- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचर१६ दिने अभियानको तयारी

१६ दिने अभियानको तयारी

- Advertisement -spot_img

लैंगीक हिंसाविरूद्धको सचेतना प्रदान गर्न र लैंगीक हिंसाविरूद्ध शून्य सहनशीलताका लागि २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगीक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन हुँदैछ । नेपालको कानुनले महिला पुरूषको समान अधिकार भनेपनि अहिले पनि समाजमा महिला पुरूषबीचको विभेद अन्त्य हुन सकिरहेको छैन् ।
लैंगीक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिन कालदेखि नै समस्याको रूपमा देखिदै आएको छ । लिङ्गका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजीवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गी भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल,
परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्की दिनु, पारिश्रम नदिनु वा कम दिनु, अश्लिल शब्द बोल्नु, अश्लिल फोटो देखाउनु आदि सबै लैंगीक हिंसा हो । नेपाललगायत विश्वका धेरै देशहरूमा पुरूषभन्दा महिलाहरू विभिन्न प्रकार हिंसाबाट बढी पीडित भएका कारण लैंगीकताको आधारमा हुने हिंसामा महिलामाथि हुने हिंसाबारेको छलफल केन्द्रित हुने गरेको छ ।
तथ्यांक अनुसार पुरूषको तुलनामा महिला हिंसामा पर्ने गरेको देखिएको छ । लिङ्गकै आधारमा विभेद हुँदा पनि महिला हिंसाका घटना बढिरहेको छ । नेपालको इतिहासमा लैंगीक हिंसाविरूद्धको दिवस २०५४ सालदेखि मनाउने गरिएको पाइन्छ ।
हिंसारहित समाज निर्माणका लागि भएका प्रयासलाई सार्थक रूप दिन लैंगीक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । यसैक्रममा कार्तिक ९ देखि २४ गतेसम्म यो अभियान सुरु हुँदैछ । यसै सन्दर्भमा रहेर टुडे राउण्ड टेबलमा अभियानकर्ताहरुको बुझ्ने प्रयास गरेका छौं 


सचेतना नै हिंसा न्यूनीकरण्

माया श्रेष्ठ
अधिकृत
महिला, बालबालिका तथा सामाजिक विकास शाखा
तुलसीपुर उपमहानगरपालिका

हिंसा रोक्न हामी एक्लैले सक्दैनौँ । व्यक्ति, परिवार र समाज मिलेर मात्र हिंसामुक्त समाजको निर्माण गर्न सकिन्छ । समाजमा एउटा हिंसामा पर्दा अर्को केही नबोल्ने अवस्था मात्र होइन् ,स्वयम् व्यक्ति पनि समाजकै कारण आफू हिंसामा परेका कुराहरू बाहिर ल्याउन सकिरहेको छैन् ।
जसले गर्दा समाजमा आज दिनप्रतिदिन भुसको आगोझैँ हिंसाका घटना बढिरहेका छन्, चाहे त्यो महिला होस् चाहे त्यो पुरूष किन नहोस् । पुरूष हिंसाका घटना पनि हुन्छन् तर पुरूषको तुलनामा महिला हिंसाका घटना बढी हुने गरेका छन् । हिंसामा परेकाहरूको उद्धार र पीडकलाई कारवाही गर्ने कानुन पनि बनेका छन् तर कार्यान्वयनमा फितलो देखिएको छ ।
हाम्रै संरचना, संयन्त्रका कारण पीडितले झनै पीडा पाउने र पीडकले उन्मुक्ति पाउने वातावरण निर्माण भइरहेको छ । विभिन्न कारणले बढ्दै गएको हिंसा न्यूनीकरणका लागि विभिन्न प्रयास पनि हुने गरेका छन्, तर सार्थक बन्न नसकिरहेको अवस्था छ ।
लैंगीक हिंसाका कारणहरू खोजिरहेका छौँ । हिंसाको कारण बालविवाहलाई पनि लिन सकिन्छ । तुलसीपुर उपमहानगरपालिकाभित्र बालविवाहलाई हेर्दा खेरी यसको अवस्था डरलाग्दो छ । यस्तो अवस्थामा पनि हिंसाका घटनाहरू हुने गरेका छन् ।
बालविवाह न्यूनीकरण कसरी गर्न सकिन्छ ? भनेर लाग्न जरूरी छ । बालविवाहकै कारण समाजमा महिला हिंसाका घटनाहरू बढी नै हुने गरेको देखिएको छ । यस्तो अवस्थामा अहिले स्थानीय तहमा न्यायीक समिति छ । न्यायीक समितिमा पनि हिंसामा परेमा उजुरी दिन सकिने व्यवस्था छ । न्यायीक समिति न्याय दिने निकाय हो ।

