Wednesday, March 27, 2024
Homebreaking-newsकम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान

कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान

- Advertisement -spot_img

आज जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार एवं जननेता मदन भण्डारी र कुसल संगठक जीवराज आश्रितको २८औं स्मृति दिवस ।

२०५० जेठ ३ गते नारायणघाट–मुग्लिङ सडकखण्डको दास ढुंगामा वहाँहरू सवार जिपलाई दुर्घटना गराई नेपाली जनताका प्यारा नेताहरूको हत्या गरिएको थियो ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको हत्या भएको आज २७ वर्ष पुगेको छ । यद्यपि हत्याराहरूको हालसम्म पनि पहिचान भएको छैन । मदन–आश्रितको हत्यापश्चात् देशमा ठूलो आन्दोलन भएको थियो ।

आन्दोलनको क्रममा आधा दर्जन नेपाली आमाका अन्य सपुतहरूले समेत ज्यान गुमाउनु परेको थियो । हत्याराहरूको पहिचान गर्ने र तीनलाई कारवाही भने हालसम्म पनि हुन सकेको छैन ।

यस्ता ठूला हत्याकाण्डहरू संसारका अन्य देशहरूमा पनि भईरहने र हत्याराहरू बिरलै मात्र पत्ता लाग्ने र कारवाही हुने गरेका छन् । यस्ता ठूला हत्याकाण्डहरूमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको हात रहने हुँदा ती शक्तिहरू सजिलै पत्ता लाग्दैनन् ।

नेपालमा पनि मदन–आश्रित र राजा वीरेन्द्रको वंश विनासका हत्याराहरू हालसम्म पत्ता लाग्न सकेका छैनन् । जनताको अपेक्षा छ ढिलो चाँडो ती हत्यारा पत्ता लाग्नेछन् र कारवाही हुनेछ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको अतुलनीय योगदान छ । मदन भण्डारीको सैद्धान्तिक योगदान जनताको बहुदलीय जनवाद हो । जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्त र कार्यक्रम हो ।

अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट आन्दोलनले एकपछि अर्को असफलता भोगीरहेको समयमा नेपालमा मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई गति प्रदान गर्नुभएको थियो ।

कम्युनिस्ट आन्दोलन जडता र विसर्जनको सिकार भएको अवस्थामा ती दुबै अवस्थाबाट कम्युनिस्ट आन्दोलनलाई बचाई नयाँ जीवन दिन सफल हुनुभएको थियो ।

माक्र्सवादका तीनबटै संगठक अंगमा मदन भण्डारीले सैद्धान्तिक योगदान गर्नुभएको छ । खासगरी राज्य सत्तामा द्वन्द्ववादी सिद्धान्तको प्रतिष्ठापन र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको मान्यता अघि सारेर माक्र्सवादी दर्शनमा मदन भण्डारीले महत्वपूर्ण योगदान गर्नुभएको छ ।

विभिन्न चिरामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एउटै मूलप्रवाहमा ल्याउन, माक्र्सवादी सिद्धान्तलाई नेपालको वस्तुस्थिति अनुसार सिर्जनात्मक प्रयोग र विकास गर्न मदन भण्डारीले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । सायद जबजको प्रतिपादन भएको हुँदैन थियो भने नेपालको कम्युनिस्ट आन्दोलन अहिले पनि जंगल र ओडारहरूमा सीमित भएको हुने थियो ।

मदन भण्डारी पूर्व द्वन्द्ववादी दर्शनलाई कम्युनिस्ट आन्दोलनमा एकता, संघर्ष र संघर्षको रूपमा वा निषेधको निषेधका रूपमा मात्र प्रयोग गरिएको थिायो । कुनै एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टीको कल्पना गरिएको थियो ।

एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ भन्ने मान्यता राख्ने र उसैले क्रान्ति गरेर जनवादी सत्ता स्थापना गर्ने तर अन्य कम्युनिस्ट पार्टीलाई राज्य सत्तामा ठाउँ नदिने अर्थात् उनीहरूलाई निषेध गर्ने मान्यता संसारकै कम्युनिस्ट आन्दोलनमा देखिएको अभ्यास हो । यो मान्यताबाट अघि बढ्दा सोभियत समाजवाद र पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू ढलेका थिए ।

