर र घुम्ती स्वास्थ्य सेवामार्फत खोप तथा अन्य कार्यक्रम सञ्चालन गरी सेवालाई बिस्तार गरिनेछ ।
– माछा, मासु, दही, दूध, मह लगायतका किसानका पशु उत्पादनहरूलाई बजार प्रवद्र्धन गरिनेछ ।
– एक स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन जुनोटीक रोग नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
– ब्यवसायिक पशुपालन प्रवद्र्धन गर्दै जोखिम न्यूनीकरणका लागि पशु बिमा सचेतना सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
– पशुहरूको गोठ तथा भकारो सुधार गरी पशुपंक्षीजन्य उत्पादनमा बृद्धि गरिनेछ । छाडा चौपाया नियन्त्रण र व्यवस्थित गरिनेछ ।
– स्थानीय साकिनी प्रजातीको कुखुरा र बदिया भालेको उत्पादन बृद्धि तथा माछापालन, माहुरीपालन, रेशम खेती, व्यवसायीक तरकारी खेतीलगायतको व्यवसायलाई प्रवद्र्धन गरिनेछ ।
– कृषि तथा पशुपंक्षी गणना सम्पन्न गरी कृषि तथा पशुपंक्षीको नगरस्तरीय प्रोफाइल तयार गरिनेछ ।
– मापदण्ड पुगेको र दर्ता भएका कृषि फर्ममा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानहरूलाई चारा र दाना मेसिन अनुदानमा उपलब्ध गराइनेछ ।
– परम्परागत कृषि औजार उत्पादन गर्ने कृषि उद्यमीहरूलाई प्रोत्साहन गरिनेछ ।
– तुलसीपुर आधुनिक कृषि उपज तरकारी तथा फलफूल बजारमा शित भण्डार स्थापना गरिनेछ ।
– कृषि उपज भण्डार, कोल्ड स्टोर, मलखाद गोदाम, एग्रो मिट मार्ट निर्माणमा संघ र प्रदेश सरकार तथा सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी आवश्यक कार्य गरिनेछ ।

