- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरसडक सुरक्षाको चुनौती र निराकरण

सडक सुरक्षाको चुनौती र निराकरण

- Advertisement -spot_img

दाङसहित देशभर सवारी दुर्घटनाको स्थिति भयावह बन्दै गएको छ । नेपालमा दैनिक ७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।
बढ्दो सवारी दुर्घटनाका कारण गन्तब्यमा हिडेको यात्रु फर्कन्छ कि फर्कदैन् चिन्ताको विषय बनेको छ । सडक असुरक्षाका कारण विद्यालय हिडेको बालबालिकादेखि गन्तब्यमा हिडेको यात्रु दुर्घटनाको जोखिममा परेको छ । जिउ नै सिरिङ्ग हुने गरी हुने सवारी दुर्घटनाले नागरिक आहात भएका छन् ।
सवारी दुर्घटना रोक्न कसैले चाहेर रोक्न त सकिदैन् तर पनि दुर्घटना न्यूनीकरण गर्न पक्कै सकिन्छ । भौगोलिक विकटताका कारण दुर्घटनाबाट झन धेरै क्षति हुने गरेको छ । सडकको अवस्था सुधार हुन नसक्दा पनि दुर्घटना बढ्दो क्रममा छन् । दुर्घटना न्यूनीकरण गर्न विभिन प्रयास भएपनि ति प्रयास सार्थक बन्न नसकिरहेको स्थिति छ ।
दुर्घटनामा नागरिकले अनाहकमा कहिलेसम्म ज्यान गुमाउनुपर्ने स्थिति हो ? आम चासोको विषय बनेको छ । बढ्दो सडक असुरक्षालाई कसरी सुरक्षित गर्न सकिन्छ ? भन्ने विषयमा सम्बन्धित सरोकारवालाहरू चिन्तित बन्नुपर्ने हो । ट्राफिक नियम पालनमा कडाईसँगै सडकको अवस्था सुधार गर्नका लागि गम्भीर बन्नुपर्छ नै ।
अहिले भएका प्रयासले दुर्घटना न्यूनीकरण हुन्छन् भन्न सकिदैन् । किनभने पछिल्लो घटनाक्रमले पनि दुर्घटना न्यूनीकरणका लागि अलि बढी ध्यान दिनुपर्छ भन्ने सन्देश दिएको छ ।
दुर्घटना न्यूनीकरणका प्रयास किन सार्थक बन्न सकिरहेका छैनन् ? भन्ने कुराको खोजी गर्न आवश्यक छ । आज हामीले दुर्घटनाको कारण र निराकरणका लागि विभिन्न सरोकारवालासँग प्रदेश टुडेको राउण्ड टेबलमा कुराकानीको सारसंक्षेपमा प्रस्तुत गरेका छौं ।


सबै जिम्मेवार हुनुपर्छ

सुरेशविक्रम शाह
डिआइजी (प्रदेश प्रहरी प्रमुख)
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर

दुर्घटनाले मानवीय तथा भौतिक क्षति थुप्रै भएका छन् । सडक सुरक्षा चुनौतीको थपिदै जाँदा सबैपक्ष जिम्मेवार बन्न आवश्यक छ । दुर्घटना मुख्य तीन कारणले हुने गरेका छन् ।
मानवीय, सडक संरचना र सवारीको अवस्था गरी मुख्य तीन कारणले सवारी दुर्घटना हुने गरेका छन् । चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुने प्रमुख कारण हो ।
तर चालककै कारणले मात्र सवारी दुर्घटना हुन्छन् होइन् जस्तो लाग्छ । सडकको संरचनाका कारण पनि दुर्घटना हुनेक्रम बढेको छ । यहाँको भौगोलिक अवस्था, अस्तव्यस्त सडक संरचना, सवारी साधनको कमि कमजोरीका कारण पनि सवारी दुर्घटना बढिरहेका छन् ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा पहिला चालकसँगै सबै उत्तिकै जिम्मेवार छन् । ट्राफिक सचेतनाका कार्यक्रम प्रभावकारी नभएका पनि होइन्, व्यक्ति स्वयम् जिम्मेवार हुन नसके सवारी दुर्घटना न्यूनीकरण हुन्छ भन्ने हुँदैन् ।
दुर्घटना निम्तिन नपावस् भनरे सडकमा धुलो, धुवाँका बीचमा पनि ट्राफिक प्रहरी खटिरहेका छन् । ट्राफिक नियम पालनामा कडाई गरेरमा दुर्घटना कमि आउने त होइन् तर पनि केही न्यूनीकरण हुने हो ।
अर्को कुरा के हो भने ट्राफिक सचेतनाबारे चालक अनविज्ञ छन् भन्ने होइन् । ट्राफिक नियमबारे अधिकांश चालक जानकार हुँदाहुँदै पनि कतिपय अवस्थामा चालकको अटेरीपन पनि देखिन्छ ।
चालक नै जिम्मेवार हुन सकेन भने त ट्राफिक नियमबारे जति सचेतना दिएपनि प्रभावकारी हुँदैन् । चालकदेखि यात्रुसम्म सबै जिम्मेवार नागरिक भएमात्र दुर्घटना न्यूनीकरण हुनसक्छ ।
कतिपय अवस्थामा यात्रु पनि सवारीको लोडको अवस्थालाई नहेरीकन यात्र गरिरहेका पनि हुन्छन् । सवारीको क्षमताभन्दा बढी लोड भएपछि दुर्घटना हुने पनि गरेका छन् ।
दुर्घटना न्यूनीकरणका लागि ‘चालकसँग दुई मिनेट’ भन्ने कार्यक्रम पनि सञ्चालन भइरहेको छ । यसले पनि दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ । दुर्घटना रोकेर रोकिने त होइन् तर न्यूनीकरण गर्न सकिन्छ ।
भौगोलिक अवस्थाका कारण पनि सडकको अवस्था सुधार गर्न कठिन छ । सडकको अवस्था सुधार भयो भने पनि दुर्घटनाबाट हुने क्षति कम गर्न सकिन्छ । अहिले बजारकै सडकहरूको अवस्थाले दुर्घटनाको जोखिम बढेको छ ।
सडकको अवस्था सुधारसँगै ट्राफिक नियमको पूर्णपालना गरी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । अहिलेसम्म भएका प्रयासले केही भएपनि दुर्घटना न्यूनीकरण भएका छन् तर अझै पर्याप्त त छैनन् ।
ट्राफिक नियम पूर्णपालनाका लागि जनशक्ति व्यवस्थापन पनि चुनौतीको रूपमा छ । तिब्रगतिको मापन गर्ने यन्त्र पनि नभएका कारण पनि सवारीको गति मापन हुन सकिरहेको छैन् । सवारी गतिको मापन नहुँदा पनि दुर्घटना बढिरहेका छन् ।
गतिको मापन हुन सक्यो भनेपनि दुर्घटना न्यूनीकरणमा केही सहयोग पुग्छ । हिउँदमा अहिलेको यो सयममा मौसमका कारण पनि दुर्घटनाका घटना बढिरहेको पाइएको छ । हुस्सुका कारण पनि सवारी साधन एकआपसमा ठक्कर खाने गरेका छन् । पुस, माघको यो समयमा अझ बढी ख्याल गर्न आवश्यक छ ।
पहाडी संरचनामा अहिले सवारीमा क्षमताभन्दा बढी बोक्ने प्रचलन कायमै रहेको छ । यसको अन्त्यका लागि पर्याप्त सवारी साधनको व्यवस्था गर्नुपर्छ । भ्रमणमा निस्कदा नयाँ पहिले नपुगेको ठाउँमा जान थालिएको छ भने सडकको अवस्थाको पर्याप्त जानकारी लिनु आवश्यक छ ।
नयाँ सडक संरचनाको अवस्थाको बारेमा जानकारी नहुँदा पनि दुर्घटना घट्ने गरेको पाइन्छ । पुराना सवारी साधन सञ्चालनमा अझ कडाई गर्न सकियो भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।


