- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरकृषि बाध्यात्मक पेशा भएको छ

कृषि बाध्यात्मक पेशा भएको छ

- Advertisement -spot_img

सरकारले वैदेशिक रोजगारीबाट फर्केर ब्यवसाय सुरू गर्न चाहनेहरूलाई सुरूवाती पुँजी उपलब्ध गराउने भएको छ । संसदमा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो कुरा जानकारी दिदै ब्यवसाय सुरू गर्न चाहनेहरूलाई क्षमता विकास, बजार पहुँचलगायतका काममा सरकारले सघाउने कुरा आएको छ ।
के अब सरकारको नीति तथा कार्यक्रमले बेरोजगार युवाहरू कृषि पेशामा गाउँमा फर्केलान् ? सरकारले भने जस्तै जति बिदेशबाट फर्किएका युवा र स्वदेशभित्र रहेका बेरोजगार युवाहरूले रोजगारीका लागि कृषि, साना तथा मझौला उद्योग र निर्माण क्षेत्रमा रूचि देखाउलान् ?
यो अध्यनको विषय बनेको छ । यसलाई सरकारले हल्का तवरले लिएको छ । अहिले गाउँको अवस्था हेर्ने हो भने छोराछोरी पढाउन तिनका आमाहरू नजिकका सहरमा झरेका छन् । गाउँमा जाने हो भने बूढाबूढी मात्र भेटिन्छन् । कृषियोग्य खेतबारी बाँझै छन् । कतिपय गाउँमा लगाइने खेतीमा पनि बाँदरको रजाइँ छ ।
युवा नभएपछि गाउँमा वृद्धहरू श्रमिकजस्ता भएका छन् । गाउँमा मानिस पातलिँदै गएका छन् । गाउँमा कसैको मृत्यु भयो भने मलामी जाने मानिसको अभाव छ । विकास निर्माणको काममा हिजोआज सबैजसो पहाडका गाउँमा सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर डोजर कुदाइएका छन् । हरियाली डाँडापाखा डोजरकै कारण सुक्खा भएका छन् ।
पानीका स्रोत पनि सुक्दै जान थालेका छन् । जतिबेला पहाडमा मानिसहरू बाक्लै थिए त्यतिखेर सडक थिएन । अहिले गाउँ–गाउँमा धमाधम सडक पुग्दैछन् तर त्यहाँ मानिस छैनन् ।
वैदेशिक रोजगारमा गएका युवा र छोराछोरी पढाउन सहर झरेका तिनका पत्नीहरू के अब गाउँ फर्कलान् ?
जवानीको शिखर विदेशमा पसिना बगाएर थाकेकाहरू नेपाल फर्केपछि फेरि त्यही दुःख गर्न उनीहरू पहाड फर्केलान् ? फर्कन मन गर्नेलाई पनि तिनका पत्नी र छोराछोरीले पहाड फर्कन देलान् ? सम्पूर्ण पहाडी जनजीवनका लागि यो अहं प्रश्न भएको छ ।
वैदेशिक रोजगारमा गएका पुरूष र छोराछोरी पढाउन सहर झरेका तिनका पत्नीहरूले पहाडका दुःख भोग्नसम्म भोगेका छन् ।
लेक–बेंसी, उकाली–ओराली, घाँस–दाउरा, ढिकी–जाँतो, टाढाको पँधेराको पानी, झरी–बादल, डोको–नाम्लो, कुटो–कोदालो, हलो–जुवा, खेताला–बाउसे, वस्तुभाउको स्याहार,असिना–पसिनाको जीवनचक्रमा पिसिएर,
पिल्सिएर र थिचिएर जीवन चलाइरहेकाहरू ती सबै दुःखबाट मुक्त भएर केही वर्ष सहरको सुविधायुक्त जीवनको स्वाद चाखेर बानी बिग्रिसकेको छ । अब के उनीहरू फेरि त्यही दुःख भोग्न गाउँ फर्कन तयार होलान् ?
अहिले सहर–बजारमा भीड बढ्नुको मुख्य कारण मानिस कृषि पेशा गर्न गाउँ फर्कन नमानेर हो । यो प्रवृत्तिले ग्रामीण क्षेत्रले दिनप्रतिदिन आकर्षण गुमाइरहेको छ ।
बढ्दो सहरी जनसंख्याले सहर आकर्षक भएका छन् । शहरमा बढी अवसर र सेवा सुविधा पनि थपिएका छन् । धेरै हदसम्म यो स्वाभाविक पनि हो । अतः अब यो आम प्रवृत्तिलाई उल्ट्याउनु कति सम्भव होला ?

