- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरपहाड उत्खनन्मा काँग्रेसको चासो

पहाड उत्खनन्मा काँग्रेसको चासो

- Advertisement -spot_img

तुलसीपुर, ९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को राम्रीक्षेत्रमा भइरहेको अनाधिकृत पहाड उत्खनन्मा नेपाली काँगेस दाङले चासो दिएको छ ।
सत्ताको आडमा गैरकानुनी र अवैध उत्खनन् गरिएको भन्दै त्यो तत्काल रोक्नसमेत दाङ काँग्रेसले आग्रह गरेको छ । नेपाली काँग्रेसका नेताहरूले पहाड फोड्ने गैरकानुनी काम तत्काल बन्द गर्नुपर्ने बताएका थिए ।
एकदिन अघि उत्खनन् स्थलको अनुगमन गरेको नेपाली काँग्रेस, नेपाल तरूण दल र नेविसंघको टोलीले मंगलबार तुलसीपुरमा छलफल गर्दै पहाड उत्खनन्ले तुलसीपुरलाई पानीको संकट पार्ने, वातावरणमा प्रभाव पार्ने हुँदा तत्काल गैर कानुनी कार्य रोक्न र अवैध काम गर्नेलाई कानुनी कारवाही गर्न राज्यसँग मागसमेत गरेको छ ।
केही दिनदेखि त्यो क्षेत्रमा सडक फराकिलो बनाउने बहानामा पहाड र त्यसमा भएको ढुङ्गा, चुन ढुङ्गा, विना अवरोध उत्खनन् र ओसार पसार भइरहेको छ ।
काँग्रेसले दाङका सभापति कीर्तिबहादुर खड्काले सत्ताको आडमा कसैले पनि प्राकृतिक सम्पदामाथि दोहन गर्न नपाइने बताए ।
उनले कुनै पनि बहानामा पानीको मुहानक्षेत्र उत्खनन् गर्न दिन नहुने बताए । अहिले दैनिक तीनवटा ठूला मेसिनरी उपकरण लगाएर उत्खनन् गर्दै सयौँ ट्रिप ढुङ्गाजन्य वस्तुहरू उत्खनन् र निकासी हुँदै आएको छ ।
सडक चौडा गराउने भन्दै तुलसीपुर खानेपानी संस्थाले मुहानको रूपमा प्रयोग गर्दै आएको धइरेनी, बाख्रे, छरछरे र राम्रीको खानेपानी मुहानमा पुरिनुका साथ पाईप लाइनमा क्षति पुगेको हो ।
त्यस क्षेत्रका स्थानीयले सल्यान रोडको पैयाखोरेदेखि सातबाससम्म सडक निर्माण तथा चौडा गरेवापत घोराही तुलसीपुर फोरलेन सडक निर्माण गर्ने कम्पनीलाई ढुङ्गा निकासी गर्न दिने गत मंसिरमा निर्णय गरेको बुझिएको छ ।
तुलसीपुरका बासिन्दाले खादै आएकोे पानीको मुहान र विस्तार गरिएका पाइपलाई क्षति पु¥याउँदै गरेको सडक बिस्तारको कार्य तत्काल रोक्न काँग्रेसले आग्रहसमेत गरेको छ । भगवती सामुदायिक वन समूह क्षेत्रमा उत्खनन् गरिएको हो ।
