- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरअभियान कहिलेसम्म ?

अभियान कहिलेसम्म ?

- Advertisement -spot_img

दाङसहित यही माघ २५ गतेदेखि करिब दुई सातासम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन थालिएको छ । नेपालमा हात्तीपाइले रोगीहरूको संख्यालाई शून्यमा झार्नका लागि सरकारले थालेको अभियान दाङमा दशौं पटकमा फेरी सञ्चालन हुन थालेको छ । नवौं पटकसम्म औषधि खुवाउँदा पनि अभियान सफल हुन नसकेपछि दाङमा दशौं पटक औषधि खुवाउन लागिएको छ । हात्तीपाइले रोग समयमा औषधि सेवन गरेमा निको हुने रोग भएपनि औषधि सेवनप्रति नागरिकको धारणा गलत भएका कारण रोगविरूद्धको औषधि सेवन गर्ने अभियानले सार्थक पाउन सकिरहेको छैन् । अभियानलाई सफल बनाउन यसपटक पनि विशेष महत्वका साथ तयारी थालिएको छ । लक्षित वर्ग र उद्देश्यमा पुग्नका लागि स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि लगायत गँउ“का बुद्धिजीवि सबैलाई परिचालन गरिने भएको छ ।
औषधि सेवनको अवस्था तथ्यांकमा मात्र भन्दा पनि व्यवहारतः कार्यान्वयन गरी प्रभावकारी बनाउन थालिएको छ । दाङमा बढी जोखिम रहेका ठाउँ घोराही, तुलसीपुर, देउखुरीसहित दशवटै स्थानीय तहका स्वास्थ्य शाखामार्फत औषधि सेवनको अभियान सञ्चालन गरिने भएको हो । अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधिदेखि विभिन्न क्षेत्रका संघ,संगठनसँग समन्वय गरिएको छ । पटक–पटक औषधि खुवाउँदा पनि दाङमा हात्तीपाइले रोग निवारण हुन नसक्नुको कारणहरू के हुन सक्छन् ? के दशौं चरणको अभियानबाट रोग निवारण हुन सक्ला त ? नागरिकस्तरमा हात्तीपाइले रोगविरूद्धको औषधि सेवनबारे सकारात्मक धारणा किन हुन नसकेका होलान् त ? लगायतका विषयमा विभिन्न सरोकारवालासँग प्रदेश टुडेको राउण्ड टेबलमा कुराकानी गरेका छौं ।


