सपना बोहरा
दाङ, ९ जेठ । सोमबार बाँकेमा मात्रै ५९ जना व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भयो । एकै पटक धेरै व्यक्तिमा संक्रमण भएकाले जिल्ला नै भयवित बन्यो ।
स्थानीयबासीहरू त्रसित भए । त्यो भन्दा पनि ठूलो चिन्ता त्यहाँका जनप्रतिनिधि र प्रशासनलाई भयो । ठूलो संख्यामा संक्रमित व्यक्तिहरूलाई एकैपटक कहाँ व्यवस्थापन गर्ने ?
कोभिड–१९ को संक्रमित भएको पुष्टि भएपछि उनीहरूलाई तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर बाँकेमा आइसोलेसन अभाव भएपछि २४ घण्टासम्म क्वारेन्टाइनमै बस्न बाध्य बनाइयो ।
क्वारेन्टाइनमा संक्रमित व्यक्तिसँगै अन्य व्यक्ति पनि बस्नु पर्दाको अवस्था के होला ? यसको मुख्य समस्या भनेकै संक्रमित बिरामीहरूको लागि उचित व्यवस्थापन गर्न नसक्नु हो ।
विपद्को पूर्णतयारी नगर्नु पनि हो । बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेको अवस्थामा एक २५ वर्षीय युवकले त ज्यान गुमाए । क्वारेन्टाइनमै रहदा स्वास्थ्यमा समस्या आएपछि निधन भयो । उनको उपचारसमेत भएन ।
त्यसैगरी एकसाता पहिले बर्दिया जिल्लाकी पहिलो कोरोना संक्रमित ११ वर्षीया बालिकाले समयमै उपचार पाइनन् । कोरोना विशेष अस्पतालको पूर्वतयारी नहुनु नै मुख्य कारण बन्यो ।
ति बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा लगियो । बर्दियामा कोरोना विशेष अस्पतालको पूर्वतयारी नहुँदा ती बालिकालाई बाँकेको पठाइएको त्यहाँका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी गराए । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा जम्मा २५ आइसोलेसन बेड छन् ।
प्रदेश ५ मा कोभिड–१९ का संक्रमित बिरामीहरूको अवस्था यस्तै छ । कसैले क्वारेनटाइनमै ज्यान गुमाए ।
संक्रमित बिरामीहरूको लागि भनेर स्थापना गरिएका आईसोलेसन वेड र क्वारेन्टाइन नाम मात्रैको छन् । संक्रमितको संख्या पनि बढ्दै छ भारतबाट आउने संख्या पनि बढिरहेको छ । यसबारेमा प्रदेश सरकारको व्यवस्थापन कमजोर देखिएको छ ।
विशेषगरी प्रदेश ५ का बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तुमा कोभिड–१९का संक्रमितहरू बढ्दै गएको छ । प्रदेश ५ उच्च जोखिममा समेत देखिएको छ ।
कोभिड–१९ को मुख्य जोखिम भारतका खुल्ला नाका नै हुन् । त्यो पनि प्रधानमन्त्री केपी शर्मा वलीले संसदको बैठकमा दिएको अभिव्यक्ति अनुसार भारतबाट आएकाहरूका कडा खालको कोभिड–१९ को देखिएको छ । भारतसँग धेरै नाका जोडिएको पनि सम्भवतः प्रदेश ५ नै होला ।
दिनप्रति दिन कोभिड–१९ का संक्रमितहरू बढ्दै जाँदा प्रदेश सरकारले अझै व्यवस्थापन गर्न सकिरहेको छैन् ।
संक्रमित बिरामीहरूको लागि आइसोलेसन वेड र त्यसको लागि आवश्यक पर्ने भेन्टिलेटर, पिपिई, आवश्यक जनशक्तिको व्यवस्था गर्न सकिरहेको छैन् ।
दाङको हकमा भने सरकारले नै प्रदेशभित्रका बिरामीलाई बेल्झुण्डीमा उपचारका लागि ल्याउन सक्ने गरी तयारी गरेको छ ।
तर त्यो पर्याप्त होइन् । दाङमा एक सय वेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ ।
यो समाचार तयार पार्दासम्म दाङका पाँचजना व्यक्तिमा कोभिड–१९को संक्रमित देखिएको छ । दुईजना स्वदेशमै संक्रमित रहेको र बाँकी तीनजना भने भारतबाट आएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् ।
