- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमानसिकता हराएकी आमा

मानसिकता हराएकी आमा

- Advertisement -spot_img

दीपा धिताल

कथा
के सोचेको हँ तिमीहरूले मलाई ? के म भिखारीजस्तो देखिएकी छु ? के म नाङ्गै छु र ? म पनि धनी हुने खाने कि छोरी हुँ । बुहारी पनि धनी कै हुँ क्या म । अनि सुनिस ! मेरो छोराछोरी अमेरिका, अष्ट्रेलिया छन् ।
हेर न ! यो चोली, यो धोती मेरा छोरा बुहारीले नै पठाई दिएका । ऊ…ऊ …ऊ त्यति ठूलो महलको घर छ मसँग । सम्पत्ति त झन कति हो कति । देन दे नानी बरू ! मलाई त्यो खाजा भोक लागिसक्यो दिने मान्छे कोहि छैन ।
दुई दिन भैसक्यो केही नखाएको । कठै ! त्यो अर्काको ठाउँमा, अर्काको देशमा गएका मेरा छोरा नातिले झन के खान पाएका होलान् ?
मेरो बाबु मेरो छोरा म तिमीलाई यी यहिँ नानीले दिएको आधा खाजा राखिदिन्छु । हुँ … हुँ …हुँ ! रूदै फेरि भन्छिन ! ए …ए… ए कोही छ मेरो छोरालाई यो खाजा त्यहाँसम्म लगिदिने ?
एउटा सानो घुम्ती पसलको छेउमा बर्षौदेखि धुवाँले कटकटिएको, बीच–बीचमा प्वाल परेको त्रिपालको घर छ । त्यहीँ घरको दैलोबाट ती बुढीआमा बरबराई रहेकी छन् । उनका गालाहरू मानौं !
बर्षौदेखि भोकले चाउरिएर मुजा परेका छन् । शोकले ओठहरू फरफराई रहेका छन् । चिन्ताले कपालका केशहरू बहुलाएका जस्ता देखिन्छन् ।
सुकेका दहजस्ता उनका आँखाहरूमा विगतमा धेरै–धेरै सपनाहरू खेल्थे सायद तर आज मैले त्यहाँ गुनासोसम्म पनि देखिनँ । गुनासोभन्दा आफ्ना सन्तानहरूप्रतिको भोक उनलाई निकै छ ।
उता शरीर सुकेनास लागेको जस्तो ग्रस्त देखिन्छ त्यहीँ शरीरलाई छोपेका कपडाहरू कालोमैलो भएका छन् त्यसैमाथि टालो हालेर बेरेको ।
वरिपरिका केटाकेटी त्यहीँ आउँछन् र ती आमैलाई जिस्काउँछन् अनि भन्छन् गन्हाउने बहुला बुढी । नगन्हाउन पनि कसरी शरीरमा बेरिएका कपडाहरूमा बर्षौदेखि पानी परेको छैन ।
त्यहीँ त्रिपालमुनी च्यातिएको गुन्द्री पनि छ गुन्द्रीमाथि मैलो धुस्नो सिरक र केही जोर कपडाहरू छन् । छेउमा एउटा भुसे चुलोमाथि काला कटकटिएका भाँडाकुँडा राखिएका छन् ।
उठ्दा टाउको ठोकिने र घुम्दा ढाड ठोकिने त्यो अँध्यारो र साँघुरो त्रिपालमुनीको बास नै तिनीको सम्पूर्ण संसार भएको छ । त्यहीँ त्रिपालमुनी भित्रबाट आएको पिसाब र ढुसीको गन्धले एकछिन मेरो मथिङ्गल नै रन्थनायो ।
