- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसम्भावना खोज्ने प्रयास

सम्भावना खोज्ने प्रयास

- Advertisement -spot_img

दाङको बेलझुण्डीमा फागुन १० देखि १२ सम्म प्रदेश एक्स्पो सञ्चालन भएको छ । सरकारले आफूले गरेका कामको जनतालाई जानकारी दिने, जनताले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको प्रवद्र्धन र आर्थिक समृद्धिका लागि नविनतम प्रविधिको खोजीका लागि प्रदेश एक्स्पो सञ्चालन गरेको सरकारको दाबी छ ।
प्रदेश एक्स्पोमा प्रदेशभरी रहेका १०९ वटै स्थानीय तहले आफ्नो क्षेत्रमा उत्पादन हुने स्थानीय सामग्री, कला, संस्कृतिको पनि प्रदर्शनी गरेका छन् ।
स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन क्षेत्रको प्रवद्र्धन गरी प्रदेशलाई आर्थिक समृद्धिमा लैजानका लागि प्रदेश एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने आयोजक प्रदेश सरकारको दाबी छ ।
सरकार र जनताबीचको सम्बन्ध स्थापित गरी आर्थिक विकासमा सरकार र जनता सँगसँगै छन् भन्ने गतिलो उदाहरण दिनका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको छ ।
एक्स्पोले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउन पनि भूमिका खेल्छ कि भन्ने स्थानीय नागरिकको अपेक्षा पनि छ । प्रदेश सरकारले आयोजना गरेको प्रदेश एक्स्पो कति उपलब्धिमूलक छ ? भन्ने विषयमा प्रदेश टुडेको राउण्ड टेबलमा विभिन्न सरोकारवाला तथा प्रतिनिधिका भनाइ समेटेका छौं ।


कमजोरी सच्याउने अवसर

शंकर पोख्रेल
मूख्यमन्त्री
५ नम्बर प्रदेश

प्रदेश एक्स्पो प्रदेशमै पहिलो पटक गरिएको नयाँ अभ्यास हो । प्रदेश नं. ५ प्रदेश सरकार स्थापना भएको दुई बर्षमा भए गरेका काम, प्रदेशभित्र देखिएका सम्भावना, प्रदेशमा अहिलेको अवस्था, आगामी दिनमा प्रदेशको समृद्धिका लागि हुन सक्ने सम्भावित योजनाका लागि प्रदेश एक्स्पो सञ्चालन गरिएको हो ।
प्रदेश एक्स्पोले सरकारहरूले यो अवधीमा गरेका कामको मूल्यांकन तथा समीक्षा र विगतमा भएका कमजोरीलाई सच्याएर नयाँ सिर्जनशील काम गर्न प्रेरणा प्रदान गरेको छ ।
प्रदेश सरकार स्थापना भएको दुई वर्ष पूरा हुँदासमेत कतिपय नागरिक प्रदेश सरकारको काम, कर्तव्य र अधिकारका बारेमा अनविज्ञ थिए ।
हामीले प्रदेश एक्स्पो सञ्चालन गरिसकेपछि नागरिकले तीन दिनसम्म प्रदेशको अस्थायी राजधानी बुटवलमा हुने गरेका काम दाङको बेलभुण्डीबाटै पाएका छन् ।

अब प्रदेश राजधानी दाङमै हुन्छ भन्दा पनि राजधानीका उपयुक्त जिल्ला हो तर यसको टुङ्गो भने प्रदेशसभाले नै लगाउने छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने प्रदेश एक्स्पोलाई सिक्ने र सिकाउने अवसरका रूपमा लिन सकिन्छ ।


