देउखुरी, १० पुस । प्रदेश नम्बर ५ को सरकारले एसइईको नतिजा सुधारका लागि चासो देखाएको छ । गत बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अधिकांश विद्यार्थीहरुले डी ग्रेड ल्याएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रदेश ५ को सरकारले चासो देखाएको हो ।
प्रदेश सरकारले गणित तथा विज्ञान विषयको नतिजा सुधार अभियान सञ्चालन गरेको छ । गणित र विज्ञानको शिक्षामा गुणस्तरियता ल्याउन सम्बन्धित शिक्षकहरुको एकदिने कार्यशाला देउखुरीको लमहीमा भएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयका उपसचिव केशव अर्यालले अहिलेसम्म पनि गणित र विज्ञान विषयमा शिक्षा सुधार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अभियानले समस्या पत्ता लगाउने र समाधानको उपाय पनि खोज्न मद्दत पुग्ने छ । अभियान प्रदेश नम्बर ५ का सबै जिल्लामा सञ्चालन गरिने भएको छ ।
यसअघि दाङको घोराही र तुलसीपुर कार्यक्रम भैसकेको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले विद्यार्थीलाई कस्तो शिक्षा दिने र कस्तो बनाउने भन्ने शिक्षकमा भरपर्ने बताए ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले विद्यार्थीहरुलाई पनि नयाँ तरिकाबाट पठनपाठन गराएर उनीहरुको बौद्धिक विकासको लागि प्रेरित गर्न आवश्यक भएको बताइन् ।
बुधबार लमहीमा आयोजना गरिएको गणित तथा विज्ञान विषयको नतिजा सुधार अभियान कार्यक्रममा देउखुरीका चारवटै स्थानीय तहअन्तर्गतका सामुदायिक विद्यालयका विषयगत शिक्षकहरुको सहभागिता रहेको थियो ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका निमकान्त आचार्यको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
आदर्श माध्यमिक विद्यालय देउपुरका प्रधानाध्यापक शिवहरी पोखरेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन रुद्रमणि खरेलले गरेका थिए ।