- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरघुमघामको लागि रेसुङ्गा तपोभूमी

घुमघामको लागि रेसुङ्गा तपोभूमी

- Advertisement -spot_img

पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरूमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । आजभोलि हामी धेरैको भ्रमण गर्ने संस्कृतिको विकास भएको छ ।
यो राम्रो पक्ष मान्नुपर्दछ । तर कुन स्थानको भ्रमणले के कुरामा अध्ययन र अवलोकन गर्न सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । हामीमध्ये धेरै पर्यटकहरूले भ्रमणमा संस्कृति,
रीतिरिवाज, परम्परा, रहन सहनको अध्ययन गर्न रूचाउँछौ । कतिपयले धार्मिक स्थलहरूको अवलोकन र दर्शन गर्ने इच्छा पनि लिएका हुन्छन् ।
नेपालमा पर्यटकहरूको लागि भ्रमण गर्ने धेरै स्थलहरू भएपनि अधिकांश स्थलहरूमा पुग्न पर्यटकहरूलाई समस्या छ । अर्कोतर्फ सबै स्थानको बारेमा पर्यटकहरूलाई प्रचार प्रसारको अभाव रहेको छ । प्रदेश नंं ५ मा पर्ने गुल्मीको रेसुङ्गा आध्यात्मिक तपोभूमि हो । त्यस क्षेत्रमा धेरै ऋषि महर्षिहरूले तपस्या गरेका छन् ।
विभाण्डक ऋषिका छोरा ऋष्यशृङ्गले तपस्या गरेको ठाउँ नै गुल्मीको रेसुङ्गा हो । त्यसैले रेसुङालाई आध्यात्मिक र धार्मिक तपोभूमि भनिन्छ ।
पहिलो पटक रेसुङ्गा पुगेका पर्यटकहरू यज्ञशालामा हुने नित्य पूजा र हवन, चुचरोमा सिद्धस्थान, स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरू र वरिपरिको मनोरम दृष्य हेर्दै रमाउँछन् ।
रेसुङ्गाको तपोभूमि ऐतिहासिक स्थल हो । स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि रेसुङ्गामा धार्मिक मठ मन्दिरहरू, प्यागोडा शैलीमा निर्माण गरिएको यज्ञशाला, होमकुण्ड, शिवलिङ्ग जस्ता धार्मिक महत्वले रेसुङ्गाको ऐतिहासिक धार्मिक महत्व बढाएको छ ।
अयोध्याका राजा दशरथलाई पुत्रलाभ गराउने थलो र भगवान रामले वाण हानेर पानी निकालेको कुवासँग पनि रेसुङ्गाको धार्मिक आस्था र प्राचीनता जोडिएको छ ।
रेसुङ्गामा श्रीरामले वाण हानेर पानी निकालेको पोखरी अहिले पनि देख्न सकिन्छ । जुन हिउँदमा पनि सुक्दैन र वर्षायाममा पनि बगेर जाँदैन ।
