- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरजुठे बादीको पीडा ...

जुठे बादीको पीडा …

- Advertisement -spot_img

घोराही, १८ असोज ।
नामः जुठे बादी
पेसाः मादल बनाउने काम गर्छन् ।
उमेरले ६१औँ बसन्त पार गरिसकेका छन् । आँखाले राम्रोसँग ठमयाउन सक्दैन् । अनुहारमा मुज्जाले रेखा कोर्दै छन् । तर उनलाई जन्मदेखि नै समाजले लगाएको दलितको रेखा कसैले मेटाउन सकेन । राणा शासन फालियो, बहुदल आयो । त्यसपछि गणतन्त्र आयो ।
उनका मानसपटलमा २०४६ सालमा बहुदल आउँदाका नारा अनि २०६२÷०६३ को जनआन्दोलनपछि प्राप्त भएको गणतन्त्रका नारा जो ताजै छन् ।
सडकमा दलितका नाममा नारा लगाउनेहरूको सिंहदरबार पुगे । देश हाक्ने भए । तर उनको जीवन जहाँको त्यही छ । त्यो भन्दापनि दलित भन्ने शब्द कहिले मेटिएन् । जसले समय–समयमा नराम्रोसँग झस्काउँछ । समाजले उनको पूर्खालाई मादल बनाउने भएर नै बादी जातिको थर दिएको थियो । त्यो थर उनमा पनि आएर मिसियो । उनको मात्रै होइन् ।
उनका दुइ भाइ छोराले पनि थर पाए जो बाबुले लेखे । समाजले दिएको बादी उपनाम त उनि चित्त बुझाउँछन् । आफ्नो पेशाले गर्दा । तर सरकारले नै दलित भनेर समाजमै अलग बनाएर चिनाएपछि उनी झनै दलित भएको महशुस गर्छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १४ का बादीको घरको आसपासमा बाहुन, क्षेत्री, मगरलगायत अन्य जातिको पनि घर छ । त्यति ठूलो समाज अनि अन्य जातिको पनि बसोबास गर्दै आएको त्यो बस्तीमा बादी अर्थात् दलितको घर भनेर जो कोहीले पनि सहजै चिन्न सक्छ ।
जब सरकारले नै दलित समुदायको लागि भनेर जनता आवास कार्यक्रम ल्यायो । त्यो दिनदेखि उनलाई समाजले मात्रै होइन् सरकारले पनि दलितको पहिचान दिएको महशुस भयो उनलाई । दुईकोठा अनि बरन्डा भएको उनको लागि सरकारले घर बनाईदियो । त्यो घर जुठे बादीको लागि थिएन ।
दलित भनेर चिनाउनको लागि छुट्टै डिजाइनको घर थियो । जुन घरले उनलाई दलित भनेर झस्काईरहन्छ । आफू समाजबाट छुट्टिएको महशुस हुन्छ । ‘सानो छाप्रो थियो, एउटै समाजमा भएजस्तो महसुस हुन्थ्यो’ उनले भने ‘सरकारले आवास त गराइदियो तर दलितको पहिचान पनि दियो ।’
सरकारले सबै दलितहरूलाई एकै डिजाईनको घर बनाईदिदा छुट्टै समाज त्यो पनि दलित भएको महसुुस भएको बताए । ‘हामी सबैलाई एकै डिजाईनको घर बनायो, जो दलित समुदायको घर भनेर चिनिने गर्छ’ उनले निरास हुँदै भने ‘घर बनाईदिदा अन्य समुदायको जस्तो फरक–फरक घर बनाएको भए हुन्थ्यो नि ?’
त्यो घरसँगै उनलाई समुदायमा हेर्न दृष्टिकोणमा पनि फरक नभएको बताउँछन् । ‘आँखा देख्दैन्, मादलको लाईनमा खरी राख्न सक्दैन’ उनले भावुक हँुदै भने ‘यही मादल बनाउने ठाउँमा एउटा होटल सञ्चालन गरौँ भने कसैले खादैनन्, किराना पसल गरू भने कोही आउँदैन् ।’

