- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरखै कहाँ छ सुरक्षा ?

खै कहाँ छ सुरक्षा ?

- Advertisement -spot_img

दीपा धिताल

मैले आज घर छोड्ने निश्चय गरिसके । कति दिन पो सहेर बस्नु हँ ? एकदिन हो दुईदिन हो यसरी सहदै गएँ भने म आफैले आफैलाई स्वयम् एकदिन यही खाल्डोमा गाड्ने छु । यो अन्याय, यो अत्याचार अनि यो सहनशीलता अहँ ! यो अन्याय, अत्याचारबीचको मेरो सहनशीलताले म आफैलाई जलाउने छ एकदिन ।

मेरी जन्मदिने आमा ! जो आफै स्वयम् छोरी हुन बुझ्दिनन् उनैले मेरो कुरा । मेरा बा पनि त छन् जसले देख्दैनन् मेरो भविष्य । अनि मेरो दाइ ! जसले बुझ्दैनन् मेरो इच्छा र चाहनाहरू, मन पर्दैन उनलाई मेरो स्वतन्त्रता । अब भन्नुहोस् म कसलाई आफ्नो भनु ?

मेरा पैतालाका पदचापहरू नापेर मेरो अस्तित्व जाँच्ने मेरो समाजको कुरा त के नै गरौं र मैले जहिले नि नजर ठाडो पारेर हेर्छ मलाई ।
उफ ! यो जेल जस्तो घर त म सजिल्यै छोड्न सक्छु तर म कहाँ जानु ?

के गर्नु ? कहाँ बस्नु ? म आफ्नै प्रश्नहरूको भुमरीमा झन–झन जेलिन थाल्छु । आफ्नो निहुँ खोजिरहेको चुनौतीलाई म थपक्क स्वीकार गर्छु र लम्कन्छु त्यो अनिश्चित भविष्यको अनिश्चित यात्रामा । त्यो माघ महिनाको जाडो बिहानको लगभग ३ बजिसकेको थियो गाउँमा कुखुराहरू बासिरहेका थिए ।

बाहिर आकाशमा ताराहरू चम्किरहेका थिए तर धर्तीमा जताततै अन्धकार नै थियो । झोलामा केही जोर कपडा र केही लेखकहरूका दुई÷चारवटा साहसीक किताबहरू पिठ्युँमा बोकेर बाहिर निस्के । त्यो अँधेरीमा म जन्मेको, हुर्केको, खेलेको आँगन म आफैलाई उराठ लाग्न थाल्यो । बिरानो लाग्न थाल्यो । त्यतिबेला मलाई कुनै डर त्रास भन्ने कुराले छोएन ।

विवाह गर्नको लागि घरबाट भागेर अर्कैको सहारामा, अर्कैको पछि लागेर भाग्न आँटेकी छोरीजस्तै भएँ म ।

तर त्यतिबेला न मलाई सहारा दिने कोही थियो न म कसैको सहारामा घरबाट विवाह गर्नको लागि भाग्न चाहान्थे । म त झन त्यहीँ विवाह भन्ने संस्थाबाट भाग्न चाहन्थे र भागीरहेकी थिएँ पनि ।

मेरा बाआमा जसले मलाई १८ वर्षको उमेरमा नै विवाह गरिदिएर पराईघर पठाउन चाहन्थे र आफूखुशी हुन चाहन्थे जुन उहाँहरूको खुशीमा म सामेल थिइन् ।

मेरो दाइ मलाई विवाह गरिदिएर आफू एक्लै बस्न चाहन्थ्यो र भन्थ्यो बहिनी अब तेरो विहे गर्ने उमेर पनि भयो के सोंचेकी छस् आफ्नो बारेमा ?

छोरी मान्छे जहाँ पायो त्यहीँ एक्लै हिड्न गाह्रो हुन्छ केटो राम्रै छरे पढे लेखेको जागिर खाने धनी परिवार फेरि पछि यस्तो केटा नभेटिन सक्छ ।

मेरो दाइ जुन मभन्दा चार वर्षले जेठो छ । १८ वर्षको उमेरमा अब विहे गर्नुपर्छ भन्छ मलाई । विहे नगरे एक्लै हिड्न गाह्रो हुन्छ रे ! मलाई विहे गर्ने केटो पढे, लेखेको,

सम्पन्न परिवारको छ अरे ! ऊसँग विहे गरे म सुखी र खुसी हुन्छु अरे ! उसकै राजिमा तर उसले मलाई सोध्दैन । आरती त यो विहेमा खुसी छस् कि छैनस् ? भनेर ।

