- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरगुइठा बालेर युरिया किन्ने नेपाली

गुइठा बालेर युरिया किन्ने नेपाली

- Advertisement -spot_img

नेपालको कृषि प्रणालीको अध्ययन गर्ने हो भने अधिकांश कृषकहरूले मिश्रित खेती प्रणाली अपनाएको पाइन्छ । मिश्रित खेती प्रणाली भनेको बाली उत्पादन र पशुपालनलाई एकैसाथ एक अर्काको सहकार्यमा गरिने खेती प्रणाली हो ।
यस विधिअन्तर्गत, बारी या खेतमा खेती गरिने खाद्यान्न, तरकारी, फलफूल या नगदेबालीहरूको लागि आवश्यक पर्ने खाद्य तत्व पूर्तिको लागि प्राङ्गारिक मलजस्तै कम्पोष्ट या गोठेमलको आपूर्ति पशुहरूको गोवर, मुत्र र सोत्तरको माध्यमबाट कुहाई उपलब्ध गराइन्छ भने पशुहरूको लागि आहरा सोही बालीहरूबाट उपलब्ध हुने उप–उत्पादनहरू जस्तै मकैको डाँठ, पराल, नल या दानाहरू आद पूर्ति गरिन्छ ।
यसरी खेती गर्दा बिरूवालाई आवश्यक पर्ने खाद्यतत्वको सहज आपूर्ति हुनुको साथै पशुपालनको लागि आवश्यक पर्ने आहाराको समेत राम्रो व्यवस्था हुने गर्दछ ।
यस प्रणालीको प्रयोगबाट किसानले आफ्नो खेती प्रणालीलाई प्राकृतिक रूपमा विकास गर्नुका साथै परिवारलाई आवश्यक पर्ने सम्पूर्ण खाद्यतत्व तथा पोषणको व्यवस्था पनि सहजै गर्नसक्छ ।
कृषकले दोहोरो फाइदा लिन सक्छन् । वैज्ञानिक रूपमा मिश्रित खेती प्रणाली सुरक्षित र सफल प्राङ्गारिक खेत िप्रणालीको रूपमा लिइन्छ ।
मिश्रित बाली प्रणालीअन्तर्गत बिवरूवा र पशु एकअर्काका परिपूरकको रूपमा काम गर्दछन् । मिश्रीत खेती प्रणालीअन्तर्गत विरूवाको पोषण व्यवस्थाको लागि महत्वपूर्ण मानिने पशुपालनको समयमा खेर जाने मुत्र, गोबर या दुबैको प्रयोगबाट तयार पारिने गोठेमल या कम्पोष्ट मल हुन् ।
जसमा बिरूवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्यतत्व उचित मात्रामा पाइन्छन् । जसको प्रयोगबाट विरूवाको वृद्धि विकासका साथै उत्पादनमा पनि उल्लेखनीय वृद्धि गर्दछ ।
कुरा बाली उत्पादन वृद्धिको मात्र हैन । प्राङ्गारिक मलको प्रयोगले माटोको भौतिक, जैवीक तथा रासायनिक गुणहरूमा पनि सुधार ल्याउने गर्दछ ।
कृषि क्षेत्रमा बम्पर विकासको लागि रासायनिक मलहरूको उत्पादन तथा प्रयोग बढ्दै गएको कुरा सबैलाई जानकारी छदैछ । विरूवाको लागी आवश्यक पर्ने विभिन्न खाद्यतत्वको परिपूर्ति गर्नको निम्ति विभिन्न रासायनिक मलहरू जस्तै युरिया, डिएपी, पोटास, एमोनियम सल्फेट,
