- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरसहिद आत्मीय र सम्मानको शब्द

सहिद आत्मीय र सम्मानको शब्द

- Advertisement -spot_img

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइएको छ । देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवसको रूपमा मनाइएको हो ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
व्यक्तिगत स्वार्थविना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छ । नेपाली शब्दकोषले पनि सहिदलाई यसरी नै परिभाषित गरेको छ ।
राणाशासनको विरूद्ध प्रजापरिषदको गतिविधिमा लागेबापत वि.स.१९९७ साल कार्तिक २ गते पक्राउ गरी त्यसपछि १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै विष्णुमतीको किनारमा रहेको शोभा भगवतीमा गोली हानी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो ।
त्यसैगरी शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई पनि स्वतन्त्रताको लागेको कारण फाँसी दिएकाले सहिद मान्ने गरिन्छ । तर सहिद को र किन ? अहिले भने सहिदको बारेमा विभिन्न किसिमबाट अर्थ लगाउन थालिएको छ ।
निरंकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको आरम्भ गर्ने महान अभियानमा पहिलो पटक सहादत प्राप्त गर्ने लखन थापा प्रथम सहिद हुन् ।
वि.स.१९९७ देखि ०६२/०६३ को आन्दोलन बीच करिब ६५ वर्षको वधिसम्म नेपालमा चारजनालाई मात्रै सहिद मानिएको थियो ।
पछिल्लो समय मुलुकमा आन्दोलनको क्रममा मानिसहरूको मृत्यु हुने र सहिद घोषण गर्ने क्रम बढ्दै गएपछि २०६६ साल कार्तिक १६ गते सहिदको परिभाषा र मापदण्ड कायम गर्न कार्यदल गठन भएको थियो । कार्यदलले दिएको सुझावअनुसार अहिले पनि सहिद घोषणाको अर्थ भने नमिलेको आभाष हुन्छ ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ०६२/०६३ को जनआन्दोलनमा ज्यान गुमाएका २६ जनालाई सहिद घोषणा गरिएको थियो ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको पालामा एकमुष्ट आठ हजारभन्दा बढी माओवादीको जनयुद्वमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिएको थियो ।
अहिले नौ हजारभन्दा बढीको नाम सहिदको सूचीमा उल्लेख गरिएको छ । घोषणा गरिएको सहिदहरूको एकमुष्ट विवरण कुनै पनि सरकारी निकायमा छैन । गृह मन्त्रालयका अनुसार हरेक आन्दोलनमा र घटनामा फरक–फरक सहिदको सूची बनाइएको छ ।
राणाकालिन अवस्थामा सहिद भएका चार सहिदलाई अझै पनि केही राणा र उनका समर्थकहरूले सहिद मान्दैनन् । अझ उनको अर्थमा त्यसबेलाका आतंककारी मान्दछन् ।
पञ्चहरूले पञ्चायतकालीन सहिदहरूलाई सहिद मान्दैनन् । उनीहरूको भाषामा अराष्ट्रिय तत्व मान्दछन् । अनि राणा, पञ्च, काँग्रेस र अहिलेका नेकपालगायतका अधिकांश संसदवादीहरू जनयुद्धका सहिदहरूलाई सहिद मान्दैनन्,
आतंककारी नै ठान्छन् । पहाडका मानिसहरू मधेशी सहिदहरूलाई सहिद मान्दैनन् बिखण्डनकारी मान्छन् । सहिदहरूमाथि पनि वर्गीय दृष्टिकोण रहकोे छ  ।
जसको लागि लड्यो उसले सहिद मान्ने र जसका विरूद्ध लड्यो उसले आतंककारी मान्ने सोचको विकास भएको छ । सहिद आत्मीय र सम्मानको शब्द हो । यो शब्दलाई सहर्ष स्वीकार्दै देश र जनताप्रति बफादार भई जीउज्यानको बाजी थाप्नेहरू मात्र सहिद हुन् ।
तर आज समूह–समूहबीच, मोचा–मोर्चाबीच र दल –दलबीच मात्र नभएर व्यक्ति–व्यक्तिबीच द्वन्द्व मच्चिरहेको छ । युद्ध वैचारिक रूपमा मात्र सीमित नरही सशस्त्र रूपमै भौतिक आक्रमण हुन थालेको छ ।
जसको कारण धेरै नेपालीहरू नेपालीहरूद्वारा नै मारिएको अवस्था छ । राजनीतिक तवरले संरक्षण पाएकाहरू र नपाएकाहरू बीचमा घटना, परिघटनामा परी मृत्यु हुनेहरूको वर्गीकरण हुने क्रम बढ्दै गएको छ ।
हिद कुनै जाति, धर्म, संस्कृति, क्षेत्र, समुदाय र वर्ग विशेषको हुन सक्दैन । सहिद घोषणामा वैज्ञानिक मापदण्ड नहुँदा वास्तविक सहिद परिवार राज्यको सहयोगबाट बञ्चित रहेका छन् ।
समय–समयमा शासन सत्ताद्वारा जनतामाथि गरिने शोषणको विरूद्व आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको संख्या आजभोलि बढेको छ । यसरी ज्यान गुमाउनेहरूलाई कसरी सम्बोधन गर्ने ? कुन अर्थमा कसरी सम्मान गर्ने ? यो पनि बहसको विषय बनेको छ ।
अहिलेसम्म मुलुकभित्र धेरै आन्दोलन र क्रान्ति भइसक्यो । मुलुकमा द्वन्द्व बढ्दै जाँदा दशवर्षे जनयुद्धसमेत हामीले भोगिसक्यौं । त्यो जनयुद्वमा ठूलो जनधनको क्षति हुनपुग्यो ।
विगत राणाकालीन हुँदै शाहकालसम्म आइपुग्दा सत्ताका लागि जनता हदैसम्म प्रयोग हुँदै आयो । जनताले आफ्नो प्राण नै उत्सर्ग गरेर धेरैलाई शासन सत्ता चलाउने हैसियत बनाई दिए ।

