- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरछुवाछुतको त्रासदीय बाल मस्तिष्क

छुवाछुतको त्रासदीय बाल मस्तिष्क

- Advertisement -spot_img

दीपा धिताल

मेरी आमा त बाहुनी परिन क्यारे ! कसैले छोएको पानी नखानु, भान्सामा अरू जातिलाई जान नदिनु । तर बाहुनी बज्यैले कसैले छोएको खानुहुँदैन भनेर जबरजस्ती कसैले गर्दैनथे ।
कति अनुशासित थिए त्यो गाउँका मान्छे मेरो आमाप्रति म दङ्ग पर्थे । मेरी आमाले छुवाछुत गर्दा पनि सबैले कति माया गर्थे सायद आज पनि सम्झिदाहुन त्यस गाउँका मान्छेहरू ।
तर आमा यदि जानी–नजानी कसैले छोएको छ भने गाली भने कसैलाई गर्नुहुन्न्थ्यो । छोएको पानी चुपचाप ल्याएर बाहिरै राख्नुहुन्थ्यो । मैले आमालाई सोध्थे आमा आज किन पानी बाहिरै राखेकी ?
आमा भन्नुहुन्थ्यो आज छुइएको छ भित्र लग्न मिल्दैन भैसीले खान्छ यो पानी । दलित भएकै कारण उनीहरूलाई हेर्ने दृष्टिले हाम्रो सामाजिक मनोविज्ञान निर्माण भएको छ । मेरो घरमा मात्र हैन अन्य घर र समुदायमा यस्तै छ ।
त्यो बेला म पनि पधेँरोमा पानि लिन जाने भैसकेकी थिएँ । पधँेरोमा पानी भर्दा कसैले नछोइदिनु है मलाई भन्थे मैले पनि किनकी मेरी आमाले मलाई यसै सिकाउनु भएको थियो ।
सबैलाई थाहा थियो बाहुनी बज्यैले दलित जातिले छोएको पानी खानुहुँदैन भनेर । म बुझ्ने भएदेखि केही समय यसै बितिरहे । तर मलाई त्यो बेला मेरी आमाले भनेको दलित जातिले छोएको पानी खानुहुँदैन भन्ने छाप मेरो बाल मस्तिष्कमा नाचिरहेको थियो ।
मेरो बाल मस्तिष्कले पनि विभेदको सामान्यीकरण गरिसकेको थियो । तर, मस्तिष्कले यस्तै हो भनी चित्त बुझाए पनि मन नमान्दो रहेछ ।
एकदिन पधेँरो दलित साथी र मसँगै गयौं । मेरी आमाले दलितले छोएको पानी खानुहुँदैन भन्ने छाप मेरो मस्तिष्कमा परेको हुँदा मैले उसलाई र आफूलाई दाजे । आखिर उसमा र ममा केही फरक छ र ? उसलाई हेर्छु अनि आफूलाई हेर्छु सबै उस्तै छ । हेर्ने आँखा,फेर्ने शवास, हाँस्ने ओठ, बोल्ने मुख लाउने कपडा सबै उस्तै–उस्तै छ ।
आखिर के मा फरक छ र उसमा र म मा ? आमाले किन दलितले छोएको पानी खानुहुँदैन भन्नुहुन्छ । यस कुराले पनि मलाई बारम्बार थिचिरह्यो  ।
त्यसदिन जानी–जानी छोएको पानी भित्र नै लगे मैले । आमाले पहिल्यै सोधिहाल्नु भयो छोएको पानी होकी चोखो पानी हो ? मैले भने हैन चोखो पानी हो आमा ।
आमालाई ढाटेर मैले त्यो पानी भान्सामा लगेपछि आमाले भात तरकारी सबै पकाउनुभयो । मलाई भने कता–कता डर लागिरहेको थियो । दलितसँग छोएको पानी खाएर घरमा केही नराम्रो पो हुने होकि ? मैले त्यो दिन पर्खिरहे केही हुन्छ, हुँदैन भनेर तर केही भएन म ढुक्क भए ।
तर त्यति सानै उमेरमा यस छुवाछुत विभेदको प्रतिवाद गर्ने क्षमता ममा थिएन । प्रतिवाद गर्नु भनेको मैले नै पिटाइ खानु थियो । गाली खानु थियो । त्यसैले यो कुरा मैले कसैलाई भनिन् । किनकि फेरि एक/दुई दिनपछि पनि केही पो हुने हो कि ? भन्ने डर बसिरह्यो मनभित्र । त्यतिबेला मैले घरमा यस्तो गरेँ भनेको भए विभेद तोडिनु पापी र धर्मछाडा काम थियो सायद ।
हामी धेरै साथीहरू थियौँ । दलित, जनजाती, क्षेत्री, जोगी, बाहुनसँगै स्कुल जान्थ्यौं । नास्ता सबैले मिलेर लग्थ्यौं अनि मिलेर खान्थ्यौं । दलित साथीहरूले लगेका फलफूल चिजहरू मात्र खान्थे अरू साथीहरूले मैले भने मज्जाले खान्थे । एकदिन एउटा यस्तै घटना भयो, जतिबेला म तीन÷चार कक्षामा पढ्थे सायद ।

