भ्रमण वर्षको शुभारम्भमा तुलसीपुरमा निकालिएको ¥यालीमा मगर भेषभूषा सहभागी ।
शुभारम्भ भिजिट नेपाल …
दाङ १७, पुस । नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि शुरू भएको छ । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको छ । संघ, प्रदेश, स्थानीय सरकारले आफनो तरिकाले पर्यटन वर्षको भव्यरूपमा शुभारम्भ गरेका छन् ।
दाङमा जिल्ला पर्यटन प्रवद्र्धन समिति र स्थानीयतहहरूले आफ्नो तवरले शुभारम्भ गरेका छन् । जिल्लाले घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेका बाह्रकुने दहमा पर्यटन वर्षको उद्घाटन गरेको छ ।
कतिपय अवस्थामा फितलो शुभारम्भ भएको देखिन्छ । दाङ भएका शुभारम्भका दुईवटा कार्यक्रमको उद्घाटन प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले गरेका छन् ।
भ्रमण वर्षको उद्घाटन गर्दै सभामुख घर्तीले आर्थिक समृद्धिको लागि पर्यटन व्यवस्थापनमा चुनौती भएको बताएका छन् । ‘पर्यटन क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र आर्थिक समृद्धि गर्न सकिन्छ भन्नेमा नै चुनौती देखिएको छ’ प्रदेश सभामुख घर्तीले भने ‘पर्यटन क्षेत्रको पहिचान र प्रवद्र्धन महत्वपूर्ण कुरा हो ।’
दाङको पर्यटन क्षेत्रलाई प्रवद्र्धन विकासको लागि यो भ्रमण वर्षले महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन व्यवस्थापन गर्नको लागि होटल व्यवसाय, सडक सञ्जाल लगायतका पूर्वाधार विकास गर्नुपर्ने बताए ।
‘यहाँका साँस्कृतिक, धार्मिक स्थलहरूको प्रचार प्रसार कसरी गर्न सकिन्छ ? त्यो विषयमा यहाँका सम्बन्धित सरोकारवालाहरूले चासो राख्नुपर्दछ’ उनले भने ‘पर्यटन क्षेत्रका यिनै सामान्य कुराहरूलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ ।’
पर्यटक हाम्रा पाहुना हुन र उनीहरूको गन्तव्यहरूलाई सहज बनाउनको लागि सवारी साधनको पार्किङदेखि आवाससम्मको व्यवस्थापन गर्नुपर्ने बताए । धार्मिक परम्परा, साँस्कृतिक परम्पराहरूलाई जीवित राख्नको लागि गुरूयोजना बनाउन जरूरी रहेको बताए ।
पर्यटकमार्फत आर्थिक समृद्धि गरेर समृद्ध जिल्लाको रूपमा कसरी गराउन सकिन्छ ? भन्ने विषयमा चुनौती देखिएको बताए । पर्यटनसम्बन्धी काम गर्ने संस्थाहरूले साँस्कृतिक सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
जिल्लाको समृद्धिका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको चर्चा गर्दै सभामुख घर्तीले यसका लागि धार्मिक र साँस्कृतिक परम्पराको संरक्षण र ब्यवस्थित योजना निर्माण गर्न आवश्यक रहेको बताएका थिए ।
पर्यटन वर्ष मनाउनको लागि पर्यटन क्षेत्रमा क्रियाशील सरकारी तथा गैर सरकारी संस्था, दाङका १० वटै स्थानीयतहका प्रमुखहरूको नेतृत्वमा झाँकीहरू लिएर सहभागी भएका थिए । ‘पर्यटनको विकास हाम्रो चाहना, दाङको समृद्धि हाम्रो कामना’ भन्ने मुल नारासहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो ।
दाङका पर्यटन गन्तव्यलाई पनि व्यवस्थित पारिएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा भुमे नाच, मयुर नाच, पैसरू नाच, पञ्चेबाजा, नेवारी झाँकी थारूहरूको मघौटा नाच, छोक्रा नाच, डल्ले सराया नाच, सोरठी नाचसहित विभिन्न झाँकीहरू प्रदर्शन गरिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भ्रमण वर्षको उद्घाटन गरिएको हो ।
शान्ति पार्कबाट शुभारम्भ
तुलसीपुर उपमहानगरले राप्ती शान्ति उद्यानबाट पर्यटन वर्षको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाका पर्यटकीय स्थलमा १ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्षको भव्यरूपमा शुभारम्भ गरेको हो ।