उनलाई भने त्यहीँ गन्ध सुगन्ध भएको छ । त्यसैमा हिरा टल्केको अनुभूति भईरहेको छ । बिचरी ! बुढी आमैको आफ्नो ब्यवहारिक परिस्थिति बुझ्ने मानसिकता कतै हराएको छ । हराएको भन्दा पनि आफ्नैले हराई दिएर भागेका छन् सायद ।
घरमा भाइबहिनीहरूलाई ल्याउने भनेको प्लाष्टिकको झोलामा बोकेर ल्याएको पाउरोटी र केही केरा निकालेर ती आमैलाई दिएँ र केही घरमा लिएर आएँ ।
त्यो साँझ निद्रामा पनि मैले ती आमैलाई नै सम्झिरहें । तिनको अवस्था, तिनको बोली मेरो आँखा वरिपरि घुमिरह्यो । को होलिन् ती बुढीआमै ? कहाँ होला तिनको घर ?
परिस्थितिले उनलाई त्यसो बनायो या उनी पहिलेदेखि नै त्यसै थिइन् होला ? फेरि एकमनले सोच्यो होईन–होईन उनलाई परिस्थितिले नै त्यस्तो बनाएको हुनुहुपर्छ ।
नत्र त मेरा छोरा अमेरिका, अस्ट्रेलिया छन् किन भन्थिन् र ? किन त्यति बिघ्न फूर्ति लगाउथिन ? उफ ! मान्छेलाई समय परिस्थितिले पनि कस्तो–कस्तो बनाउँछ ।
सायद उनीसँगै एकछिन बसेर कुरा गरियो भने केही त भन्छिन् होला ? त्यो रात उनको सम्झनाले निकै सताइरह्यो । मलाई ती बुढीआमाबारे केही जान्ने कौतुहलता जाग्यो ।
भोलिपल्ट त्यहीँ आमा बसेको बाटो हुँदै आए । आमा हिजोजस्तै गरेर बरबराउँदै थिइन् । केटाकेटी बहुला बुढी भन्दै अलि परबाट तिनै आमालाई ढुङ्गा फालिरहेका थिए ।
आमा भन्दै थिइन् ए मोराहरू तिमीहरूले मलाई धेरै नजिस्काऊ है, भोलि तिमीहरू पनि त म जस्तै बनौला । त्यसै हेला गर्न हुन्न बाबै अर्कालाई त ! जो पनि आउँछन् जिस्काउँछन् मर्न नसकेका असत्तिहरू ।
म भने डराउँदै, डराउँदै चुपचाप बरबराउँदै गरेकी ती आमाको नजिकै गए र सोधेँ आमै किन त्यसरी तपाईंलाई ती केटाकेटीले जिस्काइरहेका ? आमाले भनिन् कहि नभएका असत्तीहरू बसेर खान पनि दिदैनन् ।
तिमीलाई चाहिँ के को चासो हँ ? के पिर लाग्यो ? त्यस्तो पिर लागे बरू मलाई केही खानेकुरा भए देऊन त धेरै दिन भैसक्यो भोकै छु । हिजो तिमीले नै दिएको रोटीभन्दा अरू केही खाएकी छैन ।
भगवानले पनि कति दुःख दिन जानेका हरे ! कर्म पनि कस्तो रहेछ मेरो त । कहिल्यै आमा भन्न नपाउलान् र मोराहरू ! सम्झेर नि एकपटक फर्केर आएनन् । तिनीहरूलाई त्यति दुःख गरेर जन्माएको, हुर्काएको के काम ।
ती बुढीआमैको कुरा सुनेर म दङ्ग परे कसलाई पो भनेकी होलिन खै ? सायद आफ्नै छोराहरूलाई भनेकी हुन् कि ? मैले अनुमान लगाए । आज बोकेर ल्याएको सबै खानेकुरा उनलाई नै दिएँ ।