सबैको साथ भएमा सफल हुन्छ

सुनिता पौडेल
प्रमुख
जिल्ला स्वास्थ्य कार्यालय, दाङ

हात्तीपाइले रोग निवारणका लागि दाङमा दशौँ चरणमा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियान सञ्चालन हुन लागेको छ । नवौँ चरणसम्म औषधि खुवाउने अभियानले सार्थकता पाउन नसकेपछि दशौँ चरणमा औषधि खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो । यही माघ २५ गतेदेखि करिब दुई हप्तासम्म हात्तीपाइले रोगविरूद्धको आमऔषधी सेवन अभियान सञ्चालन हुनेछ ।
पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगविरूद्धको औषधी सेवन अभियान पटक–पटक सफल हुन सकेको छैन् । नागरिकले स्वफूर्तरूपमा औषधि सेवन नगर्दा नै अभियानले सार्थकता पाउन सकेको छैन् ।
हात्तीपाइले रोग लाग्दा शुरूमा थाहा नहुने र लागिसकेपछि निको नहुने भएका कारण पनि यो रोग स्वास्थ्यका हिसावले निकै जोखिमपूर्ण मानिन्छ । रोग निवारणका लागि आफूमात्र नभई सबैले औषधि सेवन गर्न आवश्यक छ ।
चार बर्ष अघि नै दाङमा हात्तीपाइले रोगविरूद्धको औषधी सेवन कार्यक्रम रोक्नुपर्ने हो । तरपनि सबैले औषधी नखाँदा अभियान थप पाँच वर्ष लम्बिएको छ ।
गत वर्ष सञ्चालन गरिएको अभियानमा पनि जिल्लामा ५७ प्रतिशत नागरिकले मात्रै औषधी खाँदा अभियान नै फेल भएको हो । बितेको वर्षमा अभियान सफल हुन नसकेपछि थप दुई वर्ष औषधी सेवनको कार्यक्रम सञ्चालन हुने भएको छ ।
यस वर्ष दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोगविरूद्धको औषधी खुवाउने लक्ष्य लिइएको छ । जिल्लामा हाईड्रोशील भएका १ हजार ६ सय ११, खुट्टा सुन्निएका ४ सय २९ र हाइड्रोशीलसँगै खुट्टा सुन्निएका १६ गरी २ हजार ५६ जनामा हात्तीपाइलेको संक्रमण रहेको छ ।
हात्तीपाइले रोगको संक्रमण घोराही, तुलसीपुर र देउखुरी क्षेत्र बढी जोखिम छन् । औषधीको सामान्य असरलाई हल्ला रूपमा लिदा अभियान प्रभावित भएको छ ।
हात्तीपाइले रोगविरूद्धको औषधी खाली पेट, २ वर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनका सुत्केरी र दीर्घरोगीले बाहेक अन्यले खान हुन्छ ।
जिल्लामा हात्तीपाइलेको संक्रमणलाई शून्यमा झार्नका लागि रोगविरूद्धको औषधि सेवनको अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग आग्रहसमेत गर्दछौँ ।
सन् २०११ बाट दाङमा हात्तीपाइले रोगविरूद्धको औषधि सेवन अभियान सञ्चालन गरिएको हो । लामखुट्टेको टोकाइबाट हात्तीपाइलेको संक्रमण हुने हुँदा लामखुट्टेको टोकाइबाट बच्न आफ्नो वरपरको वातावरणलाई सफा राख्नुपर्छ ।
जिल्लामा यसपटक सबैलाई हात्तीपाइले रोगविरूद्धकोे अभियानमा सहभागी बनाई सार्थक बनाउनका लागि विभिन्न पक्षसँग छलफल र समन्वय गरेका छौँ ।
रोगबारेमा शुरूमा नै गलत धारणा नागरिकमा नजिर बसेकाले अधिकांश जान्ने बुझ्ने व्यक्तिले नै औषधि सेवनमा आनाकानी गरेको पाएका छौँ ।
अहिले त्यो अवस्था आउन नदिनका लागि सबै पक्षसँग बसेर छलफल गरेर औषधि खुवाउने अभियान सञ्चालन गर्न लागेका छौँ । स्थानीय तहहरूसँग सहकार्य गरेर स्वास्थ्यकर्मी घर–घरमै पुगेर भएपनि औषधि सेवन गराउनुहुन्छ ।
त्यसैले पनि यस पटकको अभियान प्रभावकारी बन्छ भन्नेमा विश्वस्त छौँ । अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई औषधि खाएको आफैले हेरेर मात्र तथ्याङ्क राख्न अनुरोध गरेका छौँ ।
बितेका वर्षमा के भयो ? किन कम व्यक्तिले औषधि सेवन गरे ? भने कारण खोजेर अहिले त्यस्तो हुन नदिनका लागि प्रयास थालेका छौँ । पक्कै पनि अहिलेको अभियानले सार्थकरूप लिनेछ । शतप्रतिशतलाई ने औषधि खुवाउन सफल हुनेछौँ ।


