- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरभिकारीको प्रेम कथा

भिकारीको प्रेम कथा

- Advertisement -spot_img

समिप यात्री

हाम्रो देश नेपाल सुन्दर शान्त विशाल । आहा ! सुन्दा कति आन्नद लाग्छ अनि गर्ब पनि उत्तिकै वीर गोर्खालीको नामले । म त्यही रम्छु जहाँ फुलको बास्ना मग्मगाउँछ । म त्यही बाटो गोरेटोसँग मितेरी गाँस्छु जहाँ म ढुङ्गालाई नरम शिरानी र बाटोलाई कोमल बिस्ताराको रूपमा एक डिल्पिल स्वच्छ सपनीको कामना गर्दै जिउँछु । मेरो जीवन निर्वाह हरदिन यसरी नै बित्छ । भन्ने गरिन्छ जन्मसँगै मानिसको न्वारान हुन्छ तर मेरो न्वारान जन्मपछि भयो या भएन तर यो समाजले मेरो न्वारान गरिदियो ।
अचम्म छ संसार भनु या दैवको चाल भनु हर दिन नयाँ संसार देख्छु, परिवर्तन देख्छु । तर मात्र अपरिवर्तन म आफूमा पाउछु । परिवर्तन नपाएको पनि होइन् कस्तो परिवर्तन आफै छु चक्कित यो मेरो कपाल भनु या पराल भनु मौलाएको दुबो सरी अनि लहराझँै लामो दाह्री । आहा ! मेरो संसार कति आन्नद छ कस्तो स्वतन्त्र मै मात्र छु जस्तो लाग्छ ।
मेरो त वाणी भैसक्यो तपाईहरू जस्तै रेष्टुरेण्टको मिठो भोजनजस्तै खाने यो फोहोर मलाई भन्ने डम्राको भोजन कति स्वादिष्ट छ आहा ! आफू त एक नेपाली गर्व पनि लाग्छ एक नेपाली हुनुमा सबैले भनेको सुन्छु र आफै रमाउछु उनीहरूको कुरा सुनेर अनि आफूले आफैलाई धन्यवाद दिन्छु नेपाली धर्तीको माटो आफ्नो शिरमा लगाउन पाउँदा ।
भिकारी ! हो म भिकारी हो र भिकारी हुनुमा पनि म आफूलाई धन्य ठान्छु  । किन की म तपाईहरू जस्तो डर र त्रासमा होइन् एक खुल्ला आकाशमा उड्ने उस्तै आकाश झै निश्चल एक स्वतन्त्रमा रमाउने भिकारी हु बस् म त्यही भिकारी हुँ ।
हुन त म तपाईहरूसँग तुलना गर्न सक्दिन तर ती पापी मनसँग त तुलनामा केही कदम अगाडि अवश्य छु किनकी म भित्र त्यो पाप छैन् । जुन तपाईहरूको मनमा हर दिन एक आगोको राप भै बलिरहेको छ । हर दिन कुनै न कुनै कुनामा बसेर हेरिरहेको हुन्छु मान्छेहरूको आबेग रिस र उस्तै छट्पटी पनि ।
सुन्छु कहिलेकाहीँ भिडमा मान्छे त सर्वश्रेष्ठ छ रे ! तर खै कहाँ छ मान्छे म त मात्र पशु देख्छु कहिले आफै सोच्छु मान्छेभन्दा उत्कृष्ट त यही पशु लाग्छ जुन माया र खुशी उही हुन्छ र राजा झै बाँच्ने पनि त्यही पशु बस् त्यही पशु ।
रातको जुन सगैँ रमाउँछु म र यही पशुहरू बेजोडले भनि रहेको हुन्छ मान्छे चिज हो के ? र गल्ली–गल्लीमा तहल्का मच्चाउने त्यी कुकुरलाई हेर्नु त अनि सोच्नु र दाँज्नु कस्को छ जीवन एक रमणीय अनि खुशीयालीको छ मान्छे या पशु ठम्याउन सक्नुहुन्छ म एक भिकारीले त ठम्याउन सक्छु भने तपाईहरू त पढेलेखेका मानव त्यो उचाइमा हुनुहुन्छ ।
कति आन्नद लाग्छ उनीहरूको कुराकानी के साहस छ तपाईमा ? उनीहरूको मन बुझ्ने हो पशु मानिसझैँ बोल्न सक्दैन । तर पनि कति भावपूर्ण कुरा छ तिनीहरूमा र आश पनि उस्तै । भन्ने गरिन्छ मनको कुरा मनले बुझ्छ । हो आजभोलि काम पाएको छु बोटल उठाउने त कहिले मन्दिरमा गएर हात थाप्ने बस् यो बाहेक के नै गर्न सक्छु र ?
