Friday, March 22, 2024
Homeफिचरप्रविधिले बालविवाह रोक्न चुनौती

प्रविधिले बालविवाह रोक्न चुनौती

- Advertisement -spot_img

दाङ, १३ असोज । रूकुमका रमन केसी घोराहीमा अध्ययन गरिरहेका छन् । घोराहीमा अध्ययन गर्दै आएका रमनलाई सामाजिक सञ्जाल फेसबुकमा एकदिन एक अपरिचित युवती पूजाबाट फ्रेन्ड रिक्वेस्ट आयो ।
रोल्पा घर भएर घोराहीमा बस्दै आएकी ति युवतीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएपछि रमनले पनि उनको रिक्वेस्ट एक्सेप्ट गरे र फेसबुकमा साथी बनाए । रमन र पूजा (नाम परिवर्तन) ती युवतीबीच विस्तारै–विस्तारै कुराकानी हुन थाल्यो ।
कुराकानी अघि बढ्दै जाँदा ती दुई जनाबीच फोन नम्बर साटासाट भयो । विद्यालयमा अध्ययन गर्दै गरेका ती दुईजनाको समयअघि बढ्दै जाँदा फोन र फेसबुकमा पनि कुराकानी बढ्दै जान थाल्यो ।
उनीहरू दुईबीचको कुरा प्रेममा परिणत भयो र विवाह गर्ने निर्णयमा पुगे । उनीहरूबीच विवाह भयो । परिवारले नै प्रहरीमा खबर गरेपछि घटना बाहिर आयो । प्रहरीसँगको समन्वयनमा उमेर पुगेपछि विवाह गराइदिने सहमतिमा उनीहरू छुटे ।
घोराही उपमहागरपालिका–२ रामपुरका विष्णुबहादुर भण्डारी केही दिन अघि विद्यालयबाट शैक्षिक भ्रमणमा इलाम पुगेका थिए । उमेरले १७ वर्षमात्रै रहेका उनले इलाममा पुगेको समयमा झापाबाट भ्रमणमै आएकी १६ वर्षिया जानका वलीसँग चिनजान भयो । ईलामको चियाबारीमा भ्रमणकै क्रममा दुबैजना बीच चिनजान परिचय भएपछि फोन नम्बर साटासाट भयो ।

बालविवाह रोक्न कानुनमै व्यवस्था भएपनि बढ्दो सूचना प्रविधि यसको मूख्य चुनौती बनेको छ । सूचना प्रविधिको विकास भएपनि दुरूपयोग हुँदा समाजमा बालविवाह बढ्दै गएको पाइन्छ ।


फोन हुँदै विस्तारै फेसबुकमा पनि दुईजना बीच कुराकानी हुन थाल्यो । फेसबुक र फोनमा कुराकानी हुन थालेपछि उनीहरूले आफ्नो अध्ययनलाई भन्दा कुराकानीलाई प्राथमिकतामा राखे र अन्त्यमा उनीहरू बीच पनि विवाह गर्ने सल्लाह भयो ।
उनीहरूले विवाहका लागि घरबाट भागिसकेपछि माइती पक्षले प्रहरीमा जाहेरी दियो र पछि उनीहरूको विवाह रोकिएको छ । उनीहरूलाई पनि प्रहरीको समन्वयमा उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमति भयो ।
लमही नगरपालिका–५ देउखुरीका १८ वर्षका शरण चौधरी र घोराहीका सीमा चौधरी पनि उमेरले १६ वर्षका मात्रै हुन् । उनीहरूबीच पनि सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भयो । चिनजान हिमचिम बढ्दै जान थालेपछि उनीहरूमा विवाह गर्ने सहमति भयो ।
विवाह गर्नका लागि घरबाट भागिसकेका दुबैजनालाई प्रहरीको सहयोगमा उनीहरू दुबैजनालाई एक–आपसमा छुट्याइयो । अहिले ती युवकलाई माइती पक्षले जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ ।
यी तीन प्रतिनिधिमूलक घटनामात्र हुन् । समाजमा पछिल्लो समय सामाजिक सञ्जाल र सूचना प्रविधिको विकासले बालविवाह झनै बढ्दै गएको छ ।
सामाजिक सञ्जाल वा फोनकै कारण अधिकांश बालविवाहका घटना भएको जिल्ला प्रहरी कार्यालय दाङको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र प्रमुख सपना सुमन खड्काले बताइन् ।
‘दूरी जति टाढा भएपनि प्रविधिले सबैलाई नजिक बनाइदिएको छ, यसैको कारण पनि बालविवाहका घटना बढ्दै गएको देखिएको छ’ उनले भनिन्– ‘हामीकहाँ आउने अधिकांश बालविवाहका घटना सामाजिक सञ्जाल अर्थात् सूचना प्रविधिसँग जोडिएका छन्, सामाजिक सञ्जालकै कारण सानै उमेरमा विवाह गर्ने प्रचलन बढ्दै गएको छ ।’
जिल्ला प्रहरी कार्यालय दाङको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा चालु वर्षको साउनदेखि हालसम्म मात्रै ११ वटा बालविवाहका घटना दर्ता भएका छन् । ‘प्रहरीलाई सूचना आएका घटना प्रतिनिधिमूलक मात्रै हुन्, समाजमा भित्र–भित्रै अहिले पनि बालविवाह भइरहेको छ, केन्द्र प्रमुख खड्काले भनिन्–
‘प्रहरीसम्म घटना आइपुग्ने भनेका त कि शिक्षित परिवारको छ भने आउँछ, कि त अन्तरजातीय विवाह भयो भने, कि त केटा पक्ष आर्थिक रूपमा कमजोर भएपछि मात्र माइतिपक्षले प्रहरीमा जाहेरी दिने गरेको पाइन्छ ।’
नेपालको कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाहको रूपमा लिने गरेको छ । बालविवाह रोक्न कानुनमै व्यवस्था भएपनि बढ्दो सूचना प्रविधि यसको मूख्य चुनौती बनेको छ । सूचना प्रविधिको विकास भएपनि दुरूपयोग हुँदा समाजमा बालविवाह बढ्दै गएको पाइन्छ ।
बालविवाह रोक्नका लागि विभिन्न प्रयास पनि भएका छन् तर विकराल समस्याका रूपमा देखिएको बालविवाह रोकिनुको साटो झनै बढ्दै गएको छ । समाज शिक्षित बन्दै गएपनि सूचना प्रविधिको गलत प्रयोगका कारण सानै उमेरमा विवाह गर्ने युवायुवतीको संख्या बढ्न थालेको हो ।
बालविवाह रोक्न अभिभावक नै बढी चनाखो बन्नुपर्ने ग्रामीण भेगमा अहिले पनि कतिपय बालविवाह अभिभावकको सहमतिमा हुने गरेको देखिएको छ ।
सहरमा सामाजिक सञ्जालको दुरूपयोग हुँदा सानो उमेरमा गरिने विवाह बढ्न थालेको तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताइन् । ‘तुलसीपुरमा पनि बालविवाह अन्त्य हुन सकेको छैन्, बालविवाह रोक्नका लागि हामीले विभिन्न अभियानको शुरूवात पनि गरेका छौँ’ उनले भनिन्– ‘सामाजिक रूपमै चेतना फैलाउन सकेपनि बालविवाह रोक्न सहयोग पुग्न सक्छ ।’

