- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकोरोनाको कहरमा करोडको रहर बन्ला ?

कोरोनाको कहरमा करोडको रहर बन्ला ?

- Advertisement -spot_img

पछिल्लो समयमा मानिसले आफ्नो जीवन झोलाको बनाइसकेको थियो । हिजोसम्म हरेक मानिसले आफ्नो जीवना खोला, टोला, मोला र गोलामा बनाइरहेको अवस्थामा सुखी, खुशी, सेवा र सुविधा तथा विलासीताको जीवन जिउने रहरले बन्यो या कहरले बन्यो या बाध्यताले बन्यो या देखासिकीले बन्यो सबैको जीवनशैली शहर बजारिया बन्यो ।

जब मानिस गाउँदेखि शहर केन्द्रित हुन थाल्यो उसको आयाम पनि घट्यो किन भने गाउँको तुलनामा सहर हरेक तरिकाले महंगो र छोटो बन्यो । गाउँमा सस्तो–सस्तोमा आफ्नो सम्पत्ति बेचेर वा गुमाएर सहरको महंगो अंगाल्न खोज्दा स्वभाविकैले पनि मानिस खुम्चन पुग्यो र खोले जीवनबाट झोले जीवनमा परिणत भयो ।

हिजोसम्म गाउँका खोलानाला, भिरपाखा, पखेरा, कुना, कन्दरा, सेरोफेरो जम्मै मेरो भनेर जीवन चलाएका मानिस आज शहर प्रवेश गर्दा झोलामा आइपुगे अर्तात् पछिल्लो समय सबै सहर बजारिया मानिस बिहानको लागि चाहिने खाद्यान्न तथा तरकारी बिहानै झोलामा बोकेर ल्याउने र साँझको लागि चाहिने खाद्यान्न तथा तरकारी साँझै झोलामा बोकेर ल्याउने अवस्थामा पुगे ।

अर्थात् शहर बजारको यत्रतत्रको सुविधाले गर्दा जतिखेर जुन चिजको आवश्यक प¥यो त्यतिखेर चिजबिज उपलब्ध हुने अवस्थामा पुगेपछि मासिनले आफ्नो जीवन झोले जीवन नै बनाउन रुचायो । यसो गर्दा वर्षभरी खेतबारीमा परिश्रम पनि गर्नुपरेन ।

घरमा महिनौं र वर्षौका लागि चाहिने आवश्यक सामग्रीको संग्रह पनि गर्नुपरेन र त्यो संग्रह सामग्रीलाई सुरक्षित तरिकाले राख्ने भण्डार र भण्डारण विधि र ठाउँ पनि बन्नु र बनाउनु परेन । मानिसले आफूले जे गर्दा आराम हुन्छ त्यही गर्न थालेपछि वा मानिस आवश्यक भन्दा बढी परनिर्भर बन्दै गएपछि देशमा व्यापारको पेश दिनानुदिन बढ्दै गयो ।

हिजो सबै मानिस अर्थात् हिजोका सबै गरेर खाने र बेचेर खाने सबै मानिस अर्थात् हिजोका सबै गरेर खाने र बेचेर खाने सबै मानिस आज बसी–बसी किनेर खाने तहमा पुगेपछि व्यापारको माग ह्वात्तै बढेन ? यसरी एकाएक व्यापारको माग हात्तै बढेपछि व्यापारी पेशा पनि बढ्दै गयो र सबै व्यापारी पनि बन्ने भए ।

समय सधैं एकैनासले चल्छ भन्ने केही ग्यारेन्टी पनि छैन । समय कहिले अनुकूल हुन्छ भने कहिले प्रतिकूल । समयको यही खेल अनुसार यतिबेला समय विश्वभर प्रतिकूल बन्यो ।

