- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरपर्यटनको विकासले आर्थिक समृद्धि

पर्यटनको विकासले आर्थिक समृद्धि

- Advertisement -spot_img

विकास भनेको परिवर्तन हो । संघीय संरचनामा अब राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, पर्यटकीय, पर्यावरणीय आदि विकासको खोजी हुनुपर्दछ ।
वर्तमान समयमा विकास र पर्यटनलाई सँगसँगै लैजान सके आर्थिक समृद्धि हुन जानेछ । पाँच नम्वर प्रदेश हिमालदेखि तराईसम्मको प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय÷बहुभाषिक सामाजिक विविधता र साँस्कृतिक सम्पदा भएको प्रदेश हो ।
प्रदेश नम्बर ५ पर्यटकीय हिसावले अधिकांश स्थल धार्मिक क्षेत्र रहेको छ । मुक्तिनाथदेखि बग्दै आउने कालिगण्डकीले बाग्लुङ र गुल्मी जिल्लाको सीमा पालुङखोलादेखि पाल्पा र नवलपरासीको पूर्वी भागसँग सीमा बनेको घुमाउरीघाटसम्म कालिनदीको किनारमा दर्जनौ धार्मिकस्थलहरू रहेका छन् ।
यस प्रदेशमा बुद्धको जन्मस्थल लुम्बिनी, नारायणीको त्रिवेणी, दाउन्नेदेवी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार, रानीमहल प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको खाची र अर्घाकोट, सुपादेउराली गुल्मीको रेसुङगा,
रिडीलगायतका सम्पदा रहेका छन् । पुर्वी रूकुममा सिस्ने हिमाल, ढोरपाटनको पश्चिमी भाग, कमलदह रोल्पामा जलजला, खाम मगरहरूको ऐतिहासिक बस्ती, दाङ जिल्लामा धारापानी, रिहार, बाह्रकुने दह बर्दियाको ठाकुरद्वार बाँके जिल्लाको बागेश्वरीजस्ता पर्यटकीय सम्पदा रहेका छन् ।
पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । पर्यटनमा प्रशस्त अवसरहरू हुन्छन् । पर्यटनको क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरू पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो ।
तर पनि प्रदेश नम्वर पाँचमा अनगिन्ती अवसरहरू रहेका छन् । जलयात्रा, तिर्थाटन पर्यटन, ग्रामीण पर्यटन र पुरातात्विक स्थलहरू छन् । यो प्रदेश प्रकृतिको धनी छ । तराई,
पहाड र हिमाली भूवनोटकै कारण पनि पर्यटकहरूलाई आकर्षण गर्ने कयौं सम्पदाहरू छन् । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः प्रदेशको आर्थिक विकास हुन जान्छ ।
पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । अब स्थानिय तह र प्रदेश सरकारले यसतर्फ लगानी बढाउदै जानु पर्दछ ।
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नती हुन्छ । प्रदेशको आर्थिक उन्नतीलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरूरी छ ।
एउटा पर्यटक कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरूमा पैसा खर्च गर्नुपर्ने हुन्छ ।
उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै प्रदेशको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउँछ । प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’,
‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाई’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र संख्या बढाउने’को अवधारणालाई रणनीतिक अभियानकै रूपमा लैजान पर्दछ ।
लुम्बिनीमा आजभोलि आन्तरिक पर्यटक मात्र होइन तेस्रो मुलुकका धेरै पर्यटकहरू जाने गर्दछन् । तेस्रो मुलुकका पर्यटकमध्ये जापान, श्रीलंका, थाइल्यान्ड, म्यामार, चीनका पर्यटकहरू लुम्बिनीमा पुग्ने गरेका छन् ।
बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्यामा पछिल्ला वर्षमा क्रमशः वृद्धि हुँदै गएको छ । लुम्बिनीको प्रमुख पुरातात्विक आधारहरू भनेका अशोक स्तम्भ शिलालेख,
पुष्करिणी अर्थात् पोखरी, बुद्ध जन्मेको संकेत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपाहरू, तेलार नदी तथा लुम्बिनी गाउँको भग्नावशेषहरू नै हुन् । यो स्थान नेपालको मात्र नभएर विश्वकै धरोहर भएको छ ।
अहिले लुम्बिनीमा श्रीलंका बौद्ध स्तुपा, जापानीज बौद्ध स्तुपा, दक्षिण कोरिया बौद्ध स्तुपा, थाईल्याण्ड बौद्ध स्तुपा, म्यान्मार बौद्ध स्तुपा, शान्तिदीप र मायादेवीको मन्दिर निर्माण गरिएको छ । पर्यटकहरूले लुम्बिनीमा पुगेपछि विभिन्न देशका प्रतिनिधित्व गर्ने गुम्बाहरूको अवलोकन गर्न पाएका छन् ।
यिनै पुरातात्विक सम्पदा अवलोकन गर्न तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउने गर्दछन् । तर धेरै पर्यटकहरूले लुम्बिनीको भ्रमण गरेपनि बौद्धसँग जोडिएको कपिलवस्तुको पुरातात्विक सम्पदामा भने अवलोकन गर्न सकेका छैनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा नजिकै रहेको तिलौराकोट ऐतिहासिक पुरातात्विक संग्राहलय स्थल हो । प्राकृतिक सम्पदाले सिङ्गारिएको कपिलवस्तुमा पुग्ने पर्यटकका लागि समथर मैदानदेखि चुरे पहाडका उच्च टाकुरा,
जैविक विविधताले भरिपूर्ण विश्व सीमसार क्षेत्रदेखि लिएर विश्व साँस्कृतिक सम्पदामा सूचिकृत हुन तयार साँस्कृतिक एवं पूरातात्विक अन्वेषण र ऐतिहासिक स्मारकको अवलोकन गर्न पाउने स्थलहरू रहेका छन् ।
कपिलवस्तुको वाणगंगादेखि पश्चिम, भारतीय सीमा र उत्तर महेन्द्र राजमार्गदेखि दक्षिणभित्र मात्रै १ सय ३६ वटा बुद्धसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक स्थल रहेका छन् ।
पुरातात्विकस्थल मात्र होइन कपिलवस्तु साँस्कृतिक हिसावले पनि धनी छ । कपिलवस्तुको तिलौराकोट, अरौँराकोट, कुदान, निगलिहवा, सगरहवा, गोटिहवा, दोहनी, प्राचीन स्तुप, सिसहनियालगायत स्थल ऐतिहासिक महत्वका पुरातात्विकस्थलको रूपमा लिइएको छ ।
लुम्विनी आउने पर्यटकहरूको गन्तब्य ढोरपाटन पनि हुने गर्दछ । लुम्विनी आएको पर्यटकहरूलाई अहिले ढोरपाटन जान पोखरा नपुगेर पनि ढोरपाटन जान सकिन्छ । रूपन्देहीको सालझण्डी बजारदेखि पाल्पा,
अर्घाखाँची, प्यूठान, गुल्मी र बाग्लुङको बुर्तिवाङ हुँदै ढोरपाटन पुग्न सकिन्छ । सालझण्डीदेखि ढोरपाटनसम्म कुल १९३ किमी यात्रामा पर्यटकहरूले फरक संस्कृति, स्वच्छ हावापानीको मनोरम वातावरणको यात्राबाट धेरै हिमालको दृष्यावलोकन गर्न पाउँछन् ।
हिमाली शिकार आरक्षण ढोरपाटनसम्म सालझण्डी ढोरपाटन सडक सञ्चालन भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरू प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धार्मिक स्थलमा रमाउँदै ढोरपाटनसम्म पुग्न सक्ने भएका छन् । पर्यटकले तराई, पहाड र हिमाली क्षेत्रको यात्राको आनन्द एकै दिन लिन सक्दछन् ।
सालझण्डीबाट सुरू हुने यात्रामा अर्घाखाँचीको मैदान, पाली, वाङ्ला, सन्धिखर्क, अर्घा, बाँगी, हंशपुर, प्यूूठानको सौतामारे, गुल्मीको पुरकोटदह, सिर्सेनी, मदानेको लेखको अध्ययन अवलोकन गर्न सक्दछन् ।