हाम्रै संरचना, संयन्त्रका कारण पीडितले झनै पीडा पाउने र पीडकले उन्मुक्ति पाउने वातावरण निर्माण भइरहेको छ । विभिन्न कारणले बढ्दै गएको हिंसा न्यूनीकरणका लागि विभिन्न प्रयास पनि हुने गरेका छन्, तर सार्थक बन्न नसकिरहेको अवस्था छ । लैंगीक हिंसाका कारणहरू खोजिरहेका छौँ । हिंसाको कारण बालविवाहलाई पनि लिन सकिन्छ ।


उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखामा प्राप्त तथ्यांक अनुसार अहिले सहरी क्षेत्रमा बढी आएको छ । ग्रामीण क्षेत्रका घटनाहरू कमै आउने गरेका छन् ।
यद्यपि महिला हिंसाका घटनाहरू गाउँघरमा झनै बढी हुने गरेको छ । तर अधिकांश महिलाले आफ्ना घटना लुकाएर बसेका छन् । सहरमा त्यस्तो अवस्था छैन्, हिंसा सहेर बस्नु हुँदैन् भन्ने सचेतना फैलिएको छ । महिलामा सचेतना फैलिएका कारण पनि त सहरी क्षेत्रमा महिला हिंसाका घटनाहरू बाहिर आउने गरेका छन् ।
अब अहिले यसलाई पूर्णरूपमा रोक्न त सक्दैनौँ तर पनि प्रयास भने निरन्तरण हुन्छ र न्यूनीकरण गर्न सकिन्छ तर कसरी ? भन्ने प्रश्न पनि छ । हिंसाका घटना हुने भनेकै एकले अर्कोलाई बुझ्न नसक्दा हुने घटनाहरू हुन् । महिला हिंसामा महिलाकै पनि संलग्नता हुन्छ तर अधिकांश हिंसात्मक घटना पुरूषका कारण पनि हुन्छन् ।
अहिले सञ्चालन हुन थालेको १६ दिने लैंगीक हिंसाविरूद्धको अभियानलाई सफल बनाउन र हिंसामुक्त समाज निर्माणका लागि आम सरोकारवालाको साथ पनि आवश्यक छ ।
नागरिक सचेतना बढाउन सकेमा पनि हिंसामुक्त समाज निर्माण गन सकिन्छ । कसैले कसैलाई हिंसा गर्न हुन्न भन्ने चेतनाको विकास गराउन आवश्यक छ । अहिले तुलसीपुरमा हामीले यहाँका मिडियाकर्मीसँगको सहकार्यमा लैंगीक हिसा विरूद्धको १६ दिने अभियान सञ्चालन गर्दैछौँ । हिंसा निवारणमा पुरूषको सहयोग नभए सम्भव छैन् ।
आफू पनि हिंसा सहुनुहुँदैन्, अरूलाई कसैले हिंसा गरेको देखेमा प्रतिकार गर्न सक्यौँ भने पनि महिला होस् या पुरूषमा हिंसाका घटना कमी आउने अपेक्षा गर्न सकिन्छ । समाजमा अलिकति बढी देखिएको महिला हिंसाका घटना हुन् ।
हिंसा सहेर बस्नुहुँदैन भन्ने सचेतना अझै फैलिन सकेमा पनि हिंसाका घटना बाहिर आउन थप सहयोग पुग्न सक्छ । घटना बाहिर आउन थालेपछि हिंसाका घटना केही बढेको हो कि भन्ने हुन थालेको छ ।