जातियता र छुवाछुतको बारेमा जति नै ठूला कुरा गरे पनि व्यवहारमा अझै परिवर्तन नआएको उनले बताए । ‘मैले होटल सञ्चालन गरे भने अरूको त परैको कुरा हो, तपाई पनि आउनुहुन्न’ उनले उल्टै प्रतिप्रश्न गरे ।
बादी जातिको पेशा मादल बनाउने भनेर चिनिएका कारण नै छोराले मादल बनाउन सिक्ने मन नगरेको बताए । ‘मादल वनाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ, छोरालाई सिक भन्दा मान्दैन्’ उनले भने ‘मेरो आँखा देख्न छोडी सक्यो, मिस्त्री काम गर्ने एकजनालाई धरै कर गरेर सहयोगीको रूपमा ल्याएको छु ।’
त्यस्तै घोराही बनगाउँका रमेश नेपालीका छोराछोरी झनै घरमै बस्नै मान्दैनन् । सरकारले बनाईदिएको घर भनेर होइन् । दलित जाति बस्ने घर भनेर चिनिएका कारण छोराछोरी बस्न मन नगरेको उनले बताए ।
दलित भएकै कारण समाजले स्वीकार नगर्ने झन त्यसैमा दलित पहिचान भनेर घर बनाईदिदा झनै आफू दलित भएको महशुस हुने गरेको बताउँछन् । ‘शुरूमा सरकारले अनुदानमा घर बनाउँदा निकै खुशी थियौँ’ उनले भने ‘जब त्यही घरमा बस्न थाल्यो, जो–कोहीले पनि दलितको घर भनेर बोलाउँदा नरमाईलो लाग्छ ।’
बादी र नेपाली मात्रै होइन् सरकारले घर बनाएका अधिकांशलाई घरसहित दलितको पहिचान दिएको महशुस गर्छन् । आर्थिक अभावका कारण सरकारको अनुदानमा घर बनाएका त्यहि बाबु–आमाको सन्तालनले दलित भनेर सरकारले छुट्टै पहिचान दिएको भन्दै गुनासोसमेत गर्ने गरेका छन् ।
दाङमा २०६७/०६८ सालमा सरकारले जनता आवास कार्यक्रमअन्तर्गत कुसुण्डाको लागि ७ वटा घर बनाइदियो । त्यसपछि २०६८/०६९ सालमा गन्धर्वका लागि १० वटा, बादी समुदायका लागि ९ वटा र कुसुण्डाको लागि एउटा घर बनाईदियो । सहरी विकास तथा भवन कार्यालय दाङका २०६९/ ०७०मा गन्धर्व समुदायका लागि १४ वटा, बादी समुदायको लागि १५ वटा घर निर्माण भएको छ ।
त्यसैगरी २०७०/०७१ मा गन्धर्व र बादी समुदायका लागि १० वटा घर निर्माण भयो भने २०७१/०७२ मा गन्धर्व समुदायको लागि २१ वटा बादी समुदायको लागि २० वटा घर निर्माण भएको कार्यालयका जनता आवास कार्यक्रम हेदै आएका तथा प्रशासन प्रमुख शेरबहादुर केसीले वताए । २०७२÷०७३ मा गन्धर्व र बादी समुदायको लागि १५ वटा घर निर्माण भएको उनले बताए । त्यसपछि २०७३/०७४ मा दलित समुदायको राष्ट्रिय दलित आयोगमा सूचिकृत भएका २ सय ११ घर निर्माण भए ।
२०७४/०७५ मा ६०२ वटा घर निर्माण भए भने २०७५/०७६ मा १ सय ९३ वटा घर निर्माण भएका छन् भने चालु आर्थिक वर्ष २०७६/०७७ मा २ सय ६७ वटा घर निर्माणको लागि प्रक्रियामा छन् । दलित समुदायका प्रतिघर ३ लाख ५० हजारको दरले अनुदानमा घर निर्माण गरिने कार्यालयका सूचना अधिकारी सुरतबहादुर बुढाथोकीले बताए ।
सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख अन्नत कुमार वेदले सरकारले नै एउटै मोडलको घर जनता आवास कार्यक्रममा राखेको बताए । ति एउटै मोडल घर दलित पहिचानको लागि मात्रै नभएर जनता आवास कार्यक्रमअन्तर्गत बुझ्नु पर्ने बताए ।
सरकारले ल्याएको त्यो मोडलको घर अन्य जातिले पनि बनाउन थालेपछि दलित भनेर पहिचान नहुने बताए । ‘यो मोडलको घर गैर दलितले पनि बनाएका छन्, तपाई देख्न सक्नुहुन्छ’ उनले भने ‘कसरी दलितको पहिचानको लागि भयो घर ?’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here