सूक्ष्म खाद्यतत्वहरूको परिपूर्तिको लागि मिश्रणहरूको प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । प्रयोग गर्न सजिलो हुने र प्राङ्गारिक मलहरूको तुलनामा धेरै खाद्यतत्व पाइने भएकाले किसानहरूको माझ रासायनिक मलहरूको प्रयोग दिनानुदिन लोकप्रिय बन्दै गएको छ । तर प्राङ्गारिक मलमा विरूवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्यतत्व उपलब्ध नहुने भन्ने चाहिँ पक्कै हैन ।
प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक मलमा आधारित खेतीपाति गर्न सकिएला तर रासायनिक मलको मात्र प्रयोग गरेर खेतीपाति गर्न सकिदैन भन्दा फरक नपर्ला । कारण नियमित रासायनिक मलहरूको प्रयोगको कारण माटोको प्राकृतिक गुणहरूमा असर पुगी माटो नै मृत माटो अर्थात् विरूवाको उत्पादन क्षमता नभएको माटोमा परिणत हुन सक्दछ ।
इतिहासलाई नै पल्टाएर हेर्ने हो भने, हरित क्रान्तिको समयमा खाद्यान्न बालीको उत्पादन बढाउनको लागि विभिन्न रासायनिक मलहरूको प्रयोगमा वृद्धि भयो ।
छोटो समयको लागि उत्पादनमा वृद्धि पनि भयो तर केही समयपछि माटोको स्वास्थ्यमा प्रतिकूल असर पुग्न गई फेरि उत्पादनमा गिरावट आउन थाल्यो । अन्ततः वैज्ञानिकहरूले नै रासायनिक मलको प्रयोगमा कमि गरि प्राङ्गारिक मलको उच्चतम प्रयोग गर्न सुझाव दिए ।
नेपालको माटोको अवस्था हेर्ने हो भने प्राङ्गारिक पदार्थ करिव १.६ प्रतिशत मात्र छ । जो निकै कम हो । प्राङ्गारिक मलको तुलनामा रासायनिक मलको प्रयोग पनि विस्तारै बढिरहेकै छ । आव २०७४/७५ मा जम्मा ३,४८,७४३.६२ मे टन रासायनिक मल वितरण गरिएको विवरण छ ।
माटोमा खाद्यतत्वको उपलब्धताको अवस्था पनि सन्तुलित छैन भन्दा फरक नपर्ला । माटोमा हुनुपर्ने र विरूवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्यतत्वको मात्राको लागि सन्तुलित रूपमा मलखादको प्रयोग गर्नुपर्दछ ।
तर देशमा एउटा पनि रासायनिक मल उत्पादन गर्ने उद्योग नहँुदा भने किसानहरूले आवश्यक मात्रामा गुणस्तरीय मल समयमै पाउन नसकेको समाचार हरेक बर्ष मूख्य शीर्षक बन्ने गरेकै छ । जसको कारण बाली उत्पादनमा उल्लेखनीय प्रगति हुन सकेको छैन् ।
अर्कोतिर नेपालको तराई तथा भित्रि मधेसका जिल्लाहरूका ग्रामीण भेगहरूमा भने पशुपालनबाट निःशुल्क उपलब्ध हुने बाली खाद्यतत्वले भरपुर गोबरको प्रयोग आगो बाल्ने घरेलु इन्धनको रूपमा गर्ने गरिएको छ ।
ग्रामीण सडकहरू या घरको छेउछाउमा ताजा गोबरको प्रयोग गरेर बनाइएका गुइठाको चाङ नै देख्न सकिन्छ । घरायसी काम खाना पकाउनको लागि गुइठाको प्रयोग हुन्छ ।
पशुहरूको गोठमा ओछ्याउनको लागि प्रयोग गरिने सोत्तर या बाँकी रहेको आहाराको मात्राको प्रयोग गरी गोबरको माध्यमबाट गुइठाको तयार गरिन्छ ।
