तुलसीपुर, १० बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाले सामाजिक दूरी कायम गर्दै कार्यपालिकाको ८४आंै बैठक सम्पन्न गरेको छ । कोरोनाको संक्रमण व्यवस्थापनका साथै अन्य विभिन्न आपतकालिन निर्णय गरिएको प्रवक्ता सूर्यबहादुर डाँगीले वताए । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बैठकले दोस्रो चरणको राहतलाई फरक ढंगले अगाडि बढाउने भएको छ । पहिलो चरणमा ६ हजार बढीलाई राहत वितरण गरेको उपमहानगरपालिकाले राहत र रोजगारलाई सँगै अगाडि बढाउने निर्णय गरेको छ ।
राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने कुरालाई कार्यपालिकाले निर्णय गरेको प्रवक्ता डाँगीले बताए । विपन्नलाई राहत दिने र सो बाफत वडा वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने गरी राहतको काम अगाडि बढाउने भएको छ । ‘काम र माम भन्ने कुरालाई एकै साथ अगाडि बढाइने भएको हो’ प्रवक्ता डाँगीले भने ।
श्रम बैंकलाई सञ्चालन गर्नका लागि वडा अध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति बनाइने छ । यस्तो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ । ‘जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि बढाइएको हो’ नगरप्रमुख पाण्डेले भने । ‘अशक्त, ज्येष्ठ नागरिक लगायतकालाई भने राहतका लागि श्रम बैंकमा काम गर्नुपर्ने छैन’ नगरप्रमुख पाण्डेले भने । उनले तत्कालै श्रम बैंकको काम अगाडि बढ्नेसमेत बताए । बाहिरबाट फर्किएका श्रमिकहरुलाई काममा लगाउनका लागि पनि यस्तो निर्णय गरिएको हो । श्रम बैंकमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गराइनेछ ।
कार्यपालिकाको बैठकले संघ, प्रदेश र स्थानीयस्तरका ठेक्कामा गइसकेका योजना सञ्चालन गर्ने भएको छ । ‘सामाजिक दूरीलाई कायम गरेर काम अगाडि बढाइने भएको हो’ प्रवक्ता डाँगीले भने । उनले उपमहानगरपालिकाका आपतकालिन योजनाहरु पनि सञ्चालन गर्ने भएको छ । यसैबीच उपमहानगरपालिकाले राहत वितरणका बारेमा अनुगमन गर्ने भएको छ । कार्यपालिका सदस्य देवराज विकको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको छ ।
यसैबीच कृषि उपजको उपलब्धताका लागि वडाको संयोजनमा सहकारीमार्फत काम अगाडि बढाइने भएको छ । ‘कृषकलाई मल बीउबिजन सहकारीले उपलब्ध गराउनेछ’ प्रवक्ता डाँगीले भने । यसैबीच बैठकले उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाले बनाएको कोरोना संकट व्यवस्थापन कार्ययोजना पारित गरेको छ ।