३. शिक्षा तथा प्राविधिक शिक्षाको विकास

– विश्वभर फैलिएको महामारीको कारण हाल तुलसीपुरका शैक्षिक संस्थाहरू बन्द गर्नुपरेको अवस्था छ । सामान्य अवस्थामा तत्काल फर्किन नसकिने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिइने छ ।
– विद्यार्थीहरूको सूचना प्रविधिमा पहँुचको आँकलन गर्न सर्वेक्षण गरी इन्टरनेट, टेलिभिजन, रेडियोका माध्यमबाट दूर शिक्षा प्रदान गरिने व्यवस्था गरिनेछ ।
– प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीहरूको लागि कार्यपुस्तकलगायतको व्यवस्था गरी शिक्षक र स्थानीय स्वयम्सेवकहरूको परिचालनबाट ‘टोल–टोलमा सिकाइ’ कार्यक्रम लागू गरिनेछ । विद्यार्थी र शिक्षकहरूलाई जोडि राख्नका लागि टोल फ्रि फोनको व्यवस्था गरिनेछ ।
– सीमित समय र विद्यार्थीहरूलाई सामाजिक दूरी तथा अनलाईन प्रविधि प्रयोग गरी त अध्ययन अध्यापन गराउने गरी विद्यालयहरूले अपनाउनुपर्ने सावधानी र व्यवस्थासहित निर्देशिका तयार गरिनेछ ।
– सबै विद्यालयहरूलाई क्रमैसँग इन्टरनेटको पहुँच पु¥याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । ईलाईब्रेरी र प्रविधिबाट टाढा भएका विद्यालय र विद्यार्थीहरूलाई अफलाईन डिजिटल कन्टेटको व्यवस्था गरिनेछ ।
– सिकाइलाई जीवन, समाज र पाठ्यक्रमसँग जोड्ने खालका परियोजनात्मक सिकाइ कार्यलाई प्रोत्साहन गर्ने सिकाइ सामग्री निर्माण र प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गरिनेछ ।
– प्रारम्भिक उमेर समूहका विद्यार्थीहरूलाई घरैमा सिकाउन अभिभावकलाई उत्प्रेरित गरिनेछ ।
– नेपालको संविधानले सबै विद्यार्थीहरूलाई आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य तथा निःशुल्क बनाउन परिकल्पना गरेबमोजिम यसै आर्थिक वर्षदेखि आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म पूर्णरूपमा निशुल्क बनाइने छ ।
– यस वर्ष सुविधासहितका १० वटा नमुना बालविकास केन्द्र स्थापना गरिनेछ ।
– सामुदायिक सिकाइ केन्द्रहरूलाई प्रभावकारी बनाइने छ । कम्तिमा हरेक वडामा एउटा मन्टेश्वरी शिक्षण पद्धति भएको विद्यालय स्थापना गरिनेछ । शिशु कक्षा सहयोगीहरूको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्तालाई सेवा सुविधा दिइनेछ ।
– शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– विद्यालय हाता बाहिर वडा कार्यालय र वि.व्य.स.ले तोकेको सीमा क्षेत्रभित्र मादकपदार्थ तथा सूर्तिजन्य वस्तुहरू र जंकफुडको बिक्री वितरणमा पूर्णतः निषेध गरिनेछ ।
– एक वडा एक नमुना विद्यालय विकास कार्यक्रम लागू गरी त्यसमार्फत शिक्षक र विद्यालयहरूको क्षमता अभिवृद्धि, नुगमन, पृष्ठपोषण, भौतिक संरचना लगायतमा थप लगानी गरी गुणस्तरीय सिकाइको सुनिश्चितता गरिनेछ ।
– तुलसीपुरभित्रका विद्यालय–हरूलाई मर्जरको प्रक्रिया निरन्तरता दिदै ३० वटा नमुनायोग्य विद्यालय बनाउने कार्यक्रमलाई क्रमशः अगाडि बढाइने छ । दुर्गम क्षेत्रका विद्यालयलाई यथावत राख्दै स्तरबृद्धि गरिनेछ । 
– हाल विद्यमान रहेको विद्यार्थीको सिकाइ उपलब्धिलाई उच्च तहमा हासिल गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । अत्यन्त कम सिकाइ उपलब्धि भएका विद्यार्थीहरूको लागि उपचारात्मक कक्षाको व्यवस्था गरिनेछ ।
– – Annual status of educational report (ASER) लाई निरन्तर वार्षिक कार्यक्रमको रूपमा दिदै त्यसबाट आएका रिपोर्टका आधारमा तुलसीपुर उपमहानगरपालिकाको शिक्षाको रणनीति तयार गरी कार्यान्वयन गरिनेछ ।
– विद्यालय शिक्षाको गुणस्तर विकासको लागि अनुसन्धान, संरचनागत सुधार र व्यवस्थापन क्षमता विकास गर्ने कार्यक्रमलाई अगाडि बढाइने छ ।