ग्रामीण क्षेत्रको कृषिलाई आधुनिकीकरण र ब्यावसायीकरण गर्दै कृषि उत्पादनमार्फत सहरको पैसा गाउँमा भित्र्याउनेतर्फ कृषि ब्यवसायलाई सरकारले ध्यान दिन नसक्दा अहिलेको अवस्थामा आएको हो । ग्रामीण क्षेत्रमा कृषिको उत्पादन हुन नसक्दा सहरबाट गाउँ भित्र्याउनुपर्ने पैसा कृषि उपज आयातको नाममा बाहिर गएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न लागू भएको लकडाउनले नेपालको कृषि क्षेत्रमा गम्भीर र दूरगामी असर पारेको छ ।


पहाडी र हिमाली भेग सीमित कृषियोग्य जमिन भएको क्षेत्र हो । सिंचाई अभावमा वर्षमा दुई बाली उत्पादन हुने जमिन कम छ । त्यस क्षेत्रमा खाद्यान्न अपुग हुँदै आएको छ ।
नगद अभाव छ, किनकि त्यहाँ नगद प्राप्त हुने बाटा छैनन् । बिक्रीयोग्य वस्तु र सेवा हुँदैनन्, भए पनि खरिद गर्ने मान्छे हँुदैनन् । त्यसैले त्यहाँ गरिबी, अशिक्षा र रोग व्याप्त छ । यतिखेर गाउँ–गाउँमा अधिकार सम्पन्न स्थानीय सरकारहरू बनेपछि केही आशा त जागेको छ । तर पहाडी ग्रामीण क्षेत्रलाई कृषि पेशा बनाएर युवाहरूलाई रोजगारी बनाउन समय लाग्नेछ ।
त्यतिन्जेल गाउँहरू रित्तिने सम्भावना छ । गाउँ छाडेर गएकाहरू फर्कने सम्भावना पनि न्यून छ ।
विगतमा पहाडी ग्रामीण क्षेत्रको अवस्था र त्यसको स्वाभाविक परिणामको सम्बन्धमा जिम्मेवारीपूर्ण र गम्भीरतापूर्वक कुनै पनि सरकारले कहिल्यै सोचेनन् ।
गरेका छन्, खाएका छन्, अतिवृष्टि वा अनावृष्टि हुँदा केही जिल्लामा खाद्यान्न संकट भयो भने त्यस्तो समयमा खाद्य संस्थानमार्फत खाद्यान्न पठाएर अभाव टार्ने काम गरियो । विरोधका स्वर उठ्ने सम्भावना पनि त्यतिखेर थिएन । त्यसैले त्यहाँको समग्र अवस्थामा सुधार गरी त्यहाँका जनताको जीवनलाई सहज पार्ने ठोस कदम कहिल्यै चालिएन । खान नपुग्ने उत्पादन,
नगदको चरम अभाव, नगदको खोजीमा हिउँदमा अन्यत्र काम खोज्न जानुपर्ने बाध्यता, सबै किसिमका सुविधाको चरम अभावको स्थितिमा सुधार आउने सम्भावना नदेखिएपछि उनीहरूले गाउँमा बसिरहनुको कुनै अर्थ देखेनन् ।
वैदेशिक रोजगारको तथ्याक त सरकारसँग पनि छैन । धेरैले भन्ने र लेख्ने गरेको तथ्यांकलाई आधार मान्ने हो भने अहिले पनि ४० लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारमा छन् ।
कोरोना प्रकोपका कारण वैदेशिक रोजगारीबाट नेपाल फर्किएका र फर्किन खोज्ने युवाहरूको लागि स्वदेशमै स्वरोजगारका अवसर सिर्जना गर्न सहुलियत ऋणको व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीबाट कति फर्किए र फर्किएकाहरूमध्ये कृषि क्षेत्रमा कति आवद्ध हुन्छन् त्यसको तथ्यांक तयार पार्नुपर्दछ ।

वैदेशिक रोजगारीमा सिकेका सीपलाई व्यवसायीक कृषिमा उपयोग गर्न उद्यमशील तालिमको ब्यवस्था गर्नुपर्दछ । नेपालका तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनहरू अधिकांश रूपमा अप्रशोधित तथा अर्धप्रशोधित रूपमा निकासी भएका छन् ।
ती वस्तुहरू स्वदेशमा नै प्रशोधन हुने व्यवस्था गर्नुपर्दछ । अर्कोतर्फ कृषिको व्यवसायीकरणको लागि निजी क्षेत्रको लगानी बढाउन विभिन्न कार्यक्रमहरू तर्जुमा गरिनुपर्दछ ।
नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाँको खाएका छांै ? अरू त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौं । खेतीयोग्य जमिन बाँझो छ खाद्यान्न परनिर्भर छ तर हामीकहाँ युवा बेरोजगारी छन् । कृषिको तथ्यांक लिने हो भने कुल ३९ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख हेक्टर बाँझो भएको छ ।
