- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरजनकपुरधाम र विवाह पञ्चमी

जनकपुरधाम र विवाह पञ्चमी

- Advertisement -spot_img

प्रदेश नम्वर २ मा रहेको जनकपुरधाम आजभोलि दुलहीझैँ सिंगारिएको छ । तीर्थाटन पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरधाममा नेपालको प्रसिद्ध जानकी मन्दिर रहेको छ । जनकपुरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ ।
जनकपुरधाम धनुषा जिल्लामा पर्दछ । जनकपुर साँस्कृतिक, ब्यापारिक तथा राजनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । जनकपुर धनुषा जिल्लाको प्रशासकीय केन्द्र पनि हो ।
जनकपुरमा प्रवेश गर्ने बित्तिकै देखिन्छ एउटा ठूलो प्रवेशद्वार । बाहिरबाट जनकपुर पुग्ने मानिस चारैतिर आँखा दौडाउँछन् । रामानन्द चोकमा रहेको रामान्द प्रवेशद्वार आउने गरी फोटा र सेल्फी खिच्न छुटाउँदैनन् । जानकी मन्दिरबाहेक जनकपुरलाई चिनाउने दोस्रो चिनारीको रूपमा रामानन्द प्रवेशद्वारलाई लिइन्छ । चारवटा ठूलो पिलरमा बनाइएको रामानन्द प्रवेशद्वारको माथि स्वामी रामानन्दको प्रतिमा छ ।
चारवटै पिलरलाई सुरक्षित र आकर्षक बनाउने गरी पार्क निर्माण गरिएको छ । अहिले पार्कभित्र फुलको बगैंचा, भित्ताहरू रङरोगन गरी मिथिला चित्रकला कोरिएको छ । रामानन्द प्रवेशद्वारलाई जनकपुरको गौरव समेत जनकपुरबासी मान्दछन् ।
हिन्दू धार्मिक ग्रन्थअनुसार त्रेता युगमा आजको दिन अर्थातु विवाह पञ्चमीको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको दिन मानिन्छ । मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम–सीताको विवाह जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको थियो ।
त्यसैकारण जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ । जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् ।
सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार, सीरध्वज जनकले जानकीलाई खेत जोत्दा जमिनमुनि भेट्टाएका थिए । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् ।
सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ ।
राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठूला–ठूला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए । तर सीताले धनुलाई पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्दथिइन । त्यसैले राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरूषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए ।
त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसँग विवाह भएको थियो ।
प्राचिन पौराणिक महाविवाहको सम्झना स्वरूप अहिले पनि जनकपुरमा भारतको अयोध्याबाट विवाह पञ्चमीको दिन जन्ती लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीतालाई बिदा गर्ने प्रचलन छ । यसरी भारतबाट आउने जन्तीहरूमा विशेषगरेर साधु, सन्तहरू हुने गर्दछन् । विवाह पञ्चमीको दिन जानकी मन्दिर परिसरमा ब्यापक मेला लाग्ने गर्दछ ।
जनकपुरबासीहरू त्रेता युगदेखिको आफूहरूले चलाई आएको प्रचलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् । २४ हजार पंक्ति भएको अनि पाँच सयवटा अध्याय र सातवटा खण्ड भएको ठूलो खण्डकाव्य रामायण राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिले रत्नाकर डाँकुपछि गएर वाल्मिकी ऋषिले लिपिवद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, मलेसिया र इण्डोनेसियामा पनि धार्मिक ग्रन्थको रूपमा लिने गरिन्छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्षेनी मार्ग महिनाको शुक्लपक्ष पञ्चमी तिथिमा राम जानकी विवाह पञ्चमी मेला लाग्छ । आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचिन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्गशुक्ल पञ्चमी तिथिमा श्रीराम जानकीको शुभविवाह भएको कुरा पाइन्छ ।
विवाहको खुशीयालीमा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । जनकपुरमा राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, बैशाखमा जानकी नवमी, मंसिरमा राम जानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन भदौमा झुला महोत्सव मनाइन्छ । जानकी मन्दिरभित्र त्रेता कालिन आभास झल्किने संग्राहलय पनि रहेको छ ।
जसमा राम–सीता, राजा जनकलगायतको पहिरणको नमुना र विभिन्न कलात्मक प्रतिमाहरू छन् । त्यस्तै जानकी मन्दिरमा अखण्ड राम–सीता भजन पनि अवलोकन गर्न सकिन्छ ।

जनकपुरले नेपालको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको छ । त्रेतायुगका राजा महर्षी जनकको राजधानी जनकपुर थियो । त्यसैगरी त्रेतायुगमा मर्यादा पुरूषोत्तम श्रीरामसँग जानकीको विवाहपश्चात् जनकपुरको गरिमा बढेको पाइन्छ ।

