काठमाडौँ ।
विक्रम सम्बतं २०६२–०६३ को जनआन्दोलन २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण र स्थापित राजनीतिक परिवर्तणको रुपमा लिइदै आएको छ । यसै आधारमा नयाँ संविधान बन्नुको साथै देशनै संघीय गणतान्त्रिक संरचनामा गएको छ ।
तत्कालीन माओवादीको सशस्त्र संघर्ष अन्त्यको आधारको रुपमा लिइएको लोकतान्त्रिक जनआन्दोलनबाट देशमा लोकतन्त्र आएको १४ वर्ष पुगेको छ । लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाइदै आइएको छ ।
यहि आन्दोलनको जगमा तत्कालीन नेकपा (माओवादी) र सरकारबिच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्था अनुसारको चुनावी यात्रा यही आन्दोलनको उपलब्धि स्वरूप अघि बढे पनि समृद्ध र साँचो अर्थको प्रजातान्त्रिक तथा भ्रष्टाचार मुक्त देश बनाउनु अहिलेको चुनौति हो । जनआन्दोलनको मर्ममा अहिलेको राजनीति अघि बढन सकेका देखिदैन । स्वार्थको राजनीति हावी भएको छ ।