६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिशतमा झरेको छ । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिर्भतामा गएका छौं । आज हामी तरकारी, फलफूल,
खाद्यान्नलगायत जीविकोपार्जनका अधिकांश वस्तुको लागि छिमेकी देशमा निर्भर भएका छौं । त्यसैले अहिले कोरोना कहरको रूपमा आए पनि नेपालीको आयस्रोत वृद्धिको लागि अब कृषि क्षेत्रलाई ब्यवसायमा बदल्दै आत्म निर्भरता तिर जान पर्दछ ।
कोरोनाको कारण समय र परिस्थिति फेरिएको छ । कोरोनाले प्रत्येक देश र नागरिकलाई यथार्थ धरातलमा ल्याईदिएको छ । बिखण्डित परिवारलाई एक ठाउँमा जोडेको छ ।
विदेशमा रहेका र काम गर्नेलाई मातृभूमिको महत्व सम्झाएको छ । स्वास्थ्य र कृषि नै संकटकालमा चाहिने भनेर बुझाएको छ । त्यसैले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्यको रक्षा गर्नु र रोजगारीको लागि कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउनु हो । खाद्यान्नमा मात्रै पनि आत्मनिर्भर बन्न सक्यो भने देशलाई असफल हुनबाट धेरै हदसम्म रोक्न सकिन्छ ।
विदेशी उत्पादन आयातमा नियन्त्रण गरी स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र जनतालाई स्वदेशी उत्पादन नै प्रयोग गर्न उत्प्रेरित गर्ने नीतिहरू तर्जुमा गरी लागू गर्नुपर्दछ । जस्तै, अहिले जुनसुकै क्षेत्रमा पनि विदेशी समानहरू मात्र प्रयोग गर्ने होडबाजी चलिरहेको छ ।
त्यस्ता गतिविधिहरू अर्थात् आनीबानीलाई निरूत्साहित गर्ने र नेपालमै बनेको सामान प्रयोग गर्ने बानी बसाल्ने गर्नुपर्दछ ।
नेपालमा करीब दुई तिहाई जनसंख्याको जीविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ । कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित छ ।
विगतको तथ्यांकलाई हेर्ने हो भने कृषि क्षेत्र प्रत्येक वर्ष ओरालो लाग्ने क्रममा छ । अहिले पनि ठूलो संख्यामा युवाहरू कामको खोजीमा विदेशिएका छन् । धेरै परिवारहरू बसाईसराई गरेका छन् । गााउँघरका अधिकांश आकासको भरमा खेती हुने जमिनहरू बाँझिने क्रममा छन् ।
अब दशौं लाखलाई रोजगार दिन, बाँझो खेतलाई उत्पादनशील बनाउन पर्दछ । कृषिमा आत्मनिर्भर हुन र समग्रमा कुलग्राहस्थ उत्पादनमा वृद्धि ल्याउन आधुनिक कृषि प्रणाली ग्रामीण क्षेत्रमा पु¥याउनुपर्दछ ।
यसको लागि कृषि मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक मन्त्रालय र समृद्ध निकायबीच समन्वय गरी विनियोजित बजेटलाई केन्द्रिकृत गरी एउटै ठाउँबाट परिचालन गर्दा रोजगारी वृद्धि र कृषिमा परिवर्तन ल्याउन सकिन्छ ।
कृषि पेशामा लागेका कृषकहरूको कृषि पेशामा रूचि देखिदैन । यो पेशालाई बाध्यात्मक पेशा मान्दछन् । जमिनमा स्वामित्व हुनेहरू खेती गरेर लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन्
भने जमिन नहुनेहरू अरूको जमिनमा खेती गरी उत्पादनमा दुईतिहाई जग्गाधनीलाई बुझाउन बाध्य छन् । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हसिया मात्र छ । वर्षमा १० दिन जोत्न ३ सय ६५ दिन गोरू पाल्नुपर्ने बाध्यता छ ।
सिंचाई छैन, लगानी गर्ने पैसा छैन । उन्नत बीउ, मल छैन । कृषकलाई प्रविधि सिकाउने प्राविधिक छैन । बेच्ने बजार छैन, तर किन्ने बजार छ । कृषि कार्यालयमा अत्यन्त सीमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेती किसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ ।