कार्ल, माक्र्स र लेनिनले पुँजीवाद, साम्राज्यवादको चरणमा पुगेपछि नष्ट हुन्छ भनेका थिए तर साम्राज्यवाद नष्ट नभएर अरू बलियो हुँदै गएको अवस्था देखियो भने कम्युनिस्ट राज्य सत्ता स्थापना भएपछि राज्य सत्ता नै विस्तारै ओइलाएर जाने अर्थात् समाज वर्गविहीन दिशामा जाने,

जनताहरूका बीचमा वर्ग नहुने सबै समान हुँदै जाने, मानिसहरू स्वतन्तताको दुनियामा विचरण गर्न पाउने भनिएकोमा कम्युनिस्ट सत्ताहरू ईलिटहरूको हातमा जाने, वर्गविहीनता नभई वर्गीयताको पहाड बढ्दै जाने, जनताको जनवादी अधिनायकत्वका ठाउँमा मुठ्ठिभरका मानिसका हातमा राज्य सत्ता रहिरहने त्यहाँ विचार, संगठन र काममा प्रतिस्पर्धा नहुने अवस्था पनि देखाप¥यो ।

मानव समाजको अहितकारी साम्राज्यवादी शक्ति अनिवार्यरूपमा समाप्त हुनुपर्ने तर बलियो बन्दै जाने स्थिति र सबै मानवको सुख, समृद्धि र समानता चाहने कम्युनिस्ट शक्ति कमजोर बन्दै जानुको मुख्य कारण विचार, संगठन र काममा प्रतिस्पर्धा नहुनु हो भन्ने निष्कर्ष मदन भण्डारीको रहेको छ ।

माक्र्सवादी दर्शनका अनुसार प्रकृति, समाज र राजनीतिमा सर्वत्र द्वन्द्व हुन्छ । द्वन्द्वका कारण गति र जीवन प्राप्त हुन्छ भने कम्युनिस्ट राजनीतिको अभ्यासका सन्दर्भमा विचारको प्रतिस्पर्धा वा द्वन्द्वलाई निषेधका रूपमा लिने मान्यता गलत भएको र

यही गलत मान्यताका कारण कम्युनिस्ट पार्टीहरू कमजोर हुने राज्य सत्ता उल्टो दिशामा जाने स्थिति देखिएको निष्कर्षसहित मदन भण्डारीले द्वन्द्ववादका नियमहरूलाई राज्यसत्ता, पार्टी, अर्थतन्त्र, आन्दोलनमा प्रतिष्ठापन गर्ने मान्यता अगाडि सार्नुभएको हो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले एउटै देशमा एकभन्दा धेरै कम्युनिस्ट पार्टीको बीचमा वैचारिक प्रतिस्पर्धा हुनुपर्ने मान्यता अघि सारेको छ

कम्युनिस्ट पार्टीहरूले पनि जनताको बीचमा आफ्ना नीति, कार्यक्रमहरू लगेर अनुमोदित भई राज्य सत्ता सञ्चालन गर्नुपर्ने, यो प्रक्रिया नियमित आवधिक हुनुपर्ने मान्यताका कारण आज देशमा दुई कम्युनिस्ट पार्टीका बीचमा पार्टी एकता हुने र जनमतमार्फत दुईतिहाईको सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएको हो ।

यदि एउटा देशमा एउटा मात्र खाँटी माक्र्सवादी कम्युनिस्ट पार्टी हुन्छ अन्य कम्युनिस्ट पार्टीहरू गैर माक्र्सवादी हुन्छन् भन्ने मान्यता अद्यावधिक भएको भए आजको नेपालमा न त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुन्थ्यो न त दुईतिहाईको कम्युनिस्ट सरकार । मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको अर्को महत्वपूर्ण संगठन अंग जनवादी व्यवस्थाको चरणबद्ध विकास हो ।

