Saturday, March 23, 2024
Homeफिचर४७४ सीमा स्तम्भ गायव

४७४ सीमा स्तम्भ गायव

- Advertisement -spot_img

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । यसअघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकालाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको हो ।
१९५० को सुगौली सन्धीअनुसार काली नदी र त्यसपूर्वको भूभाग नेपालको अभिन्न अंग भएपनि नेपालको अहिलेसम्मको प्रचलित नक्साहरूमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटीलगायतका केही भूभाग नदेखिएकाले नयाँ नक्साको निर्माण सरकारले गरेको छ ।
सुगौली सन्धि नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीचमा भएको सम्झौता हो । जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनुपरेको थियो ।
सुगौली सन्धि हुनुअघि दार्जलिङ, पूर्वमा टिष्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो । परन्तु, वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्दछन् ।
दार्चुलामा कालापानी, लिम्पियाधुरा क्षेत्र मात्र होइन नेपालको इतिहास हेर्ने हो भने अहिलेको भारतीय भूमि कुमाउ, गढवाल, दार्जलिङ सबै भूभाग नेपालभित्र पर्दछ । सीमामा नेपालको २४ जिल्लालाई नदी र विभिन्न स्तम्भले छुट्याएको छ ।
तर लामो समयदेखि भारतीय पक्षले सीमा स्तम्भ तोड्ने, गायव गर्ने सार्ने काम भइरहेको छ । सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत एकतर्फी रूपमा ठूला–ठूला बाँध बनाएर नेपालको हजारौ बिगाह जग्गा बर्षेनी जलाशयमा परिनत भइरहेको छ । विभिन्न रूपमा गरिएको कोशी, गण्डक, महाकाली सम्झौता नेपाल र भारतबीचको अर्को तितो यथार्थ हो ।
सीमा विवाद र गुमेको भूभागको बारेमा नेपाल–भारत विभिन्न समयमा छलफल भए पनि त्यसको निकास भने पाउन सकेको छैन ।
यो समस्याको दीर्घकालिन समाधानको लागि सबैभन्दा पहिला त नेपाल सरकारले सीमा अतिक्रमणको तथ्य र यथार्थ विवरणसहित भारतीय पक्षसँग छलफल गरी वैज्ञानिक सीमाकंन गरी विवादलाई दीर्घकालिन रूपमा टुङ्याउनु पर्दछ ।
आफू सत्तामा पुग्दा नतमस्तक भएर लम्पसार पर्ने सत्ता बाहिर पुगेपछि बाघजस्तो गर्जने प्रवृत्तिले नेपालको भूभागको समस्याको सही समाधान हुन सक्दैन ।
भारतसँग जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५४ भन्दा बढी ठाउँमा नेपाली भूभाग मिचिएको छ । भारतसँग जोडिएका चार जिल्लाहरू महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमण भएको छैन । तर अन्य जिल्लाको सीमा हेर्ने हो भने भारतले लगभग ६० हजार हेक्टरभन्दा बढी नेपालको भूभाग मिचिएको अनुमान गरिएको छ ।
यसमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरूमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको छ
त्यतिमात्र कहाँ हो र मेची–महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा चारसय ७४ सीमास्तम्भ भारतले गायब पारेको छ ।
नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये धेरै जिल्लामा नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना भएको छैन । सशस्त्र प्रहरी क्याम्प स्थापना भएका जिल्लामा पनि सीमाभन्दा ३–४ किलोेमिटरभित्र रहेको छ ।
चीनसँग नेपालको १ हजार ४ सय १५ किलोमिटर सीमा जोडिएको छ । ती नाकाहरूमा साना चौकीबाहेक सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छैन । भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ ।
नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार हराएका ती स्तम्भ खोज्न सरकारलाई समस्या भइरहेको छ । हराएका स्तम्भमा जंगे पिलर ९ मुख्य स्तम्भ २८ वटा रहेछन् ।
जसमा सबै भारतसँगको सीमाका स्तम्भ हुन् । यस्ता स्तम्भ कि त भारतीय पक्षले रातारात उखेलेर फालेको छ वा दैवी प्रकोपका समयमा हराएकालाई फेरी राख्न नेपाल सरकारले आग्रह गरेपनि भारतीय पक्ष सीमा नेपालतिर सारेर सीमाको विवाद झिक्दै आइरहेको छ । यस्तै हराएका स्तम्भमा सहायक स्तम्भ ४५ वटा र साना स्तम्भ ४ सय ३१ वटा रहेका छन् ।
देशका सीमामा रहेका ५ हजार ९ सय ४७ कुल सीमा स्तम्भमध्ये चीनतर्फ ११ र भारततर्फ पाँच हजार ९ सय ३६ छन् । ३ हजार ८० सीमा स्तम्भमात्र सामान्य अवस्थामा रहेका छन् ।
भारततर्फ रहेका अधिकांश स्तम्भ मर्मत गर्नुपर्ने र केही पुननिर्माण गर्नुपर्ने अवस्थामा छन् । केही खोलाले बगाएका छन् । केही फेला पर्न सकेका छैनन् ।
सीमामा रहेका सहायक स्तम्भ कुल १ हजार ३ सय १६ वटा रहेका छन् । यीमध्ये ४५ वटा फेला परेका छैनन् भने खोलाले बगाएकामा १ सय ११ परेका छन् ।
पुनर्निर्माण गर्नुपर्ने ३३ वटा र मर्मत गर्नुपर्ने २ सय ४३ वटा रहेको गृह मन्त्रालयको उच्चस्रोतले जनाएको छ ।
साना स्तम्भ ३ हजार ८ सय ७१ वटा छन् भने १ हजार ६ सय ९९ वटा सामान्य अवस्थामा छन् । त्यसैगरी मर्मत गर्नुपर्ने १ हजार ४ सय ४५ वटा र पुनर्निर्माण गर्नुपर्ने स्तम्भ २ सय ६६ वटा रहेका छन् । त्यसमा खोलाले २४ बगाएको तथ्यांक रहेको छ ।
उत्तरी सीमा चीनतर्फ रहेका ११ स्तम्भमा मुस्ताङमा ३ वटा, सिन्धुपाल्चोकमा ७ वटा र ताप्लेजुङमा एउटा छन् । पछिल्लो समय गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई सीमा सुरक्षा जिम्मा दिएको छ ।
सशस्त्रमा प्रहरीमा सीमा सुरक्षा विभाग गठन गरेर सीमा स्तम्भ रहेका स्थानको पहिचान गर्दै ती स्थानको लोकेसन जिपिएसको माध्यमबाट अभिलेख राख्न सुरू गरेको छ ।
ताप्लेजुङमा टिम्बापोखरी क्षेत्रको डाँडामा भारतले पार्क बनाउँदा कचनजङ्घा दक्षिण १५ किलोमिटर सीमाको रेखा मिचिन पुगेको छ । कचनजङ्घा हिमालको दक्षिण क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने मार्ग भारतले नेपाली भूमिलाई आफ्नो भन्दै आएको छ ।