जनकपुरमा भगवान राम र सीताको शुभविवाह सम्पन्न भएको हुनाले देशका विभिन्न स्थानबाट वैवाहिक कार्यका लागि पनि राम जानकीको मन्दिरमा पुग्ने गर्दछन् । राम जानकीको मन्दिरमा विवाह गर्नाले वर–वधूको जीवन सफल हुने विश्वास गरिन्छ । जनकपुरलाई ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि मानिन्छ ।


राम र जानकीको स्वयम्वर भएको स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा लस्करका साथ जानकीको डोला लगेर स्वयम्वर गरिन्छ । त्यसपछि दुबै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।
हजारौं वर्ष पूर्व त्रेता युगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयम्वरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ ।
अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा नेपालका मात्र होइन भारतबाट आएका लाखौं मानिस डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न जनकपुरधाममा पुग्ने गर्दछन् । विवाह पञ्चमीको समयमा अयोध्याबाट साधुसन्तहरू समेतको जन्तीलाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई नेपालको सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत गर्ने परम्परा छ ।
जनकपुरले नेपालको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको छ । त्रेतायुगका राजा महर्षी जनकको राजधानी जनकपुर थियो । त्यसैगरी त्रेतायुगमा मर्यादा पुरूषोत्तम श्रीरामसँग जानकीको विवाहपश्चात् जनकपुरको गरिमा बढेको पाइन्छ ।
जनकपुरमा भगवान राम र सीताको शुभविवाह सम्पन्न भएको हुनाले देशका विभिन्न स्थानबाट वैवाहिक कार्यका लागि पनि राम जानकीको मन्दिरमा पुग्ने गर्दछन् । राम जानकीको मन्दिरमा विवाह गर्नाले वर–वधूको जीवन सफल हुने विश्वास गरिन्छ ।
जनकपुरलाई ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि मानिन्छ । साथै यस सहरको आफ्नै भाषा मैथिली र लिपि तिरहुता पनि छ । जनकपुरधाम, सीताको जन्मस्थल हो ।
जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण स्थल हो । जानकी मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । जानकी अर्थात् सीताको यो मन्दिर भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकोले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । जनकपुरमा आदिमकालदेखि नै विभिन्न मठमन्दिरहरू थिए भन्ने मान्यता छ ।
तर वर्तमानको जानकी मन्दिरको स्वरूप भने विस १९६७ साल अर्थात् सन् १९११ मा निर्माण भएको हो । करिब ४ हजार ८६० वर्गफिट क्षेत्रफलमा फैलिएको जानकी मन्दिर ५० फिट अग्लो छ । मुगल शैलीमा निर्माण सम्पन्न भएको जानकी मन्दिर नेपालको ख्यातीप्राप्त कलाको उत्कृष्ट नमुना मानिन्छ ।
जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो । यो भाषा भारतको विहार प्रान्तको धेरैजसो भागमा पनि बोलिन्छ । मैथिल नारी मैथिल चित्रकलाका लागि पनि प्रख्यात छन् । विशेषत माटोको भाँडा एवं घरको भित्तामा गरिने चित्रकलाको कलाको क्षेत्रमा पनि महत्वपूर्ण स्थान छ ।
मिथिलाको पारस्परिक घरहरू माटो र परालद्वारा बनाईन्छ । जनकपुरधाममा मनाइने प्रमुख चाडपर्वहरू मध्ये छठ, विवाह पञ्चमी, रामनवमी, लक्ष्मी पूजा, होलीजस्ता पर्दछन् ।
मिथिलाको विभिन्न चाडपर्वमा रामजानकी विवाह पञ्चमी महोत्सव, विजयादशमी, दिपावली, छठ पर्व, रामनवमी, जानकी नवमीलगायतको चाडपर्वमा जनकपुरधामलाई बेहुली झै शृङ्गारिन्छ । यति मात्र होइन जनकपुरमा जानकी मन्दिरलगायत राम मन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, गंगा सागर एवं गंगा महाआरती, धनुषा सागर, अरगजा सागरलगायत दर्जनौ ताल तलैया र मठमन्दिर छन् ।
रामजानकी विवाह मण्डप जानकी मन्दिरसँगै उत्तर छेउमा रहेको छ । जहाँ त्रेतायुगमा भएको भगवान राम–सीताको झझल्को जस्तै मन्दिरभित्र प्रतिमाहरू हेर्न सकिन्छ । यस्तै विवाह मण्डपमा आकर्षक फुलवारीसमेत रहेको छ ।