अभियान सफल पारौं

गोविन्द प्रसाद रिजाल
प्रमुख जिल्ला अधिकारी
दाङ

सरकारले हात्तीपाइले रोगविरूद्धको औषधि सेवनका लागि अरबौँ लगानी खर्च गरेको छ । नागरिकले हात्तीपाइले विरूद्धको औषधि निःशुल्क पाउने भएका कारण पनि औषधि सेवनमा अझ बढी लापरवाही जस्तो देखिन्छ ।
औषधि सेवनबारे बुझ्ने र बुझाउनेको तालमेल हुन सकेको छैन् । सरकारी कर्मचारी, सुरक्षा निकायका व्यक्तिले पनि औषधि सेवन नगरेको भन्ने बिगतमा खबर आयो, तपाईले भनेको जस्तो कसैले पनि औषधि सेवन नगरेको भन्ने त होइन होला तर केही कर्मचारीले यस्तो गर्नुभयो पनि होला ।
सरकारी कर्मचारीले औषधि सेवन गरेनन् भन्ने कतिसम्म सत्यता हो, यदि त्यसो हो भने त्यो राम्रो होइन् । हामी जिम्मेवार निकायमा बसेका व्यक्तिले त आफूले पनि खाने र अरूलाई पनि औषधि खानुपर्छ भन्ने सल्लाह दिनु राम्रो हुन्छ ।
केही सीमित कर्मचारीले त्यसो गर्नुभयो होला । अहिले त्यस्तो नहोस् भन्नका लागि हामीले सम्बन्धित कार्यालयका प्रमुखहरूसँग पनि छलफल गरेका छौँ, अनिवार्य औषधि सेवन गर्नुहोस् भनेर पनि निर्देशन दिएको छु ।
सबै मिलेर दाङमा अहिले सञ्चालन हुन लागेको हात्तीपाइले रोगविरूद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउनुपर्छ ।
नागरिकस्तरमा देखिएको गलत धारणालाई बुझेका सबैले बुझाउन आवश्यक छ । हात्तीपाइले रोग निवारण गर्ने सरकारको अभियानलाई नागरिकस्तरबाट साथ जरूरी छ ।
सरकारले निःशुल्क रूपमा औषधि बाँडेको छ भनेर पनि नागरिकले हल्का किसिमले लिन हुँदैन् । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका मात्र नभई जनप्रतिनिधिलगायत आम बुद्धिजीवि वर्गले अभियानलाई सफल बनाउन नागरिकस्तरमा सचेतना लैजानुपर्छ । जिल्लाका सम्पूर्ण निकायका कर्मचारीले अभियानलाई सफल बनाउन साथ दिनुहुन्छ ।
सरकारको अभियानलाई सफल बनाउने भन्दा आफू स्वस्थ हुने कुरालाई बुझ्न जरूरी छ । दाङसहित ६३ जिल्लामा हात्तीपाइले रोगविरूद्धको अभियान सञ्चालन भयो तर अरू जिल्ला हात्तीपाइले रोग निवारण जिल्ला घोषणा भइसकेको अवस्थामा दाङमा अझै दुई वर्षसम्म अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।
अन्य जिल्लाको तुलनामा दाङमा विभिन्न जिल्लाबाट नागरिक बसोबास गर्न आउने र सबै जनाले औषधि खान समस्या हुनसक्छ तर हामी सबै वर्ग नै सकारात्मक हुन सकेपछि रोग निवारण हुन्छ भनेका पनि छौँ ।
नागरिक स्वयम् आफ्नो स्वास्थ्यप्रति संवेदनशील भयो भने आफै औषधि खोजी–खोजी सेवन गर्ने वातावरण सिर्जना हुन्छ । त्यसैले बिगतमा नागरिकस्तर अर्थात् अझ भनौँ शिक्षित वर्गमा यस्तो चेतनाको विकास अझ कमी भएको हो कि भन्ने पनि छ ।
अरूलाई औषधि खानुपर्छ भन्ने चेतना दिने व्यक्तिले नै औषधि सेवन नगरेको अवस्थामा दाङलाई हात्तीपाइले रोग निवारणमुक्त जिल्ला बनाउन सकिदैन् ।
दूरदराजका बस्तीमा सञ्चार माध्यममा औषधिको उपयोगिताबारे सुनेपछि आफै खोजी–खोजी अस्पताल जानेको अवस्था छ तर शहरमा अझ त्यो पनि शिक्षित वर्गले हात्तीपाइले रोगविरूद्धको औषधि सेवनबारे गलत धारणा दिइरहेको पनि पाइन्छ ।
अरूभन्दा जटिल प्रकृतिको रोग भएका कारण समयमै औषधि सेवन गरे बच्न सकिन्छ, अभियानलाई सफल बनाउन हात्तीपाइले रोगविरूद्धको औषधि आफूले पनि खाऔँ, अरूलाई पनि खुवाउन प्रोत्साहन गरौँ । यो रोग निवारण हुनका लागि आफूले मात्र औषधि सेवन गरेर निको हुँदैन् ।
आफूसँगै परिवारलाई औषधि सेवन अभियानमा सहभागी बनाई दाङलाई हात्तीपाइले रोग निवारणमुक्त जिल्ला बनाउन अनुरोध गर्दछु ।


