- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरचिहान पारीको पत्र

चिहान पारीको पत्र

- Advertisement -spot_img

दीपा धिताल

नौ महिनासम्म मलाई गर्भमा राखेर आफूले आधा मलाई आधा खुवाएर जन्म दिने मेरी ममताकी आमा । मेरो जीवनको डायरी कोर्दै हिडेका मेरा बाबा, म यहाँ कुशल छु कुशलताको कामना गर्दछु ।
आज केही समयको अन्तरालपछि समयको झोलीबाट सुटुक्क चोरेर तपाईहरूकै सम्झनाका कोसेलीहरू यो चिहान पारीको बस्तीबाट हजुरहरूलाई नै पठाउँदैछु सायद अचम्म मान्दै हुनुहुन्छ होला । यो पत्र कुनै वियोगान्त र पीडाको हुने छैन, मात्र हजुरहरूको सम्झनाको । मेरी प्यारी तिम्रो लागि भने साहसको हुनेछ ।
म गर्भमा छँदा कसरी उक्लियौ हौली आमा जीवनको त्यो उकाली । एक गाँस र एक बासको लागि कति ठाउँ ठोक्कियौँ हौली । तिमीले पेटभरि खाएको एकछाक भात मैले आधा खाइदिदा तिमी कसरी हिड्यौ होली भारी बोकेर त्यो उकालोमा ?
अनि आफू मृत्युशैँयामा छटपटिदै म यो धर्तीमा जन्मिएको बेला कसरी छरिए होलान् है तिम्रा खुसीका रङहरू ? मेरो जीवन फूल झै फुलाउनको लागि पसिनासँगै मुस्कुराउँदै गरेका मेरा बा ! यतिबेला कुनै सम्झनाका शब्दहरू छैनन् मसँग । लेख्ने सामथ्र्य पनि छैन, लेखेर पनि सकिदैन । जति लेख्यो उति अपूरो नै हुनेछ ।
मलाई पनि त मन थियो । रहर थियो तपाईहरूसँगै उफ्री–उफ्री नाच्न । म ठूलो भएपछि सजाउन मन थियो हजुरहरूकै सुन्दर जीवन । यो देशको लागि आफ्नै हड्डी खियाउन मन थियो । छोरी भएर जन्मी भनी मुख खुम्च्याउँदै हिड्ने मेरो समाजका मान्छेहरूलाई छोरीको हिम्मत, आँट र साहस देखाउन मन थियो । छोरी मान्छे भएर जन्मिन गर्व लाग्ने देश बनाउने मन थियो ।
तर मेरा बा आमा तिमीले नै जन्म दिएका राक्षसहरूले यहाँ मलाई रहन दिएनन् । मेरा आँखाका नानीहरू नखुल्दै मेरो अस्तित्व चिरहरण बनाइदिए । म जन्मनुको के नै दोष थियो र मेरी आमा ? मेरो शरीरमा पुरूषहरूले खेलाउन सक्ने त्यस्तो आनन्दको खेल के नै छ र ?
जहाँ हाम्रो शरीर नै छियाँछियाँ पारेर खेलिन्छ ? किन एउटै आमाको कोख र बाको वीर्यबाट जन्मिएका सन्तानहरू कोही भगवान् कोही दानव किन हुन्छन् मेरा बा आमा ? त्यही दानवहरूको खेलको सिकार बनेर मजस्ता हजारौं नानीहरू किन मारिन्छ्न् यहाँ ? बलात्कारको सिकार खेलेर किन जिउँदै जलाइन्छन् ?

