- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमलाई नसम्झिएको मेरो देश…(कविता)

मलाई नसम्झिएको मेरो देश…(कविता)

- Advertisement -spot_img

लाग्थ्यो
संकटमा देशले सम्झिनेछ
संकटमा म देश सम्झिनेछु
तर आज
म देश सम्झेरै
महाकाली पारी भोक भोकै बसे
आफ्नै देशतिर फर्केर नाङ्गै उभिए
लाठी खाए पराईका
खै देशले त सम्झिदै सम्झेन ।

तर के गर्नु,
देशले नै मलाई नसम्झे पनि
मैले घर सम्झिए
परिवार सम्झिए
म परदेश जाँदा तोते बोल्ने
छोरी सम्झिए
बुट जुत्ता ल्याईदिनु है बा
भन्ने छोरो सम्झिए
चार दशक पार गरेको
आमाको जीर्ण शरीर सम्झिए
त्यसैले त
म आज
नाङ्गै महाकालीमा होमिएको हुँ
तर
म कहाँ गएर गुनासो गरूँ
आफ्नै देश छिर्न अयोग्य भए भनेर ।

म कुनै पर्यटक होईन
हावा खान हिडेको
हिमाल पहाड हेर्दै
आँखाको स्वाद फेर्ने
म त एक गरीब थिए
र हुँ पनि
यही देशको यही परिवेशको ।

यही देशलाई भार नपरोस् भनेर
म पसिना बगाउँछु परदेशमा
देशले पाल्नु पर्दैन
म र मेरो परिवार
बरू म नै देशलाई पाल्छु
बेला बेलामा ।

पसिनासँग आँसु साटेर
पेट पाल्छु
रगतसँग दौरा बदल्छु
आँसुसँग स्वास्नीको पेटीकोट टाल्छु
छोराछोरीको भोटो बदल्छु
तैपनि
आजसम्म केही मागेको छैन
मैले देशसँग
सायद कहिल्यै माग्ने पनि छैन ।

धेरै यक्ष प्रश्न छन् मसँग
आजसम्म उत्तर नभेटेका
वा कसैले जवाफ नदिएका
जवाफ दिनै उपयुक्त नठानेका प्रश्न
देश ठूलो कि भोक ठूलो ?
जीवन ठूलो कि परिवार ठूलो ?
कतै जवाफ मिल्ने पनि होईन
मलाई जवाफ नि चाहिदैन
न कसैको जवाफले भोक टार्छ
न जिउ ढाक्छ
फोस्रो जवाफ मलाई
किन चाहियो र ?

एउटा अर्को पनि प्रश्न छ अनुत्तरित
के देश धनीको मात्रै हो ?
हुने खानेको मात्रै हो ?
होइन भने
देशसँग
पहुँच हुनेले जहाज मागे
पाए
सर्र उडेरै आए
गुनासो छैन
मैले कहिल्यै केही मागिन
पाईन, दुःख छैन
तिनको देश थियो
सबै थिए पाए
ठिकै छ
म त सुनेरै हर्षित छु
कमसेकम केही नेपालीको
त ज्यान बचायो देशले ।

कृपया
म खाली खुट्टा र भोको पेट लिएर
देशको सिमानासम्म आएको हुँ
देशले नै मलाई नचिने पछि
बाध्य भएर
मैले महाकालीमा हाम फाले
आफू र परिवारका लागि
एउटा कछाडमात्रै भिरेर,
खोई कसैलाई लाज लागेन त
किनकी यहाँ गरीब नाङ्गीदा
सबै रमिते हुन्छन्
लाज लाग्दैन कसैलाई
गरीबको कुरीकुरी ।

मैलाई कुरीकुरी गरेर
देशलाई बचाउनुछ भने
जनता बचाउनुछ भने
बरू म मर्न तयार छु
तर
मलाई गुनासो छ देशसँग
एउटा गरीबको निवेदन छ
कृपया बिना जवाफ मलाई
नाङ्गै नहिडाईयोस् ।

म देशद्रोही नभएको
प्रमाण कहाँ पेश गरौ ?
भोको पेटको लागि
स्वास्नीको लाज ढाक्न
छोराछोरीको भविष्य सम्झेर
म मुग्लान पसेको हुँ
तर कस्लाई भनौ ?
त्यही मुग्लानले नै लखेटेपछि
बाध्य भएर म आएको हुँ
कसले बुझ्छ र ?

म आत्महत्याको लागि
नदीमा डुबेको हुँदै होईन
खै कसरी सम्झाऊ ?
म बाँच्नकै लागि
बगेको हुँ नदीमा
कसले सुनिदिने ?
मेरो सर्वश्व महाकालीमा
हेलिँदा पनि
सबै रमिते बनेपछि
दिक्क लाग्छ आफैलाई ।

तर
महाकालीमा बग्दै गर्दा
जिन्दगीले
एउटा महशुस ग¥यो
अनुभव ग¥यो
गरीबको लाज हुँदो रहेनछ
नाङ्गै हिड्न पनि मिल्ने
नाङ्गै हिडाउन पनि मिल्ने
रहेछ गरीबको शरीर ।

अझ भनौ,
गरीबको त देशै हुँदो रहेनछ
गरीबको त देश भन्नु नै
पाखुरा रहेछन्
पसिना रहेछ
आँसु रहेछ
रगत रहेछ
चिरा फाटेका पैतला रहेछन् ।

गरीबको त परिवार नै हुँदो रहेनछ
परिवार भन्नु नै
भोको पेट रहेछ
नाङ्गो शरीर रहेछ
आफ्नै देशको सीमा पनि
पर्खाल रहेछ गरीबका लागि ।

त्यसैले गरीबहरू हो !
घर फर्किने
कु–चेष्टा नगरौं
देश र परिवार सम्झेर
किनकी देश धेरै
टाढा छ हाम्रो लागि ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here