यति भएपछि नागरिक सरकारसँग नजिक भएका छन् अर्थात् नागरिकले प्रदेश सरकारलाई चिन्ने अवसर पाएका छन् । सरकार र नागरिक बीचमा चिनजान परिचय आदानप्रदान भएको छ । यसले पनि नागरिक र सरकारबीचको सम्बन्ध स्थापित भएको छ ।
सरकारको समीक्षा राम्रोसँग हुन पाएको छ । सरकारले अहिलेसम्म गरेका प्रयास, भोगेका समस्या तथा चुनौती र आईपरेका समस्यालाई समाधान गर्ने विषयमा महत्वपूर्ण छलफल र बहस भएको छ ।
जनताका आवश्यकता र माग थुप्रै छन् तर सरकारले बजेट अभाव, प्राविधिक समस्या, कर्मचारीको दरबन्दी अभावलगायतका कारण काम गर्न नसकेको नागरिकले बुझ्ने अवसर आएको छ ।
स्थानीय सरकारले पनि तीन वर्षको अवधिमा गरेका कामको समीक्षा गरेका छन् । केन्द्रीय सरकारभन्दा स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने यस्तो अवस्थामा स्थानीय सरकारले नागरिकलाई आफ्ना काम र समस्याका बारेमा जानकारी गराएका छन् ।
प्रदेश नम्बर ५ कृषिको उर्वरभूमि भएकाले पनि कृषिको क्षेत्रको प्रवद्र्धनका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको छ ।
परम्परागत रूपमा कृषि खेती गर्दै आएका किसानले व्यवसायीक रूपमा खेती गर्नका लागि अब गोरू नारेर हुँदैन, अब विभिन्न प्रविधिमार्फत पनि खेती गर्न सकिन्छ भन्ने कुरा किसानले प्रदेश एक्स्पोबाट सिकेका छन् ।
मल बीउ छर्नका लागि पनि अब ड्रोनको सहयता लिन सकिन्छ भन्ने कुरा सिकेका छन् किसानहरूले । कृषिमा बढीभन्दा बढी आम्दानी लिनका लागि गरिने उपायको खोजी प्रदेश एक्स्पोमा भएको छ ।
त्यसैगरी प्रदेश कला, संस्कृतिले भरिपूर्ण प्रदेश भएकाले पनि यहाँको रितिरिवाज, कला, संस्कृतिको बारेमा प्रदेशका सबै जिल्ला तथा स्थानीयतहले जान्ने अवसर पाएका छन् ।
यसले पनि कला, संस्कृति संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैगरी पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरूको प्रचारप्रसार राम्रोसँग भएको छ ।
अझ विषेशगरी दाङका सम्भावनहरू पनि अरू जिल्लाले पनि थाहा पाएका छन् । अब प्रदेश राजधानी दाङमै हुन्छ भन्दा पनि राजधानीका उपयुक्त जिल्ला हो तर यसको टुङ्गो भने प्रदेशसभाले नै लगाउने छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने प्रदेश एक्स्पोलाई सिक्ने र सिकाउने अवसरका रूपमा लिन सकिन्छ ।


