- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsडढेलोको उच्च जोखिममा वन क्षेत्र

डढेलोको उच्च जोखिममा वन क्षेत्र

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २९ फागुन ।

गर्मी समय शुरू भएसँगै वनमा आगलागीको जोखिम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार दाङका ८३ वटा वन आगलागीको उच्च जोखिममा रहेका छन् ।

गर्मी समयमा हुनसक्ने आगलागीको जोखिमलाई मध्यनजर गरी जिल्लाका वनलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

जसअन्र्तगत ८३ वटा वन उच्च जोखिममा परेका छन् । बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक वनहरू र केही राष्ट्रिय वनको क्षेत्र वन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै मध्यमखालको जोखिममा ४६ र सामान्य जोखिममा ४४ वटा वन समूहको रहेको डिभिजन वन कार्यालय दाङका कार्यालय प्रमुख डिभिजन वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

बंगलाचुली र दंगीशरणका गाउँपालिकाअन्तर्गतका वन क्षेत्र मध्यम जोखिममा र तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन् ।

उनका अनुसार जिल्लामा ९२ वटा वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका छन् । ८१ वटा वन समूहहरू भने वन डढेलो नियन्त्रणका लागि निष्कृय देखिएको अध्ययनले देखाएको उनले बताए ।

यसैबीच दाङमा वन डढेलोलाई शुन्य गर्नका लागि यो वर्षदेखि ‘शुन्य वन डढेलो महाअभियान’ शुरू गरिएको छ । डिभिजन वन कार्यालय दाङले गर्मी समयमा समस्याका रूपमा रहेको वन डढेलोलाई शुन्य बनाउनका लागि नयाँ र महत्वाकांक्षी अभियान शुरू गरेको हो ।

महाअभियानको शुरूवाती चरणमा डिभिजन वन कार्यालय अन्तर्गतका कमिरेचौर, सुनपुर र अम्बिकेश्वरी सवडिभिजन वन कार्यालयको डिभिजन वन कार्यालय घोराहीमा, नाराणपुर, बिजौरी र तुलसीपुर सवडिभिजन वन कार्यालयको बिजौरीमा र दंगीशरण र पुरन्धारा सवडिभिजन वन कार्यालयको हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्सांकनसम्बन्धी अन्तरक्रिया गरिएको छ ।

दाङमा तीन स्थानमा सम्पन्न अन्तरक्रिया गोष्ठीबाट प्राप्त नतिजालाई डिभिजनस्तरमा गरिएको विश्लेषण गरी डढेलोको मुख्य कारण र समाधानको उपायसमेत पहिचान गरिएको छ ।

जसअनुसार वन क्षेत्रमा डढेलो लाग्नुमा पैदल यात्रु, सवारी साधन चालक तथ सहचालकहरू, लुकेर लागूपदार्थ, ध्रुमपान सेवन गर्नेहरूले असावधानीपूर्वक चुरोटका ठुटा ननिभाएर फाल्ने, आमाबाट वन्यजन्तुका पाठापाठीलाई छुटाई पक्रन र काठ चोरी तस्करीका लागि वन क्षेत्रमा पसी आगो लगाउने,

हानीकारक वन्यजन्तुको सम्भाव्य आक्रमणबाट बच्न र किराकाटी मार्न, वनमा डढेलो लगाएमा राम्रो घाँस र च्याउ उम्रन्छ भन्ने गलत सोंचले समेत वनमा डढेलो लगाउने गरेको अध्ययनले देखाएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताए ।

उनका अनुसार जनचेनताको कमी, वन क्षेत्रमा निर्माण गरिएका सञ्चार टावरहरूले टावरको सुरक्षाका लागि अनियन्त्रित आगो लगाउने, निकुञ्जले घाँसे मैदान ब्यवस्थापन गर्न, निजी जग्गाधनीले आफ्नो खेतबारीमा रहेका अनावश्यक झार तथा बुट्यान जलाउने, वन क्षेत्रमा कोइला पोल्ने,

अरिङ्गाल गोला पोल्न, पिकनिक खाइसकेपछि आगो ननिभाई छाड्ने, मेलापातमा जाँदा चुरोट खाइ ननिभाई फाल्ने चलनलगायतका कारणले वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

डढेलो नियन्त्रण रणनीति

डिभिजन वन कार्यालयले शून्य वन डढेलो महाअभियान सफल पार्न भन्दै वन डढेलो नियन्त्रणको दीर्घकालिन र अल्पकालिन रणनीति तयार गरेको छ ।

जसमा दीर्घकालिन रणनीतिअन्तर्गत ठूलो क्षेत्रमा फैलिएर रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा अग्नीरेखा निर्माण गर्ने, वन तथा वन्यजन्तु चोरी निकासीमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने, डढेलोको मुख्य कारण मानिएको खर घाँसको ब्यवस्थापनका लागि कागज उद्यम स्थापना गर्न पहल गर्ने, सुरक्षा निकायहरूसँग नियमित समन्वय र सहकार्य गर्ने,

सामुदायिक वन उपभोक्ता तथा वन कर्मचारीहरूको क्षेत्रमा अभिबृद्धि गर्नेलगायतका रणनीति तयार गरेको छ ।

त्यस्तै, अल्पकालिन रणनीति अन्तर्गत वन क्षेत्रमा रहेका ज्वलनशील पदार्थहरू जस्तै, सुकेका खर, घाँस, पत्कर, स्याउला, सोत्तर, मसिना दाउरा समयमै ब्यवस्थापन गर्ने, वन क्षेत्रको नियमित गस्ती गर्ने, अग्नी नियन्त्रण सामाग्रीहरूको ब्यवस्थापन गर्ने,

सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम प्रकाशन तथा प्रशारण गर्ने, अग्नी नियन्त्रक दस्ता परिचालन गर्ने, डढेलो नियन्त्रणको मोवाइल टोली परिचालन गर्ने, डिभिजन वन कार्यालयमा अग्नी नियन्त्रण कक्ष सञ्चालन गर्ने लगायतका रहेका छन् ।

प्रत्येक सवडिभिजन वन कार्यालयले आआफ्नो कार्यक्षेत्रका जोखिमयुक्त सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रलाई जोखिम नक्सा, वन डढेलोका मुख्य कारणमा आधारित रही छुट्टाछुट्टै वन डढेलो नियन्त्रण रणनीति अनुसार कार्यान्यन गर्ने छन् ।

४२ हजार हेक्टर वन क्षेत्र प्रभावित

पछिल्लो सात वर्षमा दाङका विभिन्न ४ सय ६३ स्थानमा लागेको वन डढेलोका कारण ४२ हजार ६ सय १९ हेक्टर वन क्षेत्र प्रभावित भएको कार्यालयले जनाएको छ ।

जसबाट एकजनाको ज्यान गएको छ । ९ घर जलेर नष्ट भएका छन् । वन क्षेत्रमा घाटगद्दी गरी राखिएको ५ सय ३४ क्यूफिट जलेर नष्ट भएको छ भने हजाराँै बहुमूल्य वनस्पति नष्ट भएका छन् ।

वन डढेलोका कारण वन्यजन्तुको बासस्थान नास भएको छ । पछिल्लो सात वर्ष वन डढेलोको अवस्था उतारचढाव रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here