कृषिको अनुदान सबै पहुँचमा वितरण हुने गरेको छ । कस्तोसम्म पनि देखिएको छ भने जसको जमिन छ तर ऊ खेती गर्दैन शहर बजारमा बस्दछ ।
कृषिले किसानलाई अनुदानमा टेक्टर दिने कार्यक्रम भयो भने पहुँचको भरमा उसले टेक्टर पाउँछ र अरूलाई बेच्दछ । कृषिको अहिलेको यो अवस्था सुधार गर्नुपर्दछ ।
विश्वका कृषिमा सफल देशहरू हुनुको पछाडी उनीहरू उत्पादक, अनुसन्धान र कृषि उद्योगलाई जोड्न सक्नु हो । नेपालमा अनुसन्धान सीमित छ भने उन्नत ब्यवसायी कृषि विकास भएको छैन, केवल कृषि मन्त्रालयको कागजमा सीमित छ ।
कृषि प्राविधिक उत्पादन गर्ने कृषि कलेज तथा अनुसन्धान हुने नार्कजस्ता संस्थाहरू राजनीतिको चपेटामा परेका छन् । देशको ग्रामीण क्षेत्रको जीविकोपार्जनको एउटा मात्र विकल्प भनेको कृषि पेशा हो ।
ग्रामीण क्षेत्रको कृषिलाई आधुनिकीकरण र ब्यावसायीकरण गर्दै कृषि उत्पादनमार्फत सहरको पैसा गाउँमा भित्र्याउनेतर्फ कृषि ब्यवसायलाई सरकारले ध्यान दिन नसक्दा अहिलेको अवस्थामा आएको हो । ग्रामीण क्षेत्रमा कृषिको उत्पादन हुन नसक्दा सहरबाट गाउँ भित्र्याउनुपर्ने पैसा कृषि उपज आयातको नाममा बाहिर गएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न लागू भएको लकडाउनले नेपालको कृषि क्षेत्रमा गम्भीर र दूरगामी असर पारेको छ ।
लकडाउनले गर्दा आउँदो वर्ष झनै परनिर्भर हुनुपर्ने अवस्था देखिएको छ । लकडाउनका कारण किसानहरूले मल पाउन सकेका छैनन् । कुखुरापालन, पशुपालन तथा माछापालनको लागि दाना पाएका छैनन् । उत्पादित वस्तुहरूको बजारीकरण हुन सकेको छैन ।
कृषिमा एकीकृत तथ्यांकको अभाव छ । तथ्यांकको लागि राष्ट्रियस्तरको सूचना व्यवस्थापन प्रणालीको ग्रीड छैन । कृषि क्षेत्रको उत्पादन बढाउनको लागि, कृषिको आधुनिकीकरण, सामूहिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, बजारीकरण र अनुसन्धानको क्षेत्रमा राज्यको चासो छैन ।
अब प्रत्येक स्थानीय तहमा ठूला कृषि फार्महरूको सम्भाव्यता अध्ययन र माटोकोे गुणस्तर परीक्षण गरी नमूना सामूहिक कृषि फार्महरूको विकास गर्नुपर्दछ । यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नुपर्छ ।
यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रूपमा नगदे बाली, खेती गर्न सक्ने अधिकारको कानुन ल्याउनुपर्दछ ।
बाँझो जग्गा आधुनिक कृषि गर्न चाहने उद्यमी व्यवसायीलाई निश्चित अवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था पनि हुनुपर्दछ । अब गर्ने ब्यवसायीक कृषिमा अर्गानिक वस्तुको उत्पादन गर्नुपर्दछ ।
अहिले बेला बखत खडेरी, असिनाजस्ता मौसममा आएको प्रतिकूलता, रोगव्याधी, बाँदर किरा आदिबाट हुने जोखिम तथा न्यून गुणस्तरको बीउबिजनका कारण खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनमा नै नोक्सानी पु¥याइरहेको छ ।
यसबाट कतिपय किसानको लगानी बर्षेनी खेर गएको छ । यसबाट कृषि पेशाप्रति उदासिनता बढ्दै गएको छ । कृषि क्षेत्र अधिकांश निर्वाहमुखी रहेको र कृषि क्षेत्रमा व्यवसायीक वातावरण सिर्जना गर्न सम्पूर्ण खेती प्रणाली र पशुधनमा प्रचलित मूल्यमा अनिवार्य बिमाको व्यवस्था गर्नुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here