सल्यान, २३ माघ । सल्यान उद्योग वाणिज्य संघ सल्यानले विशेष कार्यक्रमको आयोजना गरी आफ्नो रजत महोत्सव मनाएको छ । बुधवार नवौं साधारणसभा तथा २५औँ वार्षिकोत्सवको अवसर कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो । २०५१ सालमा स्थापना भएको सल्यान उद्योग वाणिज्य संघ जिल्लाकै व्यवसायीहरूको संगठन हो ।
रजत जयन्तीका अवसरमा भएको कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हो ।
उनले सल्यानले लामो यात्रापार गरेको र स्थापना कालदेखि हालसम्म ब्यवसायीको हकहितको लागि उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै देश संघीतामा गईसकेको अवस्थामा सरकारले निजी क्षेत्रका ब्यवसायीहरूको हितको लागि केही कदम चालिदिन आग्रह गरे ।
उद्योग वाणिज्य संघ सल्यान अब युवा अवस्थामा आईसकेकोले अब यसलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताए । सल्यान जिल्ला कृषि र पर्यटन ब्यवसायमा सम्भावना बोकेको जिल्ला भएकोले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले जिल्लाको विकासको निम्ती सोच्ने बेला भएको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर बिष्टले निजी क्षेत्र उद्योग वाणिज्य संघले आर्थिक विकासको लागि महत्वपूर्ण भूमिका खेलिरहेको र देश विकास गर्नको लागि लगानी बढाउनुपर्ने, त्यो लगानीको सुरक्षा सरकारले लिनुपर्ने जिकिर गरेका थिए ।
उद्योग वाणिज्य संघले ब्यवसायीहरू एक ढिक्का बनाई राखेकोले देश विकासमा पनि टेवा पुग्नमा महत्वपूर्ण सहयोग पुगेको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताए ।
उनले आफू सरकारमा भएकोले ब्यवसायीक हकहितको लागि सबैभन्दा कम कर लिने नगरपालिका शारदा नगरपालिका रहेको बताए । उद्योग वाणिज्य संघले यो वर्षदेखि ब्यवसायीको निम्ती आजीवन सदस्य पनि वितरण गर्दै आजीवन सदस्य हुने ब्यवसायीलाई सम्मान गरेको थियो ।
उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरबहादुर चलाउनेले जिल्लामा एउटा निजी संस्थालाई यहाँसम्म ल्याउन पाउँदा खुसी रहेको र विगतमा संघलाई यहाँसम्म ल्याउनको लागि सबैको भूमिका महत्वपूर्ण रहेकोले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ब्यक्त गरे ।
कार्यक्रममा जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रजक अली, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुधन श्रेष्ठ, स्थानीय सरकारका जनप्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।
संघका उपाध्यक्ष कुमार बुढाथोकीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव भरत बस्नेतले गरेका थिए ।