रेसुङ्गा पुगेपछि पर्यटकहरूको पहिलो रोजाइ भ्यूटावर पर्दछ । भ्यूटावरमा चढेपछि चारैतिरको दृष्यले पर्यटकहरू आनन्द मान्दछन् । धार्मिक आस्थाका पर्यटकहरूलाई दर्शन गर्न रेसुङ्गामा विष्णुपादुका, शिवालय, राधाकृष्ण मन्दिर, गरूडस्थान, पोखरी, पाटी पौवा, धर्मशाला, गौशाला आदि रहेका छन् ।
रेसुङ्गा पुगेपछि प्राकृतिक दृष्यावलोकन गर्न रूचाउनेहरूको लागि रेसुङ्गाको परिसरबाट नै धेरै स्थानको अवलोकन गर्न सकिन्छ । रेसुङ्गाबाट गुल्मी मात्र होइन पाल्पा,
स्याङजा र अर्घाखाँची र बाग्लुङ जिल्लाको विभिन्न ऐतिहासिक सम्पदा र प्राकृतिक स्थलहरूको अवलोकन गर्न सकिन्छ । साथै धौलागिरी, निलगिरी, माछापुच्छे र अन्य १५ भन्दा धेरै हिमाल एवं रमणीय हिमशृङ्खलाहरू पनि रेसुङ्गा तपोभूमीबाट दृष्यावलोकन गर्न सकिन्छ ।
गुल्मी सदरमुकाम तम्घासबाट ७ किलोमीटर रमणीय पहाडी शृङ्खलाको ग्राभेल मोटरबाटो हुँदै रेसुङ्गा तपोभूमी पुग्न सकिन्छ ।
समुन्द्र सतहबाट २ हजार तीन सय ४७ मिटरको उचाइमा रहेको रेसुङा तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र हो ।
तम्घासबाट रेसुङा मोटरमार्ग निर्माण भएपछि आजभोलि रेसुङ्गा पुग्ने पर्यटकहरूको संख्या बढ्न थालेको छ । विशेषगरी वाह्य पर्यटकहरूभन्दा पनि ग्रामीण पर्यटकहरू रेसुङ्गा पुग्ने गर्दछन् ।
रेसुङ्गामा श्रावण महिनाभर धार्मिक पर्यटक अर्थात् दर्शनार्थीहरूको घुइँचो हुने गर्दछ । रेसुङ्गामा रहेका मन्दिर र तालको दर्शन, पूजा र स्नान गर्ने हो भने सम्पूर्ण मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ ।
आजभोलि रेसुङ्गामा धार्मिक र प्रकृतिप्रेमी मात्र होइन कलाकार र शैक्षिक भ्रमणका टोली, संघ÷संस्थाका भ्रमण टोलीहरू गुल्मी पुगेपछि रेसुङ्गाको भ्रमण धेरैले गर्ने गर्दछन् ।
धेरै कलाकारहरले रेसुङ्गालाई शब्द चित्रण गरी कथा र गीतका एल्बमहरू निकालेका छन् । कतिपय कलाकारहरूले छायाङ्कनको लागि रेसुङ्गा तपोभूमीलाई नै रोज्ने गरेका छन् । रेसुङ्गा जानको लागि सार्वजनिक यातायातको पनि सुविधा छ ।