हात्तीपाइले रोग साझा समस्या ठानौं

चन्द्रराज पन्त
संयोजक
नागरिक समाज दाङ

नागरिकस्तरमा स्वफूर्तरूपमा औषधि सेवन गर्ने सचेतना फैलन नसक्दा पनि दाङमा अभियान प्रभावकारी बन्न सकिरहेको छैन् । पाँच वर्षअघि सफल हुने अभियान निरन्तर लम्बिएको छ ।
दशौँ चरणमा आइपुग्दा पनि अभियान फेरि लम्बिने अवस्था आउन दिन हुँदैन् । हात्तीपाइले रोग निवारणमुुक्त जिल्ला दाङलाई बनाउनका लागि सबै आ–आफ्नो ठाउँबाट अभियान थाल्न आवश्यक छ ।
हात्तीपाइले रोग सबैको साझा समस्या हो । सरकारले थालेको महान अभियानमा नागरिकस्तरको साथ अनिवार्य छ । त्यसमा पनि अहिले सरकारको अभियानलाई सफल बनाउनु भनेको आफू, परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउनु हो ।
हामीलाई स्वस्थ बनाउने सरकारको अभियानलाई सार्थक बनाउनका लागि हामीले आ–आफ्नो क्षेत्रबाट औषधि सेवनको गर्न र गराउन आवश्यक छ ।
हात्तीपाइले रोगविरूद्धको औषधि आफूसँगै परिवारलाई सेवन गर्न र गराउनका लागि हामीले सकारात्मक सोंचका साथ काम गर्न आवश्यक छ । नागरिक स्वस्थ भएमात्रै समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने सरकारको उद्देश्य छ ।
अनि सरकारले नागरिकलाई स्वस्थ बनाउन निःशुल्क रूपमा विभिन्न समयमा विभिन्न रोगका औषधि वितरण गर्ने गरेको छ । हामीले त्यसलाई बुझ्न र बुझाउन नसक्दा अहिले समग्ररूपमा दाङमा औषधि खुवाउने अभियान लम्बिएको छ ।
सरकारले हामीलाई निःशुल्क औषधि वितरण गरेपनि औषधिमा हामीले तिरेको कर सरकारले लगानी गरेको छ भन्ने बुझेका छैनौँ । हामीले अहिले पनि फेरि औषधि सेवन नगरेमा फेरि सरकारले अर्को पटक पनि यसमै लगानी गर्नुपर्ने बाध्यता हुन्छ ।
औषधि सेवन नगर्दा हामीलाई हात्तीपाइलेको संक्रमण त हुन्छ नै हामीले तिरेको कर यसमै सकिने अवस्था पनि आउँछ । सरकारले दाङमा दशौँ पटक सञ्चालन गर्न लागेको अभियानलाई आम सबै नागरिकको साथ आवश्यक छ ।
हात्तीपाइले रोगविरूद्धको औषधि सेवनलाई प्रभावकारी बनाउन आफूमात्र होइन आफूसँगै परिवारलाई पनि औषधि खुवाउन सचेतना दिन आवश्यक छ । परिवार र समाजमा नै एक व्यक्तिमा हात्तीपाइलेको संक्रमण रहेछ भनेपनि संक्रमण फैलने खतरा हुन्छ ।
संक्रमणबाट बच्न औषधि सेवन गर्नु नै उत्तम उपाय हो । रोग लागिसकेपछि निको नहुने भएका कारण हात्तीपाइले रोग अरू रोगको तुलनामा जटिल मानिन्छ ।
त्यसैले औषधि सेवनको अभियानलाई प्रभावकारी बनाउनुपर्छ । सरकारले सित्तैमा दिएको औषधि त हो भन्ने हामीमा गलत धारणा राख्नुहुँदैन् ।
औषधि सेवन गरी स्वस्थ हुनका लागि औषधि खुवाउने अभियानका क्रममा खोजी–खोजी औषधि सेवन गरौँ । सरकारको अभियान मात्र नभएर हामी सबैको समस्या हो भने साझा अभियानका रूपमा लैजानका लागि नागरिकस्तरबाट साथ हुन जरूरी छ ।
स्वास्थ्यकर्मी घर–घरमै पुगेर औषधि खुवाउने कार्यक्रम रहेको हुँदा पनि औषधि खानका लागि पनि स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता छैन् ।
तर विशेष कारण काम विशेषले टाढा भएको भए औषधि खान स्वास्थ्य संस्थासम्मै पुग्नुपर्छ । स्वास्थ्यकर्मीले पनि सरकारी काम भन्ने नसोची स्वस्थ समाज निर्माण गर्ने अभियानलाई सार्थक बनाउन आफ्नो पनि जिम्मेवारी सम्झेर औषधि खुवाउन कन्जुस्याँई गर्न हुँदैन् ।