नेपाल तरूण दलको आयोजनामा मंगलबार तुलसीपुरमा आयोजना गरिएको खानेपानी मुहान संरक्षणका लागि सर्वदलीय तथा सर्वपक्षीय अन्तरक्रिया गरिएको छ । नेपाल तरूण दल दाङका अध्यक्ष टीका घर्तीले खानेपानीको मुहान र पाइपको क्षति गर्दै गरिएको सडक विस्तार बुधबार बिहान साढे ७ बजेसम्ममा रोक्न चेतावनी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकले वडा नम्वर ३ को झाक्री ढुङ्गादेखि सातबाससम्म सडक बनाउने गरेको निर्णय अनुसार सडक बिस्तार गर्ने क्रममा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वितरण गर्दै आएको पानीको मुहान र पाइपमा क्षति पुगेको तरूण दलका अध्यक्ष घर्तीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाहले झाँक्री ढुङ्गादेखि सातबाससम्म सडक चौडा बनाउने निर्णय तुलसीपुर उपमहानगरपालिकाको ७१औँ बैठकले गरेको र बाटो खन्दा ईआई/आई (वातावरणीय प्रभाव मूल्यांकन) गर्ने निर्णय भएको बताए ।
नियतमाथि आशंका बढेको छ, सडक चौडा होइन, जंगल विनास र उक्त क्षेत्रको ढुङ्गा उत्खनन् हो, उनले भने । हेभी ईक्युपमेन्ट प्रयोग गर्दै दर्जनौँ टिप्परले ढुङ्गा निकास गरिरहेका छन्, तर सम्बन्धित पक्ष मौन छ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सदस्य रञ्जन गौतमले प्रतिसेकेन्ड ३० लिटर पानी निस्किने मुहान र पाइप लाइनमा क्षति हुँदा उपभोक्तालाई पानी पु¥याउन कठिनाई भएको जानकारी दिए ।
काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले ‘सत्ता र शक्तिको आडमा ढुङ्गा उत्खनन् भइरहेको छ, नियमविपरीत ढुङ्गा उत्खनन् हुँदा पनि स्थानीय सरकार मौन बस्नु भनेको नै समर्थन गरेको जस्तै भएको बताए । युवा नेता तथा व्यवसायी जनक खरालले विकास नाममा विनास गर्न नपाइने भन्दै पानीको स्रोत र प्राकृतिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताए ।
वातावरणीय प्रभाव पार्ने गरी दादागिरी ढंगले ढुङ्गा उत्खनन् गरिरहेको स्थानीय चित्रबहादुर वलीले बताए । ‘घर छेउ भएर दैनिक १०÷१२ वटा टिप्पर कुद्ने गरेका छन्, घर नै थर्किने गरी टिप्पर चल्दा पहिले बनेको सडक पनि बिग्रिसक्यो’
उनले भने– ‘दादागिरी नै छ, सडक बनाउने भन्दा पनि ढुङ्गामाथि नै नजर गएको देखिएको छ । पहाडको मापदण्ड विपरीत हुँदा ढुङ्गाजन्य वस्तुको उत्खनन् हुँदा बस्ती नै जोखिममा पर्ने खतरा रहेको छ । खानेपानीका मुहान खनिएका छन्’ उनले भने– ‘खानेपानीको मुहान भाँस्सिएको छ ।’
त्यस अवसरमा काँग्रेस नेताहरू गेहेन्द्र गिरी, घनश्याम रेग्मी, शंकर गिरी, खिमप्रसाद खराल, लेवेन्द्र धिताल, केशव आचार्य, खिमबहादुर वली, जनक खराल, सुरेश हमाल, ललितजंग शाह,
शोभाकर सापकोटालगायतले दुई किलोमीटर क्षेत्रफलमा पानीको पाइप र मुहानमा पु¥याएको क्षति र ठूलो मात्रामा सामुदायीक वन उत्खनन् गरी ढुङ्गा निकासी गर्ने कार्यका विरूद्ध कानुनी उपचार र दबाबमूलक कार्यक्रम अगाडी बढाउनुपर्ने बताएका थिए ।