कथा र ब्यथा नै यस्तै छ मेरो । कहाँ जन्मे त्यो मलाई थाहा छैन् तर जन्मनुको अर्थ के हो ? त्यो पनि खै अहिलेसम्म बुझ्न सकेको छैन् । सानो छदा मात्र रूनबाहेक के नै सक्थे र त्यो भोक अनि त्यो प्यास सायद हजुरहरूले त बिरलै भोग्नु परेको होला त्यो छट्पटी र त्यो जीवन यीन्तेहान ।
आमा के हो ? बाबा के हो ? त्यो त सानो बालकलाई के थाहा ? अरू साना मजस्ताले हात समातेर बाबा–आमाभन्दा थाहा भयो । उनीहरूबाट नै सिके माया के हो र खुशी के हो ?
दिन बित्दै गयो अरूको खुशी नै देखेर रमाउने मेरो बाध्यता नै त्यस्तै प¥यो । तपाईलाई थाहा नै छ हिन्दूहरूको धार्मिकस्थल पशुपतिनाथ मन्दिर । म उहाँकै शरण खोज्दै गए पशुपतिनाथको एक कुनालाई आफ्नो बासस्थान बनाए ।
भनिन्छ जीउनलाई कर्म त गर्नै प¥यो म पनि पशुपतिनाथमा चिता जलाईएका काठ् उठाउने काम गर्न थाले । न सीप न पढाइ काम त त्यही पनि मेरो लागि ठूलै नै हो ।
जीउनु छ र निरन्तर आजको रात कटाई पूर्ण भोलि नयाँ सपना बुन्नु छ । दिनहरू बित्दै गए दिनभरीको कामको थकाईले नचाहदा नचाहदै पनि रक्सी सेवनबाहेक अरू कुनै विकल्प नै भेटिन । मेरो हरेक साझ भट्टीमा बित्न थाल्यो । रक्सी नै प्यारो लाग्न थाल्यो ।
कान्छी भट्टीवाल्नीलाई सबैले भन्थे । हरेक दिनको थकाई र कान्छीको त्यो मिठो बोलीले हरेक साझ तान्न मलाई प्रेरित, एक आन्नदित पल र प्यारो क्षण झै लाग्न थल्यो । म उसको बोली र उसको त्यो जोवनसँग लहराउन थाले । म एकोहोरो हुन थाले ऊप्रति बस् एकोहोरो …। त्यो भिड त्यो मान्छेको लस्कर कहीँ दुःखका आँसु त कहीँ खुशीको पल । एउटै ठाउँ छ तर रूप अनेक छ ।
दिनभरीको त्यो थकान अनि यो छट्पटी । न आफ्नो भन्नु कोही छ । अरूको परिवार देख्छु कुनामा गएर सोच्दै बस्छु आखाँबाट आँसु झरेको पत्तो पनि नहुँदो रहेछ । गुहेश्वरीको त्यो बाटोमा लस्करै बसेका जोडी हेर्छु र आन्नदित हुँदै हेर्दै बस्छु ।
हातमा हात त कहिले टाउको एकअर्कामा अनि गुञ्जिएका मनका कुराहरू । म त आन्नदित भै हेरिरहेको हुन्छु । अझ रूख माथिबाट चाख दिदै र आखा तरीतरी बाँदरका बथानहरूले पनि आँखा नझिम्काई नियाली आन्नद लिई रहेका छन् ।
