Thursday, April 25, 2024
Homeफिचरविदेशिने युवाको पीडा घरदेखि प्रदेशसम्म

विदेशिने युवाको पीडा घरदेखि प्रदेशसम्म

- Advertisement -spot_img

तुलसीपुर, ३० मंसिर । तुलसीपुरका कपिलदेव पुरी (नाम परिवर्तन) केही वर्ष अघि वैदेशिक रोजगारीको लागि विदेश पुगे । बुवाको मृगौला फेल भएपछि आर्थिक अभावले पिरोलिएर विदेश पुगेका उनलाई सोचजस्तो त थिएन् तर जसोतसो दिन, महिना हुँदै वर्ष बिताए । बुवाआमासँगै श्रीमतीलाई घरमा छोडेर रोजगारीका लागि विदेश गएका उनी विदेशमा करिब चार वर्ष बसे ।
विदेशको लामो बसाईमा उनले बुवाको उपचार गर्ने खर्च त जुटाए तर पहिलेजस्तै बुवाआमासँगै छोडेकी श्रीमतीले साथ छोडिन् । बुवाको उपचारसँगै उनी खुशी त छन् सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी श्रीमतीको साथ पाउन सकेनन् ।
‘विदेशमा जाँदा मैले श्रीमती गुमाए, अरू मजस्तै धेरै साथीले पनि यस्तै समस्या भोग्नुपरेको छ’ उनी भन्छन्–‘बुवाको मृगौलाको उपचारका लागि विदेशमा पुगेको म बुवालाई बचाउन त सकेँ तर श्रीमतीलाई गुमाए ।
स्वदेशमा रोजगारीका लागि जति प्रयास गर्दा पनि नपाउँदा आफू विदेशिन बाध्य भएको उनले सुनाए । ‘बुवाको उपचारका लागि कति भौतारिए, तर कतै सम्भव भएन’ उनले भने– ‘न कुनै रोजगारीको सम्भावना थियो, न त सरकारको अरू कुनै सहयोग ।’
तुलसीपुरका हरि चौधरी (नाम परिवर्तन) को पीडा भने अलि फरक छ । अध्ययन गरिरहेको समयमा बुवाको सवारी दुर्घटनामा मृत्यु भयो । बुवाको मृत्युपछि आर्थिक समस्याले घेर्दै गएपछि उनी पनि अन्त्यमा विदेशिनुपर्ने मनस्थितिमा पुगे ।
वैदेशिक रोजगारीमा फ्रि–भिसा, फ्रि– टिकटको व्यवस्था छ भन्ने सुनेका थिए उनले तर धेरै म्यानपावर धाउँदा पनि कतै पनि फ्रि–भिसा, फ्रि–टिकटमा विदेश जान पाउने अवस्था उनले पाएनन् । घरमा बसेर आर्थिक समस्या समाधान पनि नहुने, त्यसपछि उनि अन्त्यमा विदेश जाने निष्कर्षमा पुगे ।
स्वदेशबाटै ठगिन सुरू भएका उनी विदेशमा पनि ठगिए । नेपालमै ७० हजार एजेन्टलाई बुझाएका उनले विदेशमा पनि फेरि उसैलाई दिने भनेर कम्पनीले तीन महिनासम्मको तलब काटिदियो । नेपालमा भएको सम्झौता विदेशमा केही पनि नपाएको उनी बताउँछन् ।
‘नेपालमै फ्रि–भिसा, फ्रि–टिकट पाउन त सकिन, यतै ठगिए फेरि विदेशमा पनि भनेजस्तो सेवा सुविधा पाउन सकिन ।’ यी दुई त प्रतिनिधिमूलक घटना पात्र मात्र हुन् । रोजगारीका लागि विदेशिने युवाले घरदेखि विदेशसम्म पीडा भोग्ने गरेका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांशले विदेशमा तलब, सुविधा, काम लगायतको समस्या भोग्नुपरेको छ भने नेपालमा परिवार तथा दलालबाटै समस्या भोग्ने गरेका छन् ।
ईलाका प्रहरी तुलसीपुर प्रहरी निरीक्षक चक्रडम्बर पालले तुलसीपुरमा मात्रै करिब १५ वटा श्रीमती वा श्रीमानले आफू विदेश गएको समयमा सम्पत्ति हिनामिना गर्ने गरेका मुद्दा दिएको बताए । ‘श्रीमातीले सम्पति हिनामिना गरेर भागेछ भनेर पनि मुद्दा दर्ता भएका छन् ।’ उनले भने– ‘श्रीमानले हिंसा गरेको भनेर प्रहरीमा थुप्रै घटना आएका छन् ।’
वैदेशिक रोजगारको अन्त्य नहुँदासम्म यस्ता घटनामा कमि नआउने उनले बताए । ‘विदेशिएका युवायुवतीका विभिन्न घटना प्रहरीसम्म आउने गरेको छ’ उनले भने– ‘समस्या झनपछि झन बिकराल बन्दै गएको छ ।’
यसैबीच वैदेशिक रोजगार जाने युवाले स्वदेशदेखि विदेशसम्म समस्यै समस्या भोग्नुपरेको गुनासो गरेका छन् । स्वदेशमा रोजगारी नहुँदा विदेशिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरूले स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् ।
ओरेक नेपालसँगको सहकार्यमा तुलसीपुर उपमहानगरपालिको नमुना युवा सांसद नेपालले आप्रवासी कामदारको अवस्था र चुनौती विषयक सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमा एजेन्टबाट ठगीमा पर्ने र विदेशमा कम्पनीले भनेजस्ता तलब नदिने समस्या रहेको बताएका छन् ।
विदेशमा कमाउने नेपालीका कारण स्वदेशमा रेमिट्यान्स भित्रिए पनि नेपाल सरकारले कुनै पहल नगरेको वैदेशिक रोजगारीबाट फर्किएका पूर्ण चौधरीले बताए । विदेश असुरक्षित भएपनि रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता रहेको भन्दै उनीहरूले स्वदेशमै रोजागारीको ग्यारेण्टी गरिनुपर्ने माग गरेका छन् ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले श्रमको सम्मान गर्ने वातावरण भए स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने बताए । ‘स्वदेशमा काम गर्न लजाउने, विदेशमा काम गर्न लाज नहुने परम्पराका बढी पाइन्छ, उनले भने–‘अब श्रमको सम्मान गरी स्वदेशमै रोजगारीमा जोडिन आग्रह गर्दछु् ।’
युवालाई स्वदेशमा केही भएपनि रोजगारी प्रदान गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको भन्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा काम सोधेर युवा फर्किने गरेको बताए ।
महिला मानवअधिकारकर्मी शुष्मा गिरीले वैदेशिक रोजगारले सामाजिक बिचलन निम्तिएको भन्दै अब स्वदेशमै रोजगारी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले कामको सम्मान नहुँदा विदेशिने युवाको संख्या बढ्दै गएको बताइन् ।
ओरेकका कार्यक्रम अधिकृत दिपा धितालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा ओरेकका जिल्ला संयोजक ईश्वरी थापाले विषय प्रवेश गराएकी थिइन् । नमुना युवा सांसदका सभामुख नवराज घिमिरेको अध्यक्षता तथा नगर कार्यबाहक प्रमुख सूर्यबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण ओरेकका कल्पना चौधरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here