मानिसले आफ्नो जीवनको लेखाजोखा बिहानको बिहानै र साँझको साँझै गरिरहेको बेला प्रकृति निकै क्रुर भएर चल्यो । समयले यस्तो बनायो कि मानिसलाई घरबाट एकक्षण पनि वर र पर पनि सर्न दिएन र गर्न पनि दिएन । यस्तो अवस्थामा झोले जीवनका लागि सदासर्वदा किनेर खानु त थियो नै हिजोसम्म केही गरेर र केही उब्जाएर खाने व्यक्ति र शक्तिसमेत यतिबेला किनेर खाने अवस्थामा पुगे ।

भण्डार हुनेले रित्तिएकोलाई सदासर्वदा चुस्नुपर्छ, दुहुनपर्छ, निचोर्नु पर्छ, थिच्नुपर्छ र च्यात्नुपर्छ नै भन्ने केही पनि छैन । कहिलेकाहिं भण्डार हुनेले रित्तिएकोलाई मानवीय गुण र मानवीय भावना देखाएर सेवाप्रदायक बन्दा पनि हुन्छ । संसारमा सबैले खाने हो । कसैले बाँच्नको लागि खाला भने कोही खानको लागि बाँच्ला तर खाना त सबैका लागि जरुरी छ । तसर्थ हुने खानेले गुणस्तरको खाना खाने र हुँदा खानाले गुणस्तरहीन खाने भन्ने सोंच राखेर कोरोनाको कहरमा करोडौंको मालिक बन्ने सपना नदेखियोस् ।


 

हिजो किनेर खाने सदासर्वदा किनेर नै खाने भए । हिजो बेचेर खाने पनि वा हिजो केही उत्पादन गरेर खाने पनि प्रतिकूल समयको चपेटामा परेर किनेर खान बाध्य भए भने व्यापारको माग कति बढेर गयो होला ? व्यापारी कहिल्यै नमर्ने त भए । भए उनीहरुले के पनि गर्ने भए भने यस्तो बेला र परिस्थितिमा करोडको सपना पनि देख्ने भए ।

सामान्य व्यापार गर्नेले पनि करोडको सपना देख्ने भए । एउटा नाक, मुख छोप्ने टालोको के भाउ थियो र ! फेरी त्यो टालो आजको पछिल्लो महामारीको लागि सञ्जिवनी बुटी सरह पनि होइन । यति हुँदा हुँदै पनि त्यो पाजी मुखको मालालाई ठूलो शक्तिशाली कवच ठानेर, मानेर,

जानेर, त्यसलाई व्यापारको केन्द्र बनाएर करोडौंको सपना देख्न थाले । व्यापारको दुनियाँ कस्तो रहेछ ? कहिल्यै पनि सेवा, उपकार, सहयोग, कल्याण र हितका निम्ति प्रयोग नहुने ।

जहिले पनि केही कमाउने र केही रमाउनेमा नै समय गुजार्ने व्यापारी मरेको, व्यापारी भासिएको, व्यापारी पुरिएको, व्यापारी थिचिएको, व्यापारी काकाकुल भएको, व्यापारी त्रसिएको र व्यापारी भयवित भएको कहिल्यै भएन । किनभने जहिले पनि व्यापारीसँ सबै झुक्नै पर्ने भयो ।

व्यापारी देशको जस्तोसुकै परिस्थितिमा जागेर नै माथि गए । होला कोही कसैको आफ्नै ढंग र ताल नपुगेर र आवश्यक भन्दा बढी तडकभडकको जिन्दगी जीउने र पिउने नाममा बिग्रेको र भत्केको होला अन्यथा देश, काल, परिस्थिति र महामारीको चपेटाले व्यापारीलाई केही पनि गरेन ।

हिजो पनि गरेन । आज पनि गरेन र भोलि पनि गर्ने छैन । व्यापारी भन्नाले नुनदेखि सुन बेच्ने पनि व्यापारी हुन् । व्यापारी च्याउ बेच्नेदेखि स्याउ बेच्नेसम्म पनि व्यापारी हुन् । व्यापारी चल्ला बेच्नेदेखि हात्ती घोडा बेच्नेसम्म पनि व्यापारी हुन् ।