कुनै पनि कार्यक्रमको औपचारिकता र अनौपचारिकतामा सहिदहरूलाई सम्झने कुरा आफ्नै ठाउ“मा छ । तर सहिदको बारेमा चर्चा, परिचर्चा गरेर मात्र पुग्दैन । सहिदले देखेको सपना, सहिदले खोजेको कुरा र व्यवस्था जनताले प्रत्यक्ष अनुभूत गर्न पाउनुपर्छ ।

त्यसपछि मात्र सहिदको सच्चा स्मरण गरेको र सम्मान प्रदान गरेको ठहर्ने छ । औपचारिक कार्यक्रम गरेर केवल सहिदप्रति औपचारिकता मात्र पूरा गरी वर्षमा एकपटक सहिद सप्ताह मनाएर मात्र सहिदहरूको सम्मान हुन सक्दैन ।


तर अहिले सहिद घोषणा भएका व्यक्तिका घरपरिवारहरूको अवस्था सरकारले अध्ययन गर्न सकेको छैन । उनीहरूको अवस्था कस्तो छ ?
सहिद परिवारहरलाई के कसरी सम्मान गर्न सकिन्छ ? र के गर्नु पर्दछ भन्ने कुरा सरकारले बेवास्ता गर्दै आएको छ । अनि वर्षको एक पटक सहिदको नाममा गोहीले आँसु चुहाए जस्तै गरी औपचारिक कार्यक्रम गर्दैमा सहिदको सम्मान हुन्छ र ?
कुनै पनि कार्यक्रमको औपचारिकता र अनौपचारिकतामा सहिदहरूलाई सम्झने कुरा आफ्नै ठाउँमा छ ।
तर सहिदको बारेमा चर्चा, परिचर्चा गरेर मात्र पुग्दैन । सहिदले देखेको सपना, सहिदले खोजेको कुरा र व्यवस्था जनताले प्रत्यक्ष अनुभूत गर्न पाउनुपर्छ । त्यसपछि मात्र सहिदको सच्चा स्मरण गरेको र सम्मान प्रदान गरेको ठहर्ने छ ।
औपचारिक कार्यक्रम गरेर केवल सहिदप्रति औपचारिकता मात्र पूरा गरी वर्षमा एकपटक सहिद सप्ताह मनाएर मात्र सहिदहरूको सम्मान हुन सक्दैन । सहिदले खोजेको नीति व्यवस्था लागु गरेर तिनलाई सम्मान गर्नु आवश्यक छ ।
सहिदलाई कहीं कतै कुनै पनि तवरले वर्गीकृत नगरी राष्ट्र, शिर, गर्व, गहना, धरोहर, आस्था र आदर्शको रूपमा सबैले स्वीकार्ने कार्यक्रम सरकारको हुनुपर्दछ ।
सहिद शब्दलाई हरेक नेपली जनताले मन मष्तिष्कमा राख्नुपर्दछ । सहिद कस्तो ब्यक्तिलाई भनिन्छ भन्नेबारे ज्ञान हुन पनि जरूरी छ ।
देश बनाउनुपर्छ नेपाली जनतालाई हकअधिकार दिलाउनुपर्छ भन्ने तर आफू बनी देश बिगार्ने गरेका शासकहरू विरूद्ध आफ्नो जीवनको बलिदानी दिने सहिदहरूको सोंच अनुसार राष्ट्र अगाडि बढ्नु पर्दछ
। विगत माओवादीले १० वर्षे जनयुद्ध गरे । युद्धको दौरानमा कति सहिद भए त्यसको लेखाजोखा नै छैन । विचरा ती बलिदानी दिनेहरू आत्माले के भनेको होला ? यसको उत्तर अहिले कसले दिने ?
सर्वहारा वर्गको उत्थान र जातीय पहिचानसहितको संघीयताको कुरालाई प्रमुख एजेण्डा बनाएर जनयुद्धमा मारिएका थिए । सामान्यतया देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ ।
तर नेपालमा अपराधिक समूहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई राजनैतिक दवावमा सहिद घोषणा गरेको देख्दा देशको लागि बलिदानी दिने ब्यक्ति सहिद हुन् वा दलप्रतिको बफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सिर्जना गरेको छ ।
देशको स्वार्थका लागि लड्दालड्दै ज्यानको आहुती दिने ब्यक्तिलाई राज्यले सहिदको सम्मान दिन मृतकको देश र जनताप्रतिको त्याग र समर्पण हुनुपर्दछ ।
तर कुनै अमूक दलकै सदस्य भएकै नाताले जबरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिदप्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य भएको छ ।