दिन बित्दै गयो । तन पनि छिपिदै जान थाल्यो । तर यो मन पशुपतिको पछाडितिर रेहेको भट्टीवाल्नी कान्छीको लागि यो माया फलाम र चुम्बकबीचको नै रहिरह्यो । पहिलेभन्दा झन म एकपल उसको नयन नियाली बाँच्न नसक्ने भएको छु ।
कल्पनाका शिखरहरू चुमिरहेको हुन्छु । उसलाई आफ्नो मनसँग जोडेर हरेक क्षण एक रमणीय बनाइरहेको हुन्छु । बस् यो कल्पनाको बस्तीमा कल्पना गर्नबाहेक म एक भिकारी के नै गर्न सक्छु र बस् के नै ? कहाँ पुग्छु म आफैलाई थाहा हँुदैन ? जहाँ पुगे पनि उसको एकोहोरो मायाले तानीरहेको हुन्छ हरेक साझ । उसबाट सिकेको छु जीवन निर्वाह गर्न ।
उसैले गर्दा अहिले एक नारकीय जीवनबाट केही पर सरेको छु । उसैले गर्दा अहिले पहिलेभन्दा केही सुकिलो हुनु पाएको छु । कसरी बयान गरू म उसको ? कुन रूपको अर्थ दिऊ म उसलाई ? जन्म दिने आमाको माया नपाए पनि उसले दिएको माया आमाले दिएसरी छ । उसले नै एक आमासरी मेरो न्वारन गरी अनि नाम दिई उज्ज्वल ।
एक अन्धकारमय जीवनमा उज्यालो छर्न मलाई नाम राखी त्यही नामबाट सुरूवात गराई । उसले गर्दा नै आज म एक भिकारीको तुल्लानबाट एक कदम उठेको छु । उसलै गर्दा आज आफ्नै खुट्टामा अडिन सफल भएको छु । उसको एक बोलीमा आज म काम गर्ने भएको छु बस् उसैले गर्दा ।
ऊ नभेटिएको भए मेरो जीवन कहाँ पुग्थियो होला । म त मेरो जीवनले यसरी मोड लिन्छ भनेर कल्पनासमेत गर्न सक्दिनथे । सायद ऊ नभाको भए आज म यसरी काम होइन कतै लाचार भै सडक बालकको रूपमा फोहोरको डङ्गुरमा आहार खोज्दै हुन्थे
त कतै त्यस्तै साथीहरूको सङ्गतले फालिएका चुरोटको ठुटा, गाजा र भोक मेटाउन डेन्डराइ जस्ताको सिकारमा हुन्थे होला । सम्भव नै नभएको कुरा आज मेरो सामु भएको छ । आशाको सानो तान्द्रामा अडिएको मेरो जीवन अहिले केही गर्ने सपना बुन्दै छ ।
हिड्दै गर्दा सुनेको थिए त्रिभुवन विमानस्थल जाने बाटोमा एक जोडीको मुखबाट केटीले भन्दै थिइ आफ्नो केटा साथीलाई हामी मायाको सम्बन्धमा बाँधिएको धेरै भयो । तर यदि हाम्रो परिवारले हामीलाई स्वीकारेन भने हामी के गर्ने ?