व्यापारी दाम्लो बेच्नेदेखि काम्लो बेच्नेसम्म पनि व्यापारी हुन् । व्यापारी थुक बेच्नेदेखि अमृत बेच्नेसम्म व्यापारी हुन् । व्यापारी जडिबुटीदेखि औषधि बेच्नेसम्म पनि व्यापारी हुन् ।

यसरी आफ्नो सीप, कला, जोस, जाँगर, हिम्मत, पौरख, जोवन, सुन्दरता, सम्पन्नता, वैभवतादेखि लिएर आफैले उत्पादन गरेको वा अरुले उत्पादन गरेको सर्वथोक बेच्ने व्यापारी हुन् । यस्ता तह र क्षेत्रका व्यापारी आफ्नो पेशा र कर्मप्रति बफादार र सेवामूलक बन्नको लागि आजको जस्तो प्रतिकूल अवस्थामा करोडौंको सपनामा सुत्नु हुन्न, निदाउनु हुन्न, भुल्नु हुन्न र झुक्नु हुन्न ।

यसो भनिरहदा हाम्रो आसय सम्पूर्ण व्यापार सुक्नुपर्छ, चौपट हुनुपर्छ, घाटा खानुपर्छ, नोक्सानी व्यहोर्नु पर्छ, हराउनुपर्छ, बिलाउनुपर्छ, भत्कनुपर्छ, बिग्रनुपर्छ र सडकका आउनुपर्छ भन्ने कदापि होइन र किमार्थ होइन । कुरा के हो भने व्यापारीको पनि आफ्नै धर्म र मर्म हुन्छ ।

व्यापारी आफू बेची खाने भएता पनि सधैं किनेर खानेको कित्तामा उभिएर आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्दछ । आजको व्यापारी भोलि उपभोक्ता अर्थात् किनेर खाने नागरिक भोलि व्यापारी बन्न पनि सक्छ ।

तसर्थ सधैं आफूलाई व्यापारी ठानेर आफ्नो धर्म र कर्मबाट च्यूत भएर सेवाग्राहीप्रति अनुउत्तरदायी कहिल्यै बन्नु हुँदैन ? यसो भनिरहदा सबै व्यापारी एउटाखाले र एउटै प्रवृत्तिको पनि भएको यो आशय होइन र छैन पनि कोही कसैले आफ्नो धर्म र कर्म निभाएको पनि होला ।

त्यो नितान्त मानवसंगत व्यवहार पनि हो । तर सबैमा दया, माया, करुणा, कोमलता, नरमता, भावकुता छ भन्ने ग्यारेन्टी पनि त छैन । यस्तो अवस्थामा जस्तोसुकै व्यापारी किन नहोस् आफू मानव भएको नाताले देश दुखेको बेला, देश रोएको बेला, देश पीडामा परेको बेला र जनता आहातमा परेको बेला अघिपछि पाँच रुपैयाँको नाफा खानेले यो बेलामा दुई रुपैयाँ र पन्ध्र रुपैयाँ नाफा खाएर करोडौको सपना देख्ने भन्ने नै मूल प्रश्न हो ।

यो बेला सबैभन्दा बढी सुध्रिने भनेको नै व्यापारी हो । किनभने सम्पूर्ण नागरिकको जीवन व्यापारीको हात र व्यापारीको भूमिकामा केन्द्रित छ ।

व्यापारीले कस्तो सामान वा वस्तुभाउ बेच्छ ? भनने प्रश्न पनि उत्तिकै छु भन्ने, सित्तैमा दिएको छु भन्ने, सहयोग स्वरुप बाँडेको छु भन्ने र राहत स्वरुप बाँडेको छु भन्ने तर त्यो गुणस्तरहीन र प्रयोग गर्न लायक रहेन छ भने त्यो भन्दा ठूलो पाप यो जीवन र जगत्का लागि के छ ?