– विद्यालयहरूको भौतिक, शैक्षिक तथा गुणस्तरियताको मापदण्ड निर्माण गरी कार्यान्वयन गरिनेछ । साथै शिक्षक, प्रधानाध्यापक र विद्यालयको कार्यसम्पादनको मापदण्ड निर्माण गरी लागू गरिनेछ ।
– विद्यार्थी संख्याअनुसार शिक्षक र कर्मचारीको दरबन्दी मिलान तथा बिस्तार गर्दै लगिनेछ । दरबन्दी अभाव भएका विद्यालयमा टिचफर नेपालसँगको सहकार्यमा स्वयम्सेवक शिक्षक परिचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
– विद्यालयहरूलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठालगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरूलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाइने छ ।
– व्यवसायिक तथा प्राविधिक शिक्षाको थप विस्तार र गुणस्तरमा बृद्धि गर्दै विद्यार्थीहरूको आकर्षण केन्द्र बनाइने छ ।
– नगरद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय (Tulsipur Institute of Technology) को पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने छ । तुलसीपुर मेट्रो कलेजलाई विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक र सोभन्दा माथिको पठनपाठन हुने गुणस्तरिय शैक्षिक संस्थाका रूपमा विकास गरिनेछ ।
– संघीय तथा प्रदेश सरकारको समन्वयमा तुलसीपुर उपमहानगरपालिकामा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय, पूर्वीय दर्शन, आध्यात्मिक आयुर्वेदिक, प्राकृतिक चिकित्सा, वैदिक कृषि, वास्तुशास्त्र, इन्जिनियरिङ,
योग र पौराणिक शास्त्रहरूको अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै यसको समयानुकूल आधुनिकीकरण र व्यवसायी बनाउन विश्वविद्यालयसँग साझेदारीमा कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
– विद्यालय शिक्षाको गुणस्तरको विकास गर्न संघीय, प्रदेश र अन्य गैर सरकारी संस्थाहरूसँगको सहकार्यलाई निरन्तरता दिईनेछ ।
– तुलसीपुरको गौरवका रूपमा नगरस्तरीय पुस्तकालय निर्माण गरी यसै बर्षबाट सञ्चालनमा ल्याइनेछ ।
– प्रधानाध्यापकसँग गरिएको कार्यसम्पादन सम्झौताको मूल्यांकन गरी नयाँ कार्यसम्पादन सम्झौता गरिनेछ । प्रधानाध्यापक र सबै शिक्षक कर्मचारीका बीचमा अनिवार्य कार्यसम्पादन गरी कार्यदक्षताको मूल्यांकनको आधार बनाइनेछ ।
– शिक्षाको विकासका लागि सामुदायिक, निजी, सहकारी विद्यालय तथा संस्थाहरूको सहकार्यमा तुलसीपुर जनशक्ति विकास तालिम केन्द्र सञ्चालनमा ल्याइनेछ ।
– स्थानीय भाषा र परिवेशमा आधारित पाठ्यपुस्तक निर्माण गरी लागू गरिनेछ ।
– उपमहानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूको स्तरका आधारमा शिक्षक दरबन्दी व्यवस्था गरी स्थानीय शिक्षा ऐनअनुसार योग्यता पुगेका प्रधानाध्यापक नियुक्त गरिनेछ ।
– एउटा कक्षामा ३० भन्दा बढी शिशु आकर्षित गरी बालविकास सञ्चालन गर्ने शिक्षक शिक्षिकालाई प्रोत्साहन गरिनेछ ।
– गुरूकुलम र आचार्य कुलम पद्धतिलाई शिक्षा विकासमा जोडेर नैतिक शिक्षा र आधुनिक प्राविधिक शिक्षाको विकास गरिनेछ ।
– संस्थागत विद्यालयहरूलाई आवश्यकताका आधारमा विशिष्ट शिक्षाको केन्द्र बनाउन मर्जर हुन चाहेमा मर्जरमा जानका निम्ति आवश्यक सहयोग गर्ने । निजी तथा संस्थागत विद्यालय सामुदायिक विद्यालयमा मर्जर हुन चाहेमा लगानीकर्तालाई आवश्यक सहुलियत प्रदान गर्ने ।
– निजी तथा संस्थागत विद्यालयका लगानीकर्ता, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकका बीचमा आवश्यक समन्वय र सहकार्य गर्दै शैक्षिक गुणस्तर विकासमा कार्य गर्ने ।
– सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल मेटाइ समान बनाउने ।

