- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरबाली चक्रः असल कृषि अभ्यासको तरिका

बाली चक्रः असल कृषि अभ्यासको तरिका

- Advertisement -spot_img

जमिन श्रम र पुँजीको उचित संयोजन र सीमित स्रोतहरूको वैज्ञानिक तथा उत्पादनमूलक प्रयोगले नै कुनै पनि कृषि व्यवसाय या उद्यमलाई सफल बनाउँछ ।
हरेक उद्यमीले वस्तु उत्पादनको दौडानमा उपलब्ध स्रोतहरूको न्यूनतम प्रयोग गरी अधिक उत्पादन लिन खोज्छ । तर उक्त उत्पादन भने नाफामूलक हुन जरूरी रहन्छ ।
कृषिजन्य वस्तुको उत्पादन या वितरण गर्ने पेशा व्यवसाय या उद्यममा परिवर्तन गर्न खोज्दा व्यवसायी या उद्यमीको मूख्य उद्देश्य नै लागत न्यूनीकरण र नाफा वृद्धि नै हुने गर्दछ । उपलब्ध स्रोतहरूको उचित प्रयोग कसरी गर्ने ?
भन्ने निर्णय लिन सक्नु आफैमा पनि जटिल कार्य हो । मलखाद, सिंचाई, जमिन तयारी, बीउ, ढुवानी, गोडमेल या अन्य क्रियाकलापको लागि आवश्यक पर्ने पुँजी कुन अनुपातमा प्रयोग गर्ने भन्ने निर्णय हरेक उद्यमी या व्यवसायीले अति नै सचेत भई लिनुपर्ने हुन्छ ।
उद्यमीको लागत न्यूनीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्य बाली चक्रको सफल प्रयोग पनि एक महत्वपूर्ण सूत्र हुनसक्छ । तसर्थ बाली चक्रको विषयमा जानकार हुनु आवश्यक छ ।

के हो त बाली चक्र ?

बाली चक्र भन्नाले निश्चित जमिनमा एकपछि अर्को गरी विभिन्न परिवारमा पर्ने बालीको वैज्ञानिक या व्यवस्थित खेती गर्नु भन्ने बुझिन्छ । यस विधिअन्तर्गत किसानसँग उपलब्ध जमिनमा प्रत्येक मौसममा फरक–फरक परिवारको बालीको खेती गर्न सिफारिस गरिन्छ ।
पहिलेदेखि नै किसानहरू आफैले जानी नजानी यस विधिको प्रयोग गर्दै आएको पाइन्छ । तर यसको महत्वको बारेमा भने धेरैजनालाई जानकारी नहुन पनि सक्छ ।
बाली चक्र आफैमा एक प्राकृतिक फाइदाजनक खेती प्रविधिको तरिका हो । तर यसको सही अनुशरण भने भएको पाइदैन । यसको प्रसार हरेक किसानहरू माझ पुग्न जरूरी पनि छ ।

कसरी अपनाउने बाली चक्र ?