हिंसा न्यूनीकरणमा सबैको साथ

शुष्मा गिरी
निवर्तमान अध्यक्ष
महिला मानवअधिकार रक्षक सञ्जाल

हिंसा नितान्त रूपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरूरी छ । महिलाविरूद्धको हिंसा लैंगीक असमानताको उपज पनि हो र यसका विरूद्धमा कानुनहरूले सम्बोधन पनि नगरेका होइनन् ।
तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै रूपमा महिला हिंसा र लैंगीक असमानता कायमै छ । आजको दिनले महिलाविरूद्धको हिंसाका विरूद्ध समग्र विश्व समुदाय भेला भएर ऐक्यवद्धता जनाउने गर्दछ ।
इतिहास साक्षी छ कि जुन समुदायमा महिला र पुरूषका बीचमा समान व्यवहार छ र मिलेर घर व्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार, त्यो समुदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ । महिलाहरूलाई साक्षर र जागरूक बनाइने कार्यक्रमहरू जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र सम्भावनाका लागि लैंगीक समानता अपरिहार्य छ ।
हाम्रो समाजमा पनि छोरा र छोरीका बीचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनुपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरू नै महिलाविरूद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मस्तिष्कमा जरा गाडेर बसेको छ ।
छोरी होस् या छोरा समाज–परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसाविरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरू अनि ब्यथाहरू धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । नेपाल सरकारले महिला पुरूष कानुनतः समान र सक्षम छन् भनेको छ ।
तपाईमाथि कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । हिंसालाई सहनु अथवा भोगेर केही नबोल्नु भनेको हिंसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापि हुन सक्दैन ।
महिला हिंसा भन्ने वित्तिकै हामी हिंसक पुरूषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरूकै भूमिका पनि उत्तिकै रहन्छ, बुहारी तह लगाउने, सासूदेखि भाउजू तह लगाउने नन्दसम्म, छोरी तह लगाउने आमादेखि छात्रा तह लगाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाइन्छन् ।
महिलाहरू स्वयं पनि महिला हिंसाविरूद्ध सजग रहन जरूरी छ । लैंगीक हिंसाविरूद्धको दिवसको यो १६ दिने अभियानले समाजमा केही न केही सचेतना फैलाउने छ भन्ने आशा लिएका छौँ ।
स्थानीय सरकार पनि अहिले लैंगीक हिंसाविरूद्धको दिवसलाई सफल बनाउने अभियानमा लागेका छन् । यसले पनि नीति कार्यान्वयनमा केही सहजता ल्याउने छ । हिंसाविरूद्धका कानुन नबनेका पनि होइन् तर कार्यान्वयनमा भने सकस नै देखिएको छ ।
हिंसा न्यूनीकरणका लागि भएका संयन्त्रले मात्र हिंसा न्यूनीकरण हुनसक्छ भन्न सकिदैन् । कुनै पनि व्यक्तिको सचेतना बढाउन सकेपनि हिंसा न्यूनीकरण गर्न सकिन्छ । विगतमा पनि हिंसाका घटना थुप्रै हुने गरेका थिए तर बाहिर आउन नसक्दा पनि हिंसाका घटनामा बढिरहेका थिए । नारीको प्रेम र आत्मीयताविना पुरूष र पुरूषको साथ र सम्मानविना महिला पूर्ण हँुदैनन् । आउनुहोस् अब महिला हिंसाविरूद्धमा हामी सदैव सजग रहनेछौँ ।