सरकार र जनता जोड्न

कुलप्रसाद केसी ‘सोनाम’
मन्त्रीः आन्तरिक, मामिला तथा कानुन ५ नम्बर प्रदेश

सरकार नागरिकबीचको सम्बन्धलाई जोड्न पुलको काम गरेको छ, प्रदेश एक्स्पोले । एक्स्पो दाङका लागि ठूलो अवसर पनि हो । प्रदेशका १२ वटै जिल्लाका नागरिक तथा जनप्रतिनिधि जम्मा हुँदा यहाँको सम्भावनहरूको प्रचारप्रसार भएको छ । प्रदेश सरकार स्थापना भएको दुई वर्षको अवधिमा दाङलाई ठूलो अवसर प्राप्त भएको छ ।
यो अवसरलाई सबैले मिलेर सफल बनाउनुभएको छ । यसको लागि पनि दंगालीबासी सबैलाई धन्यवाद दिन चाहन्छु । प्रदेश सरकारका हालसम्मका गतिविधि र उपलब्धि,
प्रदेश नं. ५ को विविधता, उत्पादन पहिचान, संस्कृित र विकासको स्थितिका बारेमा नागरिकले जानकारी पाएका छन् । कार्यक्रमले ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्यमा उत्साह र प्रदेशबासीमा खुसी छाएको छ ।
प्रदेश नं ५ मा नमुना कृषि, नमुना पर्यटन, नमुना स्वास्थ्य, नमुना विकास, नमुना शिक्षा तथा संस्कृित स्थापनामा अभिप्रेरितको लागि मूख्य भूमिका खेलेको छ ।
गत दुई वर्षको गतिविधि, प्रगति तथा सेवा प्रवाहसम्बन्धी जानकारीमूलक प्रस्तुति, प्रदेश नं. ५ का नाचहरू, दोहोरी गीत, सारङ्गी बादन, स्थानीय प्रविधि र उत्पादनहरूको प्रदर्शनले अवसरको खोजी गर्ने मौका प्राप्त भएको छ ।
वन पैदावारहरूको स्टल व्यवस्थापन, योगा, मेडिटेसन, र माइन्ड्फुलनेस कार्यक्रम युवा तथा बालबालिकाका लागि नविन खेलहरू शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरू, हेल्थ क्याम्प सञ्चालन लगायतका क्रियाकलापले पनि कार्यक्रम थप सफल भएको मानिन्छ ।
विपद् तैयारीको डेमो तथा राहत व्यवस्थापन र वितरण प्रणालीको प्रस्तुति, सूचना सञ्चार क्षेत्र, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान टेलिसेन्टर टिभी, रेडियो, एफएमका कार्यक्रमहरू निर्माण कार्यहरूको जानकारी, एक्स्पो वृत्तचित्र कार्यक्रमले स्पष्ट पारेको छ ।
प्रदेशलाई समृद्धि बनाउने लक्ष्यमा सरकार र नागरिक सँगसँगै छन् भन्ने गतिलो सन्देश एक्स्पोले दिएको छ । बदलिदो परिस्थितिमा जुनकुनै काम पनि छिटो, छरितो हुनुपर्छ त्यसका लागि नविनतम प्रविधिको खोजी हुनुपर्छ भन्ने सन्देश पनि एक्सपोले दिएको छ ।
सरकारले अहिलेसम्म प्राप्त गरेका प्रगति र आगामी दिनका लागि खोजिएका सम्भावना र अवसरलाई एक्स्पोले भूमिका खेलेको छ । हामीले प्रदेशलाई कसरी आर्थिक विकासमा लैजान सक्छौँ ? त्यसका लागि कसरी अगाडी जान सकिन्छ ?
कसलाई के कुराको ज्ञान अनिवार्य चाहिन्छ ? भन्ने सन्देश दिनका लागि नै एक्स्पो हो । किसानदेखि विद्यार्थीसम्मले नविनतम कुरा सिक्ने अवसर पाउनुभएको छ ।
हामीले सञ्चालन गरेको एक्स्पोमार्फत चाहिँ सबैभन्दा बढी किसान दाजुभाइ लाभाम्वित हुनुभएको छ । प्रदेशभित्र उत्पादन हुने कृषिजन्यको सामग्रीको बिक्री वितरण र प्रवद्र्धनका लागि भोग्नुपरेका समस्यासँगै किसानले समाधानका उपाय पनि खोज्ने अवसरका रूपमा लिएका छन् ।
अहिलेसम्म कृषिका लागि भएका प्रयासको समीक्षा गर्दै आगामी दिनमा देखिएका सम्भावनाका विषयमा बृहत्तर छलफल भएको छ । प्रदेशभित्रका कला, संस्कृतिको जर्गेनासँगै प्रचारप्रसार भएको छ भने पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका प्रदेश एक्स्पोले खेलेको छ
। परिवर्तनका लागि सरकार एक्लैले भन्दा नागरिकको साथ र हौसलाले नै गाउँ समाजको विकास हुन्छ भन्ने सन्देश पनि प्रदेश एक्स्पोले दिएको छ ।
हामीले नविनतम कुराको खोजी गरी आर्थिक विकासमा सहयोग पुग्ने उद्देश्यले सञ्चालन भएको प्रदेश एक्स्पो सफल भएको भन्ने ठानेका छौँ ।


