- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsअसार १ पछिका सरकारी कार्यालय, कुनै दुई सिफ्ट, कुनै अस्तव्यस्त

असार १ पछिका सरकारी कार्यालय, कुनै दुई सिफ्ट, कुनै अस्तव्यस्त

- Advertisement -spot_img

सरकारले असार १ गतेदेखि कार्यालयलाई व्यवस्थापन गर्ने गरी दुई सिफ्ट लागू पनि सरकारी कार्यालयहरुले कार्यान्वयनमा ल्याउन नसकेपछि देखिएको सेवाग्राहीको भिड ।


उमा भण्डारी
दाङ, ५ असार । सरकारले लकडाउनसँगै असार १ गतेदेखि कार्यालय सञ्चालनमा फरक निर्णय गरेपछि जिल्लाका सरकारी कार्यालयहरूमा कतै दुई चरणमा सञ्चालन र कतै अस्तब्यस्त अवस्थामा देखिएका छन् ।
लामो समयदेखिको लकडाउनका कारण आम नागरिकको जनजीवन प्रभावित बनेको र त्यसलाई व्यवस्थापन गरी चलायमान गराउन भन्दै लकडाउनलाई व्यवस्थित गर्ने गरी कार्यालयहरूमा सिफ्ट लागू गरिएको हो ।
कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउँदै सरकारी तथा निजी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने निर्देशन पनि केन्द्र र जिल्ला हुँदै सबै कार्यालयमा गरिएको छ ।
वर्षको आथिक मसान्तलाई सकिदै गर्दा, स्वास्थ्य सुरक्षा, भौतिक दूरी कायम गरेर कार्यालय समय दुई सिफ्ट लागू गर्न निर्देशन भएपनि दाङमा यसको पूर्णपालना भएको छैन । कोरोना जोखिम बढ्दै जाँदा कार्यालयहरूमा हुने भिडभाडले नागरिकहरूमा त्रास बढाइरहेको छ ।
विभिन्न कारण देखाउँदै दाङका अधिकांश स्थानीय तह र सरकारी कार्यालयहरूले दुई सिफ्टको अवज्ञा गर्दै आएका छन् ।
सरकारले कर्मचारीबीच दूरी कायम गर्दै सम्पूर्ण कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने नीति छ । तर पनि सीमित कार्यालयहरूमा यसको पालना गरिएको छ ।
जिल्ला समन्वय समिति, नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्र, यातायात व्यवस्था कार्यालय दाङ, आन्तरिक राजस्व कार्यालय दाङमा दुई सिफ्ट लागू गरिएको छ ।
तर अन्य कार्यालयहरूमा भने दुई सिफ्टको निर्देशनलाई अवज्ञा गरिएको छ । सबैभन्दा भिडभाड धेरै हुने स्थानीय तहहरूमा पनि यसको पालना भएको छैन ।
कर्मचारीको अभाव र सेवाग्राहीका कामकाजहरू समयमै पूरा गर्नुपर्ने भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले दुई सिफ्ट लागू गरेको छैन ।
कोरोना महामारीलाई मध्यनगर गर्दै सरकारले निर्देशन जारी गरेको भएपनि सेवाग्राहीहरूको कामलाई मध्यनजर गर्दै दुई सिफ्ट लागू गर्न समस्या भएको उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए ।
दुई सिफ्ट लागू गर्दा सेवाग्राहीहरूले सास्ती खेप्नुपर्ने, भिडभाड अझ बढी हुने उनले बताए । ‘सेवाग्राहीहरू शाखा अनुसार फरक–फरक काम लिएर कार्यालयमा आउने गर्नुहुन्छ’ उनले भने– ‘एउटा कर्मचारी एकछिन उपस्थित नहुँदा सबै सेवाग्राहीको काममा ढिला हुने गर्दछ, भिडभाड धेरै हुने गर्दछ, त्यसैले समस्या भएको छ ।’
घोराही उपमहानगरपालिकामा पनि दुई सिफ्टमा कार्यालय सञ्चालन भएको छैन । तर सकेसम्म कर्मचारीहरू आलोपालो गर्दै काम गर्ने वातावरण निर्माण गर्ने प्रयास गरेको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरूलाल चौधरीले बताए ।