बाली चक्रको प्रभावकारी नतिजाको लागि यसको सही तरिकाले अनुशरण गरिनु आवश्यक रहन्छ । सर्वप्रथम त खेती गर्नुपूर्व नै कुन बालीको खेती गर्ने हो र उक्त बाली कुन परिवारमा पर्दछ भन्ने कुराको जानकारी लिनु अति नै अपरिहार्य हुन्छ । खाद्यान्न बालीहरू धान, गहुँ, मकै, कोदो, जौ आदि घाँस परिवार अन्तर्गत पर्दछन् ।
त्यस्तै तरकारी बालीहरू आलु, गोलभेडा, खुर्सानी, भन्टा, आलु परिवारअन्तर्गत राखिन्छन् । तोरी परिवारमा पर्ने बालीहरू काउली, बन्दा, गाँठगोपी, मूला, रायो, तोरी आदि पर्दछन् भने लौका, काक्रा, घिरौला, तिते करेला आदि लहरेबालीअन्तर्गत पर्दछन् ।
त्यस्तै कोसेबालीअन्तर्गत भने कोसाभित्र दाना भएका दाल बालीहरू जस्तैः भटमास, मास, मुङ, रहर, सिमी, गहत आदि पर्दछन् । बालीको परिवार अनुसार खाद्यतत्वको माग, आक्रमण गर्ने शत्रुजीव र वृद्धि विकासको तरिकासमेत फरक हुने गर्दछ ।
बाली चक्रको सफल अनुसरणको लागि फरक–फरक परिवारका बालीहरू लगाउनु पर्दछ । जस्तैः मकै लगाएको जमिनमा अर्को समयमा घाँस बालीबाहेक अन्य कुनै परिवारमा पर्ने बालीको छनौट गरी खेती गर्नु आवश्यक रहन्छ ।
नेपालको बाली पद्धति अनुसार धान या मकैपश्चात् गहुँ लगाइन्छ र फेरि धान या मकै नै खेती गरिएको पाइन्छ । जुन बाली चक्र हैन । धान या मकैपश्चात् तरकारी अन्य बालीको खेती गरिनुपर्दछ । तर बर्षमा कम्तिमा एकपटक भने कोसेबालीको खेती गरेकै हुनुपर्छ ।


सफल र दीगो कृषि व्यवसायको लागि बाली चक्रको वैज्ञानिक ढंगले अनुशरण गर्न गराउन जरूरी छ । परम्परागत तरिकाले खेती गर्दै आएका या बाली चक्रको प्रयोग गर्दै आएका किसान वर्गहरूलाई यसको महत्व, अनुशरण विधिको बारेमा जानकारी दिन सक्ने हो भने रासायनिक विषादी या मलखादको खपत कम गर्न सक्नुको साथै स्वस्थ र सुरक्षित खाद्यान्न उत्पादन गर्न सकिन्थ्यो कि ?


बाली चक्रका फाइदाहरू

१. माटोमा खाद्यतत्वको व्यवस्थापन 

बाली चक्रअन्र्तगत फरक–फरक परिवारका बालीहरू छनौट गरी खेती गरिन्छ । जसमा बर्षमा कम्तिमा एक पटक कोसेबालीको समेत खेती गरिन्छ । कोसेबालीहरूले वायुमण्डलमा रहेको नाइट्रोजनलाई स्थिकीकरण गरी विरूवाले लिनसक्ने रूपमा परिवर्तन गर्दछन् । जसको कारणले गर्दा माटोमा नाइट्रोजनको कमी हुन पाउँदैन ।
र नाइट्रोजनयुक्त मलको खपत पनि निकै कम गर्न सकिन्छ । निरन्तर रूपमा एकै परिवारको बालीहरूको खेती गरिरहदा माटोको एउटै सतहको खाद्यतत्व मात्र विरूवाले खपत गर्ने गर्दछ ।
जसको कारणले माटोमा रहेका खाद्यतत्वको उचित प्रयोग हुन पाउदैन । तर बाली चक्रको अन्तर्गत छोटो र लामो दुवै प्रकारको जरा भएका बालीहरू समावेश हुने गर्दछन् जसले माटोको विभिन्न सतहमा रहेका खाद्यतत्व लिने गर्दछन् ।

२. शत्रु जीवको व्यवस्थापन

बाली रोग हुन या किरा एउटै परिवारमा पर्ने जुनसुकै बालीमा पनि आक्रमण गर्ने गर्दछन् । जस्तैः उदाहरणको लागि आलुमा लाग्ने पछौटे डढुवा रोग आलुमा मात्र नभई गोलभेडा पनि आक्रमण गर्ने गर्दछ ।
रोगका कारकतत्वहरू माटो, झारपात या विरूवाका अवशेषहरूमा वर्षौसम्म पनि सुसुप्त अवस्थामा बाँच्न सक्दछन् । उपयुक्त वातावरण पाएको खण्डमा फेरि सक्रिय भई बालीमा आक्रमण गर्दछन् ।
यदि बाली चक्र नअपनाई सोही परिवारका बाली निरन्तररूपमा खेती गरिए रोगको कारकतत्वले एकपछि अर्को बालीमा आक्रमण गर्ने गर्दछ । यस्तो अवस्थामा फरक परिवारको बाली छनौट गरी खेती गरिएमा उक्त रोगको कारकतत्वले वैकल्पिक आश्रय नपाई नष्ट हुने गर्दछन् ।