जानकी मन्दिर पुग्ने मानिसहरूले रामजानकी विवाह मण्डपको समेत अवलोकन गर्ने गर्दछन् । पछिल्लो समय विवाह मण्डप विवाह गर्ने तथा विवाहको निर्णय लिने स्थलको रूपमा विकसित हुन थालेको छ ।
राम र सिताको विवाह भएको स्थल भएका कारणले पनि सो ठाउँमा विवाहको कुरा निर्णय लिदा शुभ हुने र वर–वधू आफ्नो वैवाहिक जीवन सफल हुने मान्यता रहेको छ । जानकी मन्दिर विवाह मण्डपमा आजभोलि विवाह निर्णय लिन छिमेकी राष्ट्र भारतको अतिरिक्त धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सिन्धुली, उदयपुर, सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लाहरूबाट समेत मानिसहरू पुग्ने गर्दछन् ।
पौराणिक कालमा मिथिलाको राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह मणिमण्डपमा सम्पन्न भएको थियो । मैथली परम्परा अनुसार विवाह हुँदा मडवा बनाई वैवाहिक कार्यक्रम सम्पन्न गर्ने प्रचलन छ ।
मडवा भनेको करिव दुई मीटर लामो र त्यत्तिकै चौडा रहेको माटोको ढिस्कोलाई भन्ने गरिन्छ । जुन जानकी मन्दिरबाट चार किलोमिटरको दूरीमा जनकपुर उपमहानगरपालिका–१३ रानी बजारमा पर्दछ । यस स्थानमा चारवर्ष अघि पुरातत्व विभागले उत्खनन् गर्दा प्राचीन कालमा बस्ती भएको पर्याप्त प्रमाणहरू फेला परेको थियो ।
विभिन्न माटाका भाँडाहरू, प्राचीन चुल्हो, खरानीलगायतका विभिन्न प्रमाणहरू मणीमण्डप क्षेत्रबाट फेला परेको छ । धार्मिक मान्यतामा विश्वास गर्नेहरूका अनुसार सोही चुल्होमा सीता–रामजीको विवाहको बखत लावा भुटिएको थियो ।
जनकपुरको पिराडी चोकभन्दा करिब तीन किलोमिटर उत्तर–पश्चिम कुनामा पर्ने मणीमण्डपमा रहेको मन्दिरमा सीता रामजीको दिव्य मूर्ति छ । विवाह पञ्चमीमा हजारांै भक्तजनहरू मणीमण्डमा पुग्ने गर्दछन् ।
जनकपुरको गंगा सागरमा प्रत्येक दिन आरती हुने गर्दछ । अहिले यो गंगा महाआरती जनकपुरको साँस्कृतिक चिनारी नै बन्न पुगेको छ । जानकी मन्दिरको करिब पाँच सय मिटर पूर्वमा पर्ने यो ऐतिहासिक गंगासागर आकर्षकस्थल बनेको छ ।
जनकपुरभन्दा बाहिर रहेको धार्मिकस्थल धनुषाधाम पनि हो । रामायणसँगै सम्बन्धित धनुषाधाममा धनुष मन्दिर रहेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयम्वरमा श्रीरामले भाँचेको धनुषको एकटुक्रा आकाश,
अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको मान्यता छ । धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रूख छ । धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुष बाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्दछन् । धनुषाधाम जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ ।
जनकपुरधाम मैथिली सभ्यताको केन्द्रविन्दु मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरको अर्को परिचय भनेको मठमन्दिरहरू हुन् । ५२ कुटी अर्थात् मठमन्दिर र ७२ कुण्ड पोखरीको नामले समेत चिनिन्छ, । जनकपुर वरपर विभिन्न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी रहेका छन् । पहिला मिथिलाको राजधानी जनकपुर क्षेत्रमा २०८ पोखरी थिए ।
अहिले १५६ पोखरी वर्तमानमा लोप भइसकेका छन् । अहिले ५२ वटा पोखरी अस्तित्वमा रहेपनि लोपोन्मुख अवस्थामा रहेको छ । निजीकरणको चपेटामा परेका पोखरीको ठाउँमा निजी निवास तथा व्यावसायिक प्रतिष्ठानहरू ठडिएका छन् भने सरकारी कार्यालय र निवासमा परिणत भएको छ ।
जनकपुरमा रहेको राम मन्दिर, नौलखाका रूपमा परिचित जानकी मन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रगभूमि मैदान नजिकैको हनुमानको संकटमोचन मन्दिर, स्वर्गद्वारी लगायतका धार्मिकस्थल एवं तालतलैया सरोवर र दैनिक रूपमा हुने गंगा आरतीले तीर्थाटनका पर्यटकका लागि गन्तव्य भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here