औषधिको उपयोगिताबारे बहस चलाउनुपर्छ

जनक खराल
अध्यक्ष
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुर

हात्तीपाइले रोग निवारणका लागि सरकारले थालेको अभियानलाई सफल बनाउन नागरिकले औषधि सेवन गरेमात्र पुग्छ । नागरिकले औषधि सेवन नगरेका कारण नै दाङमा दशौँ पटकसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको हो । नागरिकस्तरमा औषधि सेवनबारे गलत धारणा भएका कारण हात्तीपाइले रोग निवारण दाङमा हुन सकेको छैन् ।
दाङभन्दा अरू ५० जिल्लामा रोग निवारण भइसक्यो तर दाङमा दशौँ पटकसम्म पनि औषधि खुवाउने अभियान चलाइरहनु परेको छ । जीवन सहज बनाउन हामी स्वस्थ हुनुपर्छ ।
सरकारले पनि नागरिक स्वस्थ भएमात्र देश विकासमा सहज हुन्छ भनेर नै हुन सक्ने दीर्घकालिन रोग निवारण गर्नका लागि विभिन्न समयमा अभियान सञ्चालन गर्ने गरेको छ ।
हात्तीपाइले रोग पनि दीर्घकालिन रोग हो, जुन रोग लागिसकेपछि व्यक्तिगत प्रतिष्ठामा गुम्ने खतरासँगै दैनिक क्रियाकलाप नै तहस नहस हुन्छ ।
रोग लागिसकेपछि निको नहुने भएका कारण पनि शुरूवाती चरणमा नै औषधि सेवन गरी रोगबाट बच्न सकिन्छ । तर आम नागरिकले स्वफूर्तरूपमा औषधि सेवन गर्न सकिरहेका छन् ।
औषधिबारे गलत टिकाटिप्पणी गरेर आफूसँगै देशलाई बर्वादतर्फ धकेल्नुभन्दा औषधि सेवन गरी स्वस्थ समाज निर्माण गरी समृद्ध समाज निर्माणमा हामीहरू लाग्न आवश्यक छ ।
दाङमा अब सञ्चालन हुन लागेको अभियानलाई सफल बनाउनका लागि हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । औषधि सेवन गरी निरोगी बन्ने कुरा नागरिकमा सचेतना दिनका लागि चिया पसलदेखि विभिन्न सभा, गोष्ठी सेमिनारमा बहस चलाउन जरूरी छ ।
नागरिकमा हात्तीपाइले रोगविरूद्धको औषधि सेवनबारे बसेको नराम्रो छापलाई मेट्नका लागि समाजका अगुवा, बुद्धिजीवि वर्गले नै सचेतना फैलाउनुपर्ने देखिन्छ ।
व्यवसायीले आफ्ना ग्राहक, कर्मचारीले सेवाग्राहीलाई हात्तीपाइले रोगविरूद्धको औषधिको प्रभावकारीताबारे सचेतना दिन जरूरी छ । रोगले धनी, गरिब, जात, वर्ग केही पनि भन्दैन् ।
त्यसैले सबैले हात्तीपाइले रोग विरूद्धको औषधि सेवन गरी स्वस्थ समाजको निर्माण गर्ने सरकारको अभियानलाई साथ दिन आवश्यक छ । समाजका सचेत वर्गले यसमा रहेको भ्रमबाट अलग हुन नसकिरहेको अवस्था पनि छ । जसका कारण नागरिकमा पनि भ्रम सिर्जना भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here