- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरआरक्षण सिट पाउनै सकस

आरक्षण सिट पाउनै सकस

- Advertisement -spot_img

दाङ, २९ कार्तिक । तुलसीपुरका रामबहादुर नेपाली शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । उनी बिहीबार दिउँसो तुलसीपुरबाट काठमाडौँ जानका लागि बसको टिकट लिन बसपार्कमा पुगे । काठमाडौँ जानका लागि अपाङ्गताका लागि छुट्टै सिटको टिकट लिन खोजे तर अपाङ्गताका लागि टिकट नभएको काउण्टरका स्टाफले उनलाई जवाफ दिए ।
अपाङ्गताका लागि छुट्टै सिट बुकिङ भइसकेको रहेछ, अरू सिट पनि छैन् भन्ने जवाफ पाएपछि उनी टिकट नै नलिएर फर्के । ‘हामी अपाङ्गता भएकाहरूको लागि छुट्याएको सिट सपाङ्गको नाममा दिने गरिन्छ, सायद मलाई पनि त्यस्तै भयो’ उनले भने– ‘हाम्रो आरक्षण सिट नभएपछि म अर्को दिन जाने निर्णय गरेर फर्किए, म यसभन्दा अघि पनि यस्तै समस्यामा पटक–पटक परेको छु ।’
तुलसीपुर–१२ का ७१ वर्षिय खिमा वली र उनका श्रीमान ७२ वर्षिय हिरासिंह वली पनि मंगलबार काठमाडौँ छोरालाई भेट्न जाँदै थिए । लामो यात्रा, कठिन यात्रा उभिएर जान सक्ने अवस्था थिएन, जेष्ठ नागरिकका लागि छुट्याइएको आरक्षण सिटमा बसेर जाने सोच थियो तर उनीहरूले जेष्ठ नागरिकका लागि आरक्षण सिट पाएनन् ।

बसमा आरक्षण सिट खोज्न आउने निकै कम हुन्छन् तर पनि हामीले सकेसम्म सम्बन्धित व्यक्तिलाई दिने प्रयास गर्छौ ।


बसका स्टाफले तपाईहरूको आरक्षण सिट गइसकेको छ भनेर भनेपछि उनीहरू पछाडिको सिटमा बसेर काठमाडौँ गएका थिए । ‘बसका स्टाफले अरू जेष्ठ नागरिकले लिइसकेको बताए पनि पछि अरू युवाहरू नै बसेको वली दम्पत्तीले बताए ।
यि दुई प्रतिनिधिमूलक घटनामात्र हुन् । सार्वजनिक सवारी साधनमा अहिले पनि आरक्षण सिटको सम्बन्धित व्यक्तिले लाभ लिन सकेका छैनन् । बसमा महिला, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूका लागि छुट्टै सिट भएपनि सम्बन्धित व्यक्तिले लाभ लिन नपाएको गुनासो गरेका छन् ।
दाङबाट बाहिरिने तथा भित्रिने अधिकांश सवारी साधनमा यातायात व्यवसायीले आरक्षण सिटमा सम्बन्धित व्यक्तिभन्दा पनि फरक व्यक्तिलाई सवार गराउने गरेको जेष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गर्ने गरेका छन् ।
यातायात व्यवसायीको लापरवाहीको कारण आरक्षण सिट कार्यान्वयनमा नआएको उनीहरूले गुनासो गरेका छन् । यातायात व्यवसायी भने आरक्षण सिट खोज्न कहिलेकाहीँ मात्रै आउने गरेको बताएका छन् ।
व्यवसायीले बसमा आरक्षण सिट नै छुट्याएको र कार्यान्वयन गर्ने प्रयास गरेको बताउने गरेका छन् । ‘बसमा आरक्षण सिट खोज्न आउने निकै कम हुन्छन् तर पनि हामीले सकेसम्म सम्बन्धित व्यक्तिलाई दिने प्रयास गर्छौँ, यातायात व्यवसायी वीरबहादुर बुढाथोकीले भने–
‘टिकट लिएपछि आरक्षण सिट दिन सकिन्छ, तर बीच–बीचबाट चढ्नेहरूलाई आरक्षण सिट दिन मुस्किल पर्छ, किनभने त्यस्तो अवस्थामा पहिले नै बुक भइसकेको हुनसक्छ ।’ महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले आरक्षण सिट नपाउँदा सार्वजनिक सवारी साधनमा यात्रा गर्न असहज हुने गरेको छ ।
‘बसमा महिला सिट पनि छुट्याएको हुन्छ तर हामी कहिल्यै महिला सिटमा बस्न पाउँदैनौ, तुलसीपुर–७ का हिरा नेपालीले भनिन्– ‘सम्बन्धित निकायले यसबारेमा ध्यान दिन आवश्यक छ, होइन भने आरक्षण सिट भनेर किन राख्नुप¥यो त ?’
त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले आफूहरूले सबै सवारी साधनमा आरक्षण सिट सम्बन्धित व्यक्तिले प्रयोग गर्न पाउने व्यवस्था मिलाएको दाबी गरे । ‘राप्ती समितिमा सबै यातायात व्यवसायीलाई हामीले यस विषयमा विभिन्न समयमा प्रशिक्षण, जानकारी दिने गरेका छौँ, उनले भने– ‘नागरिकले पाएको अधिकार प्रयोग गर्न पाउनुपर्छ, तर कार्यान्वयनमा केही जटिलताहरू पनि छन्, कतिपय नागरिककै कारण पनि कार्यान्वयनमा समस्या हुन्छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आरक्षण सिट कार्यान्वयनका लागि विभिन्न समयमा यातायात व्यवसायीसँग छलफल र सहमति भएको बताए । ‘व्यवसायी नै इमान्दारी हुनुपर्ने हो, अब हामी कहाँ त गुनासो आ’को छैन्’ उनले भने– ‘गनासो आयो भने तुरून्त समाधान गछौँ ।
उनले व्यवसायीलाई आरक्षण सिट कार्यान्वयन गर्न आग्रहसमेत गरेका छन् । ‘कोही कसैले पाएको अधिकार सदुपयोग गर्न पाउनुभएको छैन् भने गुनासो गर्नुहोला’ उनले भने– ‘हामी तुरुन्तै समाधान गछौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here