सडकको संरचना सुधार गरौं

केशव भण्डारी
चालक एवं अध्यक्ष
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही भन्ने गरिन्छ तर म यो कुरामा मान्दैन् । किनभने एउटा सवारी चालकले गन्तव्यमा यात्रुलाई कसरी लैजानै भन्ने कुरामा सधैँ गम्भीर हुन्छ । चालकले आफ्नो ज्यान जोखिममा पारेर सवारी दुर्घटना निम्त्याउने काम गर्न सक्दैन् । हाम्रा सडक संरचनाका कारण सवारी दुर्घटनमा धेरै मानवीय क्षति हुने गरेको छ । सडकको विकास जसरी तिब्र गतिमा भएको छ तर यसको गुणस्तर छैन् ।
भौगोलिक संचरनाका कारण पहाडी सडकहरू जोखिम छन् भने तराईका सडकहरू व्यवस्थित नहुँदा पनि दुर्घटना बढिरहेका छन् । बजारका सडकहरूमा पैदलयात्रुका लागि छुट्टै लेन छैन् । लेन हुने ठाउँमा पनि पैदलयात्रुले पालना गर्न नसकिरहेको अवस्था छ । बजारमा सुपरमार्केट तथा बैंकहरूका आफ्नै पार्किङ स्थल छैनन् ।
जसका कारण अस्तव्यस्त पार्किङ गर्नुपरिरहेको छ । अव्यवस्थित पार्किङले पनि दुर्घटनाको जोखिम बढाएको छ । बजारका सडकहरूमा बिक्रीका लागि सडकै कब्जा गरेर राख्ने गरिएको छ । यी कारण पनि दुर्घटना बढिरहेका छन् ।
चालकलाई नै दुर्घटनाको कारण देखाउने गरिएको छ, केही चालक हुनुहोला, तर मलाई लाग्छ, दुर्घटना न्यूनीकरण गराउन चालकजति जिम्मेवार अरू छैनन् जस्तो लाग्छ । दुर्घटना भनेकै कसैले चाहेर रोकिने र कसैले चाहने भन्ने त हुँदैन् तर न्यूनीकरण गराउन सकिन्छ । दुर्घटनामा मानवीय क्षति बढ्दै गएको छ भने धनसम्पत्ति पनि नाश पनि हुने गरेको छ ।
दुर्घटनाबाट मानवीय क्षतिलाई कम गराउन चालक जिम्मेवार पनि छौँ तर सडकको अवस्था सुधार गर्न पनि आवश्यक छ । हामीले मापसे गरेर सवारी चलाउन हुँदैन, सवारी चलाउँदा मोवाइल चलाउन हुँदैन,
महिला, बालबालिका तथा अशक्त र जेष्ठनागरिक लगायत यात्रुलाई सम्मान गर्नुपर्छ भन्ने कुरामा प्रतिवद्ध पनि छौँ । त्यसैगरी बालश्रम नलगाउने, तिब्रगतिमा सवारी नचलाउने लगायत ट्राफिक नियमको पालन गरेर सवारी चलाउने प्रतिवद्धता गरेका छौँ ।
दुर्घटना न्यूनीकरणका लागि सचेतनाबाहेक सडक संरचना निर्माणले तिब्रता पाउन सकिरहेको छैन् । सम्बन्धित सरोकारवाला निकायले सडकको अवस्था सुधार गर्न लाग्नुपर्छ जस्तो लाग्छ । हामी चालकहरूका पनि केही कमजोरी होलान् । ति कमिकमजोरी सुधार गर्नुपर्छ ।
आपतकालिन दुर्घटनामा हुने मानवीय क्षति कम गर्नतिर चालक हामीहरू जिम्मेवार छौँ । यातायात व्यवसायीले सवारीमा क्षमताभन्दा बढी यात्रु बोक्ने परम्परा अन्त्य गरिनुपर्छ र यात्रु पनि क्षमताभन्दा बढी सवारी छ भने विकल्प खोज्नुपर्छ । पुराना सवारी साधनले पनि दुर्घटना बढाएको हुनसक्छ । यसप्रति पनि हामी जिम्मेवार र सचेत हुनैपर्छ ।
लामो यात्राका सवारी साधनमा कम्तिमा पनि दुईजना चालकको व्यवस्था गरौँ । जसले गर्दा पनि सवारी दुर्घटना न्यूनीकरण हुन्छ । यात्रुले पनि चालकलाई सवारी चलाउन अत्याउने गरेको पाइन्छ ।
सवारीको गतिलाई नियन्त्रणमा राख्ने किसिमको बनाउनुपर्छ । सवारी दुर्घटना न्यूनीकरणका लागि हामी सबै जिम्मेवार बन्न सक्यौँ भने पक्कै पनि दुर्घटना न्यूनीकरण हुन्छ ।


