Saturday, April 20, 2024
Homebreaking-newsबाझो जमिनमा अदुवा र बेसार

बाझो जमिनमा अदुवा र बेसार

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३१ बैशाख ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १ तेर्छेगाउँमा बदेल र बाँदरले अन्नबाली खाएपछि खेती गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेती शुरू गरिएको छ ।

चारैतिरबाट जंगलले घेरेको उक्त पहाडी भिरालो बस्तीका अधिकांश मानिसहरू आफ्नो जीवनयापनका लागि पुरानो बस्ती तेर्छेगाउँलाई छोडेर तराईमा झरेका छन् ।

शुरूमा तेर्छेगाउँमा २० घरपरिवारको भन्दा बढीको बस्ती थियो । उनीहरूले आफूलाई चाहिने अन्नपातको खेतीपाति पनि गर्दथे तर रातिमा जंगली जनावर बदेल र बाँदरले उक्त खेती खाइदिएपछि गाउँलेहरूले खेती स्याहार्नै पाएनन् ।

परिवार पाल्नका लागि तेर्छेगाउँका अधिकांश युवा र पुरूषहरू रोजगारीका लागि भारत सहित तेस्रो मुलक जाने र कमाएको पैसाले परिवार पाल्ने र बचेको पैसाले तराईमा घर घडेरी र जग्गासमेत जोडे ।

जसका कारण तेर्छेगाउँका आधाभन्दा धेरैको रामपुर, साहीपुर, कालिमाटी र वरपरको तराईका गाउँमा बसोबास गर्दछन् । उनीहरूको तेर्छेगाउँमा रहेको जग्गा बाँझै थियो । उक्त बाँझो जग्गामा अहिले बेसार, अदुवा र पिडालु खेती शुरू गरिएको छ ।

स्थानीय टेकन भण्डारी र बसन्त भण्डारीले गाउँकाले खेती गर्न छाडेको करिब पाँच बिगाह जग्गामा बेसार, पिडालु र अदुवा खेती गर्न शुरू गरे ।

‘यो बर्षे पाँच बिगाहमा खेती गरेका छौं’ स्थानीय टेकन भण्डारीले भने ‘आगामी वर्षमा हामीले गाउँमा कुनैपनि जमिन बाँझो राख्दैनौ सबैमा खेती गर्छौ ।’ तेर्छेगाउँमा अहिले पनि ८ घरपरिवारको बसोबास छ । त्यहाँ करिव १० बिगाह जति जग्गामा खेती गर्न बाँकी छ ।

लकडाउन भएपछि रोजगारीका लागि भारत गएका युवाहरू भारतमा लकडाउन शुरू हुन लागेपछि गएको चैत महिनमा घर फर्किएका छन् । लकडाउन कहिलेसम्म रहन्छ ?

भन्ने अन्यौलता एकातिर छ भने अर्कोतिर लकडाउन सकिएपनि भारतमा तत्काल पुरानै रोजगारी पाइन्छ भन्नेमा गाउँमा फर्केका युवाहरू विश्वस्त नभएको बताउँछन् ।

‘लकडाउन कहिले सकिने हो थाहा छैन, सकिए पनि तत्काल भारत जाने अवस्था छैन’ तेर्छेगाउँका सचिन खत्रीले भने ‘अब गाउँमा गोठ बनाउने हो ब्यावसायिक बाख्रापालन गरेर बस्ने हो ।’

भारतबाट फर्केकासहित स्थानीय १५ जनालाई दैनिक खाना खाएर ६ सय रूपैयाँ पारिश्रमिक दिएर अदुवा, बेसार र पिडालु खेतीमा लगाइएको टेकन भण्डारीले बताए ।

यो बर्ष भण्डारीले उक्त स्थानमा ६ क्विन्टल बेसार खेती गरिसकेका छन् । तेर्छेगाउँमा ब्यावसायिक अदुवा, बेसार र पिडालु खेती गर्ने योजनामा रहेको भण्डारीले बताए ।

मिहनेत गरियो भने भारतमा आफूहरूले कमाए जति यही पनि कमाउन सकिने स्थानीय युवाहरूको विश्वास पनि छ । युवाहरूले त्यहाँ रहेको सिस्नोको सागलाई जम्मा गरेर सिस्नोको धुलोसमेत बनाइरहेका छन् ।

बजारमा सिस्नोको धुलोको समेत माग धेरै हुने गरेको आफूहरूले सुनेपछि सिस्नो संकलन गरी धुलो बनाउने कामसमेत थालिएको भण्डारीले बताए ।