यसरी तयार गरिएको गुइठामा कार्वनको मात्रा धेरै हुन्छ । जसको कारणले गर्दा गुइठा लामो समय सम्म निरन्तर बलीरहन्छ । ग्रामीण समाजमा मानिसहरू दैनिकरूपमा आवश्यक पर्ने इन्धनको रूपमा यसलाई प्रमुख रूपमा प्रयोग गरिरहेको पाइन्छ ।

स्रोतको सही उपयोग नगरी देश विकासको गफ हाक्दै हिड्दा हाम्रो हालत ज्यूका त्यू रहन्छ । गुइठा बलिरहन्छन युरिया भित्रिरहन्छ । किसान डुबिरहन्छन् । नेपाली किसानहरूले अबलम्वन गर्दै आएको मिश्रीत खेती प्रणालीमा केही वैज्ञानिक परिवर्तन ल्याइए रासायनिक मलको आयात घटाउन सकिन्छ । गुइठाको प्रयोग खाना पकाउन इन्धनको रूपमा प्रयोग गर्नु मानिसहरूको बाध्यता भएता पनि त्यसलाई वैकल्पिक माध्यमबाट प्रतिस्थापन गर्नु आवश्यक छ ।

राष्ट्रिय निकुञ्ज, सामुदायिक वन या वन संरक्षण र प्रयोग सम्बन्धीका नियमका कारण दाउराको सहज उपलब्धता नहुने र अन्य इन्धन स्रोतको पहुँच नभएका कारण यसको प्रयोग बढ्दै गएको पाइन्छ ।
तर खेतीपातिको लागि बाली खाद्यतत्व व्यवस्थापनको निम्ति भने बर्षेनी अर्बौको रासायनिक मल आयात गर्ने गरिएको छ ।
आफ्नै फार्ममा उपलब्ध गोबरको गुइठा बाली आयातित रासायनिक मलको प्रयोग गरी सोही देशको उत्पादनसँग मूल्यगत प्रतिस्पर्धा गर्नु मूर्खता नै हो भन्दा फरक नपर्ला । नेपालमा आयात गरिने अधिकांश रासायनिक मलहरू भारतबाट आउने गर्दछन् । जसले गर्दा हरेक बर्ष अर्बौ रूपैयाँ बाहिरिने गरेको पाइन्छ ।
उत्पादन पश्चात् तिनै भारतीय सामाग्रीहरूसँग नेपाली सामाग्रीहरूको प्रतिस्पर्धा गर्नुपर्दछ । उच्च उत्पादन लागतका कारण नेपाली उत्पादनहरूको मूल्य भारतीय मूल्यभन्दा बढी हुन आउछ ।
जसले गर्दा बजारमा भारतीय उत्पादनको एकाधिकार कायम हुन्छ र नेपाली व्यवसायहरूले घाटा व्यहोर्नु पर्दछ । यस्तो दयनीय अवस्थाको अन्त्य गर्न स्थानीय स्रोतहरूको सही परिचालन र प्रयोग गर्नु आवश्यक छ ।
मानिसहरूले अपनाउने प्रविधि र स्रोतको प्रयोगले नै हाम्रो बौद्धिक क्षमताको बारेमा धेरै कुरा बोल्दछ । नेपाललाई कृषि प्रधान देश भन्ने र बनेको हेर्न हामी सबै नागरिकको चाहना हो ।
कृषि क्षेत्रको विकासमा कायापलट ल्याएको दिवास्वपन देख्नुभन्दा आफ्नो वास्तविक अवस्थाको विश्लेषण गरी आवश्यक कदम चालिनुपर्छ नै ।
स्रोतको सही उपयोग नगरी देश विकासको गफ हाक्दै हिड्दा हाम्रो हालत ज्यूका त्यू रहन्छ । गुइठा बलिरहन्छन युरिया भित्रिरहन्छ । किसान डुबिरहन्छन् । नेपाली किसानहरूले अबलम्वन गर्दै आएको मिश्रीत खेती प्रणालीमा केही वैज्ञानिक परिवर्तन ल्याइए रासायनिक मलको आयात घटाउन सकिन्छ ।
गुइठाको प्रयोग खाना पकाउन इन्धनको रूपमा प्रयोग गर्नु मानिसहरूको बाध्यता भएता पनि त्यसलाई वैकल्पिक माध्यमबाट प्रतिस्थापन गर्नु आवश्यक छ ।