हाम्रो पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरू गाउ“मा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको विकास हुन्छ ।

ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरू अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रूचाउ“छन् । धुवा“, धुलो, फोहरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरूले ग्रामीण वातावरण रूचाउन थालेका छन् ।


बुटवल, तानसेनबाट तम्घाससम्म बसबाट यात्रा गर्न सकिन्छ । तम्घासबाट रेसुङ्गा पुग्नको लागि साना गाडीहरू पाइन्छ । तपाईसँग आफ्नो साधन भए रेसुङ्गा जानको लागि बलेरो, टाटासुमो र स्कारपियोजस्ता गाडी हुन जरूरी छ । रेसुङ्गा जाँदा बाटोमा खान बस्न कुनै कठिनाई हुँदैन ।
सामान्य चिया, नास्ता खानेदेखि बास बस्नको लागि समेत होटलहरू पाइछ ।गुल्मी पुगेपछि पर्यटकहरूलाई आफ्नो समय भए भ्रमण गर्नुपर्ने स्थलहरू धेरै छन् । पहाडी जिल्लामा गुल्मी रमणीय जिल्ला मानिन्छ ।
रिडीखोला र कालीगण्डकीको संगमस्थल रिडी बजार, थाप्लेलेक, धार दिने गुफाजस्ता रमणीय स्थलहरू गुल्मीमा पर्दछन् । यो बाहेक भ्रमणको लागि इस्मा, धुर्कोट, चारपाला, बलेटक्सार, पुर्कोटजस्ता ऐतिहासिक स्थल पनि छन् ।
मदानेको लेख, लुम्पेकको लेक, वामीको लेक, अग्लुङको लेक, रानीवन, सिद्धबाबाको डाँडाजस्ता प्राकृतिक स्थलहरू भ्रमण र अवलोकन गर्न सकिन्छ ।
हराभरा पहाडको दृष्य, समथर खोला र नदी किनारका खेतीयोग्य बेसी, पहाडबाट बग्दै गरेका झरना, दरम खोला, रिडीखोला, हुग्दीखोलाले गुल्मीको जमिन सिञ्चित भएको छ ।
छल्दीखोला, निस्तीखोला र पनाहखोला मिलेर बनेको बडिगाड खोलाले जमिनलाई हराभरा बनाएको छ । यस्ता प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न रेसुङ्गाबाट ग्रामीण क्षेत्रमा भ्रमण गर्नुपर्दछ ।
जिल्लाको सदरमुकाम तम्घास मात्र होइन अधिकांश ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थलहरूमा सडक यातायात पुगि सकेको छ । तर यी सडक अधिकांश ग्राभ्रेल र कच्ची छन् । गुल्मीमा पर्यटकहरूलाई भ्रमण गर्नको लागि उपयुक्त समय हिउँदको महिना राम्रो हुन्छ ।
कालीगण्डकीको किनारै किनार रिडीबाट रूद्रवेणी र गुल्मी, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थल सेतीबेनी मोटरबाट नै पुग्न सकिन्छ । सेतीवेनी धार्मिक पर्यटकहरूको लागि महत्वपूर्ण दर्शन योग्यस्थल हो ।
रूद्रबेनीबाट बडिगाड खोलाको किनारै किनार ढोरपाटन पुग्ने मोटरमार्ग खुलेको छ । आफ्नो साधन हुने पर्यटकहरूले बडिगाड खोलाको नागबेली दृष्य गुल्मी र बाग्लुङ जिल्लाका अनगिन्ती गाउँहरूको अवलोकन गर्नसमेत सक्दछन् ।
माछाको स्वादका पारखीहरूको लागि बडिगाडको माछा प्रख्यात छ । गुल्मी ग्रामीण क्षेत्रमा पहाडी मुलका प्रायः सबै जाति र जनजातिको बसोबास छ । बोल्दाखेरी अधिकांश शब्दको अगाडी, पछाडी पार लगाएर बोलिने गुल्मेली भाषा नयाँ पर्यटकहरूको लागि मिठो मानिन्छ ।
रेसुङ्गा भ्रमणमा जाँदा अथवा फर्कदा अध्ययन, अवलोकन र दर्शन गर्ने स्थल रिडी हो । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलमा रिडी पर्दछ ।
रिडी जसलाई रूरू क्षेत्र पनि भनिन्छ । नेपालको चारधाममध्येको एकधाम रिडीलाई मानिन्छ । जुन धामको बारेमा बराह पुराणमा समेत उल्लेख गरिएको छ ।
रिडीमा ऋषिकेश, भृगुतुङ्गेश्वर, रूरू कन्या, गल्फु वडार, आनन्दकुटी गुफा, तालदोभान गुफालगायत दर्जनौ मठमन्दिर, पाटी पौवा र धार्मिक आस्थासँग जोडिएका स्थल रहेका छन् ।
रूरू क्षेत्रमा साना ठूला गरेर एक सयभन्दा बढी मन्दिर तथा साना ठूला केहि गुफा पनि छन् । जहाँ अहिलेसम्म पनि दैनिक पूजाआजा गरिन्छ । धेरै गुफाहरूमा शिव ध्वनी जगाउने गरिएको छ ।
रिडीमा मुख्यगरी माघेसक्रान्तिमा तीनदिन र ऋशिकेश उत्सव २ दिन ठूलो मेला लाग्ने गर्दछ । साथै बर्षभरीको औंसी, पूर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्दछ । एकादशी, औंसी, पूर्णिमा तथा हिन्दू परम्परा अनुसारका विभिन्न पर्वमा धार्मिक पर्यटकहरूको भिड लाग्ने गर्दछ ।
रिडी घाटमा मानिसको शव जलाउने र टाढाका मानिसहरूले अस्तु सेलाउने पनि गर्दछन् । जुन स्थान अति पवित्र पनि मानिन्छ ।

