- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरअस्थिर राजनीतिमा अल्झिएको नेपाल

अस्थिर राजनीतिमा अल्झिएको नेपाल

- Advertisement -spot_img

इतिहासमा कहिल्यै पनि अरूको उपनिवेश नबनेको मेरो देश नेपाल वीरता र सुन्दरताको अनुपम उपहार हो । हाम्रा पूर्खाको रगतले बनेको नेपालको माटो हामी नेपालीहरूका लागि स्वर्गभन्दा पनि लाखौं गुणा प्यारो छ ।
प्राकृतिक रूपमा सम्पन्न हामी आज गरिबहरूको देशको सूचिमा अग्रपंक्तिमा छौं आखिर किन ? शान्तिका अग्रदूत भनेर चिनिने गौतम बुद्धको देशमा आज धेरै हत्या हिंसाका घटनाहरू भइरहन्छन् आखिर किन ?
विश्वकै अग्लो भूमी सगरमाथा रहेको देशका हामी अझै पनि संकीर्ण सोंचले ग्रसित छौं आखिर किन ? यी र यस्ता धेरै प्रश्नको उत्तर खोज्नु हाम्रा लागि चुनौती बनेको छ ।
तर पनि नेपाल र नेपालीको समृद्धि बन्ने सपना पूरा नहुनुको मुख्य कारण नेपालको धमिलो राजनीति नै हो भन्ने विश्वास आम नेपालीमा रहेको छ ।
सुन्दा तितो लागे पनि सत्य यहि हो, जो हामी नेपालीले बिगतदेखि भोग्दै आएका छौं । विगतको कालखण्डमा थुप्रै ब्यक्तिहरूले नेपालमा शासन गरेको इतिहास हाम्रा सामु छ ।
बाइसे चौबीसै राज्यमा विभाजित नेपालको भूगोललाई बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अगुवाइमा सिङ्गो नेपाल राज्यमा एकीकृत गरेको गर्विलो इतिहास सुन्दा कुन चाहिँ नेपालीको मन फुरूङ्ग हुँदैन होला र ?
थापा, बस्नेत, पाण्डे र राणाहरूले शासन गर्ने बेलादेखि नै नेपालीको राजनितिमा अस्थिरता र अराजकताले गति लिएको थियो र आज पनि त्यही इतिहासलाई नेपालका आधुनिक राजनीतिक नेताहरूले निरन्तरता दिएका छन् ।
परिवर्तनका नाममा ठूला–ठूला क्रान्तिहरू नेपालमा भए तर निश्चित शासकहरूबाहेक सामान्य जनताको दिनचर्यामा कुनै परिवर्तन आउन सकेको छैन ।
राणाहरूले चलाएको निरकुंस सत्ताका विरूद्ध वि.स. २००७ सालमा कांग्रेसको नेतृत्वमा बिद्रोह भयो र फलस्वरूप प्रजातान्त्रको उदयसँगै सदाको लागि राणा शासन अन्त्य भयो ।
राणाहरूको निरकुंसताकै कारण विकास हुन नसकेको भन्ने भ्रमलाई अझैसम्म पटक–पटक ६० वर्षसम्म शासन गरेको नेपाली कांग्रेस र अन्य नेपालका राजनीतिक दलहरूले चिर्न सकेका छैनन् ।
२००७ सालदेखि आजको मितिसम्म आउँदा नेपालमा सक्रिय राजनीति गर्ने दल र तिनीहरूका नेताहरूले पालैपालो सत्ता चलाई सकेका छन् तर पनि नेपाली जनता पराधिन जीवन बिताउन बाध्य छन् ।
राणाहरूको पतनसँगै उदय भएको प्रजातन्त्रले खासै प्रजाहरूको जीवनमा परिवर्तन गर्न सकेन भनेर राजा महेन्द्रले वि.स. २०१७ सालमा निर्दलिय पञ्चायती व्यवस्थाको सुरूवात गरे ।
त्यसलाई नेपाली राजनीतिक दल र तिनीका नेताहरूले प्रजातन्त्रको अपहरण भएको संज्ञा दिए । राजा महेन्द्रले सो व्यवस्था गरेपछि कयौं दल र दलका नेताहरू निर्वाचित भए तरपनि पञ्चायती शासनकालमा गठन भएका सरकार र राजा महेन्द्रको कदमले पनि जनतालाई स्थिरता, स्थायित्व र विकास दिन सकेन ।
जनताहरूमा चरम निराशा छाएको थियो र पञ्चायती व्यवस्थाको पनि विकल्प खोज्ने प्रयासहरू हुँदै गए ।
निर्दलीय शासनमा निर्वाचित भएका नेताहरूले भारतबाटै पञ्चायतविरूद्ध संघर्ष गर्न थाले भने राजा महेन्द्र र राजतन्त्रवादीहरू जसरी पनि आफ्नो शासन टिकाउने दाउमा लागे जसले गर्दा झन्
नेपालको राजनीतिमा चरमा अस्थिरता छाएको बेला विकास र समृद्धि त टाढाको कुरा थियो । २००६ सालपछि नेपालमा बामपन्थी घटकहरूका मानिसहरूले कम्युनिस्ट पार्टी स्थापना गरिसकेका थिए । जसले तत्कालीन शासक र सत्ताको विकल्प खोज्दै भूमिगत संघर्ष गर्दै थियो ।

