- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसरकारबाटै हेपिएको गुनासो

सरकारबाटै हेपिएको गुनासो

- Advertisement -spot_img

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
तुलसीपुर, १८ मंसिर । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको जिम्मा लिनुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । शारीरिक र मानसिक रूपमा अशक्त भएका व्यक्तिहरूको हक, अधिकार र संरक्षण प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएको उनीहरूले बताएका छन् ।
मंगलबार २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा उनीहरूले अपाङ्ग व्यक्तिहरूलाई समाज र राष्ट्रले अभिशापको रूपमा नभई देशका सक्षम नागरिकको रूपमा हेर्नुपर्ने उनीहरूले बताएका छन् ।
प्रत्येक वर्ष डिसेम्वर ३ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईरहदा पनि राज्य पक्षबाट मिल्नुपर्ने हक, अधिकार र सम्मानका कुराहरू आफ्नो पहुँचसम्म आउन नसकेको अपाङ्गता भएका व्यक्तिहरूको भनाइ छ ।
राज्यले समावेशीताका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा प्रतिनिधीत्व गर्न पाउने अधिकार सुम्पिएको भएपनि त्यो लिखितमा मात्र सीमित रहेको तुलसीपुरका शारीरिक अपाङ्ग लक्ष्मण विश्वकर्माले बताए ।
उनले आफू र अन्य अपाङ्ग व्यक्तिहरूका लागि अत्यावश्यक आधारभूत आवश्यकतासँगै रोजगार र शिक्षामा समेत सरकाले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
‘हो हामी अपाङ्ग छौँ, हामी अरूजस्तै सहजै आफ्ना क्रियाकलापहरू गर्न सक्दैनौं’ उनले भने– ‘तर अवसर त दिनुप¥यो नि ? अवसर प्राप्त भए हामी पनि अरू जस्तै काम गरेर खान सक्छांै, तर कहिले के भनेर, कहिले के भनेर बारम्बार सरकारबाटै हेपिएका छौँ ।’
यस्तै हेर्दा सुकिला भएपनि मनभरी पीडा र आफ्ना समस्याहरूले चारैतिरबाट जेलिएको बताउँछन् दृष्टिविहीन व्यक्ति शेखर लम्साल । म आँखा नदेख्ने मान्छे हुँ, त्यो मलाई पनि थाहा छ तर समाजले मलाई मेरो कमजोरी औँल्याउँदै सबै सुविधा र अवसरबाट वञ्चित गराउन चाहन्छ, उनले भने– ‘के हामीलाई अधिकार र न्याय मिल्दैन ? हामी यो देशका नागरिक होइनौँ ?’
अपाङ्ग भएकै कारण घरपरिवारले आफ्नो ईच्छा, आवश्यकता र समस्या बुझ्न नचाहने, गाउँ समाजले अवसरबाट बञ्चित गराउने र सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र संरक्षणका विषयमा ध्यान नदिने भएकाले आफूहरूलाई समाजको वातावरणसँग प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको उनीहरूले बताए ।
राज्य व्यवस्था परिवर्तन हुँदै गएपनि आफूहरूका लागि निर्माण गरिएका ऐनहरू कार्यान्वयनमा आउन नसक्दा दिनप्रतिदिन समस्याले झेल्दै गएको उनीहरूको गुनासो छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४, समावेशी शिक्षा नीति २०७३, भौतिक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ लागू गरेको भएपनि व्यवहारिक रूपमा सबै ऐनहरू कार्यान्वयन नभएको उनीहरूले बताए ।
अपाङ्ग व्यक्तिहरूको गुनासो र समस्याहरूलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अपाङ्गता भएका व्यक्तिहरूका मागहरूलाई सरकारले पूरा गर्ने आश्वासन दिएका छन् ।
प्रदेश नं. ५ मा रहेका अपाङ्ग व्यक्तिहरूको हक, हित र अधिकारका लागि आफू स्वयम् लागि पर्ने बताउँदै उनले अपाङ्गमैत्री समाज निर्माणका लागि आफू सधै प्रतिवद्ध भएर लाग्ने बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं ५ का सचिव हुमनाथ अधिकारीका अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल, बैजनाथ गाउँपालिका बाँकेका अध्यक्ष मानबहादुर रूजाल,
सामाजिक विकास डिभिजन दाङका प्रमुख माधव वञ्जाडे अद्वैत नेपालका केन्द्रीय सहसचिव कृष्णप्रसाद उपाध्यायलगायतले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा सरकार संवेदनशील हुनुपर्ने बताए । समाज निर्माणका लागि अपाङ्गता भएका व्यक्तिहरूको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै उनीहरूले सबै सरोकारवाला निकायहरूले समयकै ध्यान दिन जरूरी रहेको उनीहरूको भनाइ छ ।
‘दिगो विकास लक्ष्य, अपाङ्गमैत्री भविष्य’ मुल नाराका साथ मनाइएको उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं ५ सल्लाहकार प्रतिमा शर्माले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
सामाजिक विकास महाशाखाकी महिला विकास अधिकृत सम्झना सुवेदीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास महाशाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन् । कार्यक्रम सामाजिक विकास मन्त्रालय प्रदेश नं ५, तुलसीपुर उपमहानगरपालिका र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं ५ को संयुक्त आयोजनामा भएको थियो ।
यसैबीच २८औँ अपाङगता दिवस घोराहीमा पनि मनाईएको छ । ‘दिगो विकास लक्ष्य र सुनिश्चित भविष्य’ भन्ने नाराका साथ छलफल, रक्तदान र आँखा जाँच शिविर सञ्चालन गरेर दिवस मनाईएको हो ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङ र अपाङ्ग मानवअधिकार तथा सरोकार मञ्चको संयुक्त आयोजनामा घोराही–१४ झिगौरामा कार्यक्रम गरिएको हो । केन्द्रका अध्यक्ष शरद अधिकारीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गमैत्री नीति र संरचना निर्माणमा जोड दिएका छन् । विभिन्न प्रकारका अपाङ्गता भएकाहरूको हित र न्यायका लागि सरकारले सोही प्रकारका अवसरहरू सिर्जना गर्नुपर्नेमा समेत जोड दिईएको छ । प्रमुख अतिथि नेपालीले अपाङ्गता भएकाहरूको क्षमता उच्च रहने भन्दै त्यसको कदर र अवसरमा घरपरिवारदेखि सरकारले समेत विशेष चासो देखाउन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा विभिन्न व्यक्तिहरूले रक्तदान गरेका छन् भने राप्ती आँखा अस्पताल तुलसीपुरको स्वास्थ्यकर्मीहरूले आँखा जाँच गरेका थिए । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा बालमन्दिर प्राविले कार्यक्रम गरेको छ ।
दिवसका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई फलफुल तथा मिठाई वितरण गरिएको थियो । त्यस्तै शान्तिनगरमा २८औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विविध कार्यक्रम गरिएको छ । शान्तिनगर गाउँपालिकाको आयोजनामा विविध कार्यक्रम भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here