रूरू क्षेत्रमा पाल्पातर्फ ऋषीकेश मन्दिर रहेको छ । ऋषिकेशको मूर्ति पाल्पाका राजा मणि मुकुन्दसेनले कालीगण्डकीमा नुहाउँदा भेटिएको हो ।
इतिहासमा पाल्पाली राजा मणिमुकुन्द सेन, भिमसेन थापा, जंग बहादुर राणा तथा राजा महाराजाहरूको प्रमुख गन्तब्य रहेको पाइन्छ । साथै भिमसेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छन् ।
विक्रम सम्वत १९९७ सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा निर्माण गरेको अर्गली दरबार अहिलेसम्म पनि छ । जुद्ध शमशेरले आफ्नो जीवनको उत्तरार्धमा रूरूक्षेत्रमा कल्पबास बस्नको लागि यो दरबारको निर्माण गराएका थिए ।
यो दरबारमा बसेर उनी प्रत्येक दिन कालीगण्डकीमा स्नान गर्न जाने गर्दथिए । यी सबै स्थलहरूको दर्शन भ्रमण गर्नको लागि कम्तीमा चार घण्टाको समय निकाल्नु पर्दछ ।
रेसुङ्गा भ्रमणमा जाने पर्यटकले बाटोमा पर्ने पाल्पा तानसेन वरपरका पर्यटकीयस्थल समेत अवलोकन गर्न सकिन्छ । तानसेनको ऐतिहासिक बजार अग्रेजसँगको लडाइमा विजयको उत्सवमा उजीर शमसेरले निर्माण गर्न लगाएका तानसेनको भगवतीको मन्दिर पर्यटकहरूलाई आकर्षण स्थल बनेको छ ।
खडक शमसेरद्वारा हावाखान र सैनिकहरूको जमघट गराउन वि.स. १९५० मा निर्माण गरिएको शितलपाटी र एसियाकै ठूलो मानिने काठबाट निर्मित शितलपाटीको मुलढोका, अमर नारायणको मन्दिर,
तानसेन दरबार, रानी महलजस्ता ऐतिहासिक स्थलले पर्यटनहरूको लागि अध्ययन अनुसन्धान र दृष्यावलोकनका स्थलहरू बनेका छन् ।
पश्चिम पाल्पामा पर्ने भुवनपोखरीको गोखुङ्गामा अवस्थित ऐतिहासिक रैनादेवी पाल्पा जिल्लाको मात्र नभएर गुल्मी र अर्घाखाँची लगायतका क्षेत्रको प्रसिद्ध धार्मिक स्थल हो ।
तानसेन देखि ३८ किमीको दूरीमा रहेको रैनादेवीको मन्दिर प्राचिन, धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक महत्वका हिसावले प्रख्यात मानिन्छ ।
तानसेनबाट प्रसिद्ध भैरवस्थानको बाटो हुँदै रमणीय प्राकृतिक दृष्यलाई अवलोकन गर्दै रैनादेवी पुग्न सकिन्छ । दसैँको महाअष्टमीको दिन मध्यरातमा गरिने कालीकाको पूजा, सोरठी नाच, सराँय, मालश्री, बालुन र ख्याली नाच यहाँको प्रमुख संस्कृतीको आकर्षण मानिन्छन् । तर यी सबै साँस्कृतिक दृष्य हेर्न भने दसैँको बेलामा पुग्न पर्दछ ।
रिडी र तानसेनको मोटरमार्गमा पर्ने भैरवस्थान तानसेनबाट ९ किलोमीटर पश्चिममा पर्दछ । भैरव मन्दिर वि.सं.१३१५ मा स्थापना गरिएको सेनकालीन मन्दिर हो । यहाँ मानो र पाथीका रोट चढाउने र दसैँ र विशेष पर्वमा बली चढाउनेहरूको घुइँचो हुने गर्दछ ।
भैरवस्थानमा रोट चढाउनको लागि घरबाट रोट लान नसक्नेहरूको लागि त्यहि नै रोट किन्न पाइन्छ । आजभोलि भैरवलाई चढाउने रोट बनाइदिने दर्जनौ सशुल्क सेवा दिने पसलहरू भैरवस्थानमा छन् ।
भैरव स्थानबाट गुल्मी, स्याङ्जा र पाल्पाका अनगिन्ती ग्रामीण बस्तीहरू अवलोकन गर्न सकिन्छ । मौसम सफा भएको समय भयो भने दर्जनौ हिमालसमेत भैरव स्थानबाट देख्न सकिन्छ ।
हाम्रो पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरू गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको विकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ ।
फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरू अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रूचाउँछन् । धुवाँ, धुलो, फोहरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरूले ग्रामीण वातावरण रूचाउन थालेका छन् ।
पर्यटकहरूले आफ्नो आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । पर्यटन विकासका निम्ति संस्कृति, धार्मिक र प्रकृति यी तीनवटै उत्तिकै महत्वका विषय हुन्छन् ।
हाम्रो धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्नसकेमा मात्र पनि ग्रामीण पर्यटनको विकासको लागि सजिलो वातावरण बन्दछ । फुर्सदको समय मिलाएर एकपटक तानसेन, भैरवस्थान, रिडी हुँदै रेसुङ्गा पुग्नसके राम्रो हुन्छ ।
यी सबै स्थान भ्रमण गर्नको लागि यातायात खर्चबाहेक दैनिक १ हजार रूपैयाँको खर्च राख्नुपर्दछ । भ्रमण अवधि बुटवलदेखि कम्तीमा एकहप्ता राख्नसके राम्रो हुन्छ ।
बुटवलदेखि पाल्पा तानसेन हँुदै तम्घाससम्म ११५ किमीको दूरी रहेको छ । पाल्पाको तानसेनबाट तम्घास ७५ किमी पर्दछ । तानसेनबाट रिडी ३० किमी र रिडीदेखि तम्घास ४५ किमीको दूरी रहेको छ ।
तम्घास पुगेपछि रमणीय पहाडी शृङ्खलाको उकालो ७ किमी ग्राभेल सडक पार गरेपछि रेसुङ्गा तपोभूमी पुग्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here