उत्पादिन वस्तुको बजारीकरण सहकारीले गर्ने

तेर्छेगाउँमा उत्पादन हुने अर्गानिक अदुवा, बेसार, पिडालु र सिस्नोको धुलोको बजारीकरण दाङको घोराहीस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ ।

सर्वोत्तम सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजारमार्फत उपभोक्तालाई अदुवा, बेसार, पिडालु र सिस्नोको धुलो उपभोक्ताहरूलाई दिने योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको बजारमा तेर्छेगाउँमा उत्पादन हुने बेसार, अदुवा, पिडालु र सिस्नोको धुलो लगेर बेचबिखन गर्ने योजनामा संस्थाले काम गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

प्रदेश मन्त्रालय र सहकारीको बीचमा सम्झौता भई बजारका लागि आवश्यक पर्ने काम भइरहेको र जिल्लाभर कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले एउटै छानामूनी दैनिक आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामानहरू सहुलियत दरमा उपलब्ध गराउने योजना अनुसार काम भइरहेको संस्थाले जनाएको छ ।

संस्थाका शेयर सदस्यहरूलाई सूपथ मूल्यमा दैनिक उपभोग्य सामान खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, चिया, कफी, दूध, नुन तेल, महलगायतका सामाग्री उपलब्ध गराउने, उपभोक्ताहरूलाई समेत एउटै बजारबाट सबै सामानहरू उपलब्ध गराउने,

अर्गानिक ताजा कृषि उपजको उत्पादनका लागि कृषकहरूलाई आवश्यक प्राविधिक सिप तथा तालिमहरू उपलव्ध गराउने, कृषकहरूले उत्पादन गरेका सामाग्री उचित बजार मूल्यमा खरिद गरी उपभोक्ताहरूलाई उपलब्ध गराउने,

कृषि उपजमा बिचौलियाहरूले लिने नाफाको ठूलो हिस्सा कम गरी सुपथ मूल्यमा उपभोक्ताहरूलाई सामाग्री उपलब्ध गराउने उद्देश्य सर्वोत्तम सहकारी बजारको छ ।

यसैगरी सहकारी बजारले किसान र उपभोक्ताहरूबीचको उपभोक्तामैत्री वातावरण सिर्जना गर्ने, उपभोक्ताहरूले खोजेको तर सहज तरिकाले नपाइने ग्रामीण भेगमा उत्पादन हुने तर उपभोक्ताहरूलाई पछिल्लो दिनमा उपभोग गर्ने क्रम बढाएका खाद्यान्न,

जडिवुटी जस्तैः मकैको आटो पिठो, कोदो, फापर, मार्सी चामल, टिमुर, अदुवा, बेसार, गहत, पहाडमा फलेका सिमी, अरहर, बोडीको दाल, सिस्नुको सागलगायतका सामाग्रीहरू उपलब्ध गराउने बताइएको छ ।

तरकारीहरू कम उत्पादन हुने मौसमहरूका लागि सुके पाकेका तरकारीहरू जस्तै गुन्द्रुक, सुकेसाग, मुलाको चाना, टमाटर सुकाएको, विभिन्न प्रकारका तयारी अचारहरू समेतको उपलव्ध गराउने,

स्थानीयस्तरमा उत्पादन हुने र स्थानीय पहिचान बोकेका सामान जस्तैः अल्लोको टोपी, कोट, ढकिया, अम्रिसाको कुचो लगायतका सामानहरू पाइने बजारका रूपमा स्थापीत गर्ने,

बढ्दो मात्रामा रहेको प्लाष्टिक र आयातित सामानको प्रयोगलाई निरूत्साहित गर्दै स्थानीय स्तरमा कृषक तथा महिला समूहले उत्पादन गर्ने डोको, छिट्नी, दुना, टपरी, सिन्का, दाम्ला, नाम्ला, तोरन माला उपलब्ध हुने बजारका रूपमा बिकसित गर्नेछ ।

समाजको पहिचानकोे रूपमा रहेको पैचो प्रणालीलाई कायम गर्दै किसानले उत्पादन गर्ने सामान सहकारी बजारमा बिक्री गर्ने र किसानलाई चाहिने सामान सहकारी बजारबाटै किनेर लैजाने बजारका रूपमा स्थापित गर्ने,

व्यवस्थित कृषि बजारको माध्यमबाट आम कृषि उद्यमीको उत्पादन, संकलन लगायतका क्रियाकलापका तौरतरिकामा परिवर्तन गरी कृषकहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य राखेको संस्थाका अध्यक्ष ध्रुवराज पाडेलले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here