म त तिमीबिनाको जीवन सोंच्न पनि सक्दिन । एकपल टाढा हुन पनि सक्दिन मलिन हुँदै केटीले भन्दै थिई । केटाले उसको मगजमा चुम्बन गर्दै अंग्रेजीमा भन्न थाल्यो IT IS IMPOSSIBLE.। तिमीलाई थाहा छ नी IMPOSSIBLEको अर्थ जहिले पनि हामी सकारात्मक सोच लिएर हिड्नुपर्छ । हामीले हाम्रो परिवारलाई सम्झाउन सक्नुपर्छ जीवन बिताउनु छ ।
यहाँ जब कि अरूसँग जीवन सम्भव नै छैन् त कसरी एउटा घरमा बाँधिएको गोरू जसरी त जीवन चल्दैन नी । एउटा सुगा त बोल्न सिकाएपछि बोल्दछ भने तर बोल्न त बोल्छ जे सिकाको छ त्यहीँ बोल्छ । अरू त बोल्न सक्दैन नी । त्यसरी नै चरा बोल्नु पनि त IMPOSIBLE नै हो तर त्यो IMPOSIBLE भयो भने हामी त मानव हो अवश्य पनि सक्छौँ ।
त्यसैले IMPOSIBLE को अर्थ असम्भव होइन याँकी म गर्न सक्छु भन्ने अर्थ हो । YES , I AM POSSIBLE को अर्थ रहेको छ भन्यो । केटी पनि मुसुक्क मुस्कान LOVE YOU भन्दै अङ्कमाल गरी ।
हो मैले पनि त्यहाँबाट जीवनको अर्थ केही बुझे र मनमनै धन्यवाद दिए । त्यी दुई प्रेमीलाई र पशुपतिनाथसँग त्यी दुईको सफलताको कामना गरे । हो यसरी मेरो जीवन पनि असम्भवको बाटोमा थियो । उसैले नै सम्भव गराई दिई मेरी भट्टीवाल्नी कान्छीले मेरी मायालुले ।
उसको चोट पनि उस्तै छ तर मभन्दा कम । सानैमा बाबाले छोडेर गएको र आमा पनि ऊ पन्ध्र वर्ष हुँदा छोरी बस् है म भोलि आउँछु भनेर निस्केको । उसको आमाको भोलि ऊ पच्चीस पुग्दा पनि अत्तोपत्तो छैन् । उसको आमालाई पनि भोलिवादले छोएको रहेछ ।
दिन बिते, हप्ता बिते, महिना बिते र वर्षौ बित्दा पनि भोलि आएको छैन् भनु या आउँदैन नै भनुँ । त्यही आमाले छोडेर गएको भट्टी समालेर बसेकी छ एउटा सानो भाइ छ उसलाई हेर्दै आमा आउने झिनो आशा बोकेकी छ ।
भन्छे मेरा लागि गर्ने कोही थिएन तलाई देखेपछि मेरो जस्तो दुःख हेर्न सकिन तेरो । त्यो फाटेको कपडा मेरा यी आखाँले सहन सकेन । उसको दुःखको पहिरो पोख्ने ठाउँ म भएको छु र मेरो ऊ । मेरो लागि ऊ संसार भएकी छ ।
तर म उसको लागि के हो र कुन नजरले हेर्छे म अझ ठम्माउन सकेको छैन् ? मेरी मनकी रानीको बयान त धेरै सुन्नुभयो तर नाम पनि ऊ जस्तै सुशील छ सोह्रै शृङ्गारले भरीपूर्ण छ मेरी कान्छी उसको नाम हो सुशीला । यो नाम सुन्न पनि मैले वर्षौ कुर्नुप¥यो । भनिन्छ नी परिश्रमको फल मिठो हुन्छ । यो त मेरो सौभाग्य हो जहाँ एक देवीको रूप धारण गरी मेरो सामु उपस्थित छे मेरी सुशीला ।
म त एकोहोरो पागल छु उस्को मायामा । मेरो जीवनलाई एक अग्रतामा लैजाउनु उसैको हात छ जन्मदिनेको मुख नदेखे पनि कर्म दिनेको मुख यो हृदय जन्म–जन्मानतरसम्म रहने छ । ऊबिनाको जीवन दियोको बत्ती झै थियो ।
जतिबेला दियोको तेल सकिन्छ बत्ती निभेसरी र आहाराबिना म भिकारी जस्तोको । कुनै मोल थिएन मेरो सबैको खुट्टा र हात थापी एक दुई रूपैयाँमा दिन र रात ढाल्नु पथ्र्यो ।
कति रात त म भोकै बसेको पनि छु सम्झनु त्यो पल फोहोरको डङ्गुरमा कुकुरसँगै खाएको र सडक बाटोमा कुकुरसँगै रात बिताएको । मेरो साथी त्यही भएको थियो । मेरो हेरचाह रातमा उसैबाट हुन्थ्यो । त्यो पुस–माघको जाडोमा कसरी रात बित्यो होला ?