आफू पुरूष भएकै कारण उसले हरेक काम कुराहरूमा आफूलाई अब्बल र मलाई कमजोर सम्झन्छ । छोरी त संघारको सीमानामा बाँधिनुपर्छ भन्ने ठान्छ आफूचाहिँ फुक्काफाल दुनियाँ देख्दै–भोग्दै हिँड्न चाहन्छ ।

मेरा बा र दाइको एकलौटी कुराले मेरो दिमाग नै ह्याङ्ओभर भैसकेको छ तर साहस भने मरेको छैन । मेरा दाइ र बा त पितृसत्तात्मक सत्ताका पहरेदार हुन् ।

मेरी आमा भने दासी हुन् । उनीहरूको । तर मेरी आमा आफू छोरी भएकै कारण पनि मेरो कुरा बुझ्दिनन् । मलाई पनि आफूजस्तै दासी बनाउन चाहन्छिन् र भन्छिन् पराइघरमा गाह्रो हुन्छ मैले जस्तै घर गरेर खानुपर्छ नानी तैले पनि ।

मेरा बा, आमा, दाइको एकोहोरो कुराको अगाडी मेरो केही जोर चल्दैन । मेरो कुरा कसैले नि सुन्दैनन् । खाली सम्पन्न र पढे, लेखेको केटो पछि पाइदैन भन्ने मात्र गर्छन् ।

किन गर्दैनन् उनीहरूले त्यस केटोको बानी व्यबहारको कुरो । पढे, लेखेको सम्पन्न छ भन्दैमा के उसको बानी पनि सम्पन्न नै हुन्छ र ?

हुँदैन । घरमा त्यस केटाको र मेरो विहेको कुरा चलेको एकहप्ता पछि मैले उसलाई राम्रोसँग चिनिसकेकी छु । ऊ यति घटिया र निच सोंच भएको ब्यक्ति हो कि ! आफ्नै पुरूषत्वको तेज उसले देखाइसकेको छ । ओहो ! जताततै पुरूष हैकम कति बलियो ? अनि कायमै पनि ? उफ !

नारीहरूले हरपल पिएको आँसु, पलपल खपेको पीडा, क्षणक्षण भोगेको उत्पीडन कहाँ सम्झन्छ र बुझ्छ पुरूषवादी सत्ताले ?

ऊ साँच्चिकै सम्पन्न भए त ऊप्रति मेरो माया पलाउनुपर्ने पो होइन र ? झन–झन् किन यति घृणा छ ऊसँग मलाई ? सायद उसको पुरूष हैकमले ऊप्रति माया पलाएन मेरो । मात्र घृणाका ज्वालाहरू उत्पन्न भईरहे ।

म भने संस्कार र संस्कृतिको पाउ जेबमा कैद हुन चाहदैनथे । र मेरो परिवारको विहेको दवाब मलाई केही गरि नहटेपछि मैले हारिसके उहाँहरूसँग,

तर मैले परिवारसँग हारेपनि आफूसँग चाहिँ जित्ने निर्णय गरें र उहाँहरूलाई केही हतास नहोस् भनेर एउटा कागजको पानामा बा, आमा, दाइप्रति केही प्रेम, केही गुनासो पोखेर,

नडराउन र गाउँलेले सोधे शहर पसेकी छ भनिदिनु ! भनेर केही शब्दहरू सिरानीमुनि छोडेर त्यो रात हत्केलामा मुटु राखेर म एक्लै घर छोडेर हिंडे ।

हामीलाई शिक्षा र पारिवारिक संसर्गले यतिकै कातर बनाएर छोड्छ कि ! हामी हरेक काम कुराहरू बाध्यताले गरिरहेका हुन्छौं तर म भने कातर भएर हिड्ने पक्षमा पटक्कै थिइन् ।

यो मेरो सानैदेखिको कठोरपन थियो । खै कुन शक्तिले हो त्यो बिहानीको अँधेरीमा पनि मेरो मुटुमा डर, त्रास र भयले छुँदै छोएन । पिठ्युँमा केही जोर कपडा र केही लेखकहरूका किताबहरू झोलामा राखेर हिंडि नै रहें ढुङ्गा, माटो काँडा, खोला–नालाहरूलाई पन्छ्याउँदै ।

केही समय हिंडिसकेपछि बल्ल बिहानीको किरणले लेखका टुप्पाहरूमा लाली फिजाई सकेको थियो । त्यही लालीको रङ्गले मेरो मन पनि स्वतन्त्रताले रङ्गिरहेको थियो ।

स्वागत छ यो नौलो बिहानी, यो नौलो घाम, यो नौलो दिनलाई । अनि म हिंडेको अघिको त्यो अँध्यारो बिहान उसैलाई समर्पित गर्दै फेरि म हिंडिरहे त्यो अनिश्चित यात्रामा ।

लाग्यो यतिबेला मलाई मेरो बा, आमा, दाइले खोजिरहेका होलान् अनि पढ्दै होलान् त्यो कागजको पानामा लेखिएका अक्षरहरू । ह्या !