ठूला–ठूला राजनीतिक परिवर्तनका बलिया हतियार बनेका नेपाली जनता आज ती नेपाली राजनीतिक दल र नेताहरू कै कारण खिया लागेका पुराना हतियार झैं बनेका छन् । देशमा एमसिसीजस्ता गम्भीर विषयहरू सदनबाट पास गर्दै नेपाली स्वाभिमान डलरमा बेच्न दलका नेताहरू एजेन्डको काम गर्दैछन् । सत्ता बचाउनकै लागि देशको सार्वभौमसत्ता बेच्न दलालहरूबाट हामी नेपालीहरूले ठूलो सपना देख्नु आफैमा एउटा धोका हो ।


०२८ सालको झापा विद्रोहबाट उत्कर्षमा पुगेको कम्युनिस्ट आन्दोलन १० वर्षिय जनयुद्ध हुँदै आज सत्तामा आउँदा पनि नेपाली जनताले शान्ति, सुशासन र विकासको अनुभूति गर्न पाएका छैनन् ।
पञ्चायती व्यवस्थाको अन्त्य नै नेपालको विकासको आधार हो भनेर २०४६ सालमा प्रथम जनआन्दोलन भयो ।
त्यसले प्रजातन्त्रको पुनर्बहाली ग¥यो र फेरि तिनै दल र नेताले सत्ता हातमा लिए तर पनि जनताले चाहेको प्रजातन्त्र आउन सकेन । बरू लुटतन्त्र र भ्रष्टाचारले चरम सीमा नाघेको छ । जनताहरू राजनीतिप्रति कडा आक्रोश व्यक्त गरिरहेका छन् ।
तर पनि नेतृत्व पंक्ति जनताका सवालमा चुप लागेर बसेको छ । २४० वर्षभन्दा बढी कार्यकारी र संवैधानिक व्यवस्थामा रहेको राजतन्त्र अन्त्य गर्ने भनेर तत्कालीन माओवादीले जनयुद्धको नाममा हत्या, हिंसा, आतंक र अराजकता मच्चायो ।
१० वर्षसम्म हजारौं जनताले रगत बगाए । लाखौं परिवार विस्थापित भए र माओवादीहरूले भनेको सामन्त राजतन्त्रको पतन पनि भयो । तर अझै गणतन्त्र नेपालमा नागरिकहरूको जीवनमा किन परिवर्तन भएको छैन ? जनताहरू चरम गरिबी र बेरोजगारीको सिकार बनेका छन् ।
यी सबै समस्याहरूको एउटै उत्तर नेपालको अस्थिर राजनीति हो । कर्णालीका जनताहरूलाई समृद्धिको झुटो आश्वासन दिदै जनयुद्ध गरेका प्रचण्ड, बाबुराम आज काठमाडौंमा बंगला ठडाएर बसेका छन् भने तिनीहरूलाई साथ दिएका निर्दोष जनता अझै पनि युद्धको घाउमा दुखाईसम्म कम गर्ने मलम लाउन पाएका छैनन् ।
तत्कालीन समयमा राज्य र बिद्रोही पक्षबाट वेपत्ता पारिएका सयौं व्यक्तिका परिवार कि लास त कि सास चाहियो भनेर बिलाउना गरिरहेका छन् ।
जनताले नेताहरूले सोंचे अनुरूपकै परिवर्तनको लागि साथ दिदा पनि जनताको वास्तविक समस्या राज्यले नबुझ्दा राजनीतिप्रति आम नागरिकको घृणा यथावत नै छ ।
संविधान सभाबाट संविधान पनि जारी भइसकेको छ । देशले करिब दुई तिहाइ बराबरको सरकार पाएको छ तर पनि देशमा व्याप्त गरिबी, बेरोजगारी लगायत अन्य थुप्रै सामाजिक समस्याको समाधानको लागि राज्य निरह बनेको छ ।
अरू देशमा राजनीति सेवाका लागि गरिदै आएको छ भने नेपालमा राजनीति पेशा र कमाउ धन्दाका लागि गरिदै आएको छ । सरकार र सत्ता टिकाउनको लागि जस्तोसुकै राजनीतिक अपराध गर्न पनि पछि हट्दैनन् हाम्रो देशका नेताहरू ।
राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता माथि विदेशीहरू ठाडो हस्तक्षेप गर्दै नेपालमा खुलमखुल्ला हिडिरहेका छन् तर पनि नेपाली राजनीतिक नेताहरू लाचरपन देखाउँदै विदेशीहरूको सेवामा व्यस्त छन् ।
गरिबी र बेरोजगारीले चरम सीमा पार गरेको छ । लाखौ युवाहरू विदेशी भूमिमा तड्पिरहेका छन् । देशको अर्थतन्त्र विदेशी रेमिटान्सले मात्रै चलेको छ ।