त्यसैगरी पाँचथरको च्याङथापु क्षेत्र भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ । तिब्बु पोखरी क्षेत्रमा सीमा एकिन हुन नसक्दा पशुपालनको समेत समस्या छ । चिवाभाज्याङ भारतले सीमारेखामा जोडेर राष्ट्रिय निकुञ्ज बनाएको छ ।
इलाममा पशुपतिनगरको नेपाली दशगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन नेपाली भूमि मिचेर काढेतार लगाएको छ । पशुपति हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमा स्तम्भमध्ये ७१/२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर एवं एउटा छोटी भन्सार कार्यालयसमेत भारतमा परेको छ ।
मानेभञ्ज्याङः क्षेत्रमा सीमा मिचिएको बारेमा नेपाली जनताले आवाज उठाउँदै आएका छन् । सन्दकपुरको अग्लो डाँडोबाट कचनजङ्घा र दक्षिणमा तराई भूभाग देखिने हुनाले भारतले यहाँ सडक बनाउँदा सीमाना मिचेको छ ।
भारतले झापामा पाठामारी, महेशपुर, भद्रपुर, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी क्षेत्रमा भारतले करिव २ हजार ४ सय ६२ बिगाह नेपाली भूमि अतिक्रमण गरेको छ ।
मोरङमा जोगवनी सीमानामा दशगजा क्षेत्र नै देखिदैन । नेपाली भूभाग बुद्धनगर पोखरिया रङेली डाइनिया सोराभाग मझारेको दशगजा क्षेत्रमा भारतीयहरूले नेपाली भूमि अतिक्रमण गरेको छ ।
रङेली–चेप्राहा, आमगाछी, झुर्किया, महादेवा र कसरिया सीमाक्षेत्रको नेपाली भूमिको दशगजामा भारतीय नागरिक बसोबास गरेका छन् ।
बझाह लुना नदी चुनिमाडीः नजिकको एक किलोमिटर जमिन पनि भारतले अतिक्रमण गरेको छ । सप्तरीमा कटैया–भन्टावारी हर्निगरिया साहेवगञ्जको भागमा भारतले ७ हजार बिगाह नेपालको भूमि मिचेको छ ।
सप्तरी जिल्लाको सुवर्णपट्टीः क्षेत्रमा ५० मिटर सीमास्तम्भ नेपालभित्र सारिएको छ । जसका कारण ६० विगाह जमिन भारतबाट अतिक्रमण भएको छ । सखडा छिन्नमस्ताः भगवतीभन्दा दक्षिण बरामपुरको जग्गा भारतीयहरूले उपयोग गरिरहेका छन् ।
गोविन्दपुरको लालपट्टीमा पचारदेखि सय मिटरसम्म जङ्गे स्तम्भ सारी नयाँ पिलर गाडिएको छ । दशगजाभित्रको करिब ५० बिगाह नेपाली जमिन अतिक्रमण भएको छ । कुनौली भारतीय रेल्वे स्टेसनतर्फ जाने सडक दक्षिणतर्फ करिब ५ किलोमिटर सीमा क्षेत्रको नेपाली भूमी अतिक्रमण हुँदा ६० विगाह जमिन मिचिएको छ ।
त्यति मात्र नभएर विष्णुपुर शिवनगरः गोबरगाढा क्षेत्रमा पनि भारतीयले अतिक्रमण गरेका छन् । त्यसैगरी सिराहामा चन्द्रगन्जको दक्षिणी भूभाग र टाँडीको दशगजा क्षेत्रभन्दा भित्रको जमिन भारतले मिचेको छ ।
सर्लाहीमा सीमास्तम्भ नं.२९ र ३० देख्नै नसकिने गरी दशगजा क्षेत्रदेखि २०० फिटभित्र नेपाली भूमि मिची सिसौका रूख लगाएका छन् । सीमास्तम्भ नं.३५, ३८ र ३९ को नेपाली भूमि मिची भारतीयहरूले घर बनाएका छन् ।
त्यसैगरी स्तम्भ नं. २८, २९ र ३० वरपर २० घर रहेका छन् । स्तम्भ नं. २५, २६ छेउ ११ घर बनाई सिमा मिचिएको छ । सङ्ग्रामपुर र हथिऔलको दशगजाभित्रको नेपाली भूमी विगत २० वर्षदेखि भारतीयहरूले उपयोग गर्दै आएका छन् ।

