- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकोरोनाको ‘हटस्पट’ बन्यो नेपालगंज

कोरोनाको ‘हटस्पट’ बन्यो नेपालगंज

- Advertisement -spot_img

नविन गिरी
नेपालगंज, २४ बैशाख ।

नेपालगंज कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको छ । एउटै टोलका २२ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को जोल्हनपुर्वा बस्ती ‘हटस्पट’ नेपालगंजको ‘रेड जोन’ बनेको हो । पुरानो अनि बाक्लो यो बस्ती नेपालगंजको पर्यटकीयस्थल महेन्द्र पार्क पछाडि रहेको छ ।

मुस्लिम समुदायको बसोबास रहेको जोल्हनपुर्वामा मध्यम र निम्न बर्गीय मानिसहरू बस्छन् । चैत १० गते नेपालगंजको जमुनाहा नाका बन्द भएकै बेला त्यहाँ आइपुगेका करिब १ हजार नेपालीहरूको भीडबाट महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइएका झण्डै सात सयजना मानिसहरूसँगै आएका नेपालगंज–७ डिएसपी रोडका ६० बर्षीय पहिलो संक्रमित पुरूषसँग सम्पर्क भएका जोल्हनपुर्वाका ती मानिसहरूमा संक्रमण देखिएको हो ।

सुरक्षा स्रोतका अनुसार पहिलो संक्रमित ती ब्यक्तिले आफू दुई महिनादेखि भारत नगएको बताएपनि उनी चैत १० गते नेपाल आएको देखिएको छ । सीमाबाट उद्दार गरेर ल्याइएको केही समयमै क्वारेन्टाइनबाट उनी भागेका थिए ।

यद्यपि यसबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । उनले भारतबाट संक्रमण ल्याए वा त्यही भिडबाट उनमा संक्रमण सरेको हो भन्ने एकिन भने भएकोे छैन ।

डिएसपी रोडमा रहेको आफ्नो घरबाट जोल्हनपुर्वास्थित अन्सारियान मस्जिदमा दैनिक आउजाउ गर्ने उनले टोलमै रहेको मदरसाका साथै स्थानीय बालबालिकालाई घरमै गएर उर्दु भाषा र नमाज पढ्न सिकाउने गरेका थिए ।

नेपालगंजमा ‘कन्ट्याक्ट ट्रेसिङ्ग’ गरेर शनिबार र आइतबार ९४ जनाको स्वावको नमुना लिइएको थियो । ‘उनको घरपरिवार र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गरी ९४ वटा स्वाव लियौं,

ती सबै स्वावको भेरी अस्पतालमा परिक्षण गर्दा ७२ जनाको नेगेटिभ र २२ जनाको पोजिटिभ देखियो,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने–‘मंगलबारदेखि पुनः संक्रमितहरूको ‘कन्ट्याक्ट ट्रसिङ्ग’ गरेर थप स्वाव संकलन थालेका छौं ।’

उनले अहिलसम्म नयाँ संक्रमित व्यक्तिहरूको सम्पर्क र भेटघाटमा ३ सय जति मासिसहरू रहेको प्रारम्भिक आँकलन गरेको बताए । यसबारे थप सोधीखोजी भइरहेको उनको भनाइ छ ।

मुस्लिम आयोगले मस्जिद र मदरसामा बस्ने धर्मगुरू, शिक्षक र विद्यार्थीहरूलाई कोरोना परिक्षणको दायरामा ल्याउन बाँके जिल्लामा पनि जिल्लास्तरीय अनुगमन समिति गठन गरेपछि समितिकै अगुवाई र सक्रियतामा बैशाख १७ गते एक्लैनीस्थित फूलबारी मस्जिदबाट ती पहिलो संक्रमित व्यक्तिको स्वाव लिइएको थियो ।

उनीसहित फूलबारी मस्जिदबाट ११ जनाको स्वाव लिइएकोमा १० जनाको भने नेगेटिभ देखिएको थियो । जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर बाँकेका सबै धार्मिक संस्थाबाट स्वाव संकलन गर्ने निर्णय भएपछि पछिल्लो समय धार्मिक संस्थामा बस्ने व्यक्तिहरूको स्वाव संकलन तीब्र पारिएको छ ।

‘हामीले सबै धार्मिक संस्थाबाट स्वाव संकलन गर्न सहजीकरण गरिरहेका छौं, त्यसै अनुरूप लिइएका स्वाब मध्ये डिएसपी रोडका ती व्यक्तिको पनि संकलन गरिएको हो, लक्षण नै नदेखिएको व्यक्तिमा कोरोना पुष्टि भएपछि नेपालगञ्जमा कतै भुसको आगोजस्तो संक्रमण फैलिएको त छैन भन्ने शंका बढाएको छ,’

अनुगमनको सहजीकरण गर्ने जिम्मेवारी पाएका नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले भने ।

एउटै टोलका २२ सहित २३ जनामा कोरोना देखिएपछि नेपालगंजमा त्रास बढेको छ । नेपालगंजमा लकडाउन फितलो भएको व्यापक जनगुनासो भइरहँदा समुदायस्तरमै संक्रमण देखिएपछि चिन्ता बढेको छ ।

संक्रमित जोल्हनपुर्वाको छिमेकी टोल घसियारन टोलमा बस्ने नेपाली कांग्रेस बाँकेका कोषाध्यक्षसमेत रहेका निजामुद्दिन सिद्दिकीले टोल वरपर त्रास छाएको बताए ।

उनले अब वरपर सबैको परिक्षण गर्नुपर्ने बताए । पहिलो संक्रमण देखिएपछि नै वडा नम्बर ७ को डिएसपी रोड र वडा नम्बर ८ को जोल्हनपुर्वालाई शिल गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले टोललाई निगरानीमा राखेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए । उनले संक्रमितहरूको सम्पर्क र भेटघाटमा आएका मानिसहरू पत्ता लगाउने काम भइरहेको बताए ।

एकैदिन १५ जनामा संक्रमण देखिए लगत्तै नेपालगंजमा उच्च सतर्कता अपनाइएको बताउँदै प्रवक्ता सिंहले भने– ‘हामीले नेपाल भारत सीमा नाकामा थप निगरानी बढाउनुका साथै संक्रमण देखिएको क्षेत्रमा निकै कडाई गरेका छौं ।’

कोरोना संक्रमणलाई नियन्त्रण गर्न मंगलबार बिहान ११ बजेदेखि हिंड्डुल गर्न नपाउने गरी नेपालगंजलाई निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

‘कन्ट्याक्ट ट्रेसिङ्ग’ र स्वाव संकलनलाई प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए । यो २५ गते मध्य रातिसम्म जारी रहने छ ।

नेपालगंजका सबै २३ जना संक्रमितको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्मित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा भइरहेको छ ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको आइसोलेसन अस्पतालको प्रमुख समेत तोकिएका भेरी अस्पताल नेपालगंजका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश बहादुर थापाले बताए ।

‘सबैको स्वास्थ्य राम्रो छ, उहाँहरू स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ,’ उनले भने । उनीहरू कसैमा पनि कोरोनाको लक्षण भने देखिएको छैन । संक्रमित ७ बर्षीया बालिकादेखि ६० बर्षसम्मका बृद्धबृद्धा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here