प्रदेश टुडे
तुलसीपुर, ३१ बैशाख ।
तुलसीपुर उपमहानगरपलिकाले रक्षाचौरमा स्थापना गरेको क्वारेन्टाइनमा रहेकाहरूलाई जडिबुटीजन्य औषधि वितरण गरेको छ । मंगलबार राप्ती आयुर्वेद चिकित्सालय दोघरेले क्वारेन्टाइनमा बसेका १८ जनालाई जडिबुटीजन्य औषधि वितरण गरेको हो ।
चिकित्सालयले गुरूजजुर नमुना मावि रक्षाचौरमा रहेका १८ जनालाई जडिबुटीजन्य औषधि वितरण गरेको चिकित्सालयका प्रमुख डा. मदनकुमार बिसीले जानकारी दिए ।
कोरोनाको आशंकामा रहेका उनीहरूलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडिबुटीजन्य औषधि वितरण गरिएको उनले बताए ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कोरोना नियन्त्रण एवं रोकथाम सम्बन्धी निर्देशिकाबमोजिम क्वारेन्टाइनमा बसेकाहरूलाई औषधि वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
जडिबुटीको प्रयोगबाट रोगप्रति प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, योग, प्राणायाम, ध्यान सम्बन्धी प्रशिक्षण र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको उनले बताए ।
उनले रोगसँग लड्ने क्षमता बढाउन गुड्ची चूर्णलगायतका औषधि वितरण गरिएको बताए । साथै चिकित्सालयले कोरोना संक्रमणबाट बच्न जनचेतनामूलक पर्चा पम्पलेटहरू वितरण गरेको छ ।