पैदलयात्री लेनको व्यवस्था

केएल थापा
सर्वसाधारण

सवारी दुर्घटनामा नागरिकहरूले दैनिकजसो अकालमा मृत्युवरण गर्न परिरहेको छ । सडकको दुरावस्थादेखि चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढिरहेका छन् । सवारी दुर्घटनामा पैदलयात्रु समेत सुरक्षित हुन सकिरहेका छैनन् । नागरिकले अनाहकमा ज्यान गुमाउने पर्ने अवस्थाको अन्त्य कहिले होला र ?
बजारदेखि गाउँका सडकको अवस्था दयनीय छ भने बजारमा सडकसमेत सुरक्षित छैनन् भने पहाड र गाउँका सडकको अवस्था झन कहिले सुधार होला र ? दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम पनि भएको सुन्नमा आउँछ तर दुर्घटनाको अवस्था भने ज्यूँकात्यूँ छ ।
एकपछि अर्को ठुला दुर्घटना बढ्दै जाँदा गन्तव्यमा हिडेको यात्रु, पैदल हिडेको यात्रु असुरक्षित बन्दै गएको छ । सडकको संरचना सुधार हुन सकेको छैन् भने नियम विपरीत सवारी चलाउने सवारी चालकलाई ट्राफिक प्रहरीले जरिवाना लिएर छोड्ने औपचारिकता मात्र पूरा गरेको छ ।
अब यतिले सवारी दुर्घटना न्यूनीकरण हुन्छ जस्तो लाग्दैन् मलाई त । दुर्घटनाको दर एकपछि अर्को गरेर बढिरहेको छ ।
सबै पक्षले दुर्घटना न्यूनीकरणमा औपचारिकतामात्रै पूरा गरेका छन् । जिम्मेवार कोही पनि नहुँदा समस्या झनै सिर्जना भएको छ । स्थानीय सरकार पनि सडक अवस्था सुधार गर्न, अव्यवस्थित बजार व्यवस्थापनमा कुनै ध्यान दिएको पाइदैन् । सरकारले ध्यान पु¥याउन नसक्दा पनि सडक अस्तव्यस्त बनिरहेको छ ।
सम्झौता अवधिमा सडक निर्माणको काम कहिले पनि सकिदैन् । निर्माण शुरू गर्ने तर समयमै निर्माणको काम सम्पन्न गर्न नसक्दा पनि दुर्घटनाको जोखिमहरू बढाएको छ ।
सवारी चालकले पनि सवार चलाउँदा होसियारी अपनाउन नसक्दा विभिन्न दुर्घटनाहरू हुँदै आएका छन् । बजारका सडकमा यत्रतत्र गरिएको व्यवसायले यात्रु हिड्ने ठाउँ पनि छैन् । जसका कारण पनि पैदलयात्रु सडकमा हिड्नुपर्ने बाध्यता र दुर्घटनाको जोखिम बढाएको छ ।
अव्यवस्थित रूपमा गरिने व्यवसायलाई व्यवस्थित गरी पैदलयात्री हिड्ने वातावरण सहजरूपमा व्यवस्थापन हुनुपर्छ । सडक निर्माण गर्दा नै पैदलयात्रु हिड्ने लेन नै बन्न सकिरहेको छैन् । पैदलयात्रुका लागि छुट्टै लेन बन्न नसक्दा पनि दुर्घटनाका जोखिम बढिरहेका छन् ।
भौगोलिक विकटताका कारण पनि सडकयात्रा असुरक्षित छ तर पनि सम्भव हुने ठाउँमा सडकका संरचना सुधार गर्न सकिन्छ । दुर्घटनाग्रस्त ठाउँको परिचान गरी संकेतबोर्ड राख्न जरूरी देखिन्छ ।
यसले पनि नयाँ सवारी चालकलाई सवारी चलाउँदा सहज हुनेछ । विद्यालय तथा बढी व्यस्त हुने ठाउँमा सवारीको पार्किङ व्यवस्थित बन्न आवश्यक छ ।
हामी सर्वसाधारण नागरिक पनि दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ । कुनै पनि सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोकिरहेको छ भने सकेसम्म त्यस्तालाई निराकरण गरौँ, आफू पनि त्यस्ता सवारी साधनमा यात्रा नगरौँ । दुर्घटनाका कारण खोजी प्रतिवेदन तयारी गरी न्यूनीकरणका लागि आजैदेखि शुरूवात गरौँ ।


