- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsपीडामा दूध उत्पादक किसान

पीडामा दूध उत्पादक किसान

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २२ बैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिस्नेरीमा तीनजना युवाले करिब ६ महिना अघि नेप्लीज गाई फर्म सञ्चालनमा ल्याए । फर्ममा अहिले साना ठूला गरी होलस्टेन जातको २१ वटा गाई छन् ।

व्यवसाय शुरूवात गरेदेखि फर्ममा दैनिक करिब २ सय लिटर दूध उत्पादन हुँदै आएको थियो । तर पछिल्लो समय दूध उत्पादन आधाले घटेको छ । फर्ममा अहिले दैनिक १ सय लिटर दूध पनि मुस्किलले उत्पादन हुने गरेको छ । कारण हो कारोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन ।

‘लकडाउन अर्थात् बन्दाबन्दी लम्बिदै जाँदा डेरी उद्योग बन्द भए, दाना पाइन छोड्यो, अनि दूध उत्पादन पनि आधाले घट्यो’ व्यवसायी प्रकाश जीएमले भने–‘गत वर्ष दसैँ तिहारको समयदेखि मात्रै तीनजना युवाले सामूहिक रूपमा व्यवसायीक गाईपालन व्यवसाय शुरूवात गरेका हौँ, तर शुरूवातमै व्यवसाय धरापमा पर्ने स्थिति आयो ।’

सामूहिक रूपमा व्यवसायीक गाईपालन शुरू गरेका उनीहरूले आजभोलि दैनिक ६ हजार बढी क्षति व्यहोर्नु परेको छ । ‘गाईको प्राण जसोतसो बचाइरहेका छौँ, कहिलेसम्म रहन्छ यस्तो अवस्था ? लम्बिदै जाँदा थप चिन्तित बनेका छौँ’ उनले भने– ‘यस्तै अवस्था लामो समय रहिरहे व्यवसाय नै धरापमा पर्ने स्थिति आउँछ ।’

करिब १ करोड २० लाख रूपैयाँको लागतमा सञ्चालनमा ल्याएको उक्त गाई फर्ममा अहिले दैनिक १ सय लिटर दूध उत्पादन हुने गरेपनि मुस्किलले ५० लिटर बिक्री हुने गरेको छ ।

लकडाउनमा अत्यावश्यक वस्तु बिक्री वितरण गर्न पाउने भएपनि डेरी उद्योग बन्द हुँदा दूध बिक्री नभएको उनले बताए । ‘डेरी बन्द हुँदा डेरीबाट पाउनुपर्ने रकमसमेत नपाउँदा गाईलाई दाना खुवाउन समस्या भएको छ’ उनले भने– ‘बैंकको ऋण त झन कहिले तिर्ने हो ? कसरी तिर्ने हो ? थाहा छैन्, अहिले फर्ममा काम गर्ने श्रमिकलाई दिने पैसासमेत छैन् ।’

यस्तै तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँका गाईपालक किसान कुलबहादुर भण्डारीसँग अहिले साना ठुला गरी १९ वटा गाई छन् । व्यवसायीक रूपमा गाईपालन थालेका भण्डारीले दैनिक ५० देखि ६० लिटर उत्पादन गर्दै आएकोमा अहिले दैनिक ३० लिटर पनि उत्पादन हुने गरेको छ । ‘लकडाउन लम्बिदै जाँदा दूध बिक्री हुन नपाएपछि दाना कम खुवाएर दूध उत्पादन गरिरहेका छौँ’ उनले भने– ‘दाना खुवाएपछि नै दूध उत्पादन हुने हो, दूध उत्पादन भएपनि कहाँ बिक्री गर्ने ? समस्या नै छ ।’

तुलसीपुर उपमहानगरपालिका–१८ खोलीगाउँका कृष्णप्रसाद भुसालको समस्या पनि उस्तै छ । भुसालको गाई फर्मबाट पनि दैनिक ५० लिटर दूध उत्पादन हुँदै आएकोमा अहिले ३० लिटर पनि मुस्किलले उत्पादन हुने गरेको छ । ‘लकडाउन लम्बिदै जाँदा एकातिर दाना नै पाउँदैन्’ उनले भने– ‘दाना नै कम खुवाउन थालेपछि दूध उत्पादन आधाले घटेको छ ।’ उनको फर्ममा अहिले १२ वटा होलेस्टन र जर्सी जातको गाई रहेका छन् ।

लकडाउन लम्बिदै जाँदा उनलाई गाई कसरी बचाउने र अलिअलि उत्पादन भएको दूध पनि कसरी बेच्ने भन्ने पिर छ ? ‘नारायणपुरमा दूध बेच्दै आएको थिए तर लकडाउनले डेरी नै बन्द भएपछि केहि दिन त दूध खेर गयो’ उनले भने– ‘अहिले तुलसीपुरकै डेरीमा बेचिरहेको छु, तर दूध बेच्न पनि सहज छैन्, प्रहरीले विभिन्न बहानामा सास्ती दिने गरेको छ ।’

तुलसीपुर–६ गोलौराका गाईपालक किसान लोकराज डाँगीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन् । उनले दूध बिक्री गर्ने डेरी उद्योग बन्द हुँदा दुध कसरी बिक्री गर्ने भन्ने चिन्ता छैन् ।

‘लकडाउन कै कारण मैले दूध बिक्री गर्न नपाएको अवस्था त छैन्, तर मौसम पनि त्यस्तै भएकाले दूध उत्पादन केही घटेको छ’ उनले भने– ‘पहिले ८० देखि ९० लिटर उत्पादन हुने गरेको दूध अहिले ६५ देखि ७० लिटरमात्रै उत्पादन हुने गरेको छ । लकडाउन अर्थात् बन्दाबन्दीका कारण दाना महंगोमा खरिद गर्नुपरेको उनले बताए ।

‘पहिले ३०/३१ रूपैयाँ प्रतिकेजी पर्ने दाना अहिले ४१ रूपैयाँमा खरिद गर्दै आएका छौँ’ दाना महंगोे हुँदा मजस्तै धेरै दूध उत्पादक किसान समस्यामा परेका छौँ, दानाको मूल्य बढेपनि दुधको मूल्य बढ्ने कुरै छैन् ।’

लकडाउन अर्थात् बन्दाबन्दी लम्बिदै जाँदा अधिकांश गाईपालक किसानले सहजरूपमा दूध उत्पादन र दूध बिक्री गर्न सकेका छैनन् । जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट लाखौँ रकम ऋण लिएर व्यवसायीक रूपमा गाईपालन व्यवसाय गरेका किसान समस्यामा परेका छन् ।

दाना नखुवाम् गाई मर्ने चिन्ता, दाना खुवाम उत्पादन भएको दूध कहाँ व्यवस्थापन गर्ने ? लगायतका चिन्तामा दूध उत्पादक किसान छन् ।

दाङमा अहिले व्यवसायीक रूपमा दूध उत्पादनका लागि पशुपालन गर्ने किसानको संख्या ३ सय बढी रहेको छ तर केही सीमित व्यक्तिले मात्रै दूध बिक्री गर्न पाएका छन् ।

अधिकांश किसानले दूध बिक्री वितरण गर्ने डेरी उद्योग बन्द हुँदा दूध उत्पादक किसान समस्यामा परेका हुन् । कोरोनाको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको स्वागतयोग्य भएपनि वैज्ञानिक हुन नसकेको उनीहरूको गुनासो छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here