उमा भण्डारी
कैदीबन्दी परिवारको पीडा ….
तुलसीपुर, २६ फागुन ।
तुलसीपुर–१७ मानपुर निवासी पवित्रा खड्काको परिवार कैदीबन्दी परिवार हो । पवित्राका श्रीमान दिपेन्द्र खड्का बिगत आठ वर्षदेखि कैदी जीवन बिताईरहेका छन् ।
ज्यान मुद्दामा कैदी जीवन बिताईरहेका दिपेन्द्रको परिवार भने यतिबेला सामाजिक तिरस्कारसँग सामना गर्न गर्दैछ ।
ज्यान मुद्दामा श्रीमान् कारागार चलान भएदेखि समाजले आफूप्रति हेर्ने दृष्किोण फेरिएको पवित्राको नमिठो अनुभव छ ।
समाजले फलानो व्यक्तिको श्रीमती, यसको श्रीमान उस्तो, यस्तो भन्दै आफ्नो खिल्ली उडाउने कामसमेत गर्ने गरेको उनले बताईन् ।
समाजले सहयोग गर्नुको सट्टा उल्टै तिरस्कार गर्न थालेपछि आत्मबल र आत्मविश्वास कमजोर हुँदै गएको उनि बताउँछिन् । उनका २ छोरा र १ छोरी छन् ।
रोल्पाको राँक घर भएकी खड्का घरपरिवारले समेत हेला गर्न थालेपछि अहिले मानपुरमा डेरा गर्दै आएकी छन् ।
‘जब श्रीमान कारागार चलान हुनुभयो त्यस दिनदेखि परिवारले मप्रति फरक ब्यवहार गर्न थाल्यो, समाजले बोल्दा पनि, हिड्दा पनि नचिनेको जस्तो गर्न थाल्यो’ उनले भनिन्– ‘सहयोग र सापटीको त झन् आस नै भएन, छोराछोरी पाल्नका लागि यहाँ आएर संघर्ष गर्दैछु ।’
यस्तै दिपेन्द्र मावि मानपुर कक्षा ८ मा पढ्दै आएकी गनिषा वली आफूलाई गाउँघरमा खुलेर बोल्न डर लाग्ने बताउँछिन् ।
सानो छँदा आमा गुमाएकी १२ बर्षिय गनिषा अहिले आफ्ना दुईवटा भाइसहित आफ्ना हजुरबुवा र हजुरआमासँगै बस्दै आएकी छन् ।
कर्तव्य ज्यान मुद्दामा आठ वर्षसम्म कैदी जीवन बिताएका उनका बुवाले कान्छी श्रीमती लिएर गएपछि आफूलाई थप समस्या भएको उनले बताईन् । आम्दानीको स्रोत शुन्य हुँदा जीविकोपार्जन गर्न निकै समस्या भएको उनको भनाइ छ ।
‘अहिले त सानो उमेर छ त्यसैले आफ्नो आवश्यकता के हो त्यो थाहा पाउँदिन ?’ उनले भनिन्– ‘आगामी दिन कसरी बित्ने हो ? कसरी छाक टार्ने हो ?’
विभिन्न कारणले कैदी जीवन बिताउन बाध्य अन्य कैदीबन्दीका परिवारको पनि यस्तै समस्या छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई समाजले अपहेलना गर्दै आएको कैदीबन्दी परिवारहरूको गुनासो छ ।
उनीहरूलाई परिवारका आफ्ना सदस्य कारागार बस्दाको पीडा एकातिर छ भने समाजले दिएको परिचयले थप अपमानित हुनुको पीडा एकातिर छ ।
विशेषगरी आर्थिक लेनदेन, सामूहिक कार्यक्रम, सार्वजनिक सेवा सुविधा, सहयोग र सद्भावका विषयमा समाजले आफूहरूलाई सकेसम्म पछाडि पारी एक्लो बनाउन खोज्ने गरेको उनीहरूले बताए ।
कैदीबन्दीका परिवारलाई आर्थिक सहयोग
यसैबीच पीडित सेवा संघ दाङले कैदीबन्दी परिवारलाई आर्थिक सहयोग गरेको छ । संघले आइतबार एक कार्यक्रमको आयोजना गरी विभिन्न कारणले कैदी जीवन बिताई रहेकाहरूको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
अभिभावकले कैदी जीवन बिताईरहँदा बालबालिकाहरूको पढाइमा कुनै समस्या नहोस् भन्दै संघले मासिक ८ रूपैयाँका दरले ५५ जनालाई १ लाख २१ हजार ५ सय रूपैयाँ प्रदान गरिएको संघका जिल्ला संयोजक टोप बहादुर महताराले जानकारी दिए ।
विगत सात वर्षदेखि निरन्तर रूपमा कैदी परिवारहरूलाई विभिन्न सहयोग गर्दै आएको उनले बताए ।
आर्थिक सहयोग मात्र नभई संघले पारिवारिक मेलमिलाप गराउनुका साथै पारिवारीक द्वन्द्व समाधानसमेत गर्दै आएको छ ।
‘कैदीबन्दी परिवारहरूको पारिवारीक अवस्था अनुसार हामीले उनीहरूको आवश्यकतालाई ध्यानमा राख्दै निरन्तर सहयोग गर्दै आएका छौँ’ उनले भने– ‘सानो सहयोगले पनि उनीहरूको खुशी भएको देख्दा आनन्द लाग्ने गर्दछ ।’
यस्तै संस्थाले कैदी–बन्दीहरूलाई समय–समयमा विभिन्न तालिमहरू प्रदान गर्दै आएको उनले जानकारी दिए ।
राज्यले खुला कारागारलाई सञ्चालन गरी सिपमूलक र आयमूलक तालिमहरू प्रदान गर्नुपर्ने उनी बताउँछन् । कैदीहरू बन्द पर्खालभित्र नभई विकासको बाटोमा लगाउन आवश्यक भएको उनले बताए ।