बालविवाह गर्ने बालिका बढी

जिल्लामा पाँच वर्षको अवधिमा ९ सयभन्दा बढी बालिकाहरूको २० वर्ष नपुग्दै विवाह भएको पाइएको छ । विगत पाँच वर्षको तथ्याङ्कलाई हेर्दा बालविवाह गर्नेहरूमा सबैभन्दा धेरै विद्यालयमा पढ्ने बालिकाहरू रहेका छन् ।
विद्यालयस्तरबाटै बालविवाह न्यूनीकरणका लागि विभिन्न गतिविधिहरू सञ्चालन हुने गरेको भएपनि परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्दै गरेका स–साना बालिकाहरूको कम उमेरमै विवाह गर्ने गरेको तथ्याङ्क देखिएको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) दाङको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७५÷७६ सम्म जिल्लामा ९ सय ५४ जनाको कम उमेरमै विवाह भएको पाइएको छ । विगत पाँच वर्षदेखि जिल्लाका २० वटा विद्यालयमा गरिएको सर्वेक्षण अनुसार २०७१ सालमा विद्यालयमा अध्ययनरत १ सय ४८ जना बालिकाहरूको कम उमेरमा विवाह हुन पुगेको छ ।
त्यसैगरी २०७२ मा २ सय ५० बालिकाहरूले पढाइ छोडेर बालविवाह गरेका छन् । त्यसैगरी २०७३ सालको तथ्याङ्क अनुसार विभिन्न विद्यालयका २ सय विद्यार्थीहरूको १९ वर्ष नपुग्दै विवाह भएको छ भने जसमा ६ जना किशोरहरू रहेका छन् । त्यस्तै २०७४ मा २ सय १५ जना बालिकाहरूको कम उमेरमा विवाह हुन पुगेको छ भने २०७५ मा १ सय ४१ जनाको बालविवाह भएको पाइएको छ ।
बिहीबार भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी घोराही, तुलसीपुर र दंगीशरणका विभिन्न विद्यालयका करिब ५० जना विद्यार्थीहरूले बालविवाह नगर्न र नगराउन प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
लैंगीक हिंसाका विरूद्धमा सञ्चालन भएको १६ दिने अभियानको अवसरमा ओरेकले सञ्चालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य र यौनिकता विषयक एकदिने अभिमुखीकरण कार्यक्रमका अवसरमा यो तथ्य सार्वजनिक गरिएको हो ।
परिवारले कम उमेरमा विवाह गराई दिए पुण्य कमाइने, दाइजो दिन नपर्ने, शिक्षा, स्वास्थ्यको खर्च व्यहोर्नु नपर्ने भन्दै विवाहका लागि बाध्य बनाउने प्रवृतिले किशोर किशोरीहरूको भविष्य अन्यौलमा पर्ने गरेको बालबालिकाहरूले बताएका छन् ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि बालविवाह न्यूनीकरणका लागि सबै निकायका सरोकारवालाहरू सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । ओरेक दाङकी तथ्याङ्क व्यवस्थापक विन्दु शर्माले सहजीकरण गरेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाकी कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here