- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeविचारगहुँ बालीमा सिंचाई र झारपात नियन्त्रण

गहुँ बालीमा सिंचाई र झारपात नियन्त्रण

- Advertisement -spot_img

शिशिर दाहाल

आर्थिक बर्ष २०७३/०७४ को तथ्याङ्क अनुसार ७३५८५० हेक्टर क्षेत्रफलमा खेती गरिएको गहुँबालीले कुल १८७९१९१ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै २०७४/७५ मा उत्पादन क्षेत्र घटेर ७०६८४३ हेक्टरमा पुगेपनि उत्पादन भने बढेर १९४९००१ मेट्रिक टन पुगेको पाइन्छ ।
यसरी गहुँ बालीमा उत्पादन घट्नु या बढनुमा विभिन्न कारक तत्वहरू जस्तै मलखाद, बीउको गुणस्तर, सिंचाई, झारपात नियन्त्रण आदि पर्दछन् । अन्य खाद्यान्न बाली जस्तै धान, मकैको तुलनामा झारको प्रकोप कम देखिएपनि सिंचाईको भने महत्वपूर्ण भूमिका रहने गर्दछ ।
सामान्यतया सिंचाई भन्नाले माटोमा चिस्यानको मात्रा कम भएको अवस्थामा माटो या बालीलाई कृतिम रूपमा प्रदान गरिने पानीको मात्रा भन्ने बुझिन्छ । सिंचाई कतिबेला गर्ने, कति गर्ने या कति पटकसम्म गर्ने भन्ने कुरा बाली, माटोको चिस्यान, माटोको प्रकार, बर्षाको सम्भावना आदि कुरामा भर पर्ने गर्दछ ।
माटोमा रहेको चिस्यानको अवस्था र खेती गरिएको बालीलाई आवश्यक पर्ने सिंचाईको मात्राको बारेमा जानकारी बिना नै सिंचाई गर्नाले बालीमा पर्याप्त मात्रामा पानीको मात्रा नपुग्ने या बढी हुनुका साथै लागतसमेत उच्च हुनसक्छ । त्यस्तै बालीको कुल उत्पादनमा कमी आउन सक्छ ।
सरल भाषामा बुझ्ने हो भने गहुँ एक चिसो समयमा खेती गरिने नेपालको प्रमुख खाद्यबालीमध्ये एक हो । यसको वानस्पितिक विकासको लागि करिब १६ २२ डि.से. र अंकुरणको लागि २० डि.से. तापक्रम आवश्यक पर्दछ ।
सफल अंकुरणपश्चात् गरिनुपर्ने विभिन्न व्यवस्थापन क्रियाकलापअन्तर्गत सिंचाई गहुँको उत्पादनको लागि निकै महत्वपूर्ण मानिन्छ । असल सिंचाई व्यवस्थापनले मात्र गहुँको कुल उत्पादनमा ३० ४० प्रतिशतसम्म उत्पादनमा बृद्धि हुने अध्ययनहरूमा पाइएको छ । तर कुन समयमा सिंचाई आवश्यक पर्दछ भन्ने कुरा निकै महत्वपूर्ण हुने गर्दछ । गहँु बालीका निम्न अवस्थाहरूमा सिचाई अपरिहार्य हुन्छ ।

१. मुकुट जरा निस्कने अवस्था

सम्पूर्ण गहुँ उत्पादनमा मुकुट जरा निस्कने अवस्थाले महत्वपूर्ण प्रभाव पार्दछ । अंग्रेजीमा यस अवस्थालाई क्राउन रूट इनिसेसन वा सिआरआइ अवस्था भनिन्छ । यो अवस्था गहुँ छरेको ठिक २१ दिनमा सुरू हुन्छ ।
पर्याप्त चिस्यान प्राप्त गरेपछि अंकुरणको समयमा विकास भएको मूख्य जराबाट क्रमिक रूपमा सहायक जराहरूको विकास हुने प्रक्रियालाई मुकुट जरा निस्कने अवस्था भनेर बुझ्न सकिन्छ । उक्त अवस्थामा सहायक जराहरूको विकास सुरू हुने गर्दछ (सहायक जराहरूले माटोबाट चिस्यान र खाद्यतत्व सोस्ने काम गर्दछ) । यस अवस्थामा सिंचाईको अहम् भूमिका रहन्छ ।
२१औँ दिनमा पर्याप्त सिंचाई गरेको खण्डमा कुल उत्पादनमा करिब ३०–४० प्रतिशतसम्म बृद्धि हुने वैज्ञानिक अनुसन्धानमा भेटिएको छ । तर सिंचाई समयमा नगरेमा सहायक जराहरू चिस्यानको कमीको कारण मर्ने भएकाले विरूवाको स्वास्थ्य, रोगसँग लड्न सक्ने क्षमता र उत्पादनमा प्रतिकूल असर पर्ने गर्दछ ।
यस अवस्था सुरू भएको दिनदेखि सिंचाई गर्न ढिलाई भएमा प्रतिदिन करिब १० प्रतिशतको दरले उत्पादनमा ह्रास आउने वैज्ञानिक तथ्य छ । तसर्थ किसान वर्गहरूले गहुँ बालीको अति संवेदनशील यस अवस्थालाई ध्यानमा राखी सिंचाईको प्रबन्ध गर्दा ह्रास हुने उत्पादनमा कमी गरी कुल उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न सकिन्छ ।

