Friday, April 12, 2024
Homeफिचरसडकमै जान्छ ज्यान

सडकमै जान्छ ज्यान

- Advertisement -spot_img

दैनिक दुर्घटना …
दाङ, ४ पुस । बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ गोदाम घर नजिकै रा १ त १४३५ नम्बरको ट्याक्टरले एक स्कुले बालिकालाई ठक्कर दियो ।
तुलसीपुर–७ शिवनगरकी बिजिता केसीलाई टेक्टरले ठक्कर दिएपछि गम्भीर घाईते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भयो ।
केसीसँगै दुर्घटनामा परेकी मनिषा वली घाइते भएको भई प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुधबार टिप्परको ठक्करबाट गम्भीर घाइते मोटरसाईकल चालकको मृत्यु भयो । लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५ पहरूवा चोकमा बुधबार बिहान साढे ५ बजेको समयमा तुलसीपुरदेखि काठमाडौँ जाँदै गरेको रा ५ प ७१५३ नम्बरको मोटरसाईकललाई पूर्वबाट पश्चिम गइरहेको टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २२ वर्षिय शिवराज डाँगीको बुटवलमा उपचारका क्रममा मृत्यु भयो ।
दाङमा पछिल्लो समय दिनहुँ सवारी दुर्घटना भइरहेका छन् । सवारी दुर्घटना परेर मृत्यु नभएको, घाइते नभएको तथा दुर्घटना नै नभएको दिन कुनै खाली छैन् ।
दिन प्रतिदिन सवारी दुर्घटना बढ्दै गएपछि मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ भने गम्भीर तथा सामान्य घाइते हुने संख्या पनि बढदै गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङमा मंसिर महिनामात्रै सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार ५ जना पुरूष, ४ जना महिला र एकजना बालक गरी १० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
त्यसैगरी ६ जना पुरूष, एकजना महिला र २ जना बालिका गरी ९ जना सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन्  । त्यसैगरी ८ जना पुरूष, ८ जना महिला र दुईजना बालिका गरी १८ जना व्यक्ति सामान्य घाईते भएको प्रहरीको तथ्यांकमा छन् ।
चालु आर्थिक महिना ०७६÷७७ मा साउन महिनादेखि पुस मसान्तसम्म जिल्लामा ३६ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पाँच महिनाको अवधिमा २१ जना पुरूष, ६ जना महिला, ३ जना बालक र ६ जना बालिका गरी ३६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ७० जना पुरूष गम्भीर घाईते भएका छन् । कार्यालयका अनुसार २० जना महिला, १० जना बालक, ६ जना बालिका गरी ७० जना गम्भीर प्रकृतिको घाईते भएका ट्राफिक प्रहरी कार्यालयमा रेकर्ड छ ।
कार्यालयमा रहेको तथ्यांक अनुसार ३५ जना पुरूष, २३ जना महिला, ५ जना बालक र १४ जना बालिका सवारी दुर्घटनामा परी सामान्य घाईते भएका छन् ।
सवारी साधनमा सबैभन्दा बढी दुर्घटना हुने मोटरसाईकल भएको कार्यालयले जनाएको छ । पाँच महिनाको अवधिमा ५९ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् ।
त्यसैगरी १५ वटा बस, १० वटा जिप र कार, १० वटा टिप्पर, १० वटा टेक्टर, ९ वटा ट्रक, ४ वटा टेम्पो, २ वटा माईक्रो र अन्य गरी ८९ वटा सवारी साधन दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेमप्रसाद रेग्मीले अधिकांश सवारी दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको बताउँछन् । ‘जति पनि सवारी दुर्घटना भएका छन्, हामीले निकै नै अनुसन्धान गरेका छौँ’ ट्राफिक प्रमुख रेग्मीले भने ‘सवारी दुर्घटना हुनुमा सवारी चालक नै जिम्मेवार हुनुपर्छ ।’
अधिकांश सवारी चालकहरूले ओभरस्पिड सवारी साधन चलाउन सवारी दुर्घटना हुने गरेको उनले वताए । ‘साँघुरा सडक छन्, ओभरटेक गर्ने होडमा सवारी साधन चलाउँछन्’ उनले भने ।
सवारी चालकले ओभरस्पिड चलाउनु, ट्राफिक नियमको पालना नगर्नु, आफ्नो सवारी साधनको बारेमा समय–समयमा चेकजाँच नगर्नु, ओभरलोडमै यात्रा गर्नु सवारी चालकको लापरवाही देखिएको र सवारी दुर्घटनाको कारण पनि यही नै भएको उनले बताए ।

