- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरआज मतदान् उपनिर्वाचन

आज मतदान् उपनिर्वाचन

- Advertisement -spot_img

दाङ, १४ मंसिर । उपनिर्वाचनको दाङमा सबै तयारी पूरा भएको छ । अब मतदान गर्ने काम मात्रै बाँकी रहेको निर्वाचन कार्यालयले बताए । सबै तयारी सम्पन्न भैसकेको निर्वाचन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
निर्वाचनको तयारीसम्बन्धी रिपोर्टर्स क्लव दाङले शुक्रबार श्रीगाउँमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै निर्वाचन समितिका संयोजक रिजालले सहज र सुरक्षित एवं भयरहित वातावरणमा मतदानका लागि सुरक्षा नीतिबमोजिम तीन तहको सुरक्षा घेरा व्यवस्थापन भैसकेको बताए ।
मतदान बिहान ७ देखि ५ बजेसम्म हुने र त्यसको लागि सबै बन्दोबस्ती मिलाई सकिएको उनको भनाइ छ । सहज र सुरक्षित एवं भयरहित वातावरणमा मतदानका लागि सुरक्षा नीति बमोजिम तीनतहको सुरक्षा घेरा व्यवस्थापन भैसकेको र ‘मतदानमा भयरहित अवस्थामा मतदान गर्न मतदाताहरूलाई सहभागी हुन पाउने व्यवस्था गरिएको उनले बताए ।
चार स्थानका मतदान केन्द्रहरू अति संवेदनशील रहेको भन्दै कुनै अप्रिय घटना भए तत्कालै थप प्रहरी पुग्ने बताए । उनले १० मिनेटको दूरीमा सुरक्षाको वैकल्पिक व्यवस्था गरिएको समेत बताए । नेपाल प्रहरी, विशेष स्ट्राइकिङ फोर्स, सशस्त्र प्रहरी र नेपाली सेनासमेत आवश्यकताअनुसार परिचालन गरिएको छ । निर्वाचनमा ४ सय १० कर्मचारी परिचालित छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्धिबहादुर खत्रीले प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं ३ (ख) र घोराही उपमहानगरपालिका वडा नं १६ मा हुने उपनिर्वाचनमा ७३ हजार १ सय ७२ जना मतदाता रहेको बताए । उनले सबै निर्वाचन स्थलमा सबै तयारी पूरा भएको जानकारी दिए । कर्मचारीहरूले सबै मतदान स्थलमा पुगेर मतदानको तयारीसमेत गरिरहेका छन् ।
दाङसहित ३७ जिल्लामा ५२ पदका लागि आज उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि ३ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीयतहका रिक्त स्थानमा आज उपनिर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीयतहका ४८ रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जनाले मताधिकार प्रयोग गर्ने भएका छन् । उपनिर्वाचनअन्तर्गत दाङ ३ ‘ख’, प्रदेशसभा सदस्य, प्रतिनिधिसभाका लागि कास्की–२ मा उपनिर्वाचन हुन लागेको छ । भक्तपुर १ को ‘क’ र बाग्लुङ २ का ‘ख’ प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको छ ।
प्रतिनिधिसभातर्फ २१ जनाको उम्मेदवारी परेको छ, भने प्रदेशसभातर्फ ४३ जना प्रतिस्पर्धामा छन् । स्थानीय तहका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
५२ रिक्त पदका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको छ । दाङमा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा प्रदेश सभा सदस्यका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । १२ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि पाँचजना राजनैतिक दल र २ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
जिल्लामा दुई स्थानमा हुन लागेको निर्वाचनका लागि ३४ मतदानस्थल रहेका छन् भने ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेशसभा सदस्य पदका लागि ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा २ मतदान स्थल र ५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचन हुन लागेको दाङ क्षेत्र नं. ३ को ‘ख’ र घोराही–१६ मा रहेका जम्मा ७३ हजार १ सय ७२ मतदाता मतदान गर्ने भएका छन् । दुई स्थानमा हुने उपनिर्वाचनका लागि ३७ हजार ३ सय ५ जना मतदाता रहेका छन् भने ३५ हजार ८ सय ६६ पुरूष मतदाता रहेका छन् । आज हुन लागेको उपनिर्वाचनमा तेस्रो लिंगी एकजना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

उच्च सुरक्षा सर्तकता

उपनिर्वाचनको लागि दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३ ‘ख’ र घोराही–१६ मा हुन उपनिर्वाचनका लागि उच्च सुरक्षा सर्तकता अपनाइएको छ । उपनिर्वाचनमा सुरक्षा कमजोरी हटाउन सुरक्षा हाइअलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
विगतका निर्वाचनमा भएका हिंसात्मक घटनाको समीक्षा गर्दै जिल्लाको सुरक्षा हाईअलर्टमा राखिएको सुरक्षा प्रमुखहरूले बताएका छन् । जिल्लामा विभिन्न निर्वाचनको समयमा ठूला घटनाहरू घट्ने गरेका छन् ।
गएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि दुईवटा ठूला घटना दाङमा घटेका थिए । बम विस्फोटबाट एकजना म्यादी प्रहरीको मृत्यु भएको थियो भने निर्वाचनको दिन मतदान केन्द्रका प्रहार गरिएको बमलाई सुरक्षाकर्मीको चलाखीका कारण ठूलो क्षतिबाट बचाएका थिए ।
अहिले पनि केही सम्भावित त्यस्ता घटना हुनसक्ने आँकलन गरेर सुरक्षालाई हाइअलर्टमा राखिएको सुरक्षा प्रमुखको भनाई छ । ०५१, ०६४, ०७०, ०७४ लगायतका निर्वाचनमा ज्यानैसमेत जाने गरी भएका घटनाका कारण यसपटकको उपनिर्वाचनमा पनि सुरक्षालाई हाईअलर्टमा राखिएको हो । जिल्लाको सुरक्षाका लागि तीनैतहको सुरक्षा निकायहरू परिचालन भएको छ ।
सुरक्षा निकायका तीनवटा संयन्त्रलाई विभिन्न तरिकाले प्रयोग गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीहरू सुरक्षाका लागि निर्वाचन क्षेत्रमा परिचालन गरिएको बताए । स्थलमार्ग, मोवाइल गस्ती विशेष सूचकहरूको परिचालनसमेत गरिएको छ ।
१० मिनेटमा मतदान स्थलमा पुग्ने गरी छुट्टै मोवाइल र क्विक रेस्पोन्स फोर्सको समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । मतदाताहरूलाई सुरक्षित रूपमा मतदान गर्ने वातावरण तय गर्न र मतदाता, मतदानस्थल मतपेटिका र कर्मचारी, नागरिकको सुरक्षाका लागि सुरक्षा ब्यवस्था मजबुत बनाइएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here