न शरीर ढाक्ने कपडा नै, न त पाऊमा चप्पल नै ? अहिले त्यो क्षण सम्झदा अचम्म लाग्छ । भावुक बनाउँछ । यी सब कुरा सम्झदा र सोध्ने गर्छे कान्छीले त्यी पलहरू कस्ता थिए । त्यो तेरो जीवन वरण गर्न । त्यो भन्दा आँसुका धारा बगेको पत्तो नहुँदो रहेछ र मेरो कथामा बर्खायामको झरीसरी आँसु बगाई रहेकी हुन्छे । सुक्सुक गर्दा पो थाहा हुन्छ ऊ रोएको ।
किन रोएको कान्छी ? भन्दा अझ मैमाथि प्रश्न थुपार्छे त चाहीँ किन रोएको नि ? अनि पो थाहा पाउँछु कि मेरो आखाँबाट नी आँसुको भल बगेको छ भन्ने कुरा । म मुसुक्क हाँसेर भन्थे म रोएको होइन । आँसु झरेको पत्तो पनि पाइन । मलाई झुट् नबोल म बुझ्छु नी तेरो मनको कुरा ।
यो भन्दा कताकता मलाई पनि उसले मन पराउँछे झै लाग्छ । न त उसले नै मनको कुरा ब्यक्त गरेकी छ । म त कसरी भन्न सक्छु सानो मुख ठूलो कुरा झै हुन्छ एक भिकारी परे । मनको कुरा खोल्न सक्दिन यो सम्बन्ध म बिगार्न चाहदिन । समयले यति समीपमा हामीलाई ल्याउँछ मैले सोचेको पनि थिएन ? न त कल्पना नै गर्न सक्थे ।
बिस्तारै म पनि अरू कामहरू छोड्दै गए अंग्रेजी लेख्न, पढ्न नजाने पनि नेपालीमा म कोही भन्दा कम छैन् । खुबी भनेको त्यही कहिलेकाहीँ शब्द कोर्दै हुन्छु र कान्छीले कति राम्रो शब्द अनि सिर्जना छ त माथि भन्दै मख्ख पार्छे । अनि त्यहीँ शब्दकै तालमा सुरीलो धुन मिसाउँदै संगीतमा ढाल्न खोज्छे । उसको स्वर तिखो र उसले गीत गाउँदा सुनि रहुँझै लाग्छ । कोइली नै आएर गीत गाएझैँ ।
आहा ! उसको चाहना छ गायककार बन्ने । बेला–बेलामा गीतहरू गुन्जाई रहेकी हुन्छे भाइलाई काखमा च्यापी र भन्छे तेरो शब्द हुन्छ अनि मेरो स्वर उज्ज्वल अनि हामी बुन्न थाल्छाँै एक रंगीन सपना ।
भट्टीकी कान्छी ठूलै पसल खोली अहिले साउनी भएकी छ र म भिकारी पनि उही साउनीको प्रिय मान्छे भएर उसकै आँखा अगाडि रमेको छु । ठाउँ बदलियो परिवेश बदलियो, मान्छे बदलियो तर यो हाम्रो मन एकअर्काप्रति अझ आत्मीय हँुदै गयो ।
बस् म त्यहीँ भकारी हुँ जहाँ हरेक गल्ली बाटोमा फाटेको कपडा र फोहोर मलाई भन्ने ड्राममा आहारा खोजी हरदिन बाँच्ने कोसिस गरिरहेको हुन्छ । यसरी एक भिकारको एकतर्फी माया दुबैमा सयौँ जुनीको लागि साथ दिने र बाचा गरी एक उज्ज्वल जीवन निर्वाह गर्दैछौ । यो शब्द मलगायत मेरा भिकारी साथीहरूमा र मलाई जीवनदान दिने मेरी प्यारी सुशीलामा अर्पित छ ।
आशयः प्रेम आफै एक सुन्दर फुल हो जुन जहाँ जसमा पनि हुनसक्छ जसमा पनि बस्न सक्छ । प्रेममा कुनै जातभात हुँदैन यो त आफैमा निस्वार्थ छ ।
शब्द रचना र संयोजकः समिप आचार्य

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here