ट्राफिक सचेतना पाठ्यपुस्तकमै व्यवस्था हुनुपर्छ

शान्ता महतारा
विद्यार्थी
राप्ती बबई क्याम्पस

सवारी दुर्घटना न्यूनीकरणका लागि भएका प्रयास सार्थक बन्न सकिरहेको छैन् । विद्यालय जाँदै गरेका बालबालिका असुरक्षित छन् । सवारी चालकको लापरबाही र बिगबिगी बढेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि हुने चेतनामूलक कार्यक्रम कोठामै सीमित हुने गरेका छन् । घरबाट निस्किसकेपछि गन्तव्यमा पुग्न सकिन्छ सकिन्न आफैले आफैलाई प्रश्न गर्ने हुन्छ । सडक यातायात नेपालीलाई विकल्पहीन विकल्प हो ।
जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुँच बाहिर रहेकाले सडक यातायात मात्रै भरपर्दो यात्राको माध्यम हो । तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बढेको छ ।
दुर्घटनामा निर्दोष नेपालीहरूले अकाल मृत्युवरण गर्नुपरेको छ । अपाङ्गता भएर बाँच्न बाध्य छन्, धनको क्षति त्यत्तिकै छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठूलो क्षति भईरहेको छ । यस्तो अवस्थामा एकपक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका कारणहरू खोजिन आवश्यक छ ।
दुर्घटना न्यूनीकरणका लागि के गर्नुपर्छ ? चालकदेखि विद्यार्थीमा सचेतनाका कार्यक्रम लैजान जरूरी छ । नीतिगत रूपमा के परिवर्तन गर्नुपर्छ भन्ने बारेमा सबैको ध्यान आकृष्ट हुन जरूरी छ ।
दुर्घटनाका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न अर्कोकुरा दोषीलाई कानुनी दायरामा ल्याउन सक्नुपर्छ । दोषीलाई कडा कारवाही नहुँदासम्म पनि सवारी दुर्घटनाको लापरबाही कमी हुनेवाला छैन् ।
केही दिन अघिमात्रै निर्दोष बालिकाले ज्यान गुमाउनुप¥यो, अर्को बालिका घाइते भइन् । सवारी दुर्घटनाका दोषीलाई कानुनी कारवाही नहुँदा पनि दुर्घटना अझै बढ्ने देखिन्छ । कानुनी कार्यान्वयन गर्न आवश्यक छ ।
विद्यालय क्षेत्रमा सीमित गतिमा सवारी चलाउने भनिएपनि कार्यान्वयनमा फितलो देखिएको छ । यसकै उदाहरण बिहीबारको घटना हो । यस्तै स्कुले बालिकाले कहिले अकालमा मृत्युवरण सवारी दुर्घटनाकै कारण गर्नुपर्ने हो, निकै बिडम्बना हो ।
जिम्मेवार निकायलाई दुर्घटना भवितव्य घटना त हो भनेर समान्यरूपमा लिने गरेको पनि पाइन्छ । जसका कारण पनि दुर्घटना बढ्दै गएका छन्् । सवारी दुर्घटना सडकको संरचनासँगै चालकको लापरबाहीकै कारण बढी हुने गरेका छन् ।
बजारमा सवारीको तिब्र गति र ग्रामीण सडकको अवस्था सुधार हुन नसक्नुले दुर्घटनाको जोखिम बढिरहेको पाइन्छ । जोखिम न्यूनीकरण गर्न भएका प्रयासलाई फराकिलो दायरामा लैजानुपर्छ ।
नियमविपरीत सवारी चलाउने चालकलाई कडा कारवाही गर्ने, सार्वजनिक यातायातको सुविधा पर्याप्त गराउने, सडकको अवस्था सुधार गर्ने र पुराना सवारी साधनलाई निषेध गर्ने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
विद्यालयस्तरमा पनि ट्राफिक नियमबारे पाठ्यपुस्तकमै व्यवस्था गर्न आवश्यक छ । अहिले पनि कतिपय सर्वसाधारण नागरिक जेब्रा क्रसिङ लगायतका ट्राफिक नियमबारे सचेतना नुहुँदा पनि सवारी दुर्घटना बढिरहेको पाइन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here