प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले कोभिड–१९ का संक्रमितहरूको लागि प्रदेश सरकारले गरेको तयारी पर्याप्त नभएको बताउँछन् । ‘संक्रमितको संख्या बढ्दै छन्, क्वारेन्टाइन, आइसोलेसन वेड, भेन्टिलेटरहरू पर्याप्त छैनन्’
उनले भने ‘स्थानीय सरकारलाई मात्र जिम्मा दिएर समस्याको समाधान हुन्छ जस्तो लाग्दैन् ।’ संक्रमित संख्या र उनीहरूको लागि तयार पारिएको आइसोलेसन वेड र क्वारेन्टाइनहरू पर्याप्त नभएको उनले बताए । कोभिड–१९ का जोखिम रहेका जिल्लाहरूमा बजेट पठाउने तयारी भईरहेको उनले बताए ।
सर्वप्रथम त नाकामा रहेका नेपालीहरूलाई उद्दार र पिसिआर टेष्ट गर्ने कामलाई प्राथमिकता राखेको अर्का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयले बताए ।
‘कोभिड–१९ को महामारी छ, हामीले प्रदेशका सबै जिल्लामा समन्वय गरेर नाकाबाट उद्दार गर्ने योजना बनाएका छौं’ उनले भने ‘त्यसको लागि क्वारेन्टाइन् र आइसोलेसन वेडहरू थपिने छन् ।’
एकै समयमा धेरैजनामा संक्रमितको संख्या ह्वात्तै बढेको हुँदा व्यवस्थापन गर्न समस्या भएको बताए । ‘संक्रमति सख्या वढदै छ, प्रदेश सरकारले अहिले जे तयारी भइरहेको छ, त्यो पर्याप्त छैन’ उनले भने ‘भारतबाट धेरै नेपालीहरू आउँदैछन्, झनै जटिल समस्या आउन सक्छ ।’
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले प्रदेशअन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहहरूमा निर्माण गरिएको र निर्माण गरिने क्वारेन्टाइन र
आइसोलेसन सेन्टरलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न संलग्नबमोजिमको थप निर्देशन सबै सरोकारवाला समक्ष कार्यान्वयनका लागि पठाउने निर्णय गरेको छ ।
त्यसैगरी भारतबाट नेपाल आउने व्यक्ति बढ्दै गएको सन्दर्भमा हालसम्म पनि क्वारेन्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमाका भन्सार नाकामा रहेका पालिकाहरूले प्राथमिकताका साथ कम्तिमा एक हजार वेडको क्वारेन्टाइन तयार गरी व्यवस्थित रूपमा सञ्चालन गरिने,
आफ्नो पालिकामा आउन सक्ने व्यक्तिहरूको आँकलन गरी सम्बन्धित सबै पालिकाले अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्वतयारी गर्ने,
हाल सञ्चालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरूको विश्लेषण गरी आइसोलेसन सेन्टरका रूपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने लगायतको निर्णय गरेको छ ।
कोभिड–१९ को प्रभाव बढी देखिएका जिल्लाका स्थानीय तहहरूमा परिक्षणको दायरा बढाउने, बिरामीहरूसँग सम्पर्कमा रहनेहरूको कन्ट्याक्ट टे«सिङ गरी उनीहरूको परिक्षण गर्ने व्यवस्था गर्ने,
स्वाव संकलन गरिएका व्यक्तिहरू र अन्य व्यक्तिहरूलाई भौतिक दूरी कायम गरी बस्नका लागि परामर्श दिने निर्णय गरेको छ ।
त्यसैगरी सिमानाका बाहेकका अन्य स्थानबाट लुकिछिपी नेपाल प्रवेश गर्ने कार्यलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय परिचालन गरी पूर्णरूपमा नियन्त्रण र निषेध गर्ने,
जिल्लास्तरको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक नियमित रूपमा बसी कार्ययोजना तयार गरी कार्यान्वयन गने,
जिल्लास्तरमा बस्ने बैठकमा सबै पालिकाका प्रमुखहरू लगायत सबै सरोकारवालासमेत सहभागी हुने व्यवस्था गर्ने निर्णय भएको प्रदेश मन्त्रालयले जनाएको छ ।