‘हामीले दुई सिफ्ट भनेर त कार्यालय सञ्चालन गरेका छैनौँ’ उनले भने–पहिलेकै समयमा कार्यालय सञ्चालन भईरहेका छन् तर कामको चाप र समयलाई हरेर कर्मचारी आलोपालो गर्ने गरेका छौँ ।’
कर्मचारीको अभावका कारण देखाउँदै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले पनि दुई सिफ्टमा कार्यालय सञ्चालन गरेको छैन ।
सेवाग्राहीहरूको अत्याधिक भिड र जनशक्ति कम हुँदा दुई सिफ्टमा काम गर्न समस्या भएको विद्युत प्राधिकरण तुलसीपुर केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले बताए ।
‘कार्यालयमा कर्मचारीहरूको अभाव छ, भएका कर्मचारीहरूलाई ल्याउन र लैजान कार्यालयकै सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था छ’ उनले भने– ‘सहज वातावरण र कर्मचारीको पर्याप्तता नहुँदा सिफ्ट लागू गर्न नसकिएको हो ।’
यस्तै बैंक तथा वित्तीय संस्थाहरू दिउँसो ३ बजे नै बन्द हुने भएकाले सिफ्ट लागू आफैमा समस्या भएको उनले बताए । बिहान ५ बजेदेखि नै बिल भुक्तानी गर्न आउनेहरूलाई लाइन लाग्ने भएकाले भिड व्यवस्थापनमा समस्या हुँदै आएको उनको भनाइ छ ।
अहिले बिहान ८ बजेदेखि दिउँसो साढे दुई बजेसम्म सुरक्षा सर्तकता र सामाजिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको उनले बताए । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले भने दुई सिफ्ट लागू गर्दै कार्यालय सञ्चालन गरेको छ ।
प्रशासन प्रमुख बमबहादुर बुढाथोकीले बिहान ८ बजेदेखि साढे १० बजे र साढे १० बजेदेखि २ बजेसम्म कार्यालय सञ्चालन गर्ने गरेको उनले जानकारी दिए । प्रत्येक सिफ्टमा ५ जना कर्मचारीहरू खटाएर कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको उनको भनाइ छ ।
सरकारको निर्देशन समाज र राष्ट्रका लागि हो भन्ने धारणाको विकास हुन नसक्दा यसको अवज्ञा हुँदै गएको जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।
आफ्नो कार्यालयमा दुई सिफ्ट लागू गरिएको बताउँदै उनले सरकारको निर्देशनलाई पालना गर्न जरूरी रहेको उल्लेख गरे । ‘जबसम्म व्यक्तिगत सुधार हुन सक्दैन तबसम्म नियमको पालना हुँदैन’ उनले भने– ‘म, मेरो र मेरा भन्ने संकूचन सोंचलाई परिवर्तन गर्न जरूरी छ,
व्यक्तिगत स्वार्थभन्दा सामाजको हितका लागि अग्रसर भएर काम गर्नुपर्ने समय हो ।’ उनले स्थानीय तहहरूमा निर्देशनको अवज्ञा हुँदै आएको भन्दै अनुगमनलाई तिव्र पारिने बताए ।
तर प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सबै जिल्लाका सबै कार्यालयहरूमा दुई सिफ्ट लागू भएको बताउँछन् ।
सबै कार्यालयहरूबाट सरकारी निर्देशन लागू भएको सूचना प्राप्त भएको उनले बताए । सबै कार्यालयहरूलाई दुई सिफ्ट गर्न प्रशासनले पनि निर्देशन दिएको उनले जानकारी दिए । ‘हामीले सबैलाई निर्देशन दिएका छौँ, नियम पालना पनि भएको छ’
उनले भने– ‘स्थानीय तह आफैमा सरकार हो, नीति निर्देशन पालना गर्ने वा नगर्ने भन्ने विषयमा आफै जिम्मेवार छ, हामीले केही भनेका छैनौँ ।’ स्थानीय तहमा आफैमा स्वायत्त संस्था भएकाले स्थानीय तहहरूलाई निर्देशन नदिएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here