ढोरपाटन पुगेपछि पर्यटकहरूले हाइकिङ अर्थात् पैदल भ्रमण पनि गर्न सक्दछन् । आजभोलि शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरूले पर्यटन भन्ने वित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरू निकाल्छन् ।
शहरी युवा पुस्ताको चासो समेट्ने यी अंग्रेजी शब्दहरूलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझ्दा डाँडाकाँडामा हाइकिङ अर्थात् पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ ।
रूकुम र रोल्पामा पर्यटकहरूले हाइकिङ अर्थात् पैदल भ्रमण गर्न सक्दछन् । हिमालपारीको जिल्ला त होइन पुर्वी रूकुम तर पनि हिमाल भएकै कारण हिमाली जिल्ला भएको छ ।
सिस्ने हिमाल, मैकोटको पुथा हिमाल र सामझाङ हिमचुली पूर्वी रूकुममा पर्ने सम्पदा हो । जुन सौन्दर्यता गर्दा रूकुमकोट पुग्ने पर्यटकहरू रमाउने गर्दछन् । रूकुमकोटमा मगर राजा, बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो ।
रूकुममा होचा अग्ला थुम्काहरूबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रूकुमगार खोलाको संगमस्थल विशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका रहेको छ । जुन ठाउँमा पर्यटकहरू पुगेपछि त्यहाँको दृष्यबाट आनन्द लिन सक्दछन् ।
प्राकृतिक जलाशय, अलौकिक कमलका फूलहरूले सजिएको कमल दह भएको रूकुमकोट ऐतिहासिक अध्ययनको लागि महत्वपूर्ण स्थल मानिन्छ । थुम्काहरू बीच–बीचमा लुकेका साना ठूला पोखरी र सुन्दर बस्तीहरूले दिने मनोरम प्राकृतिक सौन्दर्यता,
आकर्षक भूवनोट सन्तुलित हावापानीको वातावरणले रूकुमकोट पुग्ने पर्यटकहरू प्रकृतिसँग रमाउँछन् । रूकुम दुर्गम, विकट, हिमाली, लेकाली बस्ती जहाँ खाममगर जातिहरूको बस्ती रहेको पहाडी भूगोल पर्दछ ।
खामबस्ती भाषा, संस्कृतीको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरूको क्षेत्र पर्यटकहरूका लागि महत्वपूर्ण मानिन्छ ।

अहिले माओवादी द्वन्द्वकालीन समयमा घटना घटेकास्थल, छापामार हिडेका बाटो, बास बसेका गाउँ सबै पर्यटनको गन्तब्य भएका छन् । अहिले रोल्पामा नेपाली मात्र होइन विदेशी पर्यटकहरू समेत पुग्ने गरेका छन् । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्रका विद्यार्थीहरूका लागि अध्ययन, अनुसन्धान र खोज गर्नको लागि गुरिल्ला पदमार्ग गन्तब्य भएको छ । विदेशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनमा चासो राख्ने पर्यटकहरू भेटिएका छन् ।


भाषा, संस्कृतिसँगै प्राकृतिक सम्पदाको खानी रहेको र पर्यटकहरूको लागि आकर्षण कै केन्द्र विन्दुभन्दा पनि हुन्छ । पूर्वी रूकुम खाम भाषीहरूको साँस्कृतिक पहिचान भएका गाउँ र बस्तीहरूको रमणीय, ऐतिहासिक र प्राकृतिक छटाले श्रृङ्गारिएको भूगोल हो ।
प्राकृतिक महत्वका सम्पदाका कारण अहिले पूर्वी रूकुममा पर्यटकहरू घुमघामको लागि जाने पर्यटकको संख्या क्रमशः वृद्धि हुन थालेको छ । पूर्वी रूकुममा युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङको कारणले पनि आजभोलि धेरै पर्यटकहरू पुग्ने गरेका छन् । माओवादीले द्वन्द्वकालमा बनाएका आधार ईलाका,
द्वन्द्वका अवशेषहरू अब पर्यटकीयस्थल बनेका छन् । गाउँमा अब होमस्टेको व्यवस्था हुन थालेको छ । गुरिल्ला पदमार्ग मगर खाम जातिको संस्कृति अध्ययनका लागिसमेत उपयोगी छ ।
तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेषसमेत पर्यटकहरूको लागि आकर्षणका केन्द्र बनेका छन् । गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्णस्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर,
झरनाको दृश्यावलोकन गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको बेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरका बारेमा शिक्षासमेत पर्यटकलाई दिने गर्दछ ।
कुनै बेला रोल्पा भन्ने बित्तिक्कै मानिसहरू झस्किन्थे ! नझस्किउन पनि किन ? माओवादी द्वन्द्वकालीन समयमा रोल्पामा घुमफिर गर्न त्यति सजिलो थिएन ।
द्वन्द्वको समयमा रोल्पा घर भनेपछि काठमाडौँमा घरधनीहरूले डेरासमेत दिन डराउँथे । समग्रमा रोल्पाली भनेपछि हेर्ने र बुझ्ने दृष्टिकोण नै भिन्न बनाउने गर्दथिए । द्वन्द्व समाप्त भै सकेपछि आजकल रोल्पाको त्यो बुझाई कथा मात्र बनेको छ ।
रोल्पामा विकास निर्माणका काम हुन थालेका छन । जनयुद्वको समयमा घटना घटेका गाउँहरू आजभोलि ग्रामीण पर्यटकीयस्थल बनेका छन् । गाउँ–गाउँमा सडक निर्माण भएका छन् ।
रोल्पा भ्रमणमा जाने ग्रामीण पर्यटकहरूको संख्या पनि बढ्न थालेको छ । अहिले माओवादी द्वन्द्वकालीन समयमा घटना घटेकास्थल, छापामार हिडेका बाटो, बास बसेका गाउँ सबै पर्यटनको गन्तब्य भएका छन् ।
अहिले रोल्पामा नेपाली मात्र होइन विदेशी पर्यटकहरू समेत पुग्ने गरेका छन् । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्रका विद्यार्थीहरूका लागि अध्ययन, अनुसन्धान र खोज गर्नको लागि गुरिल्ला पदमार्ग गन्तब्य भएको छ ।
विदेशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनमा चासो राख्ने पर्यटकहरू भेटिएका छन् । पर्यटकलाई गाउँमा बासको राम्रो व्यवस्था छ भने स्थानीयबासीको आतिथ्यतासमेत पर्यटकलाई हुने गर्दछ ।
रोल्पामा तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको छ । जनयुद्ध संग्रहालयले पर्यटकहरूलाई रोल्पाबाट सुरू भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रियापछिको अवस्थाबारे जानकारी दिन र लिन सकिने संरचना निर्माण हुन लागेको छ ।
रोल्पामा जाने ग्रामीण पर्यटकहरूले प्रकृतिक सौन्दर्यता अवलोकन गर्न मात्र नभएर रोल्पाको जनजीवन, भाषा, संस्कृति र जनयुद्वको समयमा घटना घटेका गाउँहरूको बारेमा पनि अध्ययन गर्न रूचि राख्दछन् ।
रोल्पामा भ्रमणमा पुग्ने मानिसको पहिलो रोजाई नै थवाङ गाउँ र जलजला पहाड पुग्ने इच्छा राखेको पाइन्छ । थवाङ ऐतिहासिक खाम जातिको बसोवास भएको गाउँ हो । परम्परागत शैलीका घर ढुङगाका छाना एउटै गाउँमा तीन सय ३४ घर पहिलो पटक थवाङ पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ ।
जुन गाउँ २०१२ सालदेखि कम्युनिष्ट किल्लाको रूपमा चर्चित छ । थवाङ गाउँ जान आजभोलि धेरै बाटोहरू छन् । तर पनि घोराहीबाट गाडी चढेपछि होलेरी, दहवन, भागोवारी हुदँै नुवागाउँ भएर थवाङ पुगिन्छ ।
थवाङबाट चलावाङ र तिरिवाङ हँुदै करिवन पाँच घण्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३१९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुराँसका फूल पाइन्छ ।