यो मान्यता पनि मदन भण्डारीले अघि सारेको नयाँ मान्यता हो । यसअघि अभ्यासमा रहेका कम्युनिस्ट व्यवस्थामा जनवादी व्यवस्थाको चरणवद्ध विकासका बारेमा निकै ठूलो कन्फ्यूजन थियो । सामान्यतया जनवादी व्यवस्थाका तीन चरणको स्पष्ट मान्यताले राज्यसत्ताको समाजवाद वा साम्यवादमा पुग्ने हतारोले स्वयं कम्युनिस्ट व्यवस्था असफल हुने स्थिति रहने छैन ।

जहाँ पूर्ववर्ती राज्य सत्ताका जनविरोधी आर्थिक, सामाजिक र साँस्कृतिक आधारहरूको अन्त्य गरी जनवादी व्यवस्थाका नयाँ आर्थिक, सामाजिक र साँस्कृतिक आधारहरूको निर्माण गरिन्छ र एउटा लामो प्रक्रियाबाट समाजवादमा संक्रमण गरिन्छ ।

जुन समाजवाद दीर्घजीवि हुने र राज्यविहीन, वर्गविहीन समाज (साम्यवादी समाजमा रूपान्तरण हुनेछ । यसरी मदन भण्डारीले जनबादी व्यबस्थाको चरण्बद्ध बिकासको मान्यताबाट माक्र्सबादी अर्थशास्त्रको सिद्धान्तमा योगदान गर्नु भएको छ ।

मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत बहुलवादी खुल्ला समाजको मान्यता अघि सारेर प्रकृति, समाज र विचारमा हुने बहुलतालाई आत्मसात् गरी सोही अनुसार कम्युनिस्ट पार्टी र यसद्वारा सञ्चालित राज्य सत्ताको अभ्यास गर्नुपर्नेमा जोड दिनुभएको छ । कम्युनिस्ट पार्टीद्वारा सञ्चालित राज्यसत्ता बहुलवादी र खुल्ला समाज भएको हुनुपर्नेमा वहाँको जोड रहेको छ । बन्द समाजले न्याय, स्वतन्त्रता र समानता भएको समाजवाद र साम्यवादी समाजमा पु¥याउन सक्दैन भन्ने दृष्टान्त अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त भएको असफलताको शिक्षा नै पर्याप्त छ । मदन भण्डारीको यो मान्यताले माक्र्सको समाजवादी सिद्धान्तमा योगदान गरेको छ ।

यसरी मदन भण्डारीले माक्र्सवादी दर्शन सिद्धान्तमा योगदान गर्नुभएको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दा नेपालको कम्युनिस्ट आन्दोलनले ऐतिहासिक सफलता हासिल गरेको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण जनक्रान्ति सफल भएको छ । एकतावद्ध कम्युनिस्ट आन्दोलनको निर्माण भएको छ । शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट जनमतद्वारा दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारको निर्माण भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदानलाई अलग गर्दा यहाँको कम्युनिस्ट आन्दोलन अपूर्ण हन्छ ।

विभिन्न चिरामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एउटै मूलप्रवाहमा ल्याउन, माक्र्सवादी सिद्धान्तलाई नेपालको वस्तुस्थिति अनुसार सिर्जनात्मक प्रयोग र विकास गर्न मदन भण्डारीले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । सायद जबजको प्रतिपादन भएको हुँदैन थियो भने नेपालको कम्युनिस्ट आन्दोलन अहिले पनि जंगल र ओडारहरूमा सीमित भएको हुने थियो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि हुने थिएन । निर्वाचनमा प्रतिस्पर्धा गरी दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारको कल्पनासमेत गर्न सकिने थिएन । यी सबै उपलब्धिका पछाडि जबजको भूमिका छ ।

देशलाई माक्र्सवादी सिद्धान्तको सही अभ्यासमा लानका लागि हाम्रो नेतृत्वले सफलता प्राप्त गरोस्, मदन भण्डारीको सैद्धान्तिक योगदानलाई आत्मसात् गर्न सकोस् मदन–आश्रितको २८औं स्मृति दिवस एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो स्थापना दिवसका सन्दर्भमा कम्युनिस्ट नेता, कार्यकर्ता र शुभेच्छुक सबैमा यही शुभकामना सहित जनताको बहुदलीय जनवादी सिद्धान्तका प्रतिपादक एवं जननेता कमरेड मदन भण्डारी र सिद्धान्त अभ्यासका सारथी, कुशल संगठक कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here