दाङका लागि अवसर

डिल्लीबहादुर चौधरी
संयोजक ः सार्वजनिक लेखा समिति
५ नम्बर प्रदेश

बेलुझुण्डीमा सञ्चालन भएको प्रदेश एक्स्पो कति सफल, कति असफल ? भन्ने कुरा त अहिले नै भन्दा केही समयपछि समीक्षा होला । यद्यपि प्रदेश सरकारले सफल भएको दाबी गरेको छ ।
सरकारको कुरालाई अहिले नै नकार्न मिल्दैन् । प्रदेशमा पहिलोपटक सञ्चालन गरिएको एक्स्पोले कला, संस्कृतिसँगै स्थानीयस्तरमा उत्पादन भएका सामग्रीको भने राम्रै प्रवद्र्धन भएको छ ।
स्थापना दिवसको अवसरमा प्रदेश सरकारले दाङको बेलझुण्डीमा फागुन १० देखि फागुन १२ गतेसम्म तीन दिनसम्म सञ्चालन गरेको प्रदेश एक्स्पोबाट नागरिकले सिक्ने अवसर प्राप्त गरेका छन् ।
जनता, सरकार र प्रविधिका गतिविधि एउटै स्थानबाट प्रदर्शन हुँदा ‘प्रदेश एक्स्पो’ फलदायी भएको विश्वास व्यक्त गरिएको छ । प्रदेश नं. ५ साँस्कृतिक रूपले मुलुककै उत्कृष्ट प्रदेश पनि हो ।
‘प्रदेश एक्स्पो’मा प्रदेशभरका सम्पूर्ण साँस्कृतिक झलकहरू प्रस्तुत भएको छ । यसले पनि कला संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रदेश नम्बर ५ लाई समृद्ध बनाई जनतामा खुशी ल्याउनका लागि पनि प्रदेश एक्स्पोले भूमिका खेल्ने विश्वास गरिएको छ ।
तीनदिने ‘प्रदेश एक्स्पो’ मा प्रदेशभित्रका १२ वटै जिल्लाका १ सय ९ वटा स्थानीय तहको पहिचान झल्काउने उत्पादनको प्रदर्शनीले आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ ।
अर्को कुरा दाङका लागि पनि यो अवसरको रूपमा रह्यो । किनभने प्रदेशभरीका स्थानीय उत्पादनको प्रदर्शनी र नवितम प्रविधिको बारेमा स्थानीय नागरिकले अवलोकन गर्न पाएका छन् । यसले पनि जिल्लाबासीलाई आर्थिक परिवर्तनका रूपमा महत्वपूर्ण सहयोग गरेको छ ।
एक्स्पोमा भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनीले पनि ज्ञानको सन्देश फैलिएको छ । प्रदेशमा कृषि, व्यापार, पर्यटनका सम्भावना प्रशस्त छन् भन्ने प्रदेश एक्स्पोले नै देखाएको छ ।
विशेषगरी व्यवसायीक रूपमा कृषि पेशा गरिरहेका किसानले नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी लिएका छन् । यसले पनि कृषिमा व्यवसायीकता ल्याउनका लागि पनि थप टेवा पुग्ने देखिन्छ । अहिले पनि परम्परागत रूपमा कृषि पेशा गरिरहेका किसानलाई पनि थप हौसला एक्स्पोले ल्याएको छ ।
प्रदेश सरकार र स्थानीय सरकारबीच सुमधुर सम्बन्ध स्थापित गर्न पनि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको छ । जनतामा सरकार–सरकारबीच तिक्तता रहेको भन्ने गुनासो आइरहेको समयमा यस्तो किसिमको कार्यक्रमले पनि सरकार–सरकारबीचमा कुनै समस्या छैन् भन्ने सन्देश दिएको छ ।
प्रदेशको विकासमा हामीले कला, संस्कृतिलाई पनि कसरी जोड्न सक्छौँ ? भन्ने कुरा पनि प्रदेश एक्स्पोले दिएको छ । एक्स्पोमा भएका १२ वटै जिल्लाका कला, नृत्य, संस्कृतिको बारेमा सबै जिल्लाले जान्ने अवसर पाएका छन् । सञ्चार माध्यममार्फत प्रचारप्रसार पनि भएको छ ।
यसले पनि आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ । सरकारले गरेका कामको बारेमा पनि नागरिकले जानकारी पाएका छन् । नागरिकलाई सरकारका काम, कर्तव्य र अधिकारका बारेमा जानकारी नहुँदा प्रदेश सरकारबारे नागरिकमा अन्यौलता थियो ।
यसले पनि नागरिकलाई थप प्रष्ट बनाउने काम गरेको छ । दाङ पनि सम्भावनै सम्भावना बोकेको जिल्ला हो भन्ने कुरा पनि प्रदेश एक्स्पोले देखाएको छ ।


प्रदेशको खुल्ला प्रदर्शनी

विश्राम अधिकारी
प्रशासकीय अधिकृत
नेपाल रेडक्रस सोसाईटी, दाङ

प्रदेश सरकारको आयोजनामा बेलझुण्डीमा भएको प्रदेश एक्स्पोले नयाँ सन्देश दिएको छ । सरकारले गर्ने हरेक गतिविधिको नागरिकले खुल्लास्तरमै जानकारी प्राप्त गरेका छन् ।
त्यही कार्यक्रम कुनै होटल, गोष्ठीमा भएको भए त्यति प्रभावकारी हुने थिएन् । तर खुल्ला मासमा कार्यक्रम भएको छ । यसले गर्दा पनि प्रदेश र स्थानीय सरकारका काम,
गतिविधिको बारेमा नागरिकलाई सहज भएको छ । तीनदिन भएपनि सरकारका सम्पूर्ण काम बेलझुण्डीबाट भएका छन् । एक किसिमको सरकारको डेमो नै थियो ।
एक्स्पोमा प्रदेशका १२ वटै जिल्लाबाट आएका नागरिकले सरकारको गतिविधिको बारेमा राम्रोसँग बुझ्ने अवसरका रूपमा पाएका छन् । मेरा लागि सरकारले नमुनायोग्य काम गरेको छ ।
एक्स्पोमा सरकारी गतिविधि मात्र पनि छैनन् । प्रदेशभरीका सम्भावनाहरू प्रस्तुत गरिएको छ । कृषि, उद्योग, पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्यलगायतका स्टलले पनि नागरिकको ध्यान तानेको थियो । प्रदेशलाई आर्थिक तथा सामाजिकरूपमा विकास गर्न सकिने कुरामा भएको प्रदर्शनीले जनतामा सन्देश राम्रो गएको छ ।
एक्स्पोले कृषि गर्ने किसानदेखि अध्यापन गर्ने शिक्षकमा थप हौसला थपेको छ । किसानले कृषिमा आफ्नो उत्पादन बढाउने अपनाउनुपर्ने विधि र प्रविधिदेखि शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिने प्रविधिको बारेमा जानकारी पाउँदा मलाई निकै खुशी लागेको छ । यद्यपि प्रदेश एक्स्पो सञ्चालनमा बजेट के कति खर्च भयो ?
म त्यतातर्फ जाँदैन् तर जे हो यसले नेपालमै सकारात्मक सन्देश गएको छ । कृषि पेशा गर्ने किसानले नयाँ, नयाँ कुराको जानकारी पाउन नसक्दा अहिले पनि परम्परागत कृषि पेशा गर्नुपर्ने बाध्यताका बीचमा नयाँ प्रविधिको बारेमा किसानले जानकारी पाएका छन् । प्रदेशमा भएका हरेक सम्भावनालाई प्रदेश एक्स्पोले जोडेको छ जस्तो लाग्छ ।
प्रदेश एक्स्पोले कला, संस्कृतिको संरक्षणमा पनि ठूलो भूमिका खेलेको छ । जिल्लामा हुने व्यापारीक मेला महोत्सव मनोरञ्जन मात्रका देखिन्छन् ।
नाम विभिन्न दिएपनि मनोरञ्जनको पाटोभन्दा अरू विषयलाई पकड्न सकेको पाइन्न् । तर प्रदेश सरकारले आयोजना गरेको प्रदेश एक्स्पो मलाई निकै फरक लाग्यो ।
जसले समाजमा असल कुराको सन्देश दिएको छ । नाच, गीत सुन्न र हेर्न पायौँ, तर आफ्नै कला, संस्कृति बोकेको । यसले पनि लोपोन्मुख कला, संस्कृतिको संरक्षणमा सहयोग पुगेको छ ।
प्रदेशका सबै जिल्ला फरक–फरक कला, संस्कृतिले धनी छन् भन्ने प्रदेश एक्स्पोले दिएको छ । एक्स्पोमा सञ्चालन भएका कला प्रदर्शनीले हामीलाई गौराम्वित बनाएको छ । हामी यति धेरै धनी रहेछौँ । इतिहास झल्काउने कला प्रदर्शनीले नयाँ पुस्ताले राम्रैसँग जान्ने अवसर पाएको छ ।
एक्स्पोमा भएका विज्ञान कला प्रदर्शनीले पनि विद्यार्थीलाई नयाँ–नयाँ कुराको आविष्कार गर्ने राम्रो सन्देश गएको छ । दाङसहित प्रदेशका १२ वटा जिल्लाबाट विद्यार्थीले आ–आफूले प्रदर्शन गरेका कला,
क्षमतालाई नियाल्ने अवसर पाइयो । प्रदेश एक्स्पोबाट सिकेका कुरालाई सबैले व्यवहारमा कार्यन्वयन गर्न सक्ने हो भने समृद्धिका लागि आइतबार नै कुर्नु पर्दैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here