२. गाँज फाल्ने अवस्था

सिंचाईको दृष्टिकोणले दोस्रो संवेदनशील मानिने यस अवस्था गहुँ रोपेको करिब ३५–४० दिनपश्चात् सुरू हुने गर्दछ । बोटमा ३÷४ वटा पातको विकास भएपछि यस अवस्था सुरू भएको मान्न सकिन्छ । यस अवस्थामा बोटले गाँजको विकास गर्ने भएकाले सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ ।

३. बाला फाल्ने अवस्था

रोपेको करिब ५०–५५ दिनमा गहुँ बालीले बाला फाल्न सुरू गर्दछ । उक्त अवस्थामा चिस्यानको मात्रा कम भएमा बालामा विकास भएका परागहरू ओइलाउने, परागसेचन हुन नपाउने भएकाले उत्पादनमा गिरावट आउन सक्छ ।

४. दानामा दूध लाग्ने अवस्था

परागसेचन प्रक्रिया सकिएपछि क्रमिक रूपमा दानाको विकास हुनुको साथै दानामा सेतो दूधजस्तो तरल पदार्थ बन्ने र सञ्चय हुने प्रक्रिया गहुँ रोपेको ८०–८५ दिनमा सुरू हुन्छ । दाना भरिने अवस्थामा सिंचाईको कमि भएमा उत्पादनमा ठूलो कटौती हुने गर्दछ ।
दानामा सेतो दूधजस्तो तरल पदार्थको पर्याप्त मात्रा विकसित भएपछि मात्र दाना पुष्टरूपमा विकास हुने गर्दछ । सो अवस्थामा पनि सिंचाई दिनु अति नै आवश्यक रहन्छ ।
तर सिंचाई कति र कसरी दिने ? भन्ने कुरा विभिन्न तत्वहरू जस्तै माटोको प्रकार, माटोमा चिस्यानको मात्रा, बर्षा वा बर्षाको सम्भावना आदि कुरामा फरक पर्दछ । गहुँको लागि चिम्टाइलो माटो, ओसिलो ठाउँ भएमा एकदम हलुका सिंचाई गरे पर्याप्त हुन्छ । तर माटोमा पर्याप्त मात्रामा चिस्यान नभएको खण्डमा भने करिब १० सेमिसम्मको माटोको तह राम्रोसँग भिज्ने गरी सिंचाई दिनुपर्ने हुन्छ ।
लामो समयसम्म पानि जमाएर राख्ने वा अधिक सिंचाई भने गर्नुहुँदैन । यसो गरिएको अवस्थामा जराले श्वासप्रश्वास गर्न नसक्ने र सहायक जराहरू मर्ने सम्भावना रहन्छ जसले उत्पादनमा कमी ल्याउने गर्दछ ।
त्यस्तै गहुँबालीको उत्पादनमा ह्रास ल्याउने अर्को महत्वपूर्ण कारक हो झार । हिउँदे खाद्यान्न बाली भएकाले धान या बर्षे मकैको तुलनामा झारको प्रकोप कम भएता पनि केही बाली विशेष झारहरूको प्रकोपले गर्दा भने गहुँ खेती गर्ने किसानहरूलाई पिरोल्ने गरेको पाइन्छ । अत्याधिक झारपातको प्रकोपले गर्दा बाली र झारको बीचमा खाद्यतत्व, चिस्यान,
सूर्यको प्रकाश आदिको लागि कडा प्रतिस्पर्धा हुने गर्दछ । जसले गर्दा बालीको बृद्धि विकासलगायत उत्पादनमा गिरावट आउने गर्दछ । गहुँ बालीमा आउने झारहरू दुई भागमा विभाजन गर्न सकिन्छ ।
जसमध्ये बेथे, अकरा, भेडेकुरो, कृष्णनिल, कुटिलकोसा आदि चौडापाते झारअन्तर्गत पर्दछन् भने दुबो, रगते, मोथे, जंगली जै आदि झारहरू साँघुरो पाते झारअन्तर्गत पर्दछन् ।
सफल झारपात नियन्त्रणको लागि झारपात संक्रमणको कारण र नियन्त्रण विधिबारे जानकार हुनु आवश्यक रहन्छ । स्थानीयस्तरमा गहुँ बालीमा देखिने झारपात नियन्त्रणको लागि निम्न विधिहरू अबलम्वन गर्न सकिन्छः–