भ्रमण वर्षको शुभारम्भमा ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानको उद्घाटन प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले गरेका हुन् ।
सभामुख घर्तीले आर्थिक विकासबिना नागरिक सुखी देश समृद्ध हुन नसक्ने भन्दै आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र रहेको बताए । ‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको छ,
सरकारको नारालाई साकार पार्न पर्यटन वर्ष पनि एक हो’ उनले भने– ‘पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटक बढाउनसके नै आर्थिक समृद्धि बढाउन सकिन्छ ।’
उनले तुलसीपुर उपमहानगरमा विभिन्न जातजाती तथा समुदायको आ–आफ्नै कला, संस्कृति रहेको भन्दै यसलाई पर्यटन प्रवद्र्धनमा जोड्न सकिने बताए । तुलसीपुर उपमहानगरपालिकाले ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानले तुलसीपुरको आर्थिक विकासलाई महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रजित थारूले पर्यटन प्रवद्र्धनका लागि स्थानीयस्तरमा भएका पर्यटकीय स्थलको प्रचारप्रसारसँगै संरक्षण गर्नुपर्नेमा जोड दिए ।
राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीबहादुर भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगर वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीले पर्यटन वर्षलाई सफल बनाउन नागरिकको सहयोग आवश्यक रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षता कार्यक्रम भएको थियो ।
कार्यक्रममा ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानका संयोजक रूपबहादुर खत्रीले उपमहानगरपालिकाले पर्यटन वर्षमा गर्ने कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
उपमहानगरपालिकाले सन् २०२० मा करिब १ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । कार्यक्रमको सहजीकरण उपमहानगरपालिका प्रेस संयोजक बसन्त विवश आचार्यले गरेका थिए ।
यातायात व्यवसायीको सक्रियता
तुलसीपुर, १६ पुस । औपचारिक रूपमा सुरू भएको भ्रमण बर्ष सफल पार्न दाङका यातायात ब्यवसायीहरूले पूर्णरूपमा अभियान चलाउने भएका छन् ।
भिजिट नेपाल वर्षको सुरूवात अगाडि नै विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको त्रिसिद्देश्वरी राप्ति यातायात सेवा प्रालिले बुधबार पनि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेको हो ।
तुलसीपुर उपमहानगरले तुलसीपुरको राप्ती शान्ति उद्यानमा आयोजना गरिएको कार्यक्रममा त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिले यस क्षेत्रका धार्मिक एव पर्यटकीय क्षेत्रहरूको स्टिकर सार्वजनिक गरेको छ ।
स्टिकरको प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र प्रालिका अध्यक्ष सुरेश हमालले संयुक्तरूपमा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा ‘घुम्न जाऔँ तुलसीपुर’ अभियानलाई थप प्रचारप्रसार गर्न र जिल्लामा भएका प्रमुख पर्यटकीय क्षेत्रहरूको थप प्रचार गर्न सो प्रालिले यस्तो अभियान सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
हमालका अनुसार यो अभियान वर्षभरि सञ्चालन हुने भन्दै अध्यक्ष हमालले भ्रमण वर्ष सफल पार्न यातायात ब्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । यस अघि प्रालिले ‘घुम्न जाऔँ दाङ’ अभियानको तुलसीपुर, घोराही र लमही क्षेत्रबाट प्रचारप्रसार अभियानको सुरूवात शुरू गरेको छ ।