४. सिचाई

– खेतीयोग्य सबै जमिनमा सिंचाई सुविधा विस्तार, पानी भण्डारण क्षमता बृद्धि गरी पानीका स्रोत संरक्षण र नगरका साना खोलाहरूमा हार्भेष्टिङ ड्याम निर्माण गरी सिंचाईको प्रबन्ध मिलाइनेछ ।
– संघ र प्रदेश सरकारको समन्वयमा ग्वारखोला र पातुखोलामा हाईड्याम निर्माण गरी सिंचाई सुविधा विस्तारका साथै आकाशेपानी संकलन गरी सिंचाई पोखरी निर्माण र परम्परागत पोखरीहरूको संरक्षण तथा विस्तार गरिनेछ ।
– सम्भावनाका आधारमा सिंचाई आयोजनामा मर्मत सम्भार कोषको व्यवस्था गर्नुका साथै तुलसीपुर उपमहानगरपालिकाभित्रको सुख्खा क्षेत्रमा आकाशे पानी संकलन प्रविधिलाई विकास गरी प्रयोगमा ल्याईनेछ ।
– सम्भावनाका आधारमा प्रत्येक वडामा स्यालो ट्युववेल, डिप बोरिङ, पानी पोखरी (ड्याम) निर्माण गरी सिंचाई नपुगेको क्षेत्रमा सिंचाइको व्यवस्था गरिनेछ ।
– किसानहरूलाई बाह्रै महिना सिंचाई सेवा उपलब्ध गराउनका लागि सिंचाई मिटर जडान गराउनका स्यालो ट्युववेल तथा डिपवोरिङमा सिंचाई मोटर जडान गरेका किसानहरूलाई फागुन, चैत, बैशाख, जेठ महिनाका लागि विद्युत महसुलको ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

५. पर्यटन तथा संस्कृति प्रवद्र्धन

– नगर पर्यटन गुरूयोजना तयार गरी पर्यटन पूर्वाधारको विकास गर्नुका साथै घुम्न जाउँ तुलसीपुर अभियानलाई निरन्तरता दिदै पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेहरूको विस्तार गरिनेछ ।
– उपमहानगरपालिकाभित्रका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रसँग जोडिने भाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण सम्बद्र्धन गरी प्रचारप्रसार अभियानलाई तिव्रता दिइने छ ।
– थारू, मगर, कुमाल, नेवारलगायतका विभिन्न स्थानीय परम्परागत कला, संस्कृतिलाई साँस्कृतिक पर्यटनका रूपमा विकास गर्र्दै ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय स्थलहरूको खोज अनुसन्धान र जिर्णोद्वार गरिनेछ ।
– कृषि, उद्योग, वन तथा पर्यापर्यटनको विकास गरिनेछ । दोघरे, थर्कोट, बिजौरी छिल्लीबोट, हरेबास, चमेरे गुफा मार्गलाई पर्यटन मार्गको रूपमा विकास गरिनेछ ।
– उद्यान, पार्क, बगैचा ताल, गुफा र दहहरूको संरक्षण सम्बद्र्धन र निर्माण तथा विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धन गर्न पर्यटन गाईड, पर्यटन बस, घोडचढी र पद यात्रा सेवाको विकासमा जोड दिइनेछ । छिल्लीकोटमा केवलकार सञ्चालनका सार्वजनिक निजी साझेदारीमा आवश्यक कार्य गरिनेछ ।
– क्रान्ति संग्राहालय, दंगीशरण थारू संग्राहलय, जनजाति संग्राहलयको गुरूयोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
– साहित्य र कलाको विकासका लागि विभिन्न प्रतियोगिता र महोत्सवहरू आयोजना गरिनेछ ।
– परम्परागत लोक भाषा, बाजा, संस्कृति, भेषभूषा, खाना, चालचलन, रितिरिवाजलाई संरक्षण र विकास गरिनेछ ।
– सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गरिनेछ ।
– होटेल, होमस्टेको वर्गीकरण गरी पर्यटनमैत्री बनाउन आवश्यक कार्य गरिनेछ ।