जे सुकै गरून् मेरो ब्यक्तिगत जीवनमा आफ्नो सन्तान त्यसैमाथि छोरी भनेर हैकम चलाउन खोज्ने परिवारप्रति मेरो कुनै सन्देह छैन । मलाई त स्वतन्त्र चरी जस्तै उड्न मन छ यो आकाशमा ।

गोजीमा अस्ती साथीले दिएको हजारको नोटभन्दा अरू पैसा थिएन मसँग । पैसा हुनलाई कुनै जागिर पनि थिएन । भर्खर त १२ को परीक्षा सकिएको थियो । म त अलि धेरै पढेर केही गर्न चाहन्थे र मेरो परिवारको विहेको दबाबको कारण म घरबाट निस्किएकी हुँ । एउटा गाँस, बाँस, कपासको लागि त अब म आफैले नि जोहो गर्न सक्छु नि !

हिड्दा हिड्दै पेटले केही खानेकुरा माग गर्न थालेपछि एउटा पसलबाट दुईवटा चाउचाउ लिएर आएँ । चाउचाउ स्वास्थ्यका लागि फाइदा नभएपनि यतिबेला मलाई भोक मेटाउनु थियो र त्यही चाउचाउ खाँदै उहीँ बाटो हिंडिरहे । स्वतन्त्रताको उपभोग गरेर ।

हिड्दा हिड्दै मनले एउटा निर्णय ग¥यो । कुनै एउटा अपरिचित गाउँमा पसेर छोरी भनेर आफ्नै परिवारले मेरो जीवनमाथि हैकम चलाउन खोज्ने, केही गर्ने चाहना हुँदाहुँदै पनि सानै उमेरमा विहे गर्न बाध्य बनाउने छोरीहरूका लागि केही गर्छु भन्ने अठोट लिए ।

निकैबेर हिडिसकेपछि शरीर थकानले गलिसकेको थियो । एकछिन चौतारीमा विश्राम लिएँ र झोलाबाट एउटा किताब झिकेर हेर्न थालें । त्यतिकैमा दुई÷चारजना केटा मान्छेहरू मेरो नजिकै आएर मलाई जिस्काउन थाले ।

म भने किताब झोलामा राखेर चुपचाप त्यहाँबाट हिंडे । उनीहरू मलाई पन्छ्याउँदै मेरो पछि–पछि नानाथरी बोलेर आइरहेका थिए ।

यतिबेला भने मेरा स्वतन्त्रताका सारा उत्साहहरू एकैसाथ सेलाउन थाल्छन् । मस्तिष्कले केही कामै नगर्ला जस्तो भयो । म बल पु¥याएर विचार गर्छु । केही पर एउटा पुलिस चौकी देखें अनि सरासर त्यतैतिर लागें ।

त्यहाँ पुगिसकेपछि मेरो पछि लागेका मान्छेको नामले गनिने स्यालहरूको बारेमा मैले पुलिसलाई बताएँ । उल्टै पुलिस भन्छ आइमाई मान्छे किन यसरी एक्लै–एक्लै हिडिरहेको त ? मलाई उसको प्रश्नदेखि झोक चल्छ । आक्रोसले मेरा आँखाहरू राता–राता हुन्छन् ।

म कहाँ छु ? एकछिन सोच्न बाध्य भएँ । मलाई त्यतिबेला पुलिस चौकीभन्दा पनि आफ्नै घर सुरक्षित लाग्यो । हुन त यो देश भनेको जीउँदै न्याय मरेको देश हो ।

यदि पुलिसले हाम्रो सुरक्षाको ग्यारेन्टी लिइदिएको भए यस्ता प्रश्नहरूको आवश्यकता हुन्थ्यो र अहिले ? हामी जहाँकहिँ जाँदा पनि निर्धक्कसँग हिड्न र बस्न सक्थ्यौं होला ।

हैट ! पुलिसमा जाने ? पुलिसको रहेछ र हाम्रो ? उसको श्वास पनि रक्सीले गन्हाइरहेको थियो । अहिलेदेखि रक्सी धोकेर हिंड्नेले के ड्युटी बजाउँछ ? अनि भन्छ सुरक्षा दिन्छौं हामी । खै कहाँ छ सुरक्षा ? मुखभित्रको जवाफ उसकै सामु दिन मन थियो ।

दिन मन लाग्दा लाग्दै म आफूलाई नियन्त्रित गर्छु अनि तरवारका धारजस्ता बाटाहरूमा आफ्नो सुरक्षा आफै लिएर हिड्छु र आफू बाँचेको सामाजिक ढाँचादेखि मलाई निकै वितृष्णा जागेर आउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here