 
मलाई थाहा छ मेरा बा आमा अहिले मैले मेरो लागि तिमीहरूसँग खेलौना माग्ने बेला तिमीहरूले मेरो लागि एउटा भिखारी झै गरेर यो देशका न्यायालयहरूका ढोकाहरू ढकढक्याउँदै न्याय माग्न जाँदा तिमीहरूको मन कति कुडिएको होला ।
कति पीडाका प्यालाहरू पिउनु परेको छ होला । सन्तानले दिएको खुसीका रङहरू पिउने बेला आँखाबाट खसेका नुनिला आँसुका ढिकाहरू पिउनुपर्दा मन कस्तो हुन्छ होला है ? मेरी आमा मैले पनि अरूले जस्तै त्यो खुला आकाशमा खेल्न पाएको भए संसारका केही गेमहरू जित्ने थिए होला । तर अहिले मेरा अनुहारका रङहरू वायुमण्डलमा लुकिसकेका छन् ।
मेरी दिदी तिम्रो हात समाएर स्कुल जाने बेला आज मेरो तस्विर छातीमा झुन्ड्याएर मेरो न्यायको लागि विद्रोह गर्नुपरेको छ है तिमीले ? जति विद्रोह गरेपनि तिम्रो आवाज सुन्नेको नै छ र त्यहाँ ? बरू हेर न एकपटक पछाडि फर्केर मेरो न्यायको नाम जपेर कमाई गरेर खाने मान्छे थुप्रो भईसके । सरकारलाई नै हेर न !
हत्यारा बलात्कारीलाई ठूलठूला महलहरूमा संरक्षण दिएर दिनहुुँ पाँचतारे होटलमा सेमिनार र गोष्ठी बसालेर पत्रकार सम्मेलन गरेर भन्छ हामी त्यो बलात्कारीलाई छोड्दैनौँ, कारबाही गरेरै छोड्छाँै । तपाईंको छोरी बहिनीलाई न्याय दिलाएरै छोड्छाँै ढुक्क हुनुहोस् । लाचार र नालायक सरकार चियाको चुस्कीसँगै बोल्छ र त्यही चियासँगै आश्वासनका खोस्टाहरू पिएर हिड्छ ।
सडकमा तिमीजस्तै दिदीबहिनीहरू ‘बलात्कारीलाई फाँसी दे’ भन्दै हिडेको देख्दा सरकार भने आँखा चिम्लेर हिड्छ । बरू त्यही आन्दोलन गर्नेलाई गोली ठोक्दे भन्ने आदेश दिन्छ ।
तर मेरी दिदी, मेरी आमा बलात्कारी हत्यारालाई कारबाही गर्न नसक्ने फाँसी दिन नसक्ने यो नालायक सरकार चुप लाग्यो भन्दैमा तिमीहरू पनि चुप लागेर नबस । नत्र भोलि मेरोजस्तै आँखाका नानीहरू नखुल्दै हजारौं नानीहरू राक्षसहरूको बलात्कारको सिकार बनेर जिउँदै जल्नेछन् । कयौं आमाहरूको काख रित्तो हुनेछ । हाम्रो अस्तित्व नै चिरहरण हुनेछ ।
आगोका लप्काहरूसँग जुध्दै मुखबाट बिद्रोहका स्वरहरू निकाल । बलात्कार गर्ने कति बधशालाका नाइकेहरूलाई सरकारले संरक्षण गरेर राखेको छ तिमी तिनीहरूकै अगाडि न्यायको त्रिशुल लिएर उभिनुपर्छ । तिमीले गरेको विद्रोहमा पछाडिबाट साथ दिने हामी छौँ दिदी । मेरी दिदी मेरो शरीर नभए पनि मेरो आत्मा हुनेछ तिमीसँग ।
आमा तिमीसँगको बिछोडमा छुटेदेखि अहिले जताततै यही बलात्कारपछि हत्यारासँगको परिचयमा छु । लागेको थियो त्यो क्षण तिम्रो हातबाट नछुटेर तिम्रै अंगालोमा बेरिरहुँ । तर मेरा सजीव नसाहरू तिमीबाट छुटिसकेका थिए ।
मेरो एकमुठी प्राण कतै उडिसकेको थियो अनि जलाई पनि सकेका थिए हत्याराहरूले । तिमीले मलाई अंगालोमा बेर्नुभन्दा पहिल्यै त्यही धर्तीमै मृत्युको हस्ताक्षर भैसकेको थियो मेरो ।
मेरो जीवनका सुन्दर फूल फुलाउन चाहने, आफ्नो पसिना बेचेर मलाई हुर्काउन चाहने (मेरा बाबा) तिम्रै पितृसत्तात्मक सत्ताको बल अझै पनि रहिरहदा कति मजस्तै नानीहरूका कलिला मुनाहरू चुडिएका छन्  ।
तिमी त मेरो ‘बा’ थाहा पायौँ होला नि अब ? त्यसैले मेरा बा यो विद्रोहमा आमा र दिदी मात्र होइन तिमीजस्ता लाखौं बाहरूले आवाज उठाउँ है अब ? विद्रोह गर आफ्नै छोरीहरूको जीवनको लागि ।
अन्तमा मेरी दिदी यो समाजमा त बाँच कसैले भन्दैन आफ्नो लागि आफै बाँच्न सिक हैँ ? जहाँ जुन ठाउँमा गए पनि आफ्नो रक्षा आफैले गर हैँ ? छोरीहरूको तालिम दिने यो समाजमा पहिला आफ्नो साहस बटुलेर मान्छे बनेर देखाऊ अनि मात्र छोरी मान्छे बन्ने हो ।
बाटोमा हिड्दा एक हातमा खुकुरी र अर्को हातमा मुटु राखेर डरको आँखामा आँखा जुधाएर हिड र मजस्तै नानीहरूलाई पनि तालिम देऊ है दिदी ? जबसम्म यो देशमा बलात्कारी हत्याराहरूलाई फाँसी हुँदैन तबसम्म मेरो आत्माले शान्ति पाउँने छैन ।
यही आँट र साहस तिमीसँगै पठाउँदै बिदा हुन्छु ।
उही चिहान पारीको बस्तीबाट …

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here