सुशील बस्नेत
तुलसीपुर, २३ जेठ । लकडाउनलाई थप व्यवस्थापन गर्न तुलसीपुरमा सर्वदलीय छलफल गरिएको छ । बिहीबार सम्पन्न सर्वदलीय एवं सर्वपक्षीय बैठकले लकडाउनलाई ब्यवस्थित गर्ने निर्णय गरेको हो ।
अनुमति बिना हिड्डुल गर्न समेत रोक लगाउने निर्णय भएको छ । कार्यालय जानै पर्ने कर्मचारी, सञ्चारकर्मीलगायतले परिचयपत्र अनिवार्य राख्नुपर्ने छ ।
तुलसीपुर बजारमा लकडाउन कार्यान्वयन गर्ने र गराउने सन्र्दभमा सोमबार, मंगलबार, बुधबार र शुक्रबार अत्यावश्यकीय वस्तुहरुमा खाद्यान्न, किराना र हार्डवेयरका पसल बिहान ६ बजेदेखि १० बजेसम्म खरिद बिक्रीका लागि खुल्ला गरिनेछ ।
आइतबार र बिहीबार बिहान ६ देखि १० बजेसम्म फेन्सीलगायतका पसलहरु खोल्ने अनुमति दिने तर खाद्यान्न, किराना र हार्डवेयर पसल भने सो दिन बन्द गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । तर अवस्थालाई मध्यनजर गर्दै सैलुन, होटल, ब्युटीपार्लर सञ्चालन हुने छैनन् ।
लकडाउनलाई ब्यवस्थित गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरु प्रत्येक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने तर बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक तयारीका लागि बैंक खोल्नुअघि १ घण्टा र बैंक बन्द गर्दाका बखतको पछाडी १ घण्टा समय दिने निर्णय भएको हो ।
प्रदेश र संघीय सरकारको निर्णय अनुसार कृषि, भेटनरी र मेडिकललाई भने नियमित रुपमा सञ्चालन गर्न दिइनेछ ।
तुलसीपुरस्थित होटल भ्याली भ्यू र एकान्त होटलमा चिकित्सक, स्वास्थ्यकर्मीलाई राख्ने ब्यवस्था गरिएकाबाहेक अन्य होटलहरु सञ्चालनमा आउने छैनन् ।
तर कुनैपनि होटलले पेङिग क्वारेन्टाइन वा अतिथिहरु राख्नका लागि नगरपालिकाको समन्वयमा सञ्चालन गर्न सकिने छन् ।
तुलसीपुर प्रवेशका लागि बेलुकी ७ बजेभित्र प्रवेश गरिसक्नुपर्ने छ अन्यथा दक्षिणमा अमिलिया, पूर्वमा घोराही, उत्तरमा सल्यानको सीमा र पश्चिममा दंगीशरणको सीमावर्ती क्षेत्रमा बस्नुपर्ने छ ।
यस्तै, आगामी असोज र कार्तिक महिनासम्म भारत र तेस्रो मुलकबाट करिब १० हजारजना भित्रिन सक्ने भएकाले सोही अनुरुपका क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणलाई तिव्रता दिने निर्णय भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको हलमा २५ बेडको आइसोलेसन र राप्ती लाइफ केयर हस्पिटलमा २५ गरी ५० बेडको आइसोलेसन कक्ष बनाउने तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ । आइसोलेसन कक्ष र क्वारेन्टाइन निर्माणमा नेपाली सेनाले सहयोग गर्नेछ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्का, क्षेत्रीय सभापति जगतबहादुर खड्का,
नेकपाका प्रतिनिधि कृष्ण भुसाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि शुक्रराज भण्डारी, नेकपाका मिनराज भण्डारी, १९ बाहिनीका सेनानी विकास आचार्य,
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह, सशस्त्र बेस क्याम्पका निरिक्षक टेकराज पोख्रेल, जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसी, महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख विष्णु आचार्य,
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पद्मप्रसाद न्यौपाने, तुलसीपुर बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि सरोज लामिछाने,
तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्री र ब्यवसायी ऋषिराज भण्डारीले लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति नारायण आचार्य, संवाद समूह प्रदेश ५ का बरिष्ठ सहजकर्ता एवं अधिकारकर्मी सुशील बस्नेत, त्रिसिद्देश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल,
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वीरेन्द्र कुमार शाह, वडा नम्वर ७ का टोेपबहादुर केसी, वडा नम्वर ९ का घनश्याम ढकाललगायतले लकडाउनलाई थप ब्यवस्थापन गर्ने सकिने सन्दर्भमा सुझाव दिएका थिए ।
उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष एवं विपद् ब्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले संघीय सरकार, प्रदेश सरकार र जिल्ला तहमा भएका निर्णयका बारेमा जानकारी गराएका थिए ।
Stay Connected
Must Read