तरूण दलले आन्दोलन गर्ने

यसैबीच खानेपानीको मुहानमा भएको उत्खननन्प्रति नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले आपत्ति जनाएका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले मंगलबार संयुक्तरूपमा विज्ञप्ति प्रकाशित गरी सडक फराकिलो बनाउने नाममा प्रकृतिमाथि नै अत्याचार गरिरहेको भन्दै अवैध उत्खनन् तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
नेपाल तरूण दल दाङका अध्यक्ष टिका घर्ती र नेपाल विद्यार्थी संघका कोषाध्यक्ष अरूण लहरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपमहानगरपालिकाभित्रका उपभोक्तालाई मारमा पार्ने गरी खानेपानीको मुहानमा भइरहेको उत्खनन् बन्द गर्न आग्रह गरिएको छ । तत्काल बन्द गरिएन भने कडा संघर्षमा जाने छौँ ।
‘कार्यक्रमको विषय प्रवेश अनिल कार्कीले गराएका थिए भने सहजीकरण तरूण दलका जिल्ला सचिव धु्रव आचार्यले गरेका थिए ।

निर्णय नै अन्यौलमा

तुलसीपुर उपमहानगरको यही कार्तिक ७ गते बसेको ७१आँै कार्यपालिका बैठकले निर्णय नम्बर २ मा राम्रीधाम–सातबास सडक फराकिलो उपभोक्तामार्फत बनाउने र त्यसबाट जम्मा भएका ढुङ्गा चट्टा लगाएर राख्ने निर्णय गरिएको छ ।
तर कति मिटर सडक चौडा गर्ने भनेर निर्णय कतै देखिएको छैन् ? उपमहानगरपालिकाले लमही–घोराही– तुलसीपुर सडकको स्तरोन्नतिका लागि आवश्यक पर्ने ढुङ्गाजन्य वस्तुहरूको उत्खनन्का लागि भारतीय कम्पनी तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिलाई
आइईका लागि सिफारिस गर्ने निर्णय गरेपनि आइईबिनै अष्टभैरव निर्माण सेवाको नामबाट ठेकेदार अनुप पाण्डे, जमिन राना र जनक डाँगीले पैयाखोरे–सातावास सडक निर्माणसँगै ढुङ्गा उत्खनन् गरिरहेका छन् ।

पानीका पाइप क्षतविक्षत

राम्रीधाम सातबास जोड्ने सडक फराकिलो बनाउँदा तुलसीपुर खानेपानीको पाइपमा क्षति पुगेको छ । सडक फराकिलो बनाउने नाममा खानेपानीका पाइपमा क्षति पु¥याएको तर सम्बन्धित ठेकेदारले मर्मतमा कुनै चासो नदेखाएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले बताए ।
‘खानेपानीका पाइपमा ठाउँ–ठाउँमा क्षति पुगेपछि खानेपानीको संकट देखापरेको छ, सडक मर्मत गर्ने बहानामा खानेपानीका पाइपमा क्षति पुगे पनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन्’ उनले भने– ‘विकासको नाममा बिनास निम्तिएको छ, खानेपानीका पाइप मर्मतका लागि सम्बन्धित ठेकेदारसँग आग्रह गर्दछौँ ।
सडक बनाउँदा तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थासँग कुनै सहमति नगरी एकलौटी ढंगले काम अघि बढाउँदा आफूहरूले क्षति व्यहोर्नुपरेको अध्यक्ष वलीले बताए ।
‘बिग्रिएका पाइप मर्मतका लागि झण्डै एक करोड बजेट लाग्छ, नागरिकको मौलिक अधिकारको रूपमा रहेको खानेपानीबाट बञ्चित गर्ने किसिमले आफूहरूसँग कुनै सहमति भएको छैन’ । सडक विकासको विरोधी आफूहरू नभएको स्पष्ट पार्दै उनले ठेकेदारको चरम लापरवाहीले खानेपानीका पाइपमा क्षति पुगेको बताए ।
प्रतिसेकेण्ड ३० देखि ४० लिटर पानी आउने पाइप सडक मर्मतका क्रममा बिग्रेपछि १५ दिन यता तुलसीपुरमा खानेपानीको संकट पर्न थालेको छ ।
पाइप मर्मतका लागि कम्तिमा एक महिना लाग्ने र कम्तीमा एक करोडको खर्च लाग्ने अनुमान छ । शक्तिको आडमा विकासको नाममा खानेपानीका पाइपमा क्षति पु¥याएको खानेपानी संस्थाका सदस्य रञ्जन गौतमले बताए ।
उनले पाइप तत्काल मर्मत नभए खानेपानीको संकट झनै निम्तिने भन्दै खानेपानीजस्तो क्षेत्रमा संवेदनशील गम्भीर बन्न गरेका छन् ।
 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here