खाली नाफा हेरेर मात्र भए । कस्तो सामानमा नाफा खाएन त्यो विवरण सामग्रीको पनि लेखाजोखा हुनुप¥यो । सडेगलेको र कुहेर गन्हाएको पशुले त खादैन भने मानिसले खान्छ ।

अझ यस्तो महामारी फैलिएको बेला त्यस्ता गुणस्तरहीन सामान बेच्नु त के आफ्नो व्यापारशालामा भण्डार गर्न समेत रोक र प्रतिवन्ध लगाउनु पर्दछ । मानिसलाई घरबाट बाहिर निस्कन नदिने । मानिस–मानिस बीचको सम्पर्कलाई रोक लगाउने तर व्यापारिक केन्द्रबाट यस्ता गुणस्तरहीन सामानको ओसार पसार गर्दा पर्ने असर कस्तो होला ? अनुमान गर्न सकिन्छ ।

तसर्थ यतिबेला व्यापारीलाई नियाल्दा, हेर्दा अनुमान गर्दा, बुझ्दा र मूल्याङ्कन गर्दा सामान्य मूल्यसूचीलाई मात्र ध्यान दिने बानी त्यागौं । कुनै पनि व्यापारीले आफ्नो व्यापार कक्षबाट कस्तो सामानको वितरण गरिरहेको छ ? त्यसको लेखाजोखा गरौं ।

व्यापारको नाममा ग्राहकलाई सधैं अप्ठेरो, असहज र कठीन अवस्थाको हिसाब किताब गरेर मौंकामा चौका हान्ने घृणित खेल कसैले नखेलौं । आजको परिस्थिति विश्व थकित, चिन्तित, भयवित र मुर्छित भएको समय, बेला र घडी हो । यो बेलामा व्यापारी पनि अछुतो हुँदैनन् । व्यापारी पनि रोग, भोग, शोकमो दायराभित्रै पर्दछन् ।

त्यसैले यो कोरोनाभाइरसको कहर सबै मानव प्राणीका लागि हो भन्ने ठानेर, मानेर र जानेर जसले जहाँबाट जसरी जसलाई यो कहरबाट केही हदसम्म पनि मलमपट्टी गरेको अनुभूति गराउन सकिन्छ त्यो काम हरेकले गरौं ।

प्रकृति सबैका लागि हो । प्रकोप सबैका लागि हो । दैव सबैका लागि हो । काल र समय सबैका लागि हो । अभाव र दबाव सबैका लागि । कोही पनि यो धर्तीबाट अलग छैन, फरक छैन, बेग्लै छैन र पृथक छैन । कसैको घरमा भण्डार होला भने कसैको घर रित्तो होला तर समय,

काल, परिस्थिति र अवस्था भण्डारमा पनि भित्रिन्छ र रित्तोमा पनि भित्रिन्छ । भण्डार हुनेले रित्तिएकोलाई सदासर्वदा चुस्नुपर्छ, दुहुनपर्छ, निचोर्नु पर्छ, थिच्नुपर्छ र च्यात्नुपर्छ नै भन्ने केही पनि छैन ।

कहिलेकाहिँ भण्डार हुनेले रित्तिएकोलाई मानवीय गुण र मानवीय भावना देखाएर सेवाप्रदायक बन्दा पनि हुन्छ । संसारमा सबैले खाने हो । कसैले बाँच्नको लागि खाला भने कोही खानको लागि बाँच्ला तर खाना त सबैका लागि जरुरी छ । तसर्थ हुने खानेले गुणस्तरको खाना खाने र हुँदा खानाले गुणस्तरहीन खाने भन्ने सोंच राखेर कोरोनाको कहरमा करोडौंको मालिक बन्ने सपना नदेखियोस् । सबैमा चेतना भया ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here