हाम्रा राजनैतिक दलहरूको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्डबिना जथाभावी सहिद घोषणा गर्ने प्रवृतिले सहिदको परिभाषा सस्तो बनेको छ ।
सहिद भन्नासाथ शिर निहुरिने, हृदयदेखि श्रद्धाभाव जाग्नुपर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका,
तोडफोड र हिंसात्मक गतिविधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक सहिदको योगदानलाई समेत फिका बनाउनमा मद्दत पु¥याएको छ ।
राजनैतिक दलहरूले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना सहिद घोषणा गरेपछि सर्वसाधारणले त्यसको सिको गरी दवावमा सहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न ।
यसको लागि सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनुपर्दछ ।
नेपालमा व्यवस्था परिवर्तन र जनताका नैसर्गिक हकअधिकारका स्थापना गर्नका लागि जसको कुनै योगदान छैन त्यसलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ । चोरलाई प्रहरीले समात्न खोज्दा उम्केर भाग्छ ।
भूमिगत गिरोहमा संलग्न हुन्छ । जघन्य अपराधमा उसको मुख्य भूमिका हुन्छ । प्रहरी इन्काउन्टरमा अपराधीको मृत्यु हुन्छ ।
सहिद घोषणा गर्न माग गर्दै नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिन्छ । आन्दोलनकारी शक्तिलाई सरकारले वार्ताका लागि आह्वान गर्छ । सहिद घोषणा नगरून्जेल वार्तामा पनि नबस्ने र आन्दोलन पनि फिर्ता नलिने आन्दोलनकारीहरूको माग हुन्छ ।
अन्ततः सरकार एउटा चोरदेखि जघन्य अपराधसम्म संलग्न कुख्यात अपराधीलाई सहिद घोषणा गर्न बाध्य हुन्छ । सहिदको मर्मविरूद्धको कर्म नेपालमा हुन् थालेको छ । के हो सहिद ? को हो सहिद ? यसको उचित परिभाषा गर्न जरूरी भैसकेको छ ।
सहिदहरूको योगदानलाई पैसामा खरिद बिक्री गर्न थालेपछि यसको कुनै अर्थ र औचित्य रहदैन । गोली लाग्यो कि दश लाख झ¥यो । अझ आजभोलि त पचास लाखको कुरो चलेको छ ।
सहिदको मूल्य भनेको परिवर्तन हो, योगदान र परिणाम हो, पैसा होइन । तर नेपालमा पैसाका लागि सहिद बन्ने प्रतियोगिता हुन थालेको छ भन्दा फरक पर्दैन ।
सहिदको मूल्य भनेको पैसा हो भन्ने बुझेका हाम्रा राजनीतिक दलले यसको व्यापक दुरूपयोग गर्दैछन् । मर्नका लागि पैसाको प्रलोभन देखाएर मानवता विरूद्धको अपराध गर्दैछन् ।
जहाँ पैसाका लागि मृत्युको बाटो रोजिन्छ भनेर विश्वमा सन्देश नजाओस् । सहिदको सच्चा सम्मान त्यतिबेला हुन्छ । जब शहिदले दिएको योगदानको कदर गर्दै शान्ति, स्थायीत्व, समृद्धि, अग्रगमन र परिवर्तनलाई संस्थागत विकास गरिन्छ ।
सहिदको मर्म, भावना र सपनालाई साकार पार्न राज्यले सकेको छैन । मुलुकमा अहिले जस्तोसुकै अवस्थामा मृत्यु भएकाहरूलाई पनि सहिद घोषणा गर्ने प्रवृतिले गर्दा ती वीर सहिदहरूप्रति अन्याय भइरहेको छ ।
देश र जनताले सहिदलाई माघ १६ गते मात्र सम्झने होइन कि हामीले हाम्रो हृदयको कुना–कुनामा सहिदहरूलाई सम्झी राख्नुपर्दछ ।
विशेषगरी देश चलाउनेहरूले सहिदको भावनालाई अबमूल्यन गरे भने सहिदहरूको आत्माले पनि हामी सबैलाई धिक्कारी रहने छ । सहिद दिवस मनाउँदा यी सबै कुराहरू ख्याल गर्न सकियो भने मात्र सहिद दिवसको सार्थकता हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here