सबैले बहुला बुढी भनेर बोलाउँछ्न् तर म उनीहरूले भनेको जस्तो बहुला हैन। कहिलेकाहीँ दिमागले काम गर्दैन त्यस्तै हुन्छ। नानी तिमीसँग फोन छ भने मेरा छोराहरूलाई फोन गरिदेउन म उनीहरूसँग जादिन बोल्छु मात्र भन्दै फेरि खै कसलाई हो गाली गर्न थालिन्।


त्यसपछि डराउँदै–डराउँदै म उनैको नजिक पुगेँ । उनको नजिक के पुगेकी थिएँ ढुस्स गन्हायो उनको शरीर सायद उनले बर्षौदेखि नुहाएकी छैनन् । ए ठिटी के नाक खुम्च्याएकी म गन्हाउछु भनेर हो ? मैले ओठ कपाउँदै भने हैन,
हैन आमै गन्हाउने भए म तपाईंको नजिक आउँदैनथे नि । अनि के खान आउन लागेकी त मेरो नजिक उतै बस न । मैले फ्याट्टै सोधिहाले आमै तपाईंको आफन्त, छोराछोरी कोहि छैनन् ? किन सबैले हेला गर्ने गरी यसरी एक्लै बसेकी ?
मेरो प्रश्न सुनेर बुढीआमाको अनुहार मलिन देखियो । झस्केर ब्युँझेझै गरेर मतिरै हेरिन् र भनिन् । नानी ! यो ठाउँमा बसेको यतिका बर्ष भैसक्यो आजसम्म मलाई त को होस् भनेर कसैले सोधेनन् ।
सबैले यो ठाउँमा मलाई बहुला बुढी भनेर मात्र चिने । हो नानी म साँच्चै बहुला नै हुँ । किनकी म आफै बहुला भएकी होईन मेरा आफ्नै सन्तान र यो समाजले मलाई बहुला बनायो अनि म बहुला बुढी भनेर चिनिए यी आउने जाने मान्छेहरूको भिडमा ।
ती बुढी आमाको कुरा सुनेर म झस्किएँ ओहो ! साच्चै मैले पनि यहि सोच्थे मान्छे त्यसै बहुला हुँदैन यहि समाजले बहुला भन्दिन्छ उसलाई र बहुला बनाउँछ । यी आमै त त्यस्तै पो रहिछन् । मैले आमालाई फेरि सोधें । अनि तपाईंको श्रीमान र छोराछोरी नि ?
मैले यो प्रश्न सोध्दा केटाकेटीलाई गाली गरेका उनका बरबराउने ओठहरू एक्कासी असहाय बिरक्ती र अशक्तताले भरिए । उनका आँखाहरू आँसुले टल्पलाए ।
एकैछिन उनी डाको छोडेर नै रून थालिन् । हत्तेरिका मैले नसोध्नुपर्ने । अनि एकैछिन भक्कानिएर गलामा अट्किएको आवाज बाहिर ल्याउन थालिन् र त्यहीँ भक्कानिएको स्वरमा उनले आफ्नो बारे भन्न थालिन ।
नानी मेरा पनि सन्तानहरू छन्  । तिनलाई जन्माउदा र हुर्काउदा मैले पनि कम्ता दःुख पाइनँ । खान लाउन त प्रसस्त थियो दुःख थिएन । छोराहरूलाई हुर्काएँ, बढाएँ, पढाएँ ठूलो मान्छे बनाएँ ।
आफ्ना सन्तानहरूलाई ठूलो मान्छे बनाउँदा बनाउँदै श्रीमान् दमको रोगले थला परे काम गर्न नसक्ने भए । आफ्नो भएको जमिन अर्कैले लगाए । आधा दिन्थे आधा त्यहीँ जमिनमा अन्न उब्जाउनेले नै खान्थे । श्रीमान दमको रोगले थला परे । त्यसपछि छोराहरू कोहि अस्ट्रेलिया कोहि अमेरिका लागे भएको जमिन छोडेर । यता श्रीमान दमक्क रोगले थला पर्दा–पर्दा, ओखती नपाएर नै मरेर गए ।
अमेरिका, अष्ट्रेलिया छिरेका छोराहरू आज आउलान भोलि आउलान् भनी बाटो कुर्दा–कुर्दा बाको किरिया गर्नसमेत फर्केर आएनन् । म घरमा एक्लै थिएँ ।
बल्लतल्ल ५/६ वर्षपछि फर्केर आए । छोराहरू आए भनेर म निकै खुसी भएँ तर तिनीहरू मेरो मायाले आएका रहेनछन् नानी मेरो श्रीमानले कमाएको सम्पत्तिको मायाले आएका रहेछन् ।
मलाई फकाई फुल्याई गरेर आमालाई पनि केही समयपछि उतै लाने भनेर भएको सबै सम्पत्ति बेचेर गए । म पनि उनीहरूसँगै जाने भए भनेर खुशी भए ।
उनीहरू गएपछि फर्केर आउलान् भनेर कुरेर बस्दा–बस्दा बर्षौ बिते तर फर्केर आएनन् । भएर घर जमिन बेचेपछि अर्कैको भयो । मेरो त्यस घरमा अधिकार नभएपछि म आफ्नै घरबाट लखेटिएँ ।
आफूले नै जन्माएका सन्तानहरूबाट म तिरस्कृत भएँ । त्यसपछि मेरो मानसिकताले कामै गर्न छोड्यो यहाँ आएर बेसाहारा बनें ।
एकजना मान्छेको दयाले यहिँ त्रिपालको घर बनाईदियो र यहिँ नै बस्न थालेँ । खान पाइदैन, लाउना पाइदैन कति दिन भोकै बस्छु ? कसैले दया गरेर दियो भने पेट भरिन्छ जसरी तिमीले दियौं ।
सबैले बहुला बुढी भनेर बोलाउँछ्न् तर म उनीहरूले भनेको जस्तो बहुला हैन । कहिलेकाहीँ दिमागले काम गर्दैन त्यस्तै हुन्छ ।
नानी तिमीसँग फोन छ भने मेरा छोराहरूलाई फोन गरिदेउन म उनीहरूसँग जादिन बोल्छु मात्र भन्दै फेरि खै कसलाई हो गाली गर्न थालिन् ।
त्यो परिस्थितिमा म किङ्कर्तव्यमुढ बनें र भारी पदचाप बोकेर आफ्नो बाटो लागें । धन्ने ! यी आमाको आफ्नो सन्तानप्रतिको माया । धिक्कार छ !
ती नालायक सन्तानहरूलाई जसले आमाको मायालाई लत्याएर हिडेका हुन्छन् त्यस्ता सन्तानहरूलाई खुसी पनि कहिल्यै नमिलोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here