दाङ, २२ जेठ ।
दाङको राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर पठाइएपछि राजपुर तनावग्रस्त बनेको छ । गाउँपालिकाको १ सय ५७ जनाको स्वाव परिक्षणका लागि पठाइएको थियो ।
त्यसमा पहिलो दिन ३५ जनाको परिक्षण रिपोर्टमा ३ जनाका कोरोना पोजेटिभ देखिएको थियो । गाउँपालिकाले सबैको रिपोर्ट आएको भ्रममा परेर पोजेटिभ देखिएका बाहेकलाई घर पठाउँदा अहिले समस्या भएको हो ।
बिहीबार फेरि राजपुर गाउँपालिकामा ३ जना संक्रमित भेटिएको सूचना सार्वजनिक भएपछि रिपोर्ट नआउँदै घर पुगेका संक्रमितलाई खोज्न गाउँपालिकालाई हम्मे–हम्मे भयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले गाउँपालिकालाई सूचना सम्प्रेषण गर्दा भएको त्रुटीले गर्दा यस्तो समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले दाबी गरेका छन् ।
यद्यपि प्रतिष्ठानले भने पहिलो चरणमा ३५ जना र दोस्रो चरणमा १ सय २२ जनाको परिक्षण गरिएको बताएको छ । बुधवार ३५ जनामा ३ जना र बिहीबार १ सय २२ जनाको रिपोर्टमा ३ जना पोजेटिभ देखिएको प्रतिष्ठानले बताएको छ ।