सबै साथीहरूले लगेको नास्ता मिलेर खान थाल्यौं । अरू साथीहरूले दलित साथीहरूले लगेको रोटी खाजा खाएनन् । मैले भने मज्जाले खाइदिएँ । त्यसदिन एकजना मेरो केटी साथीले मभन्दा अगाडी नै मेरो घरमा आएर मेरी आमासँग भनिछे बाहुनी बज्यै आज सानीले त दलित जातिले लगेको खाजा रोटी खाई ।
साँझ घरमा आउँदा आमा रिसले चुर हुनुभएको रहेछ । मलाई देख्ने बित्तिकै भन्नुभयो आज दलितले लगेको खाजा रोटी खाएर आइस हैन ? जति भने पनि नमान्ने कति मूर्ख केटी भएकी यो । अब पख न ! भोलि बिहान तेरा सबै दाँत झर्छ्न कसरी खाने रहिछस् ? मेरी आमाले यस्तो भन्दा म झसङ्ग भए । ओहो !
दलितका घरको केही खान नहुने रहेछ । भोलि बिहान मेरा जम्मै दाँत झरे भने मैले कसरी खाने होला अब ? एकमन झन डरले थुरथुर काप्न थाल्यो । अर्को मन भने अस्ती छोएको पानी खाएर त केही भएन अब के होला र ? भन्ने लाग्यो । तै पनि डर भने हटेको थिएन मेरो मन बेला–बेला डरले त्रसित भइरहन्थ्यो ।
त्यतिबेला आमाले मलाई दाँत झर्छ्न भनेपछि त्यो रात म रातभर निदाउन सकिन खाली दाँत कतिखेर झर्ने हुन भन्ने पीडाले सताइरह्यो । त्यतिकैमा म दाँत समातेर नै निदाए । बिहान ब्युँउझदा सबैभन्दा पहिला दाँत नै समाते तर हिजो साँझ मेरी आमाले भनेझैँ मेरा दाँतहरू झरेका थिएनन् जस्ताको त्यस्तै थिए ।
एकपटक दिदीको कोठामा गएर ऐना खोजेर हेरेँ पनि तर कहिँकतै केही भएकै थिएन मेरो अनुहार हिजो जस्तो थियो आज पनि त्यस्तै छ । त्यतिबेला दलितका घरमा पाकेका खाजा रोटी खाएर पनि मेरा दाँत नझरेका हुनाले म खुशीले उफ्रिन थाले । आमा आँगन बढारी रहनुभएको थियो ।
छिटो–छिटो आमाको छेउमा गएर आमालाई मेरा दाँत देखाउँदै भने । आमा ! तपाईंले हिजो दलितका घरमा पाकेका खाजा रोटी खाएर तेरा सबै दाँत झर्छन् भन्नुभएको हैन ? खै त यी हेर्नुस् त झरेनन् ।
मेरी आमा मेरो अनुहारमा हेर्दै हाँस्न थाल्नुभयो र फेरि भन्नुभयो अब अर्काेदिन खाएपछि झर्छन् । तर अहिले भने मैले मेरी आमाले भनेको कुरा पत्याउने पक्षमा थिएन म । मेरी आमाले मलाई जे सिकाउनु भएको थियो मेरो बाल मस्तिष्कमा जुन कुराको छाप र डर परिरहेको थियो त्यो पनि हटेर गयो ।
जातीय छुवाछुतप्रतिको अन्धविश्वासले भरिएको मेरो गाउँ र समाज पक्कै पनि बदलिनुपर्छ भन्ने कुरा मेरो बाल मस्तिष्कले सोचिसकेको थियो । मलाई जातीय छुवाछुतप्रति कुनै विश्वास नै भएन र म त्यो बाल्यकालबाट नै आफ्नै बा आमासँग विद्रोह गरेर बाहिर निस्के ।
अहिले दलित समुदायलाई हेर्ने विभेदकारी सामाजिक, साँस्कृतिक मान्यतामा केही कमी आएको भए पनि अन्त्य हुनसकेको छैन । जसका कारण उनीहरूमाथि दिनदिनै विभेद र कुटपिटका घटना हुने गरेका छन् ।
समाजका शिक्षित र सभ्य नागरिक भनिएकाहरूबाट समेत दलितहरूले विभेद भोगिरहन बाध्य छन् । साच्चिकै समाज बदल्न व्यवहार र सोच बदल्नु जरूरी छ । अनि मात्र हामीले चाहेको सभ्य समाज प्राप्त गर्न सक्छौं । आज हामीले आफ्ना बालबालिकालाई जे सिकाउँछौँ भोलि ती बालबालिकाले त्यहीँ सिक्ने हो ।
हिजो जातीय छुवाछुतविरूद्ध जुन विभेद थियो तर आज त्यस्तो छैन परिवर्तन भएको छ । अझै परिवर्तन हुन नसकेको ठाउँमा अशिक्षाको कारणले मात्र भएको पक्कै पनि हैन जहाँ–जहाँ जातीय विभेद छ त्यहाँ मात्र दमन, उत्पीडन र लालपूर्जाधारी सत्ताका कारण छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here