समान सोच र व्यवहार आवश्यक

पद्मा चौधरी
सचिव
महिला मानवअधिकार रक्षक सञ्जाल

नेपाली महिलाले धेरै किसिमका हिंसाको सामना गर्नुपरेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन् ।
अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार र अस्तित्वबाट विमुख हुनुपरेको छ । शिक्षा र स्वास्थ्यमा छोरासरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् । हिंसा घरैबाट उत्पन्न हुने गरेको छ । यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ । महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ ।
पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाइजो नल्याएका कारण यातना सहनु परेको उदाहरण थुप्रै भइसकेका छन् ।
बालविवाह, बहुविवाह, देहव्यापार, गरीबी, बेरोजगारी, चेलीबेटी बेचबिखन र ओसारपसार, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो रहेको छैन ।
हिंसाका विरूद्ध जबसम्म प्रभावकारी कानुन लागू हुँदैन तबसम्म न्याय र मुक्ति मिल्दैन । राज्यको संरचनाले नै महिलाहरूको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउन नसकेको हो ।
दोहोरो जिम्मेवारी बहन गर्ने महिलाको अधिकारलाई मानवअधिकारका रूपमा सुनिश्चित गर्नसके हिंसा स्वतः निर्मूल हुन्छ भन्न दुईमत छैन । महिलाले पनि आफूलाई साँघुरो घेराभित्र राख्न खोज्नु हुन्न । हजारौँ वर्ष सामन्ती विचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोचको दिमाग परिवर्तन गराउन महिलाहरू पनि एक हुन जरूरी छ ।
नेपालको अन्तरिम संविधान २०६३ को मौलिक हकअन्तर्गत धारा २० ले महिलाको हकमा कुनै पनि महिलाविरूद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानुनद्वारा दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ तर कार्यान्वयन हुन सकिरहेको छैन् । लैंगीक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन भएपछि पनि केही सचेतना फैलिने छ ।