किसानहरूलाई रासायनिक मलको प्रयोग तत्कालिन अवस्थामा राम्रो देखिएता पनि दीर्घकालिन रूपमा भने सही नरहेको कुरा बुझाउन जरूरी छ ।
दिनहुँ बालिने गुइठालाई मलको रूपमा प्रयोग गरी रासायनिक मलखादमा लाग्ने लागत घटाउन सकिन्छ जसले बालीको कुल उत्पादन लागत व्यवस्थापनमा सहयोग गर्नुको साथै माटो गुणस्तर कायम गर्न र स्वस्थ बाली उत्पादनमा समेत टेवा पु¥याछ ।
स्थानीयस्तरमा उपलब्ध सहुलियत सामाग्रीहरूको प्रयोग गरी नाफामूलक कृषि व्यवसाय गर्नु नै दीर्घकालिन हुन्छ । अधिक उत्पादन मात्रै व्यवसायको सफलता हैन । लागत न्यूनीकरण पनि एक प्रमुख पक्ष हो ।
गोबर, पशु मुत्र र सोत्तरको प्रयोग गरि खाद्यतत्व भरपुर मलखादको तयार गर्न भने सकिन्छ । रासायनिक मल प्रयोग गरे जति सजिलो र छरितो नभएपनि दीर्घकालिन रूपमा भने प्राङ्गारिक मलको फाइदा भने अति नै रहेको छ ।
रासायनिक मलको प्रयोग गरिरहेको माटोमा एक्कासी मलको प्रयोग नगर्दा बाली उत्पादनमा अधिक गिरावट आउँदछ । तर प्राङ्गारिक मलको प्रयोग भने यसको उपलब्धताको आधारमा गर्न सकिन्छ ।
रासायनिक मलजस्तो अधिक मात्राको प्रयोग भएमा नकारात्मक असर देखाउने या कम भएमा पनि असर देखापर्ने जस्ता समस्या भने हँुदैनन् ।
गोबरको मात्र हैन पशु मुत्रको पनि त्यतिकै महत्व रहेको छ । बालीमा लाग्ने विभिन्न किराहरूको नियन्त्रणको लागि पनि प्रयोग गर्न सकिन्छ ।
माटोको गुणस्तर वृद्धिको लागि आवश्यक पर्ने विभिन्न सूक्ष्म जीवहरूको संख्या कायम गर्न पनि मद्दत गर्दछ । कृषि क्षेत्र होस् या अन्य कुनै क्षेत्र विदेशी आयातित वस्तु या प्रविधिको प्रयोग गर्नु नै विकास हो भन्ने धारणालाई मनैदेखि हटाउनु जरूरी छ ।
अरूको प्रविधि प्रयोग गरेर आफूलाई विकसित भएको ठान्नु पक्कै पनि बुद्धिमानी हैन । आफूसँग उपलब्ध स्रोतहरूको वैज्ञानिक प्रयोग गरी उच्च प्रतिफल लिनु पो विकास हुनु हो ।
रासायनिक मलको प्रयोग गर्नुपर्छ भन्दैमा गोबर बालेर युरिया किन्नु र अण्डा बेचेर पाउरोटी खानु उस्तै हैन र ? आफूसँग भएको स्रोतको प्रयोग विधिको विकास पो गर्नुपर्छ त अरूले विकास गरेको प्रविधिलाई आँखा चिम्लेर अनुशरण गर्नु आफू नै परनिर्भर हुनु हो । नेपाली समाजमा कृषि पेशालाई अशिक्षित वर्गहरूको पेशाको रूपमा लिइन्छ ।
तर अशिक्षित वर्गहरूले कृषि पेशा अङ्गाल्नु उनीहरूको बाध्यता हो । शिक्षित वर्गकोले कृषिगत व्यवसाय या उद्यम गरेको भए गुइठा बालेर युरिया किन्थेन्न होला । (दाहाल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रि.वि.स्नातक कृषि विज्ञानमा अध्ययनरत छन् ।)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here