६. वित्तीय सेवा र सहकारीको विकास

– सहकारी क्षेत्रको प्रवद्र्धन, विकास तथा नियमनलाई व्यवस्थित गर्न डिजिटल सहकारीको नीतिलाई निरन्तरता दिईनेछ र हाल आवद्ध भएको सहकारी सदस्य संख्या र पुँजीलाई कम्तीमा दोब्बर गरिनेछ ।
साना र समान उद्देश्य भएका सहकारीलाई आवश्यकता अनुसार मर्जरको प्रक्रियामा लगिनेछ र यस्ता मर्जर हुने सहकारीलाई अनुदानको व्यवस्था मिलाइनेछ । सहकारी संस्थाको अनुगमन तथा प्रवद्र्धन कार्यमा सहकारी संघहरूसँग समन्वय गरी कार्य गरिनेछ । एक घर कम्तीमा एक सहकारी सदस्यको नीतिलाई कार्यान्वयन गरिनेछ ।
– शिक्षा, स्वास्थ्य, यातायात र सुपथ मूल्य पसल खोल्न सहकारी संस्थालाई प्रोत्साहन गरी मूल्यांकनको आधारमा नगरपालिकाबाट शेयर तथा अनुदान प्रदान गरिनेछ ।
– मेरो पनि बैंक खाता अभियानलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षबाट तुलसीपुर उपमहानगरपालिकामा हुने नगद कारोवारलाई अन्त्य गरी बैंकबाट हुने कारोबारलाई प्रोत्साहन गरिनेछ ।
– महिला सहकारी संस्थामा आवद्ध भएका सदस्यहरूलाई व्यवसायिक सीप विकास तालिम प्रदान गरी महिला उद्यमशीलताको विकास गरिनेछ ।
– किसान तथा साना व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरिनेछ । सार्वजनिक, निजी र सहकारीको सहकार्यमा आर्थिक विकासका कार्यहरू गरिनेछ । सहकारी संस्थाहरूमार्फत कारोबार र व्यवसाय प्रवद्र्धन गर्न प्राथमिकताका साथ कार्य गरिनेछ ।
– यस उपमहानगरपालिकाभित्र रहेका सहकारी, बैंक तथा वित्तीय संस्थाहरूका बीचमा आवश्यक समन्वय गरेर कृषि, पर्यटन, उद्योग, व्यवसायमा लगानी प्रवद्र्धन गर्न आवश्यक कार्य गरिनेछ । सहकारी, बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइ कार्य गरिनेछ । अनौपचारिक क्षेत्रको आर्थिक कारोबारलाई निरूत्साहित गर्दै औपचारिक ढंगले सहकारी, बैंक र वित्तीय संस्थाबाट हुने कारोबारलाई प्रवद्र्धन गरिनेछ ।

७. खाद्य सुरक्षा, रोजगार प्रवद्र्धन तथा गरीबी निवारण

– तुलसीपुरमा बेरोजगार रहेका तथा विश्वव्यापी कोभिड–१९ को महामारीको कारणले रोजगारी गुमाएर भारतलगायत अन्य मुलुकबाट फर्किएका स्थानीय नागरिकहरूको तथ्यांक लिएर उनीहरूको योग्यता, सीप, क्षमता र अनुभवको आधारमा वर्गीकरण गरी श्रम बैंकमार्फत रोजगारी उपलब्ध गराईनेछ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ठूला आयोजनासँग जोडी उपभोक्तामार्फत गरिने योजना कार्यान्वयनमा हेभी इक्युपमेन्टको प्रयोग नगरी श्रमिकद्वारा काम गराउने नीति अबलम्बन गरिनेछ ।
– बेरोजगार युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गरी बीउ पुँजी वा प्राविधिक सहयोग उपलब्ध गराइनेछ । साथै उक्त कार्यक्रमको निरन्तर अनुगमनको व्यवस्था मिलाइनेछ ।
– हिंसापीडित, विपन्न एकल महिलाहरूलाई विशेष प्राथमिकता दिई रोजगारी प्रदान गरिनेछ । अति गरिब परिवार पहिचान गरी तथ्यांक अद्यावधिक गरिनेछ । त्यस्ता परिवारको जीविकोपार्जनका लागि तत्कालिन एवं दीर्घकालिन प्याकेज कार्यक्रम अगाडी बढाइनेछ ।
– एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइनेछ । खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण गरी शुन्य भोकमरी अभियानलाई निरन्तरता दिइनेछ ।  क्रमश …

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here