१. स्वस्थ बीउको प्रयोग गर्ने

स्थानीयस्तरमा या गाउँ घरमा बीउ साटासाट गर्ने प्रचलन रहेको छ । जसको कारणले गर्दा बालीको बीउसँगै मिसिएर झारको बीउ पनि खेतसम्म पुग्ने, संक्रमण नभएको ठाउँमा संक्रमण हुने तथा फैलने प्रक्रिया चल्दछ । तसर्थ सकेसम्म विश्वासिलो ठाउँबाट मात्र बीउको खरिद गर्नु आवश्यक हुन्छ ।

२. काचो गोबर मलको प्रयोग नगर्ने

घरपालुवा जनावरहरूलाई झार या घाँस आहाराको रूपमा खुवाइने र उत्पादित गोबर खेतमा मलखादको रूपमा प्रयोग गरिन्छ । तर झारको बीउ जनावरहरूले पचाउन नसक्ने भएकाले गोबरसँगै खेतमा पुग्ने र अंकुरण भई बालीमा असर पु¥याउने हुँदा सकेसम्म पूर्णरूपमा कुहिएको मल मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३. समयमै गोडमेल

किसानहरूको मानसिकतामा झारको पूर्णरूपमा विकास भएपछि मात्र गोडमेल गर्नुपर्छ भन्ने मानसिकता अझैसम्म विद्यमान छ । जो वैज्ञानिक रूपमा गलत छ । झारपात नियन्त्रण गर्दा झारको फूल फूल्ने अवस्थाभन्दा अघि नै गोडमेल गर्नुपर्ने हुन्छ ।
यसो गर्दा झारको प्रजनन् प्रक्रिया रोकिइ, झारको कुल जनसंख्यामा कमी ल्याउन सकिन्छ । सामान्यतया गहुँबालीको वनस्पातिक विकासको समयमा गोडमेल गर्नु बुद्धिमानी हुन्छ । लागत र श्रमिकको अवस्था अनुसार बाला पसाउनु अगावै २–३ पटक गोडमेल गर्नु उत्तम रहन्छ ।
कामदारको अभाव भएको खण्डमा भने रासायनिक नियन्त्रण विधि अपनाउन सकिन्छ । बेथे, अकरा, भेडेकुरो, कृष्णनिल, कुटिलकोसा नियन्त्रणको लागि २,४ डि नामक झारपात नासक बिषादी २ ग्राम प्रति लिटरको दरले २० लि को झोल प्रति रोपनीको दरले गहुँ रोपेको ३०–३५ दिनमा एकनासले स्पे्र गर्न सकिन्छ ।
त्यस्तै साघुरो पात भएका झारहरू जस्तै दुवो, रगते, मोथे, जंगली जै आदीको प्रकोप देखिएमा इसोप्रोटुरोन १ के जी प्रति हेक्टरको दरले रोपेको ३० ३५ दिनमा स्प्रे गर्न सकिन्छ ।
रासायनिक विधि सजिलो र छरितो भएता पनि पर्याप्त ज्ञान वा कृषि विज्ञको सुझाव र आवश्यक सावधानीबिना नै प्रयोग गर्नु मानव स्वास्थ र वातावरणको निम्ति हानीकारक हुन सक्छन् ।
BSc. Ag., IAAS, TU

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here