पौराणिक कथा अनुसार वाह्रभाइ वराहको जन्म धौलागिरीमा भएको र त्यहिबाट जलजला पहाडमा २२ बहिनी बजुको आगमन भएको विश्वास गरिन्छ । त्यसैले कैलु वराहको पूजा गरेपछि २२ बहिनी रानी बज्यूहरूको पूजा गर्ने प्रचलन छ । यहाँ तीनवटा बराहको मन्दिर रहेका छन् । जसलाई कैलु बराह, बजु बराह, र सहदे बराह भन्ने गरिन्छ ।
प्रत्येक बर्षको वैशाख, जेष्ठ र जनैपूणिमाको दिन यहाँ मेला पनि लाग्ने गर्दछ । जलजला पहाडमा दुर्लभ पंक्षी वन्यजन्तुहरूको बसोवास पनि छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रूकुमको सिस्ने हिमाल र अनगिन्ती लेकबेसी र प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिन्छ ।
प्यूठान जिल्ला धार्मिक तथा पर्यटकीय स्थलहरूमा देशभित्र र बाहिरसम्म चर्चित भएको धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पर्दछ । त्यसपछि ऐरावती, गौमुखी, कालिका मन्दिर, मल्लरानी, भित्रीकोट, झाँक्रीस्थान, बिजुलीकोट,
बरौलाकोट, जावुने दह, त्रिवेणीजस्ता सम्पदाहरूले समेत पर्यटनको लागि गन्तब्य बन्दै गएको छ । प्यूठानको स्वर्गद्वारीमा प्रत्येक बर्ष लाखाँैको संख्यामा भारतीय तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन् । दाङमा चौघेरा रत्ननाथ मन्दिर,
अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका–मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर, मन्थोर्या मन्दिरजस्ता पर्यटकीय सम्पदा रहेका छन ।
बाँकेमा बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरूद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा सम्पदाहरू रहेका छन् । पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ,
विहार, वाटर पार्क आदि पर्यटकहरूको लागि गन्तब्य स्थलहरू हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछ ।
बर्दियामा सबैभन्दा लामो कर्णाली (गेरूवा) नदीमा बनेको कोठियाघाटको पुल, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी पुल, पुरातत्वले महत्वपूर्ण ठाकुरबाबा मन्दिर यहाँको पर्यटकीयस्थल हुन् ।
अर्घाखाँचीमा पाणिनि तपोभूमि (पणेना), सात्तले गुफार दुर्वाशेश्र्व गुफा, मालिका मन्दिर खिदिम, आलम देवीको मन्दिर (मैदान), सुपा देउराली, छत्र मन्दिर (छत्रगञ्ज), नर्तनाचल पर्वत (नरपानी),
परसुरामेश्वर, ऐतिहासिक पौवा (बल्कोट) अर्घाकोट (अर्घा), पाली पन्थीटोलको लाकुरी रूखमा अवस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकीय स्थलहरू हुन् । गुल्मी जिल्ला प्राचिन कालदेखि नै प्रसिद्ध नेपालको चारधाममध्ये एकधाम रूरू क्षेत्र, पौराणिक, ऐतिहासिक स्थल,
जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र गुल्मीमा रहेको छ । धार्मिक ऐतिहासिक महत्व बोकेका रूद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोट, चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, इस्माकोट,
धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्ब्रुङ दह, थाप्ले, कङे देउराली, सत्यवती, शालिमेदह जस्ता सम्पदाहरू छन् ।
पाल्पामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भादेवी, रैनादेवी, सत्यवती ताल, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लम महाकाली, दर्लम डाँडा, महामृत्युन्जय शिवासन बराङ्दीजस्ता पर्यटकीय स्थलहरू छन् ।