अहिले मुलुकमा दुई तिहाइको सरकार छ । कालापानी लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । यो कामलाई आम नेपालीले राम्रो मानेका छन् । यसैबेला अब सन् १९५० को असमान सन्धि, खुल्ला, सीमाना, असमान जलस्रोत सन्धि, बढदो व्यापार घाटा, भूपरिवेष्ठित राष्ट्रले पाउने सुविधालगायतका तमाम समस्याको सामाधान कुटनीतिक रूपमा हुनु जरूरी छ । अन्यथा यो समस्या सधैको लागि समस्या बन्दै जानेछ ।


रौतहटमा जमुनाको दक्षिण भागमा भारतीयहरूले वृक्षारोपण गरेर रूखहरूको उपयोग गरिरहेका छन् । गौर नजिकै भारतीय क्षेत्रमा बाँध बाँधिएको हुनाले वर्षामा बाढी र डुबानबाट नेपालीहरू पीडित छन् ।
पर्सा जिल्लाको ठोरीमा भारतीयहरूले पुराना सीमास्तम्भ हटाई नेपालतर्फ पाँचसय मिटर सीमाना सारी नेपाली भूमि मिचेका छन् । पिपराः क्षेत्रमा पनि सीमा अतिक्रमणमा परेको छ ।
वीरगन्ज, अलौ तथा सिक्टा क्षेत्रमा पनि नेपाली दशगजा भारतीय नागरिकहरूले मिचेका छन् । वीरगञ्जको सिसरीयामा भारतले वाणिज्य कन्सुलेट अफिस र भन्सार कार्यालय नेपाली भूमिमा बनाएको छ ।
रक्सौलमा नेपालको स्वामित्व भएको जमिनमाथि भारतीयहरूले अतिक्रमण गरेका छन् । रक्सौलमा नेपाल सरकारले रेल्वेका लागि सन् १९२४ किनेको १६ विगाह १० का जमिन भारतीयहरूले एकपक्षीय रूपमा प्रयोग गरिरहेको छ ।
चितवन जिल्लामा वाल्मिकी आश्रमक्षेत्रको जगलमा बेला मौकामा भारतीयहरूले अतिक्रमण गरी रूखसमेत काटी लैजाने गरेका छन् ।
दारनाला दारीचुरे क्षेत्रको भूभागमा भारतीयहरूले वर्षेनी अतिक्रमण गर्दै आएका छन् । नवलपरासीको सुस्ता क्षेत्रमा २०११ सालभन्दा अघिदेखि भारतीयहरूले नेपालको सीमाक्षेत्रको भूमि अतिक्रमण गर्दै आएको पाइन्छ ।
त्यसपछि नारायणी नदीले धार बदलेपछि भने नेपाली भूमि अतिक्रमणको क्रम अझ बढेको छ । सुस्ता क्षेत्रको करिब २१ हजार ९ सय ५० विगाह जमिन भारततर्फबाट मिचिएको छ । यस्तै घोङ्खीनाला नजिकको दशगजा क्षेत्रमा पनि विवाद कायम छ ।
रूपन्देही जिल्लामा खुर्दलोटन बाँधः नेपालको मर्चावार क्षेत्रमा सीमासँगै सटाएर भारतले ३ किलोमिटर लामो बाँध बनाउनाले मालिगाव थुमुवा पिप्रवा असुरनैया बेचकुइया रोइनिहवा फेरना सिलौटिया बोगडी सिवुवा अमा बभनी डुबानमा पर्ने गरेको छ ।
सुनौली नाकाः बेलहियाको नेपालतर्फको दशगजा क्षेत्रमा भारतीयहरूले अनधिकृत झुपडी र पानी ट्याङ्की बनाई सीमा अतिक्रमण गरेका छन । सुनौली सीमा क्षेत्रभन्दा ९.१ मिटर नेपालभित्र परेको भारतीय प्रहरी थाना पनि हालसम्म हटाइएको छैन ।
कपिलवस्तु कृष्णनगर ठन्डानदी किनारको दशगजाको दुबै भागमा भारतीयहरूले घर बनाएकाले नेपाली दशगजा क्षेत्र अधिक्रमण भएको छ ।