दिनभर तनावग्रस्त तुलसीपुर

् तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि बिहीबार दिनभर तुलसीपुर बजार तनावग्रस्त रह्यो । आफन्त र विद्यार्थीहरूले गाडीहरू चल्न दिएन्न ।
बिहीबार बिहान सवा ९ बजेतिर तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत तुलसीपुर उपमहानगरपालिका–७ शिवनगर बस्ने वेदबहादुर केसीकी १३ बर्षिया विजिता केसीलाई तुलसीपुर–५ सल्यान रोडको गोदाम घर नजिकै रा १ त १४३५ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाईते अवस्थामा अस्पताल पु¥याईएकी बालिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्करबाट बालिकाको मृत्यु भएपछि मृतकका आफन्त र विद्यार्थीले दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै दिनभर प्रदर्शन गरेका थिए । दोषीलाई कारवाही गर, विद्यार्थी मार्न पाइदैन, हामीलाई न्याय दे ! लगायतका नारा लगाउँदै तुलसीपुर बजार ठप्प पारी प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा विद्यार्थीले सडकका विभिन्न ठाँउमा टायर बालेर नाराबाजी गरेका थिए । घटनापछि आक्रोसित भिडले तुलसीपुर भित्रिने र बाहिरिने कुनै पनि सवारीका साधन चल्न दिएनन् । विद्यार्थीहरूले मृतकको फोटो चोक–चोकमा राखेर श्रद्धाञ्जली व्यक्त गर्दै मानव साङ्लो जुलुस निकालेका थिए ।
पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीका विषयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा वार्ता भएपनि छलफल निष्कर्षमा पुग्न सकेन् ।
वैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका मृतक बालिकाका बुवा वेदबहादुर केसीले आफू नआउँदासम्म कुनै सहमति नगर्न भनेपछि परिवारले शव नबुझेको तुलसी आवासीय माविका सहायक प्रधानाध्यापक देवबहादुर केसीले जानकारी दिए ।
घटनामा परी सोही विद्यालयमा अध्ययनरत १४ बर्षिया मनिषा वली घाईते भएकी थिइन् । घाईते वलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेकी छन् । घटनामा संलग्न चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच मृतक बालिकाको निधनप्रति विभिन्न संघ, संगठनले दुःख व्यक्त गरेका छन् । ट्याक्टरको ठक्करबाट ज्यान गुमाएका बालिका बिजिता केसीप्रति प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष जनक खराल र महासचिव झलक केसीले बिहीबार एक विज्ञप्ति जारी गरी बालिकाको निधनप्रति दुःख व्यक्त गरिएको हो । ‘मृतक बालिका केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ, दुःखको यस घडीमा मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गर्दछौँ’ संघले निकालेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै एन प्याब्सन दाङले पनि मृतक बालिकाको निधनप्रति दुःख व्यक्त गरेको छ । एन प्याब्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीले एक विज्ञप्ति प्रकाशित गरी बालिका बिजिता केसीको निधनप्रति दुःख व्यक्त गरिएको हो ।
‘तुलसी आवासीय मावि कक्षा ८ मा अध्ययनरत बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ, पीडितलाई क्षतिपूर्र्ति र दोषीलाई कारवाही होस्, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी प्याब्सन तुलसीपुरले ट्याक्टरको ठक्करबाट ज्यान गुमाएकी बालिकाको निधनप्रति दुःख व्यक्त गरेको छ । प्याब्सन तुलसीपुरका अध्यक्ष गिरिराज डाँगीले बिहीबार एक विज्ञप्ति निकाली मृतक बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
यसैबीच सडक दुर्घटनामा ज्यान गुमाएकी बालिका बिजिता केसीप्रति तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शोक व्यक्त गरेका छन् । शोक वक्तव्य जारी गर्दै उनले भविष्यको बलियो आधारका रूपमा रहेकी बालिकाको मृत्युले आफूलाई निकै दुःख लागेको उल्लेख गरेका छन् ।
नगर प्रमुख पाण्डेले दुर्घटनाको सिकार जुनसुकै बेला जोसुकै पनि हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।
सानो–सानो गल्तीले पनि ठूलो क्षति हुने उल्लेख गर्दै नगरप्रमुख पाण्डेले लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने समेत उल्लेख गरेका छन् । साथै उनले दुःखको घडीमा संयमित हुनका लागि परिवार र आफन्तलाई समेत अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here