देशको कृषियोग्य भूमि व्यापक सहरीकरणमा परिवर्तन हुँदैछ । तर पनि नेपाली नेतृत्व रमिता हरेर बसेको छ । भ्रष्टाचारका ठूला काण्डहरू नेता र सत्ताकै बलमा भईरहेका छन् ।
राज्यको सम्पति चरम दुरूपयोग भएको छ । संघीयताको नाममा छोटे महाराजहरूको मनपरी रजाइँ छ । तर जनताको चासोका विषयमा कोहि गम्भीर छैन । दिनप्रतिदिन हत्या, हिंसा र अपराधका घटनाहरू हुँदै गर्दा जनताहरूको सुरक्षा चुनौतीपूर्ण बनेको छ । तर पनि पुलिस प्रशासन राजनीतिक पहुँच र बलमा अपराधिकरणको मतियार बनेको छ ।
नेपाली राजनीति पराधिन बनेको छ । भारतको इच्छा र आवश्यकतामा सरकार परिवर्तनका गम्भीर विषयहरूमा हस्तक्षेप हँुदा पनि त्यसको प्रतिकार गर्दै राष्ट्रिय स्वाभिमान बचाउँने आँट हाम्रा नेताहरूमा देखिदैन् ।
कोरोना कहरले देश अस्तब्यस्त बनेको छ र पनि राजनीतिक दलहरूमा गम्भीर छलफल र बहस हुन सकेको छैन् । यस्तो महामारी र विपद् तिनै दल र दलका नेताहरूको लागि कमाउने गतिलो अवसर बनेको छ ।
समस्याको अखडा बनेको छ मुलुक तर पनि समस्या समाधानको सिन्कोसम्म भाँचिदैन यहाँ । नातावाद, कृपावाद र आफन्तवाद हाबी बनेको छ जसका कारण क्षमता र दक्षता हुँदाहुँदै पनि हामीजस्ता लाखौं युवा जीवन धान्नकै लागि विदेशी भूमिमा श्रम बेच्नु परेको छ ।
गुण्डागर्दी शैलीमा राजनीतिक नियुक्तिहरू हुन्छन् र चुनावमा राज्यको स्रोतको व्यापक दुरूपयोग गरिन्छ । धनी र योजनाबिहीनहरूले चुनाव जित्छन् । त्यस्ताबाट जनताले अपेक्षा गरेका कुराहरू पूरा हुने सम्भावना नै रहदैन् । कर्मचारीहरू राजनीतिक दलका भरौटे बनेका छन् ।
जसका कारण सार्वजनिक सेवा प्रवाहमा जनताहरूले पाउन दुःख पाएका छन् । कागजमा निकै आदर्शवादी कानुनहरू लेखिएका छन् तर ती कानुनहरू जनतालाई मात्रै लागू हुन्छन नेताहरू त्यही कानुनको बलमा अपराधको सिढी चढ्छन् ।
विगत सयौं बर्षदेखि नेपाली जनताले विकासको मीठो स्वाद चाख्न पाएका छैनन् । ठूला–ठूला राजनीतिक परिवर्तनका बलिया हतियार बनेका नेपाली जनता आज ती नेपाली राजनीतिक दल र नेताहरू कै कारण खिया लागेका पुराना हतियार झै बनेका छन् ।
देशमा एमसिसीजस्ता गम्भीर विषयहरू सदनबाट पास गर्दै नेपाली स्वाभिमान डलरमा बेच्न दलका नेताहरू एजेन्डको काम गर्दैछन् ।
सत्ता बचाउनकै लागि देशको सार्वभौमसत्ता बेच्न दलालहरूबाट हामी नेपालीहरूले ठूलो सपना देख्नु आफैमा एउटा धोका हो । पहुँचवालाहरू सम्पन्नतातिर लम्किदै छन् भने सामान्य जनताहरू विपन्नताको खाडलमा पुरिदैछन् ।
हिजो वर्ग संघर्षको कुरा गर्दै युद्ध गर्नेहरू आज तिनीहरू नै सामन्तवादका मतियार बनेका छन् । अन्त्यमा अब देशका स्वाभिमान र सार्वभौमसत्तालाई बचाउन देशको सम्पूर्ण युवाशक्तिहरू दलको झोले कार्यकर्ता नबनेर डटेर लढ्नुको विकल्प छैन् ।
कृषि, पर्यटन र अन्य क्षेत्रको विकासमार्फत राजनीतिलाई पूर्णरूपमा परास्त गर्न युवाहरूमा एकता जरूरी छ । विगतदेखि धमिलिएको नेपाली राजनीतिभित्रको दुर्गन्धलाई सदाको लागि फ्याक्न एकपटक सक्षम युवा नेतृत्व राजनीतिमा आउन जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here