त्यसैगरी दाङ जिल्लाको कोइलाबासः सिवालिक शृङ्खलामा रहेको कोइलाबास क्षेत्रमा भारतीयहरूले साविक सीमाभन्दा उत्तर–पूर्वसम्म भारतको पर्छ भनी केही भाग मिचेका छन् । हर्नाडाँडा क्षेत्रमा चुरे फेदीको सिमानालाई उत्तर सारी चुरे शृङ्खलाको सिमाना सारिएको छ ।
बाँकेमा धेरै ठाउँमा दशगजा मिची भारतीयहरूले घर बनाएका छन् । सीमामा भारतले २०५६ सालमा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध तथा तटबन्धबाट बाँकेको बेतहनी,
होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, नैनापुरसमेतमा खेतबारी र धनजन डुबानमा पर्ने गरेको छ । लक्ष्मणपुर बाँध २२ किलोमिटर लामो तटबन्ध निर्माण गर्नाले सीमा स्तम्भहरू लोप भएका छन् । नेपाली भूभाग जलमग्न हुने गरेको छ ।
बर्दिया जिल्लाको करिब ६० किलोमिटर नेपाल–भारत सीमावर्ती क्षेत्रको स्तम्भ नं.४१ देखि ९८ सम्मका प्रायजसो दशगजाको भूभाग भारतीय पक्षबाट खेतीयोग्य जमिन बनाइएको छ ।
बर्दिया गुलेरियाबाट मूर्तिया जाने बाटोमा पर्ने सीमाक्षेत्रको जमिन अतिक्रमणमा परेको छ । मानपुर, भीमापुर र नकुवा नालादेखि उत्तरतर्फको क्षेत्र मिचिएको छ ।
कैलाली जिल्लाका धेरै सीमा स्तम्भहरू लोप भएका छन् । दशगजा भन्दा केही भित्री भाग पनि मिचिन पुगेको छ । यस्तै फूलवारी नजिकको भागमा मोहना नदीले आफ्नो बहाव बदलिरहने कारणले आसपासको जंगल भारतीयहरूले अतिक्रमण गर्ने गरेका छन् ।
भजनी कुसुमघाट र लालबोझी कौवाखेडाको सीमास्तम्भ नेपालतर्फ सारिएको छ । कचनपुरमा ब्रम्हमदेवमण्डीमा रहेको सीमास्तम्भ बगाएपछि केही नेपाली भूमि अतिक्रमित हुन पुगेको छ ।
टनकपुर ब्यारेज तथा डुबान क्षेत्रको करिब २२२ हेक्टर नेपाली भूमि अतिक्रमित भएको छ ।
भारतले टनकपुर बाँध निर्माणको लागी ५७७ मिटर लामो पुल बनाउँदा नेपालतर्फको जमिन मिचिएको छ ।
बनबासा,गाचौकी क्षेत्रमा नेपालतर्फको भूभाग भारतीय बासिन्दाले क्रमशः मिच्दै आएका छन् । लक्ष्मीपुर रामपुर बिलासपुर चाँदनी दोधाराको पूर्वीभाग मेलाघाट तथा सुन्दरनगर क्षेत्र त्रिभुवनबस्ती बेलडाँगी दशगजामा करिब ३० विगाह नेपाली भूभाग अतिक्रमण गरी भारतीय नागरिकहरूले २६ वर्षदेखि उपयोग गर्दै आएका छन् ।
शारदा ब्यारेजक्षेत्र निर्माण गर्दाका समयमा ३६.६७ एकड अर्थात् २२.४४ बिगाह जमिन मिचिएको छ । त्रिभुवन बस्तीदेखि ब्रम्हदेव मण्डीसम्म नेपाल–भारत सीमाक्षेत्रका सीमास्तम्भहरू मध्ये १२ वटा हराएका छन् ।
अहिले मुलुकमा दुई तिहाइको सरकार छ । कालापानी लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । यो कामलाई आम नेपालीले राम्रो मानेका छन् ।
यसैबेला अब सन् १९५० को असमान सन्धि, खुल्ला, सीमाना, असमान जलस्रोत सन्धि, बढदो व्यापार घाटा, भूपरिवेष्ठित राष्ट्रले पाउने सुविधालगायतका तमाम समस्याको सामाधान कुटनीतिक रूपमा हुनु जरूरी छ । अन्यथा यो समस्या सधैको लागि समस्या बन्दै जानेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here