३. लागत न्यूनीकरण

बाली चक्रको सफल र प्रभावकारी अनुशरणले बालीमा शत्रु जीवहरूको प्रकोप कम गर्न सकिनुको साथै माटोमा खाद्यतत्वको मात्रा पनि प्राकृतिक रूपमा संरक्षण गर्न सकिन्छ ।
जसको कारणले गर्दा बाली संरक्षणको लागि आवश्यक पर्ने विषादी, पासो र मलखाद खरिदको लागि आवश्यक पुँजीमा भारी मात्रामा कटौति गर्न सकिन्छ । जसको कारण उत्पादन लागत न्यूनीकरण गर्न सकिन्छ ।

४. उत्पादनमा बृद्धि

वैज्ञानिक रूपमा बाली चक्रको प्रयोग गरि खेती गर्दा बालीमा शत्रुजीवको व्यवस्थापन सजिलो र खाद्यतत्वको सहज उपलब्धता हुने भएकाले बालीको कुल उत्पादनमा बृद्धि हुने गर्दछ ।
त्यसको साथै बाली चक्रको अनुशरणको कारणले गर्दा माटामो बस्ने राइजोबियमजस्ता सूक्ष्म न जीवहरूले समेत आश्रय पाई माटोको जैविक विविधतामा समेत सुधार हुने गर्दछ । माटोको भौतिक जैवीक तथा रासायनिक गुणमा पनि उल्लेखनीय सुधार आउने गर्दछ ।

५. भू क्षय नियन्त्रण

मौसम, सिंचाईको अवस्था आदिको कारण कहिलेकाहीँ समयमा बाली रोप्न नसक्ने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्थामा प्रायः किसानहरू खेत खाली राखेर अर्को बालीको समय पर्खेर बस्ने गरेको पनि देखिन्छ ।
तर बाली चक्र विधिको प्रयोग गरी बारी बाझो रहने समस्यालाई समाधान गर्न सकिन्छ । बालीको परिवार अनुसार चिस्यान या सिंचाईको आवश्यकता पनि फरक–फरक हुन्छ ।
चिस्यानको कमि भएको अवस्थामा चिस्यान कम आवश्यक पर्ने बालीको खेती गरी बारी बाझो रहनबाट जोगाउन सकिन्छ । जसको कारणले गर्दा हावाको माध्यमबाट हुने माटोको भूक्षय नियन्त्रण गर्न सकिन्छ ।
बाली चक्र असल कृषि अभ्यासको आधार हो । कृषकहरू व्यवसायिक कृषि उद्यम गर्ने हेतुले एकल बाली खेती प्रणाली अर्थात् एउटा मात्र बालीको खेती गर्नतर्फ अघि सर्दैछन् । यसो गर्दा निकट भविष्यमा नै बालीमा शत्रुजीवको आक्रमण हुनुको साथै उत्पादन लागतमा समेत बृद्धि हुन सक्छ ।
सफल र दीगो कृषि व्यवसायको लागि बाली चक्रको वैज्ञानिक ढंगले अनुशरण गर्न गराउन जरूरी छ । परम्परागत तरिकाले खेती गर्दै आएका या बाली चक्रको प्रयोग गर्दै आएका किसान वर्गहरूलाई यसको महत्व,
अनुशरण विधिको बारेमा जानकारी दिन सक्ने हो भने रासायनिक विषादी या मलखादको खपत कम गर्न सक्नुको साथै स्वस्थ र सुरक्षित खाद्यान्न उत्पादन गर्न सकिन्थ्यो कि ? (दाहाल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रि.वि.स्नातक कृषि विज्ञानमा अध्ययनरत छन् ।)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here