घरबाटै व्यवहारिक कार्यान्वयन

लिला शाह
उपाध्यक्ष
नेपाल पत्रकार महासंघ, दाङ

हाम्रो जस्तो आर्थिक, सामाजिक पछौटेपन ले ग्रसित पितृसत्तात्मक समाजमा महिलाहरूको अवस्थाको बारेमा कुरा गर्दा जहिले पनि महिला हिंसा जोडिएर आउने गर्दछ । पहाडदेखि तराईसम्म, उच्च घरानियादेखि सुकुम्बासी झुपडीसम्म र राजनेतादेखि मतदातासम्म जहाँसुकै, जोसुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोखिममा महिलाहरू बाँचिरहेका छन् ।
छोरी वा छोरा भएर जन्मिएकै कारण जन्मदा नै प्राकृतिक उपहारको रूपमा लिएर आएका केही कुराहरू छन् । जुन चाहेर पनि परिवर्तन गर्न सकिदैन र यस सृष्टिको नियमलाई निरन्तरता दिनका लागि परिवर्तन गर्न हुँदैन पनि । यसलाई हामी प्राकृतिक लिङ्ग भन्दछौँ । जुन कुराहरू प्रकृतिद्वारा निर्धारित अपरिवर्तनीय र सर्वव्यापक हुन्छन् ।
महिला हिंसासँग जहिले पनि सामाजिक लिङ्ग जोडिएर आउने गर्दछ । जहाँ समाजले निर्धारण गरेको मूल्य, मान्यता, रीतिरिवाज, चालचलन, धर्म, संस्कृति र संस्कारलाई व्यवहारमा उतार्ने क्रममा पितृसत्तात्मक समाजमा सामाजिकीकरण भएका पुरूषहरू र पितृसत्तात्मक सोचले ग्रस्त केही महिलाहरूले महिलालाई प्राकृतिक लिङ्गको रूपमा हेरेर समाजको समान नागरिकको रूपमा व्यवहार नगर्दा हिंसा निम्तिने गर्दछ ।
विभिन्न अध्ययनहरूले देखाए अनुसार हरेक पाँच महिलामध्ये कम्तीमा दुईजना कुनै न कुनै प्रकारको हिंसाको मारमा परेका हुन्छन् । विकासोन्मुख देशहरूमा असाध्यै प्रकारका महिला हिंसा हुने गरेको भएता पनि केवल कुटपिट, तथा बलात्कारलाई मात्र हिंसाको रूपमा हेरिने गरिन्छ ।
नेपाली समाजलाई विश्लेषण गरेर हेर्ने हो भने प्रशस्तै मात्रामा शारीरिक, मानसिक संवेगात्मक, आर्थिक र यौनजन्य हिंसा हुने गरेको छ । पुरूषहरू आफैँले वा पितृसत्तात्मक सोचको सिकार भएका केही महिलाहरूले महिलाहरूलाई हेला गर्ने र हेप्ने, कुटपिट गर्ने, जोखिमपूर्ण काममा लगाउने, तिरस्कार गर्ने, बेइज्जत गर्ने, बेवास्ता गर्नेजस्ता व्यवहारका कारण महिलाहरू शारीरिक मानसिक र संवेगात्मकरूपमा कमजोर हुने गरेका छन् ।
समाजले पनि सम्पत्तिमाथिको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिजस्ता महत्वपूर्ण तहमा महिलामाथि भेदभाव गर्नाले पनि महिलामाथि हुने हिंसाका घटनाले प्रश्रय पाएको कुरा हामी सबैको सामु छर्लङ्ग छ ।
महिलामाथि हुने यस्ता प्रकारका हिंसाहरूका कारण महिलाहरूको आत्मबल कमजोर हुन गई सामाजिक इज्जत प्रतिष्ठाको डरमानेर घर परिवार समाज, कार्यक्षेत्र र राज्य तहमा हुने गरेका सबै प्रकारका हिंसालाई मौनरूपमा स्वीकार्न बाध्य छन् भने राज्यस्तरमा भएका कानुन सर्वसाधारणको पहुँचभन्दा बाहिर रहनाले पनि महिला हिंसालाई प्रश्रय पुगेको छ ।
हिंसा न्यूनीकरणका लागि लैंगीक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यसले हाम्रो समाजलाई सकारात्मक बाटोतर्फ लगेको छ तर यतिमा हामी सन्तुष्ट हुनुहुँदैन् । यसले समाजमा पारेका प्रभावका विषयमा समीक्षा गर्न आवश्यक छ ।
स्थानीय सरकारमा हिंसा प्रभावितहरूका लागि न्यायीक निकाय पनि छन् । ति न्यायीक निकायले पनि हिंसा न्यूनीकरणमा केही सहजता ल्याएको छ । महिला हिंसाका घटनाहरू अधिकांश मिलापत्र भएर जाने गरेका पनि खबर सुन्नमा पाएका छौँ तर ति महिला फेरि हिंसामा पर्छिन् कि भन्ने पनि डर छ । कतिपय महिला घरमा फेरि हिंसामा पर्ने गरेका उदाहरणहरू पनि यत्रतत्र छन् ।
त्यसैले यसको अनुगमन हुन जरूरी पनि छ । अनुगमन हुन सक्यो भने हिंसा न्यूनीकरण अवश्य हुन्छ । अर्को कुरा हामीले हाम्रै घरबाट हिंसाको अन्त्यको पहल थाल्न जरूरी छ । कतिपय अवस्थामा शिक्षित परिवारमा पनि हिंसाका घटना हुने गरेका छन् । शिक्षित र चेतना भएसम्म हामी यसलाई रोक्नुपर्छ । अधिकारको क्षेत्रमा काम गर्नेहरू अधिकारकर्मीहरूले पनि व्यवहारिक कार्यान्वयन गर्न आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here