कपिलवस्तुमा पर्यटकीय स्थलहरूमा अधिकाशं पुरातात्विक र ऐतिहासिक स्थलहरू पर्दछन् । अठ्कुनियाँ, अमौलीकोट, अरौराकोट, इटवा डरवा धनगढवा, कपिलवस्तु संग्रहालय, कुदान, गोटिहवा अशोक स्तम्भ,
गौरीगंज, चंघाट, चेतरादेही, जगदीसपुर ताल, जोडी स्तुप, डंगरी, डेरवा स्तुप, तिलौराकोट, तौलेश्वर मन्दिर, दलदलवा, दुमुनियाँ, दोहनीकोट, धानखोला, निगालीकोट, पडसडवा, पिपरा स्तुप, लौहसरिया स्तुप, विजुवा, श्रृङ्गीऋषि धाम,
सगरहवा ताल, समयमाईकोट आनन्दवाग, सरकुप पोखरी, सिसेनियाँ, सिसेनियाँ दरबसवा, सेमरा शिव मन्दिर, सोनवागढ, हर्देवाजस्ता सम्पदा रहेका छन् । रूपन्देहीमा गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण रहेको छ ।
यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरूमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, सिद्धबाबाजस्ता सम्पदा रहेका छन् । गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा परिचित रूपन्देही पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ ।
नवलपरासीमा रामग्राम स्तुप, त्रिबेणीधाम, पाल्हीभगवती, दाउन्ने देवी जस्ता पर्यटकीय सम्पदा छन् । प्रदेश नम्वर ५ का सबै पर्यटकीय स्थलमा पुग्नको लागि राष्ट्रिय, जिल्ला र ग्रामीण सडक सञ्जालले जोडिएका छन् ।
भैरहवा, नेपालगञ्ज र दाङबाट हवाई सेवा भएपनि ती सबै काठमाडौँ केन्द्रित छन् । घुमफिरको लागि केही स्थानबाहेक खान बस्नको लागि होटलको सुविधा छ ।
आर्थिक विकास, सामाजिक एकीकरण र आवद्धताको माध्यम पर्यटन हो । पर्यटन पूर्वाधारहरू होटल, रिसोर्ट, मनोरञ्जनपूर्ण खेलजस्ता क्षेत्रको विकास पर्याप्त मात्रामा हुनुपर्दछ । संघीय आर्थिक विकासको कुरा गर्दा कृषि, पर्यटन र जलस्रोतको सदुपयोग नै आर्थिक विकासको मूल आधार हुन्छ ।
भौगोलिक तथा साँस्कृतिक विविधता पाँच नम्बर प्रदेशको पर्यटन उद्योगहरूका स्रोतहरू हुन् । यहाँका प्राकृतिक, साँस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्दै आकर्षक, रमणीय र सुरक्षित पर्यटनको गन्तव्यस्थलको रूपमा विकास गर्न सकिन्छ ।
पर्यटनको विकास त्यसै हुने होइन । सर्वप्रथम प्रदेशका सबै जिल्लाहरूलाई सडक यातायातको सुविधा हुनुपर्दछ । गाउँमा पर्यटक पुग्नको लागि आवास, सञ्चार, सुरक्षा र स्वास्थको लागि सुविधा जनक भएको हुनुपर्दछ ।
ग्रामीण पर्यटकीय विकास गर्न होमस्टेको सुरूवात गर्न पर्दछ । लुम्बिनीमा आएका पर्यटकलाई पाल्पा, गुल्मी र अर्घाखाँची मात्र नभएर दाङ, प्यूठान, रोल्पा, रूकुमका समेत प्राकृतिक र धार्मिक र ऐतिहासिक स्थलको अवलोकन गराउने सोच सबैमा हुनुपर्दछ । त्यसैगरी बाँके बर्दियामा रहेका निकुञ्जका वन्यजन्तु हेर्नलाई समेत पर्यटक पु¥याउने वातावरण सिर्जना गर्नुपर्दछ ।
गाउँको विकास र युवाहरूलाई रोजगारी दिन अबको विकल्प एग्रो टुरिज्म नै हो । सबै गाउँहरूमा कृषि पर्यटनको विकास गर्न पर्दछ । गाउँमा पशुपालन र कृषि फर्म हुने हो भने ग्रामीण पर्यटक पुग्ने गर्दछन् । कृषि, पर्यटनको एकीकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार हुन